प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार २०८१ भित्रै नेपाललाई सडक बालबालिकामुक्त बनाउने घोषणा गरे। बाल संगठनले गरेको ६० औं राष्ट्रिय बालदिवसका अवसरमा बालुवाटारस्थित आयोजित कार्यक्रममा उनले उक्त घोषण गरेका थिए।
उनले यस्ता घोषणा गरेको पहिलोपटक भने होइन, २०७६ कात्तिकमा पनि 'अब सडकमा कोही पनि बसेको देख्नुपर्दैन' भनेर आमजनमानसमा चर्चा बटुलेका थिए।
उनले वार्षिक रूपमा यही कुरा दोहोर्याइरहन्छन्।
उक्त कार्यक्रममा सडक बालबालिकामुक्त बनाउने घोषण गरिरहँदा मानव सेवा आश्रमले भने बालबालिका उद्धार गरिरहेको थियो।
सोही दिन देशभरबाट दुई जना बालबालिकालाई उद्धार गरिएको थियो। महिला, ज्येष्ठ नागरिकसहित चार/पाँच जनालाई सडकबाट उद्धार गरेको मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले जानकारी दिए।
'उद्धार भएकाहरूको आश्रममा राख्नका लागि प्रक्रिया अगाडि बढाइएकाले परिचय केही दिनमा खुलाउने छौं,' उनले भने, 'दिनहुँजसो उद्धार गरिरहेका छौं।'
बिहीबार भने कुनै पनि बालबालिकाको उद्धार गरिएको थिएन, महिला र जेष्ठ नागरिक भने तीन जनालाई गरिएको थियो।
त्यस्तै, बुधबार (भदौ २६) भने सल्यान घर बताउने १४ वर्षीय सन्तोष गिरीलाई मानव सेवाले वीरेन्द्रनगर नगरपालिकाको सडकपेटीमा कष्टकर जीवन बिताइरहेका बेला उद्धार गर्यो।
उनलाई नेपाल प्रहरीको समन्वयमा आश्रमको टोलीले उद्धार गरेको हो।
उनका अनुसार सोही दिन कास्की पोखरा महानगरपालिका-४ बाट बच्चासहित महिलाको उद्धार गरिएको थियो। ८/९ महिनाको बच्चासहित एक महिला सडकमा बस्दै आएको खबर प्राप्त भएसँगै आश्रमको टोली उद्धारमा खटिएको थियो।
उनले ती बच्चा आफ्नै भएको बताएकी छन्। यसबारे स्थानीय प्रहरी र आश्रमले अनुसन्धान गरिरहेको छ। यी केही दिनअघि उद्धार गरेका प्रतिनिधि घटनामात्र हुन्।
'प्रत्येक वर्ष जो सत्तामा आए पनि सडक मानवमुक्त बनाउने घोषण गर्छन् तर कार्यान्वयन हुँदैन,' उनले भने, 'प्रत्येक दिन एक दुईजना बेवारिसे मानिस भेटिएकै हुन्छन्।'
त्यही कारण सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले तीन वर्षदेखि 'मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा' सञ्चालन गर्दै आएको संस्थापक अधिकारी बताउँछन्।
नेपालीहरूको महान चाडपर्व दसैं तिहारमा कोही पनि सडकमा बस्नु नपरोस् र चिसोका कारणले कसैको मृत्यु नहोस् भनेर असोजमै सडकमा बस्दै आएका मानिसलाई आश्रय दिँदै आएको हो।
प्राय:जसो स्थानीय तह र प्रहरीले उद्धार गरेर आश्रममा दिनहुँ कोही न कोही ल्याइदिरहेका हुन्छन् तर पनि सम्बन्धित निकायको आँखा नपुगेको ठाउँमा मेची-महाकाली यात्राले उद्धारमा सहयोग पुर्याउने उनको भनाइ छ।
उनका अनुसार यस वर्षको उद्धार यात्रा असोज १५ गतेदेखि सुरू भएर कात्तिक २२ गते सकिनेछ। उद्धारका लागि आश्रमबाट ४५ जनाको टोली खटिनेछ।
आश्रमले यस यात्रामा ३ सय भन्दा बढीको उद्धार हुने अनुमान गरेको छ। यो संख्या गत वर्ष उद्धार गरिएको आधारमा गरिएको हो। गत वर्षको मेची-महाकाली उद्धार यात्रामा तीन सय बढीको उद्धार भएको उनले सेतोपाटीलाई जानकारी दिए।
यो अभियान २०७८ देखि सुरू गरिएको हो। यस अभियानमा गत वर्ष उद्धार गर्दाका केही अनुभव उनले सुनाए।
उनले गत वर्ष उद्धार यात्रामा क्रममा झापा मेची नगरपालिकाबाट बुबाबाटै बेचिएको ४ वर्षीया बालिकाको उद्धार गरेको बताए। मदिरा सेवन गर्ने भएकाले दुई सय रूपैयाँमा उनले छोरीलाई बेचिदिएका रहेछन्।
'लिएको व्यक्तिले बेवास्ता गरेपछि बालिका सडकमै बस्दै आएकी रहेछिन्,' उनले भने, 'उद्धार यात्राका क्रममा स्थानीयले खबर गरेपछि हामीले बालिकालाई रेस्क्यू गर्यौं।'
उनले थपे, 'अहिले ती बालिका मानव सेवा आश्रमको हेटौंडामा छिन्।'
उद्धारकै यात्राका झापामा भेटिएका तीन बालकको समस्या पनि उस्तैउस्तै छ।
आश्रमलाई स्थानीयले बताएअनुसार बुबाआमाको दुवैको भूमिका निभाउनुपर्ने महिलाले ४ वर्षे बालक श्याम (नाम परिवर्तन) लाई छोडेर दोस्रो विवाह गरेर हिँडिछिन्। छरछिमेकीले पनि बेवास्ता गरेपछि बालक सडकमा पुगेका रहेछन्।
श्यामजस्तै आमा बितेपछि बुबाले दोस्रो विवाह गरेर ४ र ५ वर्षीय करूण र अरूण पनि सडकमै बस्दै आएका रहेछन्। उनीहरू तीनै जना एकैठाउँमा भेटिएका हुन्।
उनीहरू प्लास्टिक टिपेर सडकमा फालिएको खाना खाएर बाँचिरहेको अवस्थामा आश्रमले फेला पारेको उनी बताउँछन्।
'बालबालिका भविष्यका कर्णधार भनिन्छ तर उनीहरूलाई भविष्य बनाउन कसैले चासो देखाउँदैनन्,' उनले भने, 'सडकमा बस्नेप्रति कसैले ध्यान दिँदैनन्।'
उनले थपे- 'राज्यले मात्र होइन, नागरिकले पनि सडक मानिसलाई बेवास्ता गर्न थालेका छन्।'
बालबालिकामात्र होइन्, अधवैंशेदेखि वृद्धासम्म सडकमा भेटिन्छन्। कतिपयको मानसिक र शारीरिक अवस्था बिग्रिएर सडकमा पुगेका हुन्छन्। कतिपयका छोराछोरीले निकालिदिएर सडकमा बस्न बाध्य भएका हुन्छन्।
यस्तै, एकपटक उद्धारको क्रममा गाईघाट बजारमा सकिनसकी कपडाको बारी बोकेर सडकमै बस्दै आएकी एक वृद्धा भेटिइन्। उनले बोकेको कपडाको भारीले शरीर नै कुप्रिएकी हिँडिरहेकी थिइन्।
उनी लामो समयदेखि सडकमै बस्दै आएको थाहा पाएपछि आश्रमले रेस्क्यू गर्यो। उनलाई नुवाइ-धुवाइ गरिदिनेबेलामा आश्रमका सहयोगी नै छक्क परे।
'ती आमाको बोकेका कपडाको प्रत्येक पत्रमा पैसा भेटियो,' उनले भने, 'पैसा राखेपछि उनले सिलाएर बलियो सिरानीजस्तो बनाएकी रहेछिन्।'
उनले सडकमा मागेको पैसाको भारी बोकेर हिँडेकी रहेछिन्। उनीसँग पैसाको दु:ख थिएन तर पनि मानसिक सन्तुलन बिग्रिएकाले भोकभोकै सडकमा बसेको पाइयो। उद्धारका क्रममा भेटिने बेवारिसे र सडक मानिसको दृश्यले निकै भावुक बनाउँछ। तर यसमा राज्य र नागरिक दुवैले चासो नदेखाएको भन्दै उनले गुनासो गरे।
उक्त आश्रममा सरकारले ४० प्रतिशतमात्र सहयोग गर्ने गरेको छ। बाँकी विभिन्न नेपालीकै सहयोगको भरमा आश्रम चलेको उनले बताए। यस देशका नागरिकको आधारभूत आवश्यकता पूरा गरिदिनुपर्ने दायित्व सरकारको हो। तर यसमा सरकार चुकेको उनको भनाइ छ।
उक्त आश्रम संस्थापक रामजीसहित तीन जना मिलेर सञ्चालनमा ल्याइएको हो। सञ्चालनमा ल्याइएको १२ वर्षको अवधिमा आश्रमले देशभर १९ जिल्लामा २५ वटा सेवा केन्द्रहरू स्थापना गरेको छ, भने भदौको अन्तिमसम्म १ हजार ७१८ जना (७३० महिला र ९८८ पुरूष) लाई आश्रय दिएको छ।
आश्रमको तथ्यांक अनुसार १२ वर्षको अवधिमा १० हजार २९१ जनालाई उद्धार गरेको छ। जसमा ३ हजार ९३५ महिला, ६ हजार ३५३ पुरूष छन्। त्यसमध्ये ४ हजार ७१ (१ हजार ८०० महिला,२ हजार २७१ पुरूष) जनालाई पारिवारिक पुनर्मिलन गराएको छ।