शिरमाथि लस्करै उभिएका नीलगिरि, धवलागिरि। त्यसअन्तर्गतका हिमश्रृंखला।
हिमाच्छिादित सेता पर्वतमालाले मुस्ताङको परिचयमा छटा थपेको थियो। तर यी आँखैअगाडि हराउँदै गए। मुस्ताङको तल्लो भेगमा मात्र होइन, माथिल्लो भेगमा पनि हिउँ खात लाग्न छाडेको धेरै भयो।
गत वर्ष पनि हिउँ पर्याप्त परेन। हिउँ नपरेकाले डाँडाकाँडा नांगिन थाले। हिउँ टलक्कै टल्कने डाँडाकाँडा कालो पहाड देखिन थालेका छन्।
‘हिमाली भेगको सौन्दर्य भन्नु नै हिउँ हो, त्यही नै नरहेपछि यसको के महत्त्व रह्यो र! मुस्ताङले आफ्नो परिचय गुमाउँदै गएको छ,’ थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले भने।
मुस्ताङको बदलिँदो परिचयको साक्षी हुन्, गौचन। उनको आँखैसामु डाँडाकाँडाबाट हिउँ अलप हुँदै गएको छ। हिउँ पग्लिँदै गएर पर्वतमाला रित्ता भएका छन् नै। नयाँनयाँ विपत्तिको सामना गर्नुपर्ने हो कि भनेर उनको मनमा चिसो पसिरहन्छ।
‘मुस्ताङका पर्वतमालामा मात्र होइन, डाँडाकाँडामा पनि बाह्रैमास हिउँ हुन्थे। बर्खायाममा पनि ढपक्क हिउँले डाकेका डाँडा मेरै आँखाले देखेको छु,’ उनले भन्दै गए, ‘अचानक हिउँ पहिरो खस्ने, ठूलो वर्षा हुने, यस्तो पो देखिन थाल्यो!’
गत वर्षको कागबेनी बाढीपछि मुस्ताङमा नयाँनयाँ मौसमी घटनाले विपत्तिको जोरघन्टी बजाइरहेको आभास हुन थालेको छ उनलाई। सदा पर्नेभन्दा धेरै पानी एकैपटक परेपछि गत वर्ष साउन २८ गते कागखोला उर्लेर कागबेनी बजारै सोहोरेको उनको बुझाइ छ।
२०७८ कात्तिक २८ र त्यही सालको फागुन २१ मा धवलागिरि हिमश्रृंखलाबाट हिउँ फाल हाल्दै डाँडाको फेदिफेदिसम्म आइपुग्यो। मानिसहरूको भागदौड चल्यो। डाँडाकाँडा ढाक्दै ओर्लिएको हिम–हुन्डरीले ४५–५० वटा चौरी मरे।
तर यो हिम–विपत्ति नै पहिलो घटना भने थिएन।
दुई–अढाइ दशक पूर्व हुनुपर्छ, गौचनलाई यकिन मिति याद छैन। धवलागिरि हिमश्रृंखलाबाट झरेको हिमपहिरोले तल्लो तटीय क्षेत्रमा व्यापक असर पुर्यायो।
धवलागिरि हिमश्रृंखलाबाट तीन वटा साना-ठूला खोला तल झर्छन्। कालीगण्डकीमा मिसिनुपूर्व ती माथि नै मिसिएर बोक्सीखोला (अत्यन्त चिसो हुने भएकाले स्थानीयले बोक्सी नामकरण गरेका हुन्) बन्छ।
त्यतिबेलाको हिमबाढीले त्यही बोक्सी खोलामा हालिएको पुल नै बगाएको गौचनले सुनाए। केही वर्ष थामिएको हिउँपहिरो २०७८ देखि लगातारजस्तो खसिरहेको छ।
यस वर्षमात्रै धवलागिरि हिमश्रृंखलतातिरबाट झरेको हिमपहिरोले दुईपटक घट्टे खोला थुनियो। र, आफै निकास खोज्यो। त्यसले जनधनको क्षति पुर्याएन।
गत भदौ ७ गतेको हिउँपहिरोले बोक्सी खोला झन्डै पाँच घन्टा थुनिएको थियो। त्यसपछि चार दिनपछि पुनः त्यही ठाउँमा हिउँपहिरो खस्यो र नदी केही घन्टा थुनिनपुग्यो।
‘मुस्ताङमा किन पटक–पटक हिउँपहिरो गइरहेको छ भनेर अध्ययन–अन्वेषण हुन जरुरी छ। तर संघीय सरकारलाई चासो भए पो! हिउँपहिरो मानिसको बसोबास भएको ठाउँसम्म आइपुगेको छैन। पहिलेजस्तै बस्तीमै असर पुर्याउने गरी आएको छैन। माथि नै रोकिएकाले पो सरकारको चासो नभएको हो कि! हामीले बुझेका छैनौं,’ गौचन भन्छन्, ‘तर धवलागिरि हिमश्रृंखलाबाट बारम्बार खसिरहेको हिउँपहिरोले ठूलै विपत्तिको संकेत गरिरहेको छ। कसैलाई चासो भएन। हामीलाई चिन्ता लागिरहेको छ।’
प्रदीपको अनुभवमा मुस्ताङको सबैभन्दा बढी पानी पर्ने ठाउँ नै थासाङ हो। थासाङको तल्लो भेगमा उल्लेख्य वर्षा हुन्छ। तर माथिल्लो भेग ‘रेन स्याडो जोन’मा पर्ने भएकाले कम पानी पर्छ। थासाङकै टुकुचेमा पनि कम पानी पर्छ।
तर मनसुनको बदलिँदो आयाम (चरित्र) ले यो मान्यतामा बदलाव आएको छ। अहिले त टुकुचे भेगतिर पनि वर्षा सर्न थालेको छ। मनाङ, मुस्ताङको पहाड–पर्वत अत्यन्त कमजोर मानिन्छन्। कम पानी पर्ने, रूखपात नभएका र नांगा डाँडाकाँडा हुनाले यसलाई भेगलाई नेपालको मरूस्थल पनि भनिन्थ्यो।
माथिल्लो भेगमा उच्च हिमपात हुने हुँदा माटो–ढुंगा अड्याउन त्यसैले सिमेन्टको काम गर्थ्यो। तल्लो भेगमा पनि पानी नपर्ने हुँदा भूक्ष्यको भय थिएन।
अहिले माथिल्लो भेगबाट हिमस्खलन सुरू भएको र सँगसँगै पानी समेत पर्न थालेपछि मुस्ताङ बहुप्रकोपमा जोखिममा पुगेको गौचन बताउँछन्।
‘हिउँमुनिको चट्टान त्यसै पनि कमजोर हुन्छ। वन–बुट्यान नहुँदा माटो अडिन पाउँदैन। हिउँ पग्लिँदै तल झर्न थालेपछि त्यसले आफ्नो सम्पर्कमा आएजत्तिलाई बढार्दै ल्याउँदो रहेछ। यसले निम्त्याउने क्षति बाढीको भन्दा कैयन् गुणा बढी हुँदोरहेछ,’ अध्यक्ष गौचनले भने।
जलवायु परिवर्तनले प्रर्माफ्रस्ट कमजोर बनेको त्यही पग्लिएर तल झर्ने क्रम बढेको उनले बताए।
पहिलेपहिले बाढी पहाडका बेँसी र तराईका भूभाग डुबान र कटानमा पार्ने गरेको सुने पनि पछिल्लो समय यसमा पनि बदलाव आएको छ। अहिले बाढीको जोखिम हिमाली भेगसम्मै पुगेको छ। ताप्लेजुङ, संखुवासभा, भेमाथाङ (मेलम्ची), कागखोला लगायत ठाउँको बाढीको प्रकृति हेर्दा बाढीको जोखिममा हिमाली भेग परिसकेको प्रष्ट हुन्छ।
यसले खोलाको सतह बढेको र बाढी जुनसुकै बेला बस्ती पस्न सक्ने गौचन औंल्याउँछन्।
उनले कालीगण्डकीकै उदाहरण दिए। मुस्ताङ क्षेत्रमा कालीगण्डकीको सतह बर्सेनि ९ इन्चका दरले बढेको उनले सुनाए।
‘कुनै निकायको अध्ययनको निचोड त होइन यो तर हाम्रै अनुभवले भनिरहेको छ, बर्सेनि कालीगण्डकीको सतह ९ इन्चका दरले बढिरहेको छ,’ उनले भने, ‘हामी कोबाङमा कालीगण्डकी जान सिँढीबाट तल झर्नुपर्थ्यो। अहिले त सिँढी छोप्दै खोला माथि आइसकेको छ।’
यसको स्रोत भनेको हिमाली क्षेत्रमा गेग्रानसहितको बाढी भएको उनले औंल्याए।
‘हिमाली क्षेत्रबाटै ढुंगा–माटोसहितको बाढी आउन थालेपछि त्यसले खोलाको सतह बढ्ने नै भयो। त्यसकारण ठाउँ, अवस्था हेरेर खोलाबाट ढुंगा–बालुवा निकाल्ने र बाढीको जोखिम घटाउने उपाय पनि अवलम्बन गर्नुपर्ने देखिन्छ,’ उनले भने।
मुस्ताङको थासाङ लगायत क्षेत्रको हिउँपहिरो किन खसिरहेको छ र यसले निम्त्याउने जोखिमबारे कत्तिको अध्ययन भएको छ भनेर हामीले इन्जिनियरिङ अध्ययन संस्थानका विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीलाई सोध्यौं।
उनले हिमाली भेगको तापमानवृद्धिबारे तथ्यांक नै नभएको बताए।
‘माथिल्लो भेग (हिमाली) मा तापक्रम कति बढेको छ अथवा घटेको छ भनेर थाहा पाउन ती ठाउँमा केन्द्र छैन। केन्द्र नै नभएकाले हामीसँग आधिकारिक तथ्यांक हुने कुरा भएन,’ उनले भने, ‘हामीकहाँ जलवायु परिवर्तन भएको छ। त्यसका असर पनि देखिन थालेका छन्। तर यसको वैज्ञानिक प्रमाण प्रस्तुत गर्न सकिएको छैन।’
उनले हिउँपहिरो जानुका दुईवटा आधारहरू औंल्याए।
पहिलो, मनसुनयाममा माथिल्लो भेगतिर पानी पर्दा जमेर बसेको हिउँ खस्ने प्रकृया सुरू हुन्छ।
दोस्रो, बरफको घनत्व बढेपछि आफै पनि स्खलन हुन्छ।
अधिकारीले हिमरेखाभन्दामुनिका बस्ती अत्यन्त जोखिममा रहेको घटनाक्रमले पुष्टि गरेको बताए।
भेमाथाङ, थामे, डोङ्याङ (रोल्वालिङ उपत्यकाको बस्ती) लगायत ठाउँहरूमा देखिएको विपत्ति पछिल्ला उदाहरण हुन्।
तर हिमरेखा (५५ सय मिटरदेखि ५६ सय मिटरसम्म) भन्दा मुनिका बस्तीबारे अध्ययन नै नभएको अधिकारीले बताए।
‘हिमाली क्षेत्र जोखिम यसकारण छ– हिमरेखाभन्दा माथि सेडिमेन्ट थुप्रिएको छ। त्यसलाई हामीहरूले ‘सेडिमेन्ट बम’ नाम दिएका छौं। किनकि, त्यो फुट्यो भने तल्लो तटीय क्षेत्रमा व्यापक असर पुर्याउँछ। मेलम्ची, थामे (सोलुखुम्बु) यसका उदाहरण हुन्,’ उनले भने, ‘एउटा सत्य के हो भने हिमरेखाभन्दा मुनिका बस्ती; स–साना होलान्, दस–बाह्र घर होलान्, त्यसबारे अध्ययन भएको छैन।’
महाभारत पर्वतमाला, सिवालिक (चुरे) क्षेत्र, हिमालपारिको भनेर चिनिने मनाङ र मुस्ताङमा त्यस्ता अध्ययन भए पनि अन्यत्र हुन नसकेको उनले बताए।
‘यसबारे हामीले विश्वविद्यालयबाट स्वतन्त्र रूपले अध्ययन गरिरहेका छौं। तर राज्यको प्राथमिकतामा परेको छैन। हिमाली भेगमा गर्मीयाममा मात्रै मानव बसोबास हुने भएकाले पनि खासै अध्ययन हुँदैन। अर्को, अध्ययन–अन्वेषण खर्चिलो पनि छ। त्यसैले माथिल्लो भेगको अध्ययन स्याटेलाइटमा आधारित मात्रै भइरहेको छ,’ उनले भने।
धवलागिरि श्रृंखलामा देखिएको पछिल्लो हिमविचलनबारे अध्ययन भएको छ कि भनेर हामीले जल तथा मौसम विज्ञान विभागलाई पनि सोधेका छौं।
विभागका प्रवक्ता तथा वरिष्ठ जलविज्ञानविद् सुनील पोखरेलले थासाङ हिमपहिरोबारे अध्ययनको प्रयास भइरहेको बताए।
उनले सेन्टेनियल एसियालाई हिमपहिरोको कारणबारे अध्ययन गरिदिन आग्रह गरेको बताए। हिमपहिरोले खासै क्षति नपुर्याएको हुनाले अध्ययन गर्न उक्त राडार इमेजरी केन्द्रले चासो नदेखाएको पोखरेलले बताए।
विभागकै अनुरोधमा सेन्टेनियल एसिया र जापानको यामागुची विश्वविद्यालयले थामेको शिरमा रहेको हिमतालहरूबारे अध्ययन गरेको थियो। स्टाटेलाइट तस्बिरको आधारमा सेन्टेनियल एसिया र जापानको यामागुची विश्वविद्यालयले थामे खोलाको शिरमा रहेका पाँच वटा तालहरूको पानी क्षेत्रफलमा हालसालै कुनै परिवर्तन भए–नभएको बारे अध्ययन गरेका थिए।
उनीहरूले पाँच तालमध्ये चारवटाको क्षेत्रफलमा कुनै परिवर्तन नदेखिएको र हिमताल २ विस्फोट भई त्यसमा पानीको क्षेत्रफल घटेको निचोड निकालेका थिए।
‘थासाङ हिमपहिरोबारे पनि अध्ययन गर्न हामी पुनः अनुरोध गर्दैछौं। पहिलोपटक उनीहरूले तल्लो तटीय क्षेत्रमा धेरै ठूलो असर नपुर्याएकाले खासै चासो देखाएनन्,’ पोखरेलले भने।