साउन ३२ गते बिहान। सोलुखुम्बुको गाउँ थामेको तल्लो तटीय क्षेत्रमा वर्षा भएको थिएन। पानी परिहाल्ने अवस्था पनि थिएन।
तर थामेको शिरमा कालो बादल मडारिएको आभास हुन थाल्यो।
थामेबासीले एक-दुई दिनअघि पनि आकाश मैलिएको अनुभव गरेका थिए। डरलाग्दो गरी कालो बादल उठेको थियो। बादलले अस्वाभाविक ढंगले चरित्र बदलेपछि थामेबासीले देवता रिसाएको ठानेछन्। पितापुर्खादेखि चलिआएको चलनअनुसार देवता खुसी पार्न पूजाअर्चना गरे। तर कालो बादल उठ्न छाडेन।
साउन ३२ गते पनि उनीहरूले पूजा गर्न खोजेका थिए।
स्थानीयले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई यी सबै बेलिविस्तार लगाए।
'थामेबासी सशंकित हुनुको कारण छ,' पोखरेलले सेतोपाटीसँगको कुराकानीमा भने।
२०४२ साउन २० (१९८५ अगस्ट ४) मा थामेको पल्लोपट्टि दिग च्छो हिमताल (४४०० मिटर) विस्फोट भएको थियो। जलविद्युत परियोजनासहित तल्लो तटीय क्षेत्र खण्डहर बनाएको थियो। त्यति बेला पनि पर्माफ्रस्ट (हिउँ, ढुंगा-माटोसहित जमेर रहेको कडा भूभाग) पग्लिएर तल्लो तटीय क्षेत्रमा भेलबाढीको स्वरूप लिएको थियो। विध्वंश मच्चाएको थियो।
३९ वर्षअघि विध्वंश बेहोरेका पुस्ता अद्यापि थामेमा छँदैछन्।
देउता रिसाएकाले अनिष्ट हुने आशंका गर्दै पूजनमा लागेका थामेबासीले साउन ३२ गते अकल्पनीय क्षति बेहोरे। थामेको शिरबाट बग्दै आएको भेलबाढीले विनाश निम्त्यायो। बीस घर, विद्यालय, स्वास्थ्यचौकी, ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा क्षति पुग्यो। सुन्दर र मनोरम उपत्यका थामे अहिले बगरमा परिणत भएको छ। उच्च गेग्रान बहावले ठाउँठाउँमा खोल्सा काढेको छ।
यही विपत्ति अध्ययन गर्न पोखरेलसहितको टोली शनिबार बिहानै थामे पुगेको थियो।
रक्षामन्त्री मानवीर राई, गृह मन्त्रालयका विपद व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसाल, नेपाली सेनाका अधिकारीहरू टोलीमा थिए। उनीहरूले हिमताल विस्फोटबाट उत्पन्न बाढी (ग्ल्यासियल लेक आउटब्रस्ट फ्लड) का कारण तल्लो क्षेत्रमा विध्वंश निम्तिएको बताएका छन्।
हिमताल विस्फोट भएको स्थान टासी लाप्चा आधार शिविरभन्दा केही तल हो। टासी लाप्चा पास ५ हजार ७५५ मिटर उचाइमा छ। हिमताल रहेको स्थान ४ हजार २०० देखि ४ हजार ५०० मिटर उचाइसम्म पर्छ। त्यहाँ पाँचवटा पोखरी छन्। विस्फोटबाट रित्तो बनेको ताललाई मात्रै स्थानीयले चामाचो नामकरण गरेका छन्। अरू तालको नाम छैन।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले आफै १, २, ३, ४, ५ नामकरण गरेका छन्। अहिलेको विपत्तिको स्रोत १ नम्बर ताल हो। त्यसको पर्माफ्रस्टमा व्यापक विचलन आएको देखिन्छ। पर्माफ्रस्ट सदिऔंदेखि जमेर रहेको हुन्छ। चट्टानी आकारमा हुन्छ। कडा चट्टानी बनोट हुनाले हिमताल-तलैयाको बाँधको काम गर्छ। तापक्रम वृद्धि र निरन्तरको मार खेप्न नसकेपछि पर्माफ्रस्टमा विचलन देखिएको उनले बताए।
'पर्माफ्रस्ट पग्लिन थालेपछि अहिले जताततै हलचल आउने प्रकृतिको देखिएको छ,' पोखरेलले भने, 'एक नम्बर तालबाट उर्लिएर आएको पानी र हिउँ तल झरेको देखिन्छ। बरफका ढिक्का पग्लिँदै बाढी अगाडि बढ्दा तटीय क्षेत्रमा विनाशको रूप लिएको देखिन्छ।'
थामे विपत्तिको स्रोत तालको भित्तापट्टि ठूलो चट्टानी भूभाग (पर्माफ्रस्ट) पोखरीमा ताछिएर झरेको देखिन्छ। पोखरीको भित्तामा पर्माफ्रस्टमा पनि व्यापक विचलन देखिन्छ। खरानी रङमा बदलिएको उक्त तालको भित्तापट्टि ठुल्ठूला बरफका ढिक्का अद्यापि पानीमा तैरिरहेका छन्। छेउको पानी खरानी रङमा परिणत भइसकेको छ। भित्तातर्फ चोइटिएका बरफमुनिको भागको पानीको रङ निख्खर नीलो देखिन्छ।
पोखरेलका अनुसार यो नीलो रङले विस्फोटको जोखिम संकेत गर्छ।
उनले ग्रीनल्यान्डको उदाहरण दिए।
अन्टार्कटिकामा ठूलो बरफको ढिक्का टुटेको थियो। जसलाई 'लार्सन-बी आइस सेल्फ' पनि भनिन्छ। फुटेको हिस्सा नीलो रङमा परिणत भयो।
थामेको शिरको अवस्था पनि 'लार्सन-बी आइस सेल्फ' परिस्थितिसँग मिल्दो छ। बचेका तीनवटा ताल पनि नीलै छन्।
यी तालहरूको साढे तीन वर्षअघिको स्याटेलाइट तस्बिर हेर्दा ताल पूर्णतः सेता देखिन्छन्। अर्थात् यी जमेरै बसेका थिए। तर अहिले तालको रङमा बदलाव आएको छ।
'चामाचो ताल फुट्दा बाँध क्षेत्रमा झन्डै तीस मिटर चौडा गहिरो खोँच बनेको छ,' पोखरेलले अवस्था विश्लेषण गर्दै भने, 'चामाचो आफै फुटेको होइन। एक नम्बर ताल विस्फोट भएपछि डेढ-दुई सय मिटरजति बरफ, ढुंगा-माटोको मिस्रणसहितको पर्माफ्रस्ट तल्लो पोखरीमा आयो। त्यो पोखरी विस्फोट भएर विध्वंशको आकार लिएको हो।'
एक नम्बर ताल एक-डेढ सय मिटर गहिरो छ। पर्माफ्रस्ट जीर्ण भइसकेकाले जुनसुकै बेला फुट्ने जोखिम छ।
कार्यकारी प्रमुख पोखरेलले हिमताल विस्फोटलाई जलवायु परिवर्तनकै असरका रूपमा अर्थ्याए। उनी आफू स्वयंले ४२००-४५०० मिटर उचाइमा पनि १५-१६ डिग्री सेल्सियस तापक्रम अनुभव गरेको बताए। जल तथा मौसम विज्ञान विभागले पनि त्यस भेगको तापमान निरन्तर वृद्धि भइरहेको र यही साउन २५ देखि झन् दैनिक रूपमा वृद्धि भएको बताएको छ। फोर्त्से केन्द्रमा गरिएको मापनअनुसार त्यहाँको तापक्रम ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको छ। साउन ३१ गते अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ।
'त्यहाँको तापक्रम त्यति पुग्नु स्वाभाविक मौसमी घटना होइन,' पोखरेलले भने।
त्यस्तै त्यहाँ केही दिनयता निरन्तर वर्षा भइरहेको देखिन्छ। फोर्त्से केन्द्रलाई नै आधार मान्दा त्यस भेगमा सात दिनमा कुल ६५ मिलिमिटर पानी परेको छ। स्याङ्बोचे विमानस्थल केन्द्रमा पछिल्लो १६ दिनमा १३३.८२ मिलिमिटर पानी मापन भएको छ। निरन्तर तापक्रम र वर्षातको वृद्धिले सदियौंदेखि जमेर रहेको पर्माफ्रस्टमा विचलन ल्याएको र फुटेर विध्वंशको रूप लिएको उनले बताए। फुटेको तालबाट बगेको पानीले तटीय क्षेत्र खोतल्दै बगेको देखिन्छ। त्यहाँ सानो खोला छँदै थियो। ताल फुटेर आएको बहावले तल्लो तटीय क्षेत्रको दायाँबायाँ रहेको पर्माफ्रस्ट सोहोर्दै खोतलेर लगेको देखिन्छ।
ताल रहेको स्थानबाट केही तल घाँसे मैदान छ। मैदान वरपर हिउँ भए पनि तापक्रम वृद्धिले त्यो पनि पग्लिएको र क्षतिको आकार विकराल बनेको उनको बुझाइ छ।
घटनाबारे प्राधिकरणले विज्ञ टोली पठाएर विस्तृतमा अध्ययन गर्ने पनि उनले बताए।
हिमालय प्रणालीमा हिमताल बन्ने र विघटन हुने प्रक्रिया नयाँ होइन। नेपालमै २०४२ सालमै हिमताल विस्फोटनको घटना भइसकेको छ। अधिक मात्रामा हरित गृह ग्यास उत्सर्जन हुँदा त्यसको सिधा असर नेपालको हिमालय क्षेत्रमा पर्न थालिसकेको छ। हिमाली क्षेत्रमा वर्षा 'सिफ्ट' र निरन्तर तापक्रम वृद्धि हुँदा हिमालय क्षेत्रको प्रणाली बिथोलिने खतरा बढिसकेको छ।
थामे घटना यसैको कडी हो।
देशभर २४ भन्दा बढी यस्ता तालतलैया उच्च जोखिममा छन्। कुन कुन जोखिममा छन्, कुन ताल कस्तो अवस्थामा छ भनेर विस्तृत अध्ययन र विश्लेषण भएको छैन।
'मुख्य जोखिम कोशी जलाधार क्षेत्रमा देखिन्छ। अरूण नदीको जलाधार क्षेत्रमा त्यस्ता तालतलैया छन्। तल्लो वरूण तालको जोखिमको विश्लेषण अध्ययन गरी प्रस्तावना तयार पारिरहेका छौं। ग्रीन क्लाइमेट फन्डमा पेस गर्ने प्रक्रिया अघि बढाएका छौं,' उनले भने।
नाम पनि नभएका तालले तटीय क्षेत्रमा सर्वनाश निम्त्याइरहेकाले यी र यस्ता प्रकृतिका ताल कति छन् भनेर अध्ययन हुनुपर्ने खाँचो उनले औंल्याएका छन्। हरेक वर्ष नयाँ ताल बन्दै र आकार बढ्दै गरेको उनले बताए।
'हामी यस्ता प्रकृतिका ताललाई तलैया पनि भन्छौं। तलैया पनि जोखिमपूर्ण हुन थाले। यस्ता तालको जोखिम अध्ययन र विश्लेषण हुनुपर्ने रहेछ। साना तालमुनि बस्ती छन् भने त्यसले निम्त्याउने क्षति अकल्पनीय, अपूरणीय हुँदो रहेछ भनेर थामेले देखाएको छ,' पोखरेलले भने।
हेर्नुस् तालतलैयाको जोखिम अध्ययन, विश्लेषण, न्यूनीकरण लगायतबारे पोखरेलले गरेको लामो विश्लेषण भिडिओमाः