यसपालि मनसुन लम्बिने भएको छ।
मनसुन लम्बिएर दसैंसम्मै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरले मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन पर धकेलिने सम्भावना देखिएको बताइन्।
नेपालमा सामान्यतया अक्टोबर दुई तारिख (असोज १६) मा मनसुन बाहिरिने गर्छ। यसपटक लम्बिएर असोज २१ गतेसम्मै पुग्ने पूर्वानुमान गरिएको हो।
‘सामान्यतया मनसुन भित्रिने र बाहिरिने मितिमा चार–पाँच दिन तलमाथि हुन्छ। यसपटक सरदर मितिभन्दा पाँच दिन पर धकेलिने देखिएको छ,’ मानन्धरले भनिन्।
यस वर्ष सरदर (जुन १३) भन्दा तीन दिन छिटो (जेठ २८) मा मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालभर फैलन भने असार १० सम्मै लागेको थियो।
यसपालि पश्चिम भारत (राजस्थान) बाटै मनसुन बाहिरिन ढिला भएकाले नेपालमा मनसुनी वायुको प्रभाव लम्बिने देखिएको मानन्धरले बताइन्।
‘भारतले पश्चिमी भूभागबाट मनसुन बाहिरिएको घोषणा गरिसकेको छैन। त्यसपछि बल्ल हामीकहाँ मनसुन बाहिरिन्छ,’ उनले भनिन्।
भारतमा राजस्थानबाट मनसुन बाहिरिने प्रक्रिया सुरू हुन्छ। हामीकहाँ पनि नेपालको सुदूरपश्चिमको भू-भागबाट मनसुन बाहिरिने क्रम सुरू हुन्छ।
२०७० सालमा कात्तिक २ (२०१३ अक्टोबर १९) गते मनसुन बाहिरिएको थियो। नेपालमा तथ्यांक राख्न थालिएको १९६८ यताकै यो ढिलो बाहिरिएको मिति हो। त्यस वर्ष जेठ ३१, सरदरकै मितिमा मनसुन नेपाल भित्रिएको थियो।
त्यस्तै छिटो बाहिरिएको चाहिँ २०५२ सालमा हो। त्यतिबेला भदौ १७ (सेप्टेम्बर २, १९९५) मै मनसुन नेपालबाट बाहिरिएको थियो। त्यसवर्ष जेठ २१ गते मनसुन नेपाल भित्रिएको थियो।
वरिष्ठ मौसमविद् मानन्धरले आइतबार र सोमबार पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा देखिएको बताइन्।
मंगलबारदेखि भने धेरै भू-भागमा बदलीको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम प्रकृतिको वर्षा हुने सम्भावना रहेको उनले बताइन्।
‘भोलिदेखि शुक्रबार, शनिबारसम्मै बदलीको सम्भावना छ। हल्कादेखि मध्यम वर्षा हुनेछ। यसबीचमा ठूलो वर्षाको सम्भावना भने देखिँदैन,’ उनले भनिन्।
त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि यसपटक हिले दसैं हुने सम्भावना रहेको बताएका छन्।
उनले पनि आइतबार र सोमबार काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागको मौसम सफा रहेता पनि मंगलबारदेखि पानी पर्ने बताएका छन्। यो क्रम दसैंसम्मै रहने उनले बताए।
‘आइतबार र सोमबार मध्यपहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबारदेखि दसैंसम्म पानी पर्ने मौसम छ,’ उनले पूर्वानुमान गर्दै भनेका छन्।
प्रतीभा मानन्धरले भने फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना नदेखिएको बताउँछिन्।
‘यो साताभरि नै पानी पर्ने देखिन्छ। त्यसपछि घटस्थापनादेखि उता पनि पानी पर्छ। मध्य दसैंमा भने पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भनिन्।
उनले यस वर्ष हाम्रो मनसुनी प्रणालीमा ला निनाको प्रभाव रहेको बताइन्। त्यसले पनि औसतभन्दा बढी पानी पार्न मद्दत गर्यो। कुनै मनसुनमा धेरै पानी पर्छ, कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुने मानन्धरले बताइन्।
प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन्, जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम असर पार्छ। महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई ला निना र एल निनो भनिन्छ।
स्पेनिस भाषामा ला निना भनेको सानी केटी हो। प्रशान्त महासागरको ‘ट्रेड विन्ड’ बहने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर ला निना हुन्छ। ला निना हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ।
स्पेनिसमा एल निनो को अर्थचाहिँ सानो केटो हो। एल निनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ। एल निनो हुन्छ भने सन् १६०० मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए।
‘प्रशान्त महासागरमा ला निना र एल निनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भन्छिन्, ‘हाम्रो मनसुनका लागि भने एसियातिर ला निना भएको राम्रो। किनकी त्यसले मनुसनलाई सहयोग पुग्छ।’
यस वर्ष जेठ १९ देखि असाेज ६ गतेसम्म औसतभन्दा बढी १०२.२ प्रतिशत वर्षा (१५१२.३) मिलिमिटर वर्षा) भइसकेको छ। नेपालमा नेपालमा मनसुन यामको औसत वर्षा १ हजार ४७२.० मिलिमिटर हो। विभागका अनुसार ३० वर्षको वर्षाको स्थिति हेरेर औसत वर्षा निकाल्ने गरिन्छ।
अघिल्लो वर्ष मनसुन अवधिमा औसतभन्दा कम वर्षा भएको थियो। अघिल्लो वर्षा याममा सरदर वर्षाको तुलनामा १ हजार ३०३ मिलिमिटर अर्थात् ८८.५ प्रतिशत मात्रै वर्षा भएको थियो।
यस वर्ष प्रि-मनसुन वर्षा कम भएको थियो। सरदर वर्षाको तुलनामा यस वर्षको प्रि-मनसुनमा १७३.४० मिलिमिटर अर्थात् ७५.८ प्रतिशत वर्षा भएको थियो।
हिउँदमा त झन् कम पानी परेको थियो। हिउँद याममा सरदर ६०.१ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा १२.५ मिलिमिटर मात्रै पानी परेको थियो।
यस वर्ष कहाँ कति पानी पर्यो?
धनगढीमा १६ सय मिलिमिटर वर्षा भएको छ। त्यहाँ सरदर १४ सय मिलिटिर पानी पर्थ्यो। त्यस्तै, डडेलधुरामा १२ सय मिलिमिटर वर्षा भएको छ। त्यहाँ एक हजार मिलिमिटिर वर्षा हुन्थ्यो।
दिपायलमा सरदर सात सय मिलिमिटर वर्षा हुनेमा त्यहाँ यसपटक ११ सय मिलिमिटर वर्षा भएको छ। सुर्खेत विमानस्थलमा १३ सय मिलिमिटर वर्षा भएको छ। त्यहाँको औसत वर्षा १२ सय मिलिमिटर हो।
नेपालगञ्ज विमानस्थल सरदर १२ सय मिलिमिटर नै वर्षा भएको छ। जुम्लामा सरदर (पाँच सय मिलिमिटर) भन्दा कम (चार सय पचास मिलिमिटर) वर्षा भएको छ।
दाङको घोराहीमा पनि १६ सय मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ। त्यहाँ सरदर १२ सय मिलिमिटर वर्षा हुन्थ्यो। भैरहवा विमानस्थलमा पनि अत्यधिक वर्षा मापन भएको छ। त्यहाँ १२ सय मिलिमिटर वर्षा हुनेमा यसपटक १४ सय मिलिमिटर वर्षा भइसकेको छ।
जोमसोममा पनि सरदर (१४० मिलिमिटर) भन्दा माथि (१८० मिलिमिटर) वर्षा भएको छ। लुम्लेमा भने औसतभन्दा कम वर्षा भएको छ। त्यहाँ ४ हजार ५०० मिलिमिटर वर्षा हुनेमा यसपटक ३ हजार ५०० मिलिमिटर वर्षा भएको छ।
जिरीमा सरदर (दुई हजार मिलिमिटर) भन्दा कम (१८ सय मिलिमिटरभन्दा केही बढी) वर्षा भएको छ। ओखलढुंगामा सरदर १४ सय मिलिमिटर वर्षा हुनेमा यसपटक १८ सय मिलिमिटर वर्षा भएको छ।
काठमाडौंमा १४ सय मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा एक हजार मिलिमिटर औसत वर्षा हुन्थ्यो।
जनकपुरमा औसतभन्दा कम वर्षा भएको छ। त्यहाँ ११ सय मिलिमिटर औसत हुनुपर्नेमा यसवर्ष नौ सय मिलिमिटर वर्षा भएको छ।
पोखरामा विमानस्थलमा पनि औसतभन्दा कम वर्षा मापन भएको छ। पोखरामा तीन हजार मिलिमिटर वर्षा हुनुपर्नेमा २ हजार ८०० मिलिमिटर वर्षा भएको छ।
सिमरा केन्द्रमा यस वर्ष कम वर्षा मापन भएको छ। जहाँ १४ सय मिलिमिटर वर्षा हुनुपर्नेमा १२ सय मिलिमिटर मात्रै पानी परेको छ।
विराटनगरमा अत्यधिक वर्षा मापन भएको छ। त्यहाँ सरदर (१२ सय मिलिमिटर) वर्षा हुनुपर्नेमा १८ सय मिलिमिटर वर्षा भइसकेको छ। धरान बजारमा सरदर (१६ सय मिलिमिटर) हुनेमा यसवर्ष १७ सय मिलिमिटर पानी परेको छ।
धनकुटामा ६५० मिलिमिटर पानी पर्नेमा ५५० र ताप्लेजुङमा १२ सय मिलिमिटर पानी पर्नेमा १३ सय मिलिमिटर वर्षा भएको छ।
सन् १९६८ देखि मनसुनको आगमन र बहिर्गमनको स्थिति