गर्मी अत्यधिक बढेपछि धनुषा र महोत्तरीका पालिकाहरूले विद्यालयमा बिदा दिएको छ।
महोत्तरीमा असोज सुरू भएयता तापक्रम अत्यधिक बढेपछि मनराशिशवा नगरपालिकाले सोमबारदेखि ६ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
चर्को घाममा कलिला उमेरका बालबालिकाहरूलाई विद्यालय आउजाउमा समस्या भएपछि उनीहरूको स्वास्थ्यलाई मध्यनजर गरि बिदा दिइएको गाउँपालिकालका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।
गत जेठमा महोत्तरीका सबै स्थानीय तहहरूले सात दिन गर्मी बिदा दिएको थियो।
धनुषाका छिरेश्वरनाथ नगरपालिका र हंसपुर नगरपालिकाले पनि विद्यालयमा बिदा दिएको छ। जितिया पर्व परेको र गर्मी पनि अत्यधिक बढेकाले छिरेश्वरनाथले भोलि र पर्सी विद्यालयमा बिदा दिएको छ भने हंसपुर नगरपालिकाले भोलिदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिएको हो।
असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् । यसैगरी हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार जनकपुरको अधिकतम तापक्रम ४०.२ डिग्री सेल्सियस पुगेको थियो। शनिबार ३८ डिग्री पुगेको तापक्रम सोमबार दिउँसो तीन बजेमसम्मको अधिकतम तापक्रम ३९.८ डिग्री सेल्सियस पुगेको थियो।
मौसमविद रोजन लामिछानेले मनसुनका सक्रिय प्रणाली विकास नभएका कारण देशभरि नै तापक्रम बढिरहेको जानकारी दिए। उनले चाँडै त्यस्ता प्रणालीहरू विकास भएर बादलहरू आउने र पानी पर्ने सम्भावना रहेकाले तापक्रम पनि क्रमशः घट्दै जाने बताए।