पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—तानसेन खण्ड अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका वडा नम्बर ५, केराबारी नजिक सडक माथिबाट खसेको पहिरोका कारण शुक्रवार अपराह्न साढे ४ बजेदेखि आवागमन बन्द भएको हो।
निरन्तर पानी परिरहेकोले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। शुक्रवार साँझसम्म दुइटा लोडर लगाएर सडक खुलाउने प्रयास गरेपनि ठुल्ठूला ढुंगासहितको पहिरो झरेकोले पन्छाउन नसकिएको कार्यालयले जनाएको छ।
शुक्रवार राति भएकाले र निरन्तर पानी परिरहेकोले शनिबार बुटवलस्थित हेभी इक्विपमेन्ट कार्यालयबाट ब्रेकर लगेर पहिरो पन्छाउने तयारी गरिएको छ। पहिरोका कारण सिद्धार्थ राजमार्ग हुँदै आवतजावत गर्ने सयौं सवारी साधन पहिरोको वारिपारि रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाले ठुल्ठूला ढुंगासहितको पहिरो झरेका कारण पहिरो नहटाउँदासम्म सडक पूर्णरूपले बन्द भएको जनाएको छ। बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, पर्वत, गुल्मी, अर्घाखाँची, बागलुङ, मुस्ताङसम्म पुग्ने सयौं सवारी साधन यही सडक हुँदै ओहोरदोहोर गर्छन्।
