प्राध्यापक डा. अर्जुनदेव भट्ट युरोलोजिस्ट शल्यचिकित्सक हुन्। पाँच दशकदेखि उपचार सेवामा संलग्न उनी आज ८० वर्ष उमेरमा पनि बिरामीको शल्यक्रिया गर्दै छन्।
उनले पूर्ण छात्रवृत्ति पाएर रूसमा पढे। उतै विद्यावारिधि गरे। स्वदेश फर्केर चिकित्सा सेवामा लागे। उनी चिकित्सक मात्र होइनन्, कुशल लेखक पनि हुन्। उनले उपन्यास लेखेका छन्। कविता संग्रह प्रकाशित छ। आफूले उपचार गरेका बिरामीका कथा-व्यथा समेटेर संस्मरणात्मक कृतिहरू लेखेका छन्। आफ्नी आमाको स्मृतिमा पुस्तक पनि लेखेका छन्।
यिनै अथक साधकसँग उनको अनुभव र चिकित्सा सेवाका अनेक सन्दर्भमा गरिएको संवाद –
चिकित्सक अर्थात् डाक्टर भएर बिरामीको उपचार गर्नु सेवा हो कि पेसा वा व्यवसाय?
हाम्रो जीवन नै के हो भन्ने थाहा पाउनुपर्छ। जीवन भन्नु निरन्तर संघर्ष हो। कर्मको माध्यमबाट संघर्ष हुन्छ। संघर्ष सुखका निम्ति गर्ने हो। बिरामीको उपचार गर्नु एउटा पेसा नै हो। सबै पेसाको आ-आफ्नो महत्त्व हुन्छ। चिकित्सक भएर बिरामीको उपचार गर्नु पनि पेसा नै हो, सेवामूलक पेसा। उपचारमा सेवाको भाव अवश्य हुन्छ तर पेसा त हुँदै हो, व्यवसाय नै भन्नु पनि अन्यथा नहोला। अहिले त एक हदसम्म व्यापार जस्तो पनि हुन पुगेको छ। म चिकित्सा पेसामा आउँदा सेवा नै केन्द्रमा थियो। बिस्तारै व्यवसाय बन्दै गयो। चिकित्सा पेसामा सेवाको भाव हुनै पर्छ।
व्यवसायमा पैसा आर्जन गर्नु मुख्य उद्देश्य हुन्छ भन्ने लाग्छ, व्यापार त नाफामूलक हुने नै भयो, मुख्य उद्देश्य नाफा कमाउनु नै हो; यसो भएपछि अहिलेको चिकित्सा कर्म चाहिँ खास के हो?
चिकित्सा कर्म एउटा पेसा त हुँदै हो। बिरामीको उपचार गरेर नै चिकित्सक बाँच्ने हो, उपचारबाटै उसले अर्जन गर्ने हो। यसो भए पनि खासमा भित्री मनदेखि थोरै भए पनि सेवाभाव हुनेलाई मात्र सुहाउने पेसा हो भन्ने लाग्छ। आजकाल पेसाभन्दा बढी व्यवसाय र अझ अघि बढेर व्यापार हुँदै गएको देखिएको छ। नेपालमा यस्तो प्रवृत्ति निकै फस्टाएको छ। विश्वभर नै चिकित्सा कर्म व्यापारमा परिणत हुँदैछ।
व्यापारमा परिणत हुँदै जानुको खास कारण चाहिँ के हो?
मैले चिकित्सा शिक्षा पढ्दा मेरो एक पैसा पनि खर्च भएन। कोलम्बो प्लानमा पढेको हुँ। घर आउने-जानेसमेत खर्च पाइन्थ्यो। म डाक्टर हुनमा भित्री मनदेखि नै सेवाको भाव थियो। सेवाबाटै आफ्नो परिवार चल्ने आम्दानी हुन्छ भन्ने विश्वास थियो। डाक्टर भएर धेरै पैसा कमाउने सोच थिएन।
मैले पढेको जस्तो समय त अब सपनामा देख्न पनि मुस्किल भइसक्यो। अहिलेका अधिकांश चिकित्सकले आफ्नै खर्चमा पढेका हुन्। छात्रवृत्तिमा पढ्ने चिकित्सक नगन्य छन्। एउटा व्यक्ति एमबिबिएस डाक्टर हुँदा ६०-७० लाख रूपैयाँ खर्च हुन थालेको छ। विशेषज्ञ डाक्टर हुँदा एक करोडभन्दा बढी खर्च भएको हुन्छ।
एकातिर देशभर सबैले एमबिबिएस डाक्टरको सेवा पाए कस्तो हुन्थ्यो भन्ने अवस्था छँदै छ। अर्कातिर एमबिबिएस त डाक्टर नै होइन भन्ने धारणा व्यापक हुँदै छ।
अधिकांश नेपाली आमाबाबु आफ्ना छोराछोरीलाई सकेसम्म डाक्टर बनाउन चाहन्छन् भन्ने लाग्छ; भर्खर स्कुल जान थालेका छोराछोरीलाई पनि मेरी नानी डाक्टर हुन्छे, मेरो बाबु डाक्टर हुन्छ भनिरहेका हुन्छन्, खासमा आमाबाबु किन यस्तो चाहन्छन्?
छोराछोरी डाक्टर हुनु आमाबाबुका लागि प्रतिष्ठाको कुरा हुन्छ। मेरी छोरी डाक्टर छे, मेरो छोरो डाक्टर छ भन्दा गौरव अनुभूति हुन्छ। नेपाली समाजमा डाक्टर भएपछि इज्जत हुन्छ, राम्रो आम्दानी हुन्छ भन्ने धारणा व्याप्त छ। अब त धेरै आमाबाबुले छोराछोरीलाई डाक्टर बनाउने चाहना त्यागेको देख्छु। एक जनालाई डाक्टर बनाउन एक करोड रूपैयाँभन्दा बढी खर्च हुने भएपछि धेरै आमाबाबुले रहर मार्नुपर्ने अवस्था आयो।
आमाबाबुले करोडभन्दा बढी खर्च गरेर एक जनालाई डाक्टर बनाउनुभन्दा बरू कुनै व्यवसायमा लगानी गर्नु उचित देख्न थाले। डाक्टर भएपछि धेरै राम्रो आर्जन हुन्छ भन्ने धारणा पनि कमजोर हुँदै गएको देख्छु। खर्च गर्न सक्ने आमाबाबुले मात्र छोराछोरीलाई डाक्टर बनाउन सक्ने भए।
तपाईंहरू पाँच दाजुभाइ, सबै प्रख्यात विद्वान, तपाईं एक जना मात्र चिकित्सक, यस्तो चाहिँ कसरी भयो?
बैतडीको एउटा घटना छ, म सात वर्षजति उमेरको हुँदो हुँ। छिमेकमा एकजना बूढा मान्छे थिए, हुक्का तान्दै बस्थे।। एक दिन अचानक ऐया...ऐया... भन्दै कराउँदै भुइँमा लडीबुडी गरे। गाउँका मान्छे जम्मा भए। बूढाको पिसाब अड्किएको रहेछ भन्ने थाहा भयो। सबैले बूढामान्छे मर्ने भए भन्ठाने। डाक्टरकोमा पुर्याउन सके हुन्थ्यो भन्ने कुरा गरे तर लैजान ठाउँ छैन भन्दै गाउँका मान्छे बूढाका वरिपरि बसे।
अलिकपछि अर्को घटना भयो। बुबा सरकारी सेवामा हुनुहुन्थ्यो। सरूवा भएर सिलगढी (डोटी) जानुभयो। हामी पनि बुबासँगै गयौं। सिलगढीमा हाम्रो भाइ बिरामी पर्यो। उसलाई धेरै ज्वरो आएको थियो। एकदिन म स्कुलबाट आउँदा भाइ चिसो भुइँमा सुतेको थियो। पेट फुलेर दमाहाजस्तो भएको थियो। मैले उसलाई के भयो बाबु भन्दै पेट छोएँ। ऊ त मलाई नछोऊ भनेर चिच्यायो।
बुबाले कताबाट एक जना डाक्टर खोजेर ल्याउनुभयो। हातमा ब्रिफकेस बोकेको, टाउकामा ह्याट लगाएको, अग्लो ज्यान भएको। उसलाई देखेर मेरो मनमा डाक्टर भनेको त यस्तो राम्रो पो हुँदो रहेछ भन्ने पर्यो। बुबा ऊ बंगाली डाक्टर हो भन्नुहुन्थ्यो। उसले भाइलाई हेर्यो, छामछुम गर्यो अनि त्यहीँ घोषणा गरिदियो – यसको उपचार हुँदैन, यो त बित्छ।
साँच्चै भाइ बित्यो। आफ्नो आँखा अगाडि त्यति सानै उमेरमा भाइ बितेपछि मलाई पनि डाक्टर हुन्छु र बिरामीको उपचार गर्छु भन्ने लाग्यो। सात वर्षकै उमेरमा त्यस्तो सोच आयो।
डाक्टर बन्न धेरै मिहिनेत पढाइमा गर्नुपर्छ भन्ने थाहा पाएँ। त्यसपछि त किताबको कीरो नै भएँ, पढ्नेबाहेक अरू केही नगर्ने भएँ।
मैले दरबार हाई स्कुलमा पढेको हुँ। हामीलाई पकाएर खुवाउने हाम्री साहिँलीआमा हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो – यो अर्जुन आफ्नो कोठाबाट कहिल्यै बाहिर निस्किँदैन, यसलाई पढ्न पाए भयो।
विद्यालयमा अतिरिक्त क्रियाकलाहरू हुन्थ्यो होला, त्यसमा सहभागी हुनुभएन?
सहभागी हुन्थेँ तर अत्यन्तै कम, भाग लिन्नँ भन्दा हुनेसम्म पछि हट्थेँ। म स्काउटमा पनि थिएँ तर त्यसमा पनि सहभागी नभई नहुनेमा मात्रै हुन्थेँ।
पढाइमा रूचि चाहिँ कुन-कुन विषयमा थियो?
डाक्टर हुने भनेपछि विज्ञानमा रूचि हुने भइगयो। बायोलोजी बढी पढ्थेँ। गणितमा पनि रूचि थियो। गणितको डाइनामिक्स र ट्रिगोनोमेट्रीमा रूचि थियो। कक्षा ९ मा पढ्दा एडिसनल म्याथ (अतिरिक्त गणित) थियो। त्यसमा डाइनामिक्सको किताब लेख्ने प्रसन्नमानसिंह प्रधान हामीलाई पढाउनुहुन्थ्यो। मैले अर्धवार्षिक परीक्षामा एडिसनल म्याथमा ९९ (सय पूर्णांकमा) पाएँ। उहाँले मेरो सबै रिजल्ट हेरेर भन्नुभयो– ए अर्जुन! तैंले १० कक्षा पढ्नु पर्दैन, यसैपालि एसएलसी परीक्षा दे।
म अचम्ममा परेँ। उहाँलाई सोधेँ– यो स्कुल (दरबार हाई स्कुल) ले मलाई अहिले नै १० कक्षामा राख्छ र?
उहाँले भन्नुभयो– यहाँबाट त हुँदैन, तँ कालिकास्थानमा बस्छस्, त्यहाँ विजय मेमोरियल हाई स्कुल भन्ने रात्रि पाठशाला छ, म भनिदिन्छु। त्यहाँ ६ महिना १० कक्षा पढेर यसैपालि एसएलसी परीक्षा दे।
उहाँले विजय मेमोरियलमा भनिदिनुभयो। मैले त्यसै वर्ष एसएलसी परीक्षा दिएँ। त्यसपछि आइएस्सी (विज्ञानमा इन्टरमिडिएट) पढेँ।
तपाईं आफू डाक्टर बन्नुभयो, आफ्ना छोराछोरीलाई पनि चिकित्सा शिक्षा पढाएर डाक्टर नै बनाउनुभयो, यसरी छोराछोरीलाई पनि डाक्टर नै बनाउनुको खास कारण चाहिँ के हो?
मैले पढाएको, मैले बनाएको होइन। डाक्टर भएर आएपछि २०३१ सालमा मैले जलेश्वरमा काम सुरू गरेँ। म आइएस्सीसम्म काठमाडौंमा पढेको, रूसमा पढेर डाक्टर भएको। मेरा लागि त्यो बेलाको जलेश्वर धेरै दुर्गम ठाउँ थियो।
त्यस्तो ठाउँमा म बिरामीको उपचार गर्ने डाक्टर मात्र नभएर सेवाभावले काम गर्थेँ। त्यहाँ एउटा डाक्टरका रूपमा मेरो ठूलो मानसम्मान थियो। जो बोलाउन आए पनि हत्तपत्त 'नाइँ' भन्दैन थिएँ। आफ्नो ड्युटीबाहेक पनि अस्पतालबाट बोलाउँथे। जुन बेला बोलाए पनि पुग्थेँ।
मैले छोराछोरीलाई डाक्टर हुनुपर्छ भनेर कहिल्यै भनिनँ। उनीहरू आफैले रोजेका हुन्। सायद उनीहरू मेरो काम र सेवाभावबाट प्रभावित भए।
गायकका छोराछोरी गायक, फिल्म हिरो-हिरोइनका छोराछोरी हिरो-हिरोइन, व्यापारीका छोराछोरी व्यापारी भएजस्तै डाक्टरका छोराछोरी पनि डाक्टर नै भए भन्ने मानौं त?
हो, त्यसो भएको पनि हुन सक्छ। बालबालिकाको भविष्य निर्धारणमा पारिवारिक पृष्ठभूमिको प्रभाव हुन्छ नि, त्यस्तै भएको होला।
जलेश्वर (महोत्तरी सदरमुकाम) बाट काम सुरू गर्नुभएको रहेछ, त्यस बेलाको अनुभव कस्तो रह्यो?
मैले भनेँ नि, मेरा लागि त्यो बेलाको जलेश्वर धेरै दुर्गम थियो। बिजुलीबत्तीको टुंगो थिएन। ट्युबवेलको पानीलाई त हामी पानी नै नठान्ने! आजको जस्तो ग्यास थिएन, मट्टितेलको स्टोभमा खाना पकाउनुपर्ने।
रूसी श्रीमती र रूसमा जन्मेका छोराछोरी लिएर म त्यस्तो अवस्थाको जलेश्वरमा बसेको थिएँ। उनीहरूका लागि त्यस्तो ठाउँ अकल्पनीय थियो। त्यस्तो ठाउँको डाक्टर भएपछि मलाई कहिल्यै फुर्सद भएन, अस्पताल जाने बाहेकको समय पनि घरमा बस्न नपाउने। मानिसहरू घरमै लिन आउने। कोही त हात्ती लिएर पनि आउँथे। मुख्य सवारीसाधन रिक्सा र बयलगाडा थियो।
एकपटक एक व्यक्ति घरमा आएर एक जना बिरामी तुरून्तै हेरिदिनुपर्यो भने। मैले त अस्पतालमा ल्याएछन् र मलाई बोलाउन आएछन् भन्ठानेँ। त्यसो होइन रहेछ, घरमै जानुपर्छ भने। त्यताका धनमानी मान्छेकी आमा रहिछन्। मलाई रिक्सामा राखेर लगे। केही पर पुगेपछि रिक्सा जान नसक्ने बाटो रहेछ। त्यहाँ बयलगाडा ठिक पारेका रहेछन्, त्यसमै चढाएर लगे।
बूढीआमा निकै बिरामी रहिछन्। जाँचेर आफूसँग भएको केही औषधि दिएँ, थप औषधि लेखिदिएँ। यति गरिसकेपछि मात्रै बूढीआमैका छोरा आए। सफाचट थिए, सेतो कुर्तासुरूवाल लगाएका, हिन्दी भाषामा बोल्दा रहेछन्। साँझ पर्न थालेको थियो। मैले हिँड्न हतार गरेँ, पुर्याइदिनू भनेँ। उनले त खाना नखाई जानै पाउनुहुन्न भनेर ढिपी कसे। ढिलो हुन्छ, रात पर्न थाल्यो भनेँ।
उनले उ हर्नुहोस्, हात्ती छ नि, हात्ती चढाएर पठाउँछु पो भने! हात्ती देखेर छक्क परेँ।
साँच्चै, म हात्ती चढेरै घर फर्किएँ। पहिलोपटक हात्ती चढेको त्यही थियो। धेरै ढिलो भएपछि घरमा पिर गरेर बसेका रहेछन्, हात्ती चढेर आएको देखेर श्रीमती र साना छोराछोरी छक्क परे। वरिपरिका मान्छे पनि 'डाक्टर सा'ब आउनुभो' भन्दै भेला भए।
तपाईंले लेखक खगेन्द्र संग्रौलाको पनि शल्यक्रिया गर्नुभएको रहेछ। हालै तपाईंको किताब विमोचनका लागि आयोजित कार्यक्रममा उहाँले 'बूढो डाक्टर शल्यक्रियाका लागि तयार पर्दा म डराएँ, कतै हात दायाँबायाँ परेर काम बिग्रिने हो कि भन्ने लाग्यो तर अत्यन्त कुशल ढंगले शल्यक्रिया भयो, म निको भएँ' भन्नुभयो। हुन पनि तपाईं लगभग ८० वर्ष उमेरको हुनुभयो, अझै सेवामा हुनुहुन्छ। खासमा एउटा चिकित्सक कुन उमेरमा पूर्ण रूपले सेवानिवृत्त हुन्छ?
यति उमेरमा, यही दिन काम छाड्नुपर्छ भन्ने किटान गरेको पाइँदैन। मैले चिकित्सासम्बन्धी कुनै पनि 'लिटरेचर' मा त्यसरी किटान गरेको भेटेको छैन। मैले पढेको रूसमा ९० वर्ष उमेरको डाक्टरले पनि उपचार गरेको देखेँ। अन्य केही देशमा पनि त्यस्तो देखेँ, अप्रेसन (शल्यक्रिया) नै गरेको पनि देखेँ। यसो भए पनि उमेरले केही न केही असर पर्छ। आफ्नो अवस्था थाहा पाउने सम्बन्धित चिकित्सकले नै हो। म अहिले (८० वर्ष उमेरमा) पनि प्रोस्टेटको अप्रेसन गर्दैछु। आजसम्म कुनै असजिलो, असुविधा अनुभव गरेको छैन; कतै केही भुलूँला कि भन्ने पनि परेको छैन।
कहिलेसम्म काम गर्ने भन्ने कुरा उमेरसँग भन्दा पनि आफ्नो स्वास्थ्य अवस्था, आँखाको दृष्टि र आत्मविश्वासमा भर पर्छ जस्तो लाग्छ। जुन दिन मलाई थोरै भए पनि आफूमाथि शंका हुन्छ, त्यसै दिन अप्रेसनको काम बन्द गर्छु।
तपाईंले काम सुरू गरेको आजभन्दा ५० वर्षअघिदेखि एचए (हेल्थ असिस्टेन्ट) का रूपमा सेवा गरीकन विशेषज्ञ डाक्टर भएका भगवान कोइराला र वसन्त पन्त हुँदै आजसम्म आइपुग्दा उपचार सेवाका क्षेत्रमा कस्तो परिवर्तनको अनुभव गर्नुभएको छ?
यसरी समयसँग तुलना गरेर हेर्दा आकाश-जमिनको फरक परिसक्यो। मैले जनकपुरमा काम गर्दा ल्याब (प्रयोगशाला) मा हेमोग्लोबिन र ब्लग ग्रुप जाँच्ने सुविधा पनि थिएन। बिरामीलाई रगत चढाउने कुरै थिएन। त्यस्तो ठाउँमा पनि मैले प्रोस्टेटको अप्रेसन गरेँ।
एकपटक मटिहानीका महन्थ आए। महन्थ त एक प्रकारले त्यहाँका राजाजस्ता हुँदा रहेछन्। उनी अग्लो र मोटो ज्यानका थिए। प्रोस्टेटको समस्या रहेछ। मैले उनलाई 'यहाँ अप्रेसन गराउँदा धेरै जोखिम हुन्छ, तपाईं दिल्ली वा भारतको अर्को ठूलो सहरमा जानुहोस्' भनेर सल्लाह दिएँ। यसै पनि अग्लो-मोटो मान्छेको प्रोस्टेट ठूलो हुन्छ। उनको त पिसाब नै रोकिएको थियो। मैले भनेँ– अहिले तपाईंको पिसाब खोलिदिन्छु, अप्रेसन गराउन भारत जानुहोस्, सुविधासम्पन्न अस्पतालमा सबै किसिमको परीक्षण गराएर मात्र अप्रेसन गराउनुहोस्।
उनी त 'तपाईं सबैको उपचार गर्ने, मलाईं चाहिँ भारत जाऊ भन्ने, पण्डित भनेर मेरो उपचार नगरेको' भनेर उल्टै रिसाए। उनको अप्रेसन गर्न पाउनु मेरा लागि राम्रै भए पनि उनलाई जोखिम थियो तर मसँगै गराउने भनेर अड्डी कसे। मैले सम्भावित जोखिमबारे सम्झाएँ, तैपनि उनी तयार भए। खासमा उनलाई मप्रति ठूलो विश्वास रहेछ। उनको अप्रेसन गरेँ, निको भए, खुसी भएर गए।
आज आधुनिक उपकरणबाट सबै किसिमको परीक्षण हुन्छ। डाक्टर र बिरामी दुवैलाई सजिलो भएको छ। जोखिम घटेको छ। लामो समयमा यस्तो सुविधा विकास भएको हो। म जनकपुरमा त्यसरी अप्रेसन गरेको मान्छे, आज अत्याधुनिक लेजर प्रयोग गर्छु।
मेरो खास जिज्ञासा उपकरणसम्बन्धी भन्दा पनि चिकित्सा सेवा र डाक्टरहरूको भावनासम्बन्धी हो। यसमा कुन किसिमको परिवर्तन अनुभव गर्नुभएको छ?
ठ्याक्कै यस्तै छ भनेर हिसाब गरेजसरी त भन्न सकिन्न तर व्यवसायको भावना बढ्दै गएजस्तो देख्छु। पहिले एचए भएर दुई-तीन वर्ष सेवा गर्ने अनि एमबिबिएस पढ्ने, त्यसपछि विशेषज्ञ डाक्टर हुने व्यवस्था राम्रो थियो। भगवान कोइराला यस्तै व्यवस्थाबाट आएका हुन्। यस्ता डाक्टरहरूमा पेसाप्रति समर्पण र सेवाभाव बढी थियो। आजकाल सेवाभाव कमजोर हुँदै गएजस्तो देख्छु।
मलाई चिकित्सा शिक्षा पढ्ने विद्यार्थी निकै मेधावी र मिहिनेती हुन्छन् र हुनुपर्छ जस्तो लाग्छ। आजकाल पैसा खर्च गर्न सक्ने आमाबाबु छन् भने सामान्य स्तरको विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाएको हो कि जस्तो देख्छु। चिकित्सा सेवामा यस अवस्थाको प्रभाव कस्तो देख्नुहुन्छ?
विद्यार्थी कति ब्रिलियन्ट (मेधावी) हो भन्ने कुराले धेरै ठूलो फरक पार्छ जस्तो लाग्दैन। पढ्ने अवसर पायो भने सामान्य स्तरको विद्यार्थी पनि राम्रो मिहिनेत गरेर राम्रो डाक्टर बन्न सक्छ। खासमा म डाक्टर बन्छु र उच्च सेवाभावका साथ बिरामीको उपचार गर्छु भन्ने अठोट चाहिन्छ। यसरी आएको डाक्टर स्वाभाविक रूपमा राम्रो हुन्छ, उसमा सेवाभाव पनि हुन्छ।
अहिले पैसाले डाक्टर बन्न सक्ने सुविधा भयो। पैसा खर्च गर्न सक्ने आमाबाबु छन् भने छोराछोरी डाक्टर बन्न सक्ने भए। धेरै पैसा खर्च गरेर पढेपछि त्यसैअनुसार कमाउनुपर्ने भयो। डाक्टर बनेर सेवा गर्नेभन्दा डाक्टर बनेर पैसा र इज्जत कमाउने धारणा प्रबल भयो। कतिपय छोराछोरी त आफ्नो इच्छाले भन्दा पनि आमाबाबुको इच्छाले डाक्टर बन्नुपरेको छ। यस्तो अवस्थाले सेवाभाव कमजोर बनाउँछ तर यही भनाइ नै शतप्रतिशत सही हो भन्ने पनि होइन। मिहिनेत गरेर पढेको अनि नयाँ प्रविधि र चिकित्सा क्षेत्रमा हुँदै गरेको विकासमा जिज्ञासु छ भने त्यस्तो डाक्टर अवश्य राम्रो हुन्छ।
पढेर डाक्टर भएपछि उसको पढाइ सकिने होइन, उसले दिनदिनै पढ्नुपर्छ, अध्ययन गरिरहनुपर्छ। यस्तो डाक्टरले राम्रो उपचार गर्छ, सेवाभाव पनि बढी हुन्छ। इन्टरनेटले र गुगलले दिएको सुविधाका कारणले बिरामी र बिरामीका आफन्त पनि डाक्टरसँग प्रश्न र बहस गर्न सक्ने भएका छन्। यो जाँच किन? यो औषधि किन? यस्ता प्रश्न गर्न सक्छन्। यस अवस्थामा डाक्टर झन् बढी मिहिनेती र अध्ययनशील हुनु आवश्यक भएको छ। अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को जमानामा त डाक्टर झन् बढी अध्ययनशील हुनुपर्ने भएको छ।
नेपालमा चिकित्सा शिक्षाबारे निकै लामो समयदेखि बहस र विवाद चल्दै आएको छ। डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर धेरैपटक आमरण अनसन गर्नुभयो। यस सन्दर्भमा तपाईंको धारणा के छ?
उहाँ (डाक्टर गोविन्द केसी) का केही माग जायज थिए जस्तो लाग्छ। देशभरि सहज चिकित्सा सेवा हुनुपर्छ, आवश्यकता हेरेर मेडिकल कलेज स्थापना गर्नुपर्छ भन्ने उहाँको माग उचित हो। मेरो विचारमा हरेक प्रदेशमा सुविधायुक्त सरकारी मेडिकल कलेज र अस्पताल हुनुपर्छ। जनसंख्याको चाप हेरेर अझ बढी पनि हुनुपर्छ। मेडिकल कलेज र अस्पतालहरू काठमाडौं उपत्यकामा मात्र केन्द्रित हुनु उचित होइन।
अनकन्टार ठाउँमा ठूलो मेडिकल कलेज खोलेर पनि हुँदैन। जनसंख्या र भूगोललाई आधार बनाएर उपयुक्त ठाउँमा मेडिकल कलेज र अस्पताल खोल्नुपर्छ। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरू उत्कृष्ट छन्। अस्पताल पनि राम्रो छ तर अझै पनि बिरामीहरू काठमाडौं आउँछन्। आधुनिक उपचार र विशेषज्ञ डाक्टरको सेवा लिन काठमाडौं नै जानुपर्छ भन्ने धारणा धेरैमा छ। यो धारणा बदल्न उपत्यकाबाहिर पनि आधुनिक सुविधा र विशेषज्ञ डाक्टर आवश्यक पर्छ।
यी सबै पक्षमा राम्रो अध्ययन गरेर मात्र मेडिकल कलेज र अस्पताल खोल्ने व्यवस्था गर्नुपर्छ।
मेडिकल कलेजका सन्दर्भमा बारम्बार विवाद भइरहेको हुन्छ। कैलालीको गेटामा मेडिकल कलेज र अस्पतालका लागि भव्य संरचना तयार भएको छ तर विश्वविद्यालय कि प्रतिष्ठान भन्ने विवादले सबै संरचना उपयोगविहीन छ। यस्तो विवाद समाधानको उपाय के हुन सक्छ?
म यस किसिमका विवादमा राजनीतिक रङ देख्छु। विश्वविद्यालय अलिक बृहत् संस्था हो। प्राज्ञिक संरचनाका हिसाबले प्रतिष्ठान अलिक सहज हुन्छ। कसैलाई मेरा पालामा विश्वविद्यालय बनाएँ भनेर देखाउनुपर्ने होला। कोही प्रतिष्ठान बनाएरै भए पनि पढाइ सुरू गरिहालौं, अस्पताल चलाइहालौं भन्नेमा होलान्। आममानिसलाई चाहिएको अस्पताल हो। देशको आवश्यकता मेडिकल कलेज र अस्पताल हो। यसअनुसार काम अघि बढाउन सहमति खोज्नुपर्ने हो तर समाधान गर्नुपर्ने तहका मानिसहरू विभाजित छन्। विभाजनमा राजनीतिक र निजी स्वार्थ छ। सरकार समन्वयमा ध्यान दिँदैन, रमिता हेरेर बस्छ। धेरै ठाउँका समस्याहरू यसै गरी अल्झिएको देख्छु।
हामीले उपयुक्त ठाउँमा मेडिकल कलेज राम्ररी चलाउन सक्ने हो भने विदेशी विद्यार्थीहरू आउने ठूलो सम्भावना छ। गेटा पनि यस्तै सम्भावना भएको ठाउँ हो। गेटाले ठूलो जनसंख्यालाई सेवा दिन सक्छ तर विवादमा अल्झिएको अल्झियै छ।
एकातिर डाक्टरहरूप्रति ठूलो सम्मान छ। उपचारबाट निको भएका कतिपय बिरामी फलाना डाक्टरकै कारणले पुनर्जीवन पाएँ भन्छन्। अर्कातिर डाक्टरले उपचारमा लापरबाही गरेका कारण बिरामीको मृत्यु भयो भन्ने आरोप पनि लाग्ने गरेको छ। एकपटक वीर अस्पतालमा तपाईंमाथि पनि झन्डै आक्रमण भएको थियो। खास कुरा के हो? उपचारमा कति लापरबाही हुन्छ?
बिरामी र उनका आफन्त फटाफट उपचार होओस्, छिटो घर फर्कन पाइयोस् भन्ने अपेक्षामा हुन्छन्। यसअनुसार अस्पतालमा सुविधा नहुन सक्छ। बिरामीको भिडभाड हुन्छ, उपचारमा ढिलाइ हुन्छ। यसमा डाक्टरलाई जिम्मेवार मान्नु उचित हुँदैन। उपचारमा ढिलो भयो भनेर वीर अस्पतालमा ममाथि आक्रमणको प्रयास भएको थियो तर मेरा कारण ढिलो भएको थिएन। बिरामीले पालो कुर्नुपरेको थियो। म पालो मिचेर छिटो अप्रेसन गराउन सक्ने अवस्थामा थिइनँ। सरकारी अस्पतालमा यस्तो समस्या छ। आइतबार डाक्टर भेटेपछि अर्कोपटक भेट्न बुधबार कुर्नुपर्ने र बुधबार भेटेपछि फेरि आइतबार कुर्नुपर्ने चलन अन्त्य गर्नुपर्छ। यसो गर्न असम्भव छैन। बिरामीले फटाफट सेवा पाउने व्यवस्था हुनुपर्छ।
अर्को समस्या बिरामीका आफन्तको धारणामा छ। हिँडेर आएको थियो, अप्रेसन गरेपछि मर्यो। हिँडेर आएको थियो, कसरी मर्यो भन्ने प्रश्न उठ्न सक्छ तर यस्तो घटना हुन असम्भव छैन। उपचार गरेपछि, अप्रेसन भएपछि बिरामी मर्नै हुँदैनथ्यो भन्ने हुँदैन। डाक्टरले बचाउनकै लागि उपचार गर्ने हो तर उपचार राम्रो हुँदाहुँदै पनि बिरामीकै कारण मृत्यु हुन सक्छ।
हवाई यात्राको उहारण हेरौं न। यात्रु सकुशल गन्तव्यमा पुग्नकै लागि हवाईजहाज चढेको हुन्छ। पाइलटले पनि गन्तव्यमा पुर्याउनकै लागि आत्मविश्वासका साथ उडाएको हुन्छ। अब बीचमा दुर्घटना भयो भने के गर्ने त! उपचार सेवा र बिरामीको अप्रेसन पनि यस्तै हो। धेरै जना विशेषज्ञ डाक्टरहरूले घन्टौं लगाएर गरेको जटिल अप्रेसनबाट बिरामी निको भएको हुन्छ। सबै खुसी हुन्छन्। कहिलेकाहीं ठमठम हिँडेर आएको बिरामी, साधारण ठानिने अप्रेसनमा पनि मर्न सक्छ। यस्तो घटना डाक्टरका लागि पनि अप्रिय हुन्छ, उसका लागि अप्रत्यासित हुन्छ तर आफन्तहरू लापरबाही भनेर विरोध र आक्रमणमा ओर्लिन सक्छन्।
कहिलेकाहीं कुनै डाक्टरको व्यक्तिगत कारणले लापरबाही भएको पनि हुन सक्ला। लापरबाही भएको हो कि होइन भन्ने थाहा पाउन गहिरो छानबिन चाहिन्छ।
डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु, शिशुको मृत्यु भन्ने समाचार पढ्नुभएको होला नि?
मैले भनेँ नि, कुनै कारणले लापरबाही हुन पनि सक्ला तर केलाई लापरबाही मान्ने, यो निकै जटिल कुरा हो। डाक्टर त जहिले पनि बिरामी निको हुने गरी काम गर्न र निको भएको देख्न चाहन्छ। डाक्टर भनेको त्रिकालदर्शी त होइन! उसले पनि परीक्षणबाट थाहा पाउने हो। फटाफट परीक्षण गर्दैगर्दा, अप्रेसनको तयारी भइरहँदा पनि बिरामीको शरीरमा आन्तरिक रूपमा जटिलता देखापर्न सक्छ। यस्तो कुरा आफन्तलाई थाहा हुँदैन। यस्तो अवस्थामा डाक्टरले अधिकतम प्रयास गर्छ तर नकारात्मक परिणाम आयो भने डाक्टरले लापरबाही गर्यो भन्ने दोष लाग्छ। जीवन र मृत्यु दोसाँधमा छन् भन्ने कुरा बुझ्नुपर्छ।
मलाई कस्तो लाग्छ भने डाक्टरले कयौंको उपचार गरेको हुन्छ, कयौं मृत्यु देखेको हुन्छ, जटिल बिरामीहरू देखेको र उपचार गरेको हुन्छ। उसका लागि त बिरामी, उपचार र मृत्यु सामान्य घटना जस्तो लाग्ला। यस्तोमा त लापरबाही पनि हुन सक्छ नि?
हो, डाक्टरले यो सबै देखेको र व्यहोरेको हुन्छ तर उसले बिरामीलाई छिटो निको बनाउन नै काम गर्ने हो। डाक्टर पनि मान्छे नै हो। उसबाट पनि त्रुटि हुन सक्छ। तत्कालै अस्पताल पुग्नुपर्नेमा जानजान केही ढिलो पनि गर्ला तर सामान्यीकरण गरेर हेर्न मिल्दैन। कोही एउटा डाक्टरको लापरबाही देखियो भने सबै डाक्टर यस्तै हुन् भनेर सामान्यीकरण गर्नु राम्रो होइन। आफूले उपचार गर्दै गरेको बिरामीको मृत्यु हुँदा डाक्टर पनि दुःखी हुन्छ। कोही डाक्टर दोषी देखियो भने कारबाहीको प्रावधान पनि छ।
सबै उमेरका मानिस उपचारमा आउँछन्। सक्रिय उमेरको व्यक्ति र ८०/८५ वर्षमाथिको व्यक्तिको उपचार गर्दा डाक्टरको मन कस्तो हुन्छ? यसमा तपाईंको अनुभव के छ?
म युरोलोजीको डाक्टर भएकाले तुलनात्मक रूपमा मेरा धेरैजसो बिरामी ढल्कँदो उमेरकै हुन्छ। केही वर्षअघि धरानमा भएको एउटा अन्तर्राष्ट्रिय सेमिनारमा मैले उपचार गरेका ८० वर्षमाथिका दुई सय जना बिरामीको डेटा पेस गरेको थिएँ। एक जना १०३ वर्षका थिए। बाल, युवा, वृद्ध जुन उमेरको भए पनि डाक्टरको भावना त बिरामी निको भएर घर जाओस् भन्ने नै हुन्छ। उसको काम नै निको बनाएर घर पठाउने हो। उपचारले काम गरेन भने त जुन उमेरको बिरामी पनि मर्न सक्छ नि! उमेरअनुसार बिरामी कुन हदसम्म ठिक हुन्छ भन्ने त हुने नै भयो तर अधिकतम राम्रो गर्ने भावना हुन्छ।
डाक्टरहरू बिरामीमाथि अनेक प्रयोग गर्छन् र अनावश्यक परीक्षणहरू गराउँछन्, अनावश्यक खर्च गराउँछन् भन्ने टीकाटिप्पणी पनि सुनिन्छ। यस्तो टीकाटिप्पणीमा कत्तिको दम देख्नुहुन्छ?
डाक्टरले बिरामीको अवस्था थाहा पाउन र रोग पहिचान गर्न केही आधारभूत परीक्षणहरू गर्नै पर्छ। यस्ता परीक्षणका आधारमा थप कति परीक्षण गर्नुपर्छ र कतिसम्म जटिल परीक्षण आवश्यक पर्छ भन्ने थाहा हुन्छ। सामान्यतया डाक्टरले धेरै किसिमका परीक्षण गराउन चाहेको हुँदैन। रोग पहिचानको हदसम्म त परीक्षण गर्नै पर्छ। डाक्टरले बिरामीमाथि प्रयोग गर्छन् भन्ने कुरामा दम छैन। यस्तो हुँदैन। कहिलेकाहीं निको हुन्छ भनेर दिएको औषधि प्रभावकारी भएन वा बिरामीका लागि प्रतिक्रियात्मक भयो भने औषधि फर्नै पर्छ। यसलाई पनि प्रयोग गरेको भन्ने हो भने त जबाफ दिएर पार लाग्दैन। कुनै अस्पताल वा कुनै डाक्टरले बढी आर्थिक लाभको नियत राखेर यो पनि गर्नुपर्छ, त्यो पनि गर्नुपर्छ भन्छन् भने राम्रो होइन। यसो गर्नु चिकित्सा सेवाको मर्मविपरीत हो। मैले अघि भनें नि, सबै कुरा सामान्यीकरण गर्न सकिँदैन।
निकै गम्भीर अवस्थाको बिरामी उपचारबाट निको भएर घर जाने बेला बिदा हुन आउँदा डाक्टरको मन कस्तो हुन्छ? तपाईंको अनुभव कस्तो छ?
डाक्टरको खुसी नै त्यही हो। निको भएर फर्कने बेला बिरामीहरू डाक्टरलाई भेट्न चाहन्छन्, धन्यवाद भन्न चाहन्छ। डाक्टरलाई पनि मैले गरेको काम सफल भयो भन्ने खुसी हुन्छ। परीक्षामा उत्कृष्ट अंक पाएर विद्यार्थी उत्तीर्ण हुँदा शिक्षक खुसी हुन्छ नि, बिरामी निको हुँदा डाक्टर पनि ठ्याक्कै त्यसरी नै खुसी हुन्छ। बिरामी कहिलेकाहीं डाक्टरलाई धन्यवाद दिन आएको हुन्छ तर भन्न जानिराखेको हुँदैन। कोही बोल्न खोज्दा भावुक भइदिन्छन्। डाक्टरले त्यो भावना बुझेर आत्मीयताका साथ बिदा गर्नुपर्छ।
तपाईंको अनुभवले मैले एउटा घटना सम्झेँ। केही वर्षअघि मेरी एकजना काकीको मिर्गौलाबाट पत्थर निकालिएको थियो। पत्थर निकै ठूलो भएकाले उपचार अलिक जटिल पनि भइदियो। काकी निको हुनुभयो। फर्कने बेला डाक्टर भेट्छु भन्नुभयो। मैले लिएर गएँ तर काकी बोल्न सक्नुभएन। डाक्टरलाई देख्नासाथ रूनुभयो। डाक्टरले 'दिदी, मैले तपाईंको कुरा बुझेँ, तपाईं खुसी हुनुभएको छ। अब ढुक्कले घर जानुहोस्, केही समस्या भए आउनुहोला' भने। काकीको ओठमा हलुका मुस्कान देखियो तर पनि बोल्न सक्नुभएन। तपाईंसँग पनि यस्तो कुनै अनुभव छ कि?
तपाईंले भनेकै जस्तो त छैन तर म मर्नै लागेको थिएँ, पुनर्जीवन, दिनुभयो, मेरा लागि भगवान हुनुभयो भनेर खुसी भएका धेरै जना छन्।
तपाईं आफूले उपचार गरेको तर अपेक्षाविपरीत परिणाम आएर साह्रै नरमाइलो लागेको, म असफल भएँ भनेर मनमा गढेको कुनै घटना छ कि?
त्यस्तो घटना छ। म जलेश्वरमै थिएँ। मेरा सहकर्मी डाक्टरका बुबाको उपचार गर्नु थियो। ठूलो समस्या थिएन। जनकपुरमा अप्रेसन गर्ने टुंगो भयो। सबै परीक्षण सकिएपछि अप्रेसन थिएटरमा लगेर एउटा इन्जेक्सन दिनासाथ बिरामीको मृत्यु भयो। साथीको बुबा! मेरो कुनै उपाय भएन। छाँगाबाट खसेजस्तो भएँ। मेरो विश्वास गरेर साथीले आफ्ना बुबाको अप्रेसन गराउन ल्याएका थिए। विचार गर्नुहोस् त, त्यस बेला मेरो स्थिति के भयो होला! मेरा लागि अकल्पनीय घटना थियो। अरू कोही मान्छे र अहिलेको जस्तो समय भएको भए ठूलो हंगामा हुने थियो। मृतकको छोरा डाक्टर भएकाले र उनलाई त्यस्तो आकस्मिक जटिलताको ज्ञान भएकाले घटना सामान्य मानियो तर मलाई धेरै पछिसम्म घोचिरह्यो। अझै पनि मेरो दिमागमा ताजा छ।
तपाईंका बुबा पनि वीर अस्पतालमा एउटा इन्जेक्सन दिनासाथ बित्नुभयो। त्यसपछि आफ्नो छोरो डाक्टर भए पनि अस्पताल र डाक्टरप्रति तपाईंकी आमाको विश्वास समाप्त भयो। आमा कहिल्यै पनि अस्पताल जान मान्नुभएन। त्यो घटना कसरी सम्झनुहुन्छ?
अपवादमा हुने घटना हो। म आफू डाक्टर भएकाले बुबाको मृत्युलाई पनि अपवादमै लिएँ। जनकपुरमा भएको घटना पनि अपवाद नै थियो। यस्तो अपवाद कहिलेकाहीँ हुँदो रहेछ। बुबा बितेपछि आमाले अस्पताल भन्ने सुन्नै चाहनुभएन। औषधि पनि खानुभएन तैपनि औसतभन्दा निकै बढी उमेर बाँच्नुभयो। त्यसमा खुसी थिएँ।
आचारसंहिता र पेसागत धर्मका हिसाबले हेर्दा एउटा चिकित्सकले गर्नै नहुने काम भन्नुपर्यो भने के के भन्नुहुन्छ?
मलाई बढी पैसा आउँछ भनेर अनावश्यक परीक्षण गराउने र अनावश्यक अप्रेसन गर्ने काम गर्नु हुँदैन। उपचार खर्चिलो हुने जटिल रोग छ, उपचार नलाग्न पनि सक्छ भन्ने अवस्था छ भने डाक्टरले होस पुर्याएर मात्र बिरामी वा उसका आफन्तलाई सूचना दिनुपर्छ। कुन समयमा कसलाई भन्ने हो, त्यो थाहा पाउनुपर्छ। डाक्टरले बिरामीलाई अनावश्यक रूपमा औषधि थोपर्ने काम पनि गर्नु हुँदैन। औषधिबारे राम्ररी बताउनुपर्छ। बिरामी र उसका अफन्तलाई राम्रो काउन्सिलिङ (परामर्श) गर्नुपर्छ। बिरामी र आफन्तको मनोविज्ञान राम्ररी बुझेर त्यसअनुसार कुरा र व्यवहार गर्नुपर्छ।
गर्नै नहुने भनेजस्तै पेसागत धर्मका हिसाबले एउटा डाक्टरले गर्नैपर्ने काम चाहिँ के के हो?
मानौं, अप्रेसन नगरी हुँदैन तर बिरामी मान्दैन भने उसलाई मनाउने कर्तव्य डाक्टरकै हो। डाक्टरले बिरामीलाई आवश्यक उपचारका लागि सहमत गराउने काम गर्नुपर्छ। डाक्टरले सम्भावित जोखिमबारे बिरामीका आफन्तलाई राम्रो जानकारी गराउनुपर्छ। उपचारमा बिरामीको र आफन्तको सहमति लिनुपर्छ। आफूखुसी निर्णय लिनु हुँदैन। सम्भावित खर्चबारे पनि राम्रो जानकारी गराउनुपर्छ। यसो भयो भने खर्च जोहो गर्न सजिलो पर्छ। उपचार सम्पन्न भएर घर गएपछिको सम्भावित खर्चबारे पनि जानकारी गराउनु राम्रो हुन्छ। पथपरहेज (बिरामीले गर्नुपर्ने र गर्न नहुने) बारे पनि राम्ररी सम्झाउनुपर्छ।
पाँच दशक सेवा गरेको अनुभवी चिकित्सकका हैसियतले तपाईं भर्खरै सेवा प्रवेश गरेका युवा चिकित्सकहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
पेसागत धर्म र मर्मअनुसार चल्नुपर्छ। नयाँ प्रविधि र खोज-अनुसन्धानबारे अध्ययनशील हुनुपर्छ। आफ्नो सिप र क्षमता बढाउन क्रियाशील रहनुपर्छ। बिरामी देखेर घिन मान्ने, छुन गाह्रो मान्ने, बिरामीसँग रिसाउने, झर्कोफर्को गर्ने डाक्टरले राम्रो उपचार गर्न सक्दैन। यस्तो डाक्टर पढाइका हिसाबले जति नै ब्रिलियन्ट भए पनि बिरामीले राम्रो सेवा पाउँदैन। मैले यस्ता डाक्टर पनि देखेको छु।
डाक्टरलाई विश्वास गरेर बिरामी आएको हुन्छ। ढुंगालाई पनि भगवान मान्ने हाम्रो संस्कृति छ। विश्वास भएपछि बिरामीले त डाक्टरलाई नै भगवान मान्छ। डाक्टरले जहिले पनि बिरामी र उसका निकट आफन्तको संवेदनशीलता बुझ्नुपर्छ। डाक्टरको मिजास राम्रो छ, हँसमुख छ, बिरामीको भावनाको कदर गर्छ भने बिरामीले सन्तोष अनुभव गर्छ। यसले निको हुनमा मनोवैज्ञानिक प्रभाव पार्छ।
उपचार गरेर पठाएको बिरामीसँग पनि सम्पर्कमा रहनुपर्छ। बिरामीलाई कुनै समस्या पर्यो भने उसले धक नमानी फोन गरोस्, डाक्टरले आवश्यक परामर्श दिन सकोस्। यस्तो सम्पर्कले चिकित्सकलाई उपचार पद्धति, औषधि इत्यादिबारे अनुसन्धानमा पनि मद्दत पुग्छ।
चिकित्सा सेवामा पेसागत हिसाबले र व्यक्तिगत हिसाबले के के चुनौतीहरू देख्नुहुन्छ?
चिकित्सा शिक्षा धेरै महँगो भयो। पढाइमा धेरै खर्च गरेपछि त्यसैअनुसार कमाउनुपर्ने हुन्छ। पढाइमा लागेको खर्च उठाउनुपर्यो। आर्थिक स्थिति बलियो बनाउन धेरै कमाउनुपर्यो। यसले डाक्टरको इमान घटाउन सक्छ। यस स्थितिमा उपचार सेवा व्यापार बन्ने जोखिम हुन्छ। यस्तो जोखिमबाट बचाउन ठूलो चुनौती छ। डाक्टर भनेपछि समाजमा उसको अलिक उच्च प्रतिष्ठा हुन्छ। त्यसअनुसारको जीवनशैली चाहियो भन्ने धारणा हुन्छ। यसले पनि बढी आर्थिक लाभका लागि प्रेरित गर्छ। यसले पनि बिरामीमाथि जोखिम निम्त्याउँछ।
आममान्छेका लागि उपचार सेवा प्राप्तिका हिसाबले मुख्य रूपमा कस्ता समस्याहरू देख्नुहुन्छ?
तत्कालै उपचार गर्नुपर्ने अवस्था छ भने यातायातको समस्या छ। ताप्लेजुङको, हुम्लाको, बैतडीको बिरामी आकस्मिक रूपमा काठमाडौं आउनुपर्यो भने के गर्ने! एउटा मुख्य समस्या यही हो।
उपचारका लागि लामो समय पालो कुर्नुपर्ने अवस्था पनि निकै ठूलो समस्या हो। काठमाडौंका सरकारी अस्पतालमा अप्रेसनको पालो पाउन महिनौं कुर्नुपर्ने अवस्था छ। सरकारी अस्पतालहरू हुनुपर्नेजति व्यवस्थित छैनन्। उपकरणहरू बिग्रेर लामो समय थन्किन्छन्, समयमा सर्मतसम्भार हुँदैन। तत्कालै समाधान र सुधार गर्न सकिने समस्या पनि महिनौंसम्म त्यत्तिकै रहेको हुन्छ।
सरकारी अस्पतालमा उपचार सस्तो पर्छ तर अनेक झन्झट भोग्नुपर्छ, लामो समय पालो कुर्नुपर्छ भन्ने आमधारणा रहेको पाइन्छ। निजी अस्पतालमा फटाफट सेवा पाइन्छ तर अति महँगो हुन्छ। यो पनि एउटा समस्या हो नि, कसरी समाधान गर्नुपर्छ?
सरकारी अस्पतालहरू व्यवस्थित हुनुपर्छ। उपकरणहरू ठिकठाक राख्नुपर्छ। निजी अस्पतालमा भएका सबै सेवा सरकारीले पनि दिनुपर्छ। स्थानीय तहदेखि नै उपचार सेवा बलियो बनाउनुपर्छ। स्वास्थ्य चेतना बढाउने काम गर्नुपर्छ। यसो भयो भने ठूला अस्पतालहरूमा चाप कम हुन्छ। सरकारी अस्पतालका डाक्टरहरू पैसाका लागि निजी अस्पतालमा जान नपर्ने व्यवस्था गर्नुपर्छ। वृत्तिविकासको अवसर दिनुपर्छ। यसो भयो भने सरकारी अस्पतालले पनि सस्तोमै निजीको सरह सेवा दिन सक्छन्। मुख्य पक्ष व्यवस्थापन नै हो। व्यवस्थापन जति बलियो भयो संस्थाहरू त्यति नै बलिया हुन्छन्।
डाक्टरहरू धेरै व्यस्त रहन्छन् भन्ने मानिन्छ। उपचार सेवाका अतिरिक्त तपाईं लेखनमा पनि सक्रिय हुनुहुन्छ। आख्यान, कविता र उपचार सेवाको संस्मरणका पुस्तक लेख्नुभएको छ। आमाको स्मृतिमा पनि किताब लेख्नुभएको छ? व्यस्त चिकित्सकीय जीवनमा यसरी अनेक कृति लेखाउने तत्त्व के हो?
मेरा अनुभवहरू पाठकसमक्ष पुर्याउने आकांक्षाले लेखाएको हो। उपचार सेवामा जति व्यस्त भए पनि लेखनका लागि समय कम भएन। हाम्रो परिवार केही प्राज्ञिक खालको भएकाले पनि पढ्ने र लेख्ने अभ्यास भयो। बिरामीहरूसँगको अनुभव, उनीहरूका दुःखसुख आदिले पनि मलाई लेख्न प्रेरित गर्यो। आमाका बारेमा लेख्ने प्रेरणा पनि आमाबाट नै प्राप्त भएको हो।
उपचार सेवामा पाँच दशक बिताइसक्नुभयो। अनेक अनुभव हासिल गर्नुभयो तैपनि आफूले गर्न चाहेको तर गर्न नसकेको कुनै काम छ कि?
मेरा ठूल्दाजु (आनन्ददेव भट्ट) विद्वान हुनुहुन्थ्यो। प्रगतिशील विचारधाराका हुनुहुन्थ्यो। लेखपढमा धेरै अगाडि हुनुहुन्थ्यो। म उहाँबाट प्रेरित थिएँ तर डाक्टर भएपछि नेपाली भाषा र साहित्यको अध्ययनमा पछि परेँ। लेख्ने रहर थियो, भित्रैदेखि चाहना थियो। रूसमा पढ्दा नै लेख्न थालेको हुँ। जलेश्वरमा हुँदा पनि लेखेँ तर मेरो पढाइ कम भयो। संस्कृतको ज्ञान भएन। नेपाली भाषामा पनि ठिकै मात्र भएँ। पढाइ कम भएपछि शब्दभण्डार कमजोर भयो। लेख्ने विषय धेरै भए पनि लेख्ने सिप उति राम्रो भएन तैपनि लेख्ने प्रयास गरेँ। जसोतसो लेखेको पनि साफी गरेर, सम्पादन गरेर किताबका रूपमा छपाउन धेरै ढिलो भयो। कोभिडको समय फुर्सद भयो। श्रीमती र छोरीले मैले लेखेका पुराना कापी खोज्न सघाए। ती सबै जम्मा गरेर, सम्पादन गरेर किताब छाप्ने समय मिल्यो।
आजकाल सम्झिँदा यस किसिमको लेखपढको काम पर्याप्त गर्न सकिनँ भन्ने लाग्छ। त्यतातिर ध्यान दिन सकिनँ जस्तो लाग्छ। अहिले आएर म डाक्टर र लेखकमा बाँडिएको छु। बिस्तारै डाक्टरभन्दा बढी लेखक भएको छु।
मैले नाम्स (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) मा पढाएँ, प्राध्यापक भएँ तर म महाराजगन्ज शिक्षण अस्पतालमा पढाउन चाहन्थेँ, त्यो चाहना पनि पूरा भएन।
तपाईंको उमेर ८० वर्ष, हाम्रो आमधारणा अनुसार हेर्दा वृद्ध अवस्थामा हुनुहुन्छ तर अझै उपचार सेवामा सक्रिय हुनुहुन्छ। बाल्यावस्थादेखि वयस्क हुँदै यो बुढ्यौलीबाट पछाडि फर्केर हेर्दा कस्तो लाग्दो रहेछ?
बाल, युवा, प्रौढ हुँदै वृद्ध हुनु त प्राकृतिक नियम हो। यसलाई फेरबदल गर्न सक्दैन। वृद्धावस्था अनिवार्य छ। म उमेरको हरेक अवस्थामा रमाएकै छु। स्कुल पढ्न थालेदेखि डाक्टर हुँदा, पिएचडी (विद्यावारिधि) गर्दासम्म पढाइमै व्यस्त रहेँ, त्यसमै रमाएँ। काम सुरु गरेपछि काममै व्यस्त भएँ, रमाएँ। लेख्न थालेपछि लेखनमै रमाएँ।
बुढ्यौलीका आफ्नै केही सीमा र बाध्यता छन् तर टार्न सक्ने क्षमता कसैको पनि हुँदैन। शरीर र मस्तिष्कले साथ दिएसम्म काम गर्नु र बुढ्यौलीमै रमाउनु मेरो ध्येय हो। बूढो हुनु चिन्ताको कुरै होइन। यसमा बाँच्न र रमाउन जान्नुपर्यो, त्यत्ति हो। म यस्तै प्रयासमा छु।
फर्केर हेर्दा म आफूलाई निकै भाग्यमानी ठान्छु। म बैतडीको दुर्गम गाउँमा जन्मेको, काठमाडौंमा पढें, रूसमा गएर चिकित्सा शिक्षा पढेँ। डाक्टर भएर सेवा गरेको ५० वर्ष भयो।
रूसी भाषाको एउटा उखानले भन्छ – यो मान्छे कमिज लगाएर जन्मेको हो।
यसको अर्थ जन्मँदै सम्पन्न थियो भन्ने हो। म आफूलाई त्यस्तै पाउँछु। धेरै पढालेखा नभए पनि बुबा सर्वोच्च अदालतको सेवासम्म पुग्नुभयो। हामी दाजुभाइ सबै पढालेखा भयौं। मेरी भाउजू विश्वविद्यालयमा पढाउनुहुन्थ्यो। यसरी हेर्दा मैले आफूलाई भाग्यमानी ठानेको छु। जीवनसँग सन्तुष्ट छु।
मानिसहरू भन्छन् नि, जिन्दगी दुई दिनको रामछाया हो, जिन्दगी कर्कलाको पानी हो, मरी लानु के छ र! तपाईंको विचारमा चाहिँ जिन्दगी के रहेछ?
यस्ता आहानहरू हाम्रा पूर्वजहरूका अनुभवबाटै आएका हुन्। अघि मैले भनेँ नि, जीवन र मरण दोसाँधमा छन्, सँगै छन्। खासमा जीवन क्षणभंगुर नै छ। आज सुतेको मान्छे भोलि बिहान उठेन भने केही अचम्म मान्नु पर्दैन। कयौं वर्षदेखि प्रयोग गरेको आफ्नै बाथरूममा लडेर पनि मान्छेको मृत्यु भएको छ। यस हिसाबले त जिन्दगी कर्कलाको पानी हो भने पनि भयो।
आज जे अवस्था छ, त्यसैअनुसार काममा लागिरहने हो। मेरा लागि त जीवन भनेको संघर्ष, कर्म र खुसी हो। मेरा लागि इमान मेरो जीवन हो। कर्मले नै मानिसको जीवन सार्थक बनाउँछ। मेरो जीवन मेरा अनुभवहरूको सँगालो हो, अनुभवहरूको थैली हो। केले लेखाउँछ भनेर सोध्नुभयो नि, लेखनमार्फत त्यही थैली फुकाएको हुँ।
मेरो प्रयास जारी छ। चेतना रहँदासम्म प्रयास जारी रहने छ।