फुलचोकीबाट बगेर आउने रोशीले यसरी विध्वंश मच्चाउला भनेर अमरबहादुर बस्नेतले सोचेका थिएनन्। पनौती नगरपालिका वडा नम्बर ८ मा पर्छ उनको घर।
बिहीबार रातिदेखिको घनघोर वर्षा र त्यसपछि आएको बाढीले हेर्दाहेर्दै बगाएका घर, खण्डर मल्पी र कलाती क्षेत्र देख्दा उनी अहिले पनि भावविह्लल हुन्छन्।
‘कसरी यस्तो विध्वंश निम्तियो, म बताउन सक्दिन,’ उनले भने, ‘एउटा घर तल बगिसक्यो। त्यहाँको कागजपत्र निकाल्न पाइएन। अर्को घर पनि तलबाट काट्न सुरू भइसकेको छ। कतै सुरक्षित भएन।
मल्पी छेवैमा २.४ मेगावाटको जलविद्युत थियो। रोशीको बाढीले त्यो पनि खण्डहर बनाइसकेको छ। बाँध क्षेत्रमा भीमकाय मुढा र ढुंगा थुप्रिएपछि रोशीले धार फेरेको स्थानीय बताउँछन्।
खोलाले धार फेर्दा रोशीका ९ घर बगाएको वडा नम्बर ७ का अध्यक्ष सविन ताम्राकारले बताए। पनौती नगरपालिकाभरिमा कति क्षति भयो भनेर अझै यकिन भइसकेको छैन।
उनले २०३८ साल यता त्यहाँका मानिसहरूले त्यस्तो बाढी नदेखेको बताए।
वडा नम्बर १२ का अध्यक्ष जयराम केसीले दुई दिनको अविरल झरीले अकल्पनीय क्षति पुर्याएको बताए। रोशी कलाती बजार खण्डहर बनेको छ। पक्की घरहरू रोशीले धमाधम ढाल्दै भेलमा मिसाएको दृश्य अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ।
कलातीका मात्रै ५० वटा घर लेदोसहितको बाढीले बगाएको उनले बताए। ती घरमा मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष केसीले बताए। सिँचाइ कुलादेखि खेतीयोग्य जमिनसम्म बाढीले बगाएकाले कलातीलाई लयमा फर्काउन मुस्किल हुने उनको बुझाइ छ।
कलातीको शिरमाथि १० बढी खानी, क्रसर सञ्चालित छन्। खानीको माटो भेलमा मिसिँदा नदीको जल सतह बढेको र बस्ती नै खण्डहर बन्न पुगेको स्थानीय बताउँछन्।
वडाध्यक्ष केसी यसलाई नकार्न सक्दैनन्।
यसका अतिरिक्त महाभारत लेकका ठाउँठाउँमा पहिरो खसेको र भेल एक्कासी बढेको बताए।
‘खानी पनि एउटा कारण होला तर खोलाले ठुल्ठूला मुढा बगाएर ल्याएका छन्। ठुल्ठूला रूख बीचबीचमा तेर्सिएकाले नदीले बहाव परिवर्तन गरेर बस्तीमा असर पुर्यायो। हामी क्षतिको यकिन गरिरहेका छौं,’ उनले भने।
पनौती नगरपालिकामा हालसम्म ३ जनाको शव फेला परेको नगरप्रमुख रामशरण भण्डारीले बताए।
उनकाअनुसार तीन जनाको शव कलातीबाटै निकालिएको हो। बाढी–पहिरोबाट अहिलेसम्म १७ जना बेपत्ता रहेको र खोजी भइरहेको उनले बताए।
‘अविरल वर्षातले हिजोसम्म कहाँ, कति क्षति भयो भनेर बुझ्न नै कठिन भइरहेको थियो। आज बिहानैबाट खोज र उद्धारमा जुटेका छौं,’ उनले भने।
उनले ठाउँठाउँमा बाटोहरू बनेको र त्यसैको माटो बगाउँदा लेदोसहितको बाढी आएको पनि बताए।
‘ठाउँठाउँमा बाटा बनेका छन्। कतिपय बन्ने प्रक्रियामा छन्। त्यही विपत्तिको स्रोत बन्यो,’ उनले भने।