पटिहानीतिर गत साउनको सुरूबाटै जंगली जनावरले कुकुरहरू मारिरहेको चर्चा चल्न थालेको थियो। साउनको ७/८ गतेतिर चितवनको चर्चित पर्यटकीय गन्तव्य मानिने अम्रेला स्ट्रिट नजिकै घर भएकी ६७ वर्षीया विष्णु सारू मगरले पनि घरदेखि अल्ली पर एक–दुई दिन बिराएर बाघले कुकुर मारिरहेको हल्ला सुनेकी थिइन्।
१० गते बिहान जब उनी उठेर घर बाहिर निस्किइन् खोरमा दुईवटा खसी ढलिरहेका थिए। एउटाको टाउको र करङको केही भागमात्रै बाँकी थियो। अर्को घाँटीमा चोट लागेर खोरदेखि तल झुण्डिरहेको थियो। उनलाई देखेपछि बाँकी तीनवटा बाख्राहरू बेस्सरी कराए।
‘सँगैका दुईवटा बाख्रालाई आँखै अगाडि मारेको देख्दा डराएका थिए होलान्। कुकुर मारेको बाघले राति आएर बाख्रा मारेको अनुमान गर्यौं,' विष्णुले भनिन्, ‘दशैंका लागि भनेर पालेका खसी रातभरमै स्वाहा भइगए।’
पटिहानीको बोटे र थारू समुदायको बाक्लो बसोबास रहेको राप्ती नदी तटीय क्षेत्रमा बाख्रा, कुकुर मारिने श्रृंखला यतिमा रोकिएन। एक दुई रात बिराएर कहिले कुकुर, कहिले बाख्रा, गाईका बाछा, बाछी मरिरहे। स्थानीयबासी साँझपछि घर बाहिर निस्कन पनि डराउन थाले।
भदौको अन्तिम सातातिर छिमेकीको बाख्रो बाघले मारेको चर्चा सुनेकी गंगा अधिकारी जब एक बिहान दाँत माझ्दै आँगन तिर निस्किइन् त्यहाँ रहेको गोलघरको टेबलमा एउटा अजंगको जीव बसिरहेको थियो। शरीरमा खैरो, कालो धब्बा भएको ऊ अगाडिका दुई खुट्टा उचालेर टुक्रूक्क बसेको थियो। स्थानीयबासीले बाघ भनेको त्यो जीव चितुवा रहेछ। ऊ राति गाउँको एउटा कुकुरलाई मारेर केही मिटरमात्रै तल रहेको झाडीमा लुकाएर घरमा उक्लिएको रहेछ।
‘फोटो, भिडिओमा देखेकी थिएँ। अकस्मात आफ्नै अगाडि देख्दा मेरो सत्तो गयो। म कराएपछि हल्ला भयो ऊ भागिहाल्यो,’ गंगाले भनिन्, ‘त्यो चितुवा रहेछ। धन्न केही गरेन। जंगल नजिकै बसेर पनि कहिल्यै देखेको थिइनँ। आँगनमै आएर तर्सायो।’
एक हप्ता अगाडितिर अम्रेला स्ट्रिटका सुरक्षा गार्ड बलबहादुर राउतले पनि राति ड्युटीकाक्रममा राप्तीको किनारमा चितुवा देखेका थिए। उनले त्यसको भिडिओ खिचेर फेसबुकमा पोष्ट गरिदिए। त्यसपछि स्थानीयबासीमा झनै त्रास बढ्यो।
‘साँझतिर सितलमा हिँडडुल गर्न, हावा खान राप्ती किनारमा प्रसस्तै मान्छे आउँथे। चितुवा यतै वरिपरी रहेको सुनेपछि अचेल आउन छाडे। नदी किनार नजिकै घर भएकाहरू त साँझ परेपछि ढोका बन्द गरिहाल्छन्। मान्छेहरू बजार जानपर्यो भने पनि बाख्रा किचनमा थुनेर जान थालेका छन् भन्ने सुनेको छु,’ उनले भने, ‘यो चितुवाले त सिरियल किलरै भयो। आतंकै मच्चायो।’
गाउँमा चितुवाको जगजगी बढेपछि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले राप्ती नदी नजिकै एउटा पासो थापेका छन्। पासोमा एउटा बाख्रो राखिएको छ। जब कोही बाख्राको नजिक पुग्छ ढोका बन्द भएर ऊ पासोमा पर्छ। ढोका नजिकैका दुईवटा रूखमा क्यामेरा जोडिएको छ। ती क्यामेराले वरपर भएका नयाँ गतिविधिको रेकर्ड गर्छन्। त्यसको आधारमा चितुवा पासोमा पर्यो कि परेन थाहा हुन्छ।
पटिहानी मध्यवर्ती उपभोक्ता समितिले किनेको बाख्रोलाई भदौ २६ गतेदेखि रातको समयमा पासोभित्र राखिएको हो। तर पासो थापेको दिनदेखि क्यामेराको पहुँच पुग्ने क्षेत्रमा चितुवा पुगेको छैन। नजिकैका अरू घरमा पालेका कुकुर भने खाएको छ।
‘मान्छेले धेरैजसो देखेको ठाउँ छानेर पासो थापिएको हो। तर पासो थापेको दिनदेखि यो ठाउँमा आउनै छाड्यो। अन्त अन्तमात्रै देखिएको छ,’ समितिका अध्यक्ष शंकर महतोले भने, ‘चितुवा असाध्यै बाठो हुन्छ भन्ने त सुनेको थिएँ। हो रहेछ, अहिले थाहा भयो।’
उनले स्थानीयबासी र उनीहरूले पालेका पशु चौपाय जोगाउनका लागि चितुवालाई नियन्त्रणमा लिन प्रयास गरिएको बताए।
‘अहिलेसम्म बाख्रा, गाईका बाछा, माछीलाई चितुवाले मारेको भनेर दसवटा निवेदन कार्यालयमा आएको छ,’ महतोले भने।
भरतपुर महानगरपालिकाको वडा नम्बर २२ का वडा सदस्य सूर्यबहादुर गुरूङकाअनुसार साउनयता राप्ती नजिकका बस्तीहरूमा पसेर चितुवाले ३५ वटाभन्दा धेरै बाख्रा, कुकुर, बाछा, बाछी मारिसकेको छ। केही दिन बिराएर पशु चौपाय मार्न थालेपछि स्थानीयबासी त्रसित भएको उनले बताए।
‘सुरूमा स्थानीयबासीले प्रयास गरे, त्यसपछि निकुञ्जका हात्तीको प्रयोग गरेर चितुवा नियन्त्रणको प्रयास गरिएको थियो। त्यो सफल नभएपछि पासो थापिएको हो,’ गुरूङले भने, ‘यतै वरपर लुकेर बसेको छ। बेला बेलामा बाहिर निस्कदो रहेछ तर पासो भएतिर आएको छैन।’
वडाध्यक्ष विष्णुराज महतोले चितुवाले बाख्रा र कुकुर खाएर आतंक मच्चाएपछि नियन्त्रणमा लिइदिन चितवन राष्ट्रिय निकुञ्जलाई आग्रह गरेको बताए।
‘यो चितुवा घरपालुवा जनावर खान पल्कियो जस्तो छ। यहीँ रहन दियो भने धेरै क्षति पुर्याउन सक्छ। त्यसैले नियन्त्रणमा बस्तीलाई लिएर सुरक्षित बनाउनुपर्छ,’ उनले भने।
६५ वर्षीय दुर्गादत्त काफ्लेको परिवारले बाबुको पालाबाटै गाई, भैंसी, बाख्रा पाल्न थालेको हो। उनीहरू नजिकैका जंगलहरूमा पशु चौपाय चराउँथे। जंगलमा कहिलेकाहीँ कसैका गाई, बाख्रा बाघले मारेको सुनेका थिए उनले। तर वन्यजन्तुले दिनदिनैजसो गाउँ पसेर बाख्रा, कुकुर मारेको यसअघि सुनेका थिएनन्।
‘गाई बस्तुमात्रै खाए त सहन सकिएला, मान्छे नै खाइदियो भने के गर्ने हो भन्ने चिन्ता पो भइरहेको छ। घरमा साना बच्चाहरू छन्, आँगनमा निस्किए पनि डर हुने भयो,’ उनले भने।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चितुवाले पशु चौपाय मारेर दुःख दिएको गुनासो आएपछि नियन्त्रणका लागि प्रयास गरिरहेको बताए।
‘चितुवालाई नियन्त्रणमा लिनु सजिलो काम होइन। यो बाघजस्तो भलाद्मी हुँदैन। रूख, खोल्सा जता पनि सजिलै जान्छ। हामीले नियन्त्रणका लागि कोसिस गरेका थियौं तर सकिएको छैन,’ तिवारीले भने।
उनले निकुञ्जसँग सीमा जोडिएको क्षेत्रमा झाडी बढेकाले चितुवालाई लुक्न सजिलो भएको बताए। उनकाअनुसार चितुवाहरू प्रायः निकुञ्ज र मध्यवर्ती क्षेत्रको सीमानामा हुन्छन्। बाघहरू बस्ने कोर क्षेत्रमा भन्दा अन्य क्षेत्रमा सिकारका लागि सहज हुने भएकाले चितुवा वासस्थान मानव बस्तीदेखि नजिक हुने गरेको उनले बताए।
‘बेला बेलामा वन्यजन्तुहरू समस्याग्रस्त भएर पनि मानवबस्तीतिर पस्ने गर्छन्। यो किन पस्यो भन्ने कुरा नियन्त्रणमा लिएर जाँच गरेपछिमात्रै भन्न सकिन्छ,’ तिवारी भन्छन्, ‘निकुञ्ज नजिक बस्नेहरू अल्ली बढी सतर्क पनि हुनुपर्छ। पशु चौपाय पाल्दा व्यवस्थित खोर बनायो भने सुरक्षित हुन्छ।’