कञ्चनपुरमा लंगरबुर्जा खेलिरहेको ठाउँमा प्रहरी पुग्दा ढुंगामुढा भएको छ।
बुधबार राति सवा ११ बजे पुनर्वास नगरपालिका-७ चगाउँमा लंगरबुर्जा खेलिरहेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरी निरीक्षक महेशबिक्रम शाही नेतृत्वको टोली खटिएको थियो।
प्रहरी आएको थाहा पाएपछि जुवा खेलिरहेकाहरूले प्रहरीमाथि ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।
उनका अनुसार प्रहरी निरीक्षक शाहीसहित चार जना सामान्य घाइते छन्।
‘लंगरबुर्जा खेलिरहेको ठाउँमा २०-२५ जना रहेछन्। उनीहरूले ढुंगामुढा गर्दा चार जनालाई चोट लागेको छ,’ उनले भने।
घटनाबारे बुझ्न डिएसपी जोशी घटनास्थलमा जाँदैछन्। प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको छ। यसमा संलग्न कसैलाई पक्राउ गरेको भने छैन।