बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायु नेपाल प्रवेश हुँदा देशभर मनसुन सक्रिय भएको छ।
यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन्।
पछिल्लो २४ घन्टामा कोशी प्रदेशका केही स्थानभा भारी वर्षा भएको छ। मधेसका केही भूभागमा पनि भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागले अद्यावधिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा झापाको केचनामा १७७.२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। त्यस्तै झापाकै गौरादहमा १५५.४, सप्तरीको बरमझियामा १६७.२, उदयपुरको सुन्दरपुरमा १४५.६ मिलिमिटर वर्षा भएको छ। इलामको मैनाचुलीमा १३४.८, सप्तरीको रुपनी बजारमा १३२.२ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ। आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना छ। आज र भोलि रात्री बस नचलाउन सरकारले आग्रह गरेको छ।