‘कमलपोखरीमा फेरि पानी अडिएन। जे गर्दा पनि भएन। जति पटक मर्मत गरे पनि पानी नअडिँदा चर्को आलोचना खेपिरहेका छौं,’ पोखरी मर्मतको काम गरिरहेका एक प्राविधिकले निराश सुनिए।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको कमलपोखरी मर्मत गर्न लागिएको यो चौथोपटक हो।
अहिले पोखरीको पर्खालको आडमा झन्डै एक मिटर गहिरो खाडल खनिएको छ। पानी रोक्नका लागि ‘अन्तिम अस्त्र’ का रूपमा अब पर्खालको आडमा अर्को पक्की पर्खाल लगाइँदैछ।
काम धमाधम अगाडि बढिरहेको छ तर निर्माण कम्पनीदेखि इन्जिनियर र प्राविधिकहरू मौन छन्। युएसएआइडीको तयार नेपालले कमलपोखरी सुधार तथा मर्मत गरिरहेको छ। यसअघि तीन पटकसम्म मर्मत गर्दा पानी नअडिएपछि बनाउनेहरू हैरान छन् भने स्थानीयहरू पनि दिक्क छन्।
पोखरीको पूर्वतर्फ पसल सञ्चालन गर्दै आएकी एक महिलाले पटकपटक बनाउँदा पनि पानी नअडिनु लज्जाको विषय भएको बताइन्।
‘हाम्रा प्राविधिक उस्तै हुन् कि यो तालमा केही गडबढी छ,’ उनले भनिन्, ‘पोखरीमा पानी नहुँदा बीच भागमा बनाइएको कंक्रिटको कमल पनि अशोभनीय देखिएको छ।’
स्थानीय रामबहादुर चौधरीले दुई करोड बढी खर्चे पनि तालमा पानी नअडिनुले प्राविधिकहरूको क्षमतामै प्रश्न उठेको बताए।
‘प्राकृतिक अवस्थाको ताललाई पर्यटकीय स्थल बनाउने नाममा क्रंकिट बनाउँदा अपनाउनुपर्ने सावधानी नअपनाइए मजाकको रूपमा लिइयो। हचुवा शैली अपनाइयो,’ उनले भने, दुई करोड बढी लगानी, बालुवामा पानी हुनु चिन्ताको विषय हो।’
पोखरीको दक्षिण कुनोको पर्खालनेर प्वाल भेटिएपछि अघिल्लोपटक त्यसलाई पुरिएको थियो। पानी जान नरोकिएपछि यसपालि छुट्टै पक्की पर्खाल बनाउन लागिएको हो।
‘कमलपोखरीको परिधिभित्र वरिपरि १.२ मिटर गहिरो खाडल खनेर वरिपरि सोलिङ गरी सिमेन्टले डिपिसी गर्ने काम भइरहेको छ,’ तयार नेपालका एक प्रतिनिधिले भने।
कमलपोखरीलाई डिपिआर गरी आधुनिक पर्यटकीयस्थल बनाउने कार्यको थालनी तुलसीपुर उपमहानगरपालिका– ६ का पूर्ववडाध्यक्ष नवराज लामिछानेको पालामा सुरू भएको थियो।
तर निर्माणको क्रममा तयार नेपालले स्थानीय र सरोकारवालासँग छलफल र समन्वय नगरेको उनको आरोप छ।
‘हाम्रो गुरूयोजना अनुसारको कतिपय संरचना निर्माण नगरी तयार नेपालले आफूखुसी काम गरेको मैले देखेँ,’ उनले भने, ‘तालमा पानी अड्याउन के गर्नुपर्छ भन्ने बारेमा स्थानीय किसान र अग्रजसँग सरसल्लाह नगरी क्रंकिट संरचना मात्रै निर्माणमा लाग्नु राम्रो होइन।’
कृत्रिम ताल बनाउन २ करोडभन्दा बढी खर्च भइसकेको छ।
पोखरीमा पानी भरिभराउन हुँदा त्यो अवलोकन गर्न आउने सर्वसाधारणको संख्या थपिँदै गएको थियो। टिकटक बनाउने, भिडिओ वा रिल बनाउने तथा ती समाजिक सञ्जालमा राखेर तालको प्रचारप्रसार पनि भएकै थियो।
यो पोखरीमा पानी अड्याउन भनेर गत असारमा मात्रै कमलपोखरी सुधार कार्यअन्तर्गत कुल लागत (भ्याटबाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरिएको थियो। सुधारको काम गत फागुनदेखि सुरू भई असार ३ गतेसम्म चलेको थियो।
त्यतिबेला पोखरीको सतह रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। त्यो माटोसँगै मिसाएर पानी रोक्न भनेर ‘बेन्टो नाइट पाउडर’ राखिएको थियो।
कमलपोखरीको सतहभित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक तहमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको थियो।
त्यतिबेला १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग गरिएको थियो। पोखरीभित्र कुल ३६ टिपर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो।
पोखरीभित्र सुधारका नाममा तयार नेपालले पहाडी क्षेत्रबाट ल्याइएको रातोमाटो आफूखुसी हाल्नु नै गल्ती भएको कतिपय अग्रजहरू बताउँछन्।
स्थानीय बुद्धिजीवी डा. नहकुल केसीले कालो र चिम्टाइलो माटो तालभित्र भर्नु पर्नेमा रातोमाटो भर्नु गलत भएको बताउँदै आएका छन्।
आधुनिक बनाउने नाममा स्थानीय कसैसँग सरसल्लाह नगरी क्रंकिट मात्रै बनाउने गल्ती उनीहरूले गरेको केसी बताउँछन्।
पाँच वर्षअघिदेखि नै सुरू भएको कमलपोखरीको निर्माण कार्य गत वर्ष पूरा भएको थियो। तर, गत सालको वर्षायाममा पनि यो तालमा एक थोपा पानी अडेको थिएन। पोखरीमा साउन भदौमै एक थोपा पानी नअडिएपछि आलोचना सुरू भएको थियो।
त्यो आलोचनाबाट जोगिन तयार नेपालले झन्डै ६० लाख खर्चेर पोखरी मर्मत तथा सुधारको काम गरेको हो।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको थियो।
पोखरी निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रूपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रूपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रूपैयाँ त्यसभन्दा पहिले नै लगानी भइसकेको थियो। पछिल्लो समय तयार नेपालले फेरि मर्मत तथा सुधारका लागि (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रूपैयाँ खर्च गरेको थियो।