जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ८ जना थुनुवा फरार भएका छन्।
विभिन्न मुद्दामा पक्राउ परी थुनुवामा रहेका ९ जना भागेको तीमध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
भागेकामध्ये एकजना जनकपुरबाट पक्राउ परेका हुन्।
आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
‘उनीहरु १० जना एउटा कोठामा थिए तीमध्ये एकजना मात्रै भाग्न मानेनन बाँकी सबै भेन्टिलेशन फोडेर त्यहीँबाट निस्केर भागे । सेन्ट्री पनि बाहिर खटिएका थिए तर कसरी थाहा पाएनन अनुसन्धान हुँदैछ । हामी अहिले उनीहरुलाई खोज्नमा खटिएका छौँ त्यहीँ भएर धेरै कुरा बुझ्न पाएका छैनौ,’ डिएसपी अवाले भने ।
उनकाअनुसार फरार भएका जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठा बस्ने अमित कुमार झा, विदेह नगरपालिका-७ गिद्धा बस्ने रंजित मण्डल, सोही ठाउँ बस्ने रोशन कुमार मण्डल र सिरहा नगरपालिका-१३ बस्ने अभास्कर कुमार यादव रहेका छन । खैरो हिरोइन सहित पक्राउ परेका चारै जना लागु औषध मुद्दामा थुनामा थिए।
फरार भएका धनुषाको औरही गाउँपालिका-२ देउरी परबाहा बस्ने विशाल मुखिया समेत लागुऔषध मुद्दामै थुनामा थिए। फररा भएका जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने सुमित मेस्तर, नगराइन नगरपालिका-२ बस्ने मनिष मण्डल र जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने बिक्की कार्की अभद्र व्यवहार मुद्दामा थुनामा थिए।
फरार भएकाहरुलाई कसैलाई देखेमा प्रहरीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।