भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो।
यो घटना भएको ठाउँनजिकै ट्राफिक प्रहरीहरू उभिइरहेका थिए।
ट्रकले स्कुटरलाई केही परसम्म घिसारेर लगेको थियो। सामुन्ने रहेका ट्राफिक प्रहरीले यो दुर्घटना देखेपछि ट्रकतर्फ दौडिए। तर ट्रक रोकेर चालक भागे।
दुर्घटना भएपछि मानिसहरू सडकमा जम्मा हुन थाले। भिड बढ्दै गयो।
प्रहरीले दुर्घटनामा परेका स्कुटर चालकलाई तत्काल उद्धार गर्न सक्ने स्थिति पनि रहेन। भिड प्रहरीहरूसँग जाइलाग्यो। स्थिति नियन्त्रण लिन प्रहरीलाई हम्मेहम्मे पर्ने अवस्थामा पुग्यो।
ट्रकको पाङ्ग्राले च्यापिएका स्कुटर चालकलाई समयमै उद्धार हुन सकेन। उद्धार गर्न क्रेन चाहिन्छ भनेर प्रहरीले मगाएको पनि थियो।
यसबीचमा ट्राफिक प्रहरीले लुकेर चेकजाँच गर्दा दुर्घटना हुन पुग्यो भन्ने हल्ला फैलियो। यसले विस्तृत रूप लिएपछि भिड ट्राफिक प्रहरीहरूसँग जाइलागे।
कतिपय ट्राफिक प्रहरीलाई हातपात र दुर्व्यवहार भयो। प्रदर्शनकारीहरूले हानेका ढुंगा लाग्यो। सुरक्षाका लागि यात्रुबहाक बसभित्र र होटलभित्र पसेका ट्राफिक प्रहरीलाई पनि प्रदर्शनकारीले ओरालेका भिडिओहरू सामाजिक सञ्जालमा आएका छन्।
ट्राफिक प्रहरीले स्पीड गनबाट चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रदर्शनका क्रममा र सामाजिक सञ्जाल फेसबुकमा पनि ट्राफिक प्रहरीको आलोचना भइरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले पनि दुर्घटनास्थल नजिकै ट्राफिक प्रहरीले चेकिङ गरिराखेको बताए। भक्तपुरका सडकमा दिनहुँजसो चेकिङ हुन्छ, बिहीबार पनि त्यसैको निरन्तरता हो।
दुर्घटनास्थल नजिकै सडक छेउमा बिहीबार दिउँसो पनि तीन जना ट्राफिक प्रहरी उभिइरहेका थिए। त्यसनजिकै ट्राफिक प्रहरीले स्पीड गनबाट सवारी साधनको गति परीक्षण गरेका थिए वा थिएनन् अझै प्रष्ट भइसकेको छैन।
दुर्घटना भएको समयमा ट्राफिक प्रहरीले कुनै पनि सवारी साधनलाई नरोकेको डिएसपी कार्की दाबी गर्छन्।
सेतोपाटीलाई प्राप्त दुर्घटनास्थलको सिसिटिभी फुटेजमा पनि सडक छेउमा उभिइरहेका दुई जना ट्राफिक प्रहरीले सडकमा गुडिरहेका कुनै पनि सवारी साधनलाई रोकेको देखिँदैन।
यो भिडिओ हेर्नुहोस्:
‘दुर्घटनास्थल नजिकै ट्राफिक प्रहरीहरू पनि थिए। तर उनीहरूले गुडिरहेका कुनै पनि सवारी साधनलाई असर पुर्याएको, रोकेको देखिन्न,’ डिएसपी कार्कीले भने। ना ६ ख २१७३ को ट्रकले बा ४९ प ८९४४ स्कुटरलाई ठक्कर दिँदै लतारेको सिसिटिभी फुटेजमा पनि देखिन्छ।
ट्रकले स्कुटरलाई करिब १० मिटर जति परसम्म लतारेको सिसिटिभी फुटेजमा देखिन्छ। स्कुटर उछिट्टिएपछि चालक ट्रकको टायरमुनि च्यापिएका थिए।
प्रदर्शनकारीले ट्राफिक प्रहरीलक्षित ढुंगामुढा गरेपछि प्रहरीले थप फोर्स मगाएर नियन्त्रण गर्न खोज्यो। केहीबेरपछि घटनास्थलमा एम्बुलेन्स आइपुग्यो। टायरमुनि चेपिएका स्कुटर चालकलाई त्यहाँबाट निकालेर पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो।
शव उठाएपछि पनि प्रदर्शनकारी र प्रहरीबीच तनावको स्थिति सिर्जना भयो। प्रहरीले भिड नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो। घटनास्थलमा नेपाल प्रहरीका ११८ र सशस्त्र प्रहरीका १३० जना खटिएका थिए। सडक अवरोध हटाउन प्रहरीलाई समय लागेको थियो।
प्रदर्शनकारीहरूले हानेको ढुंगाले एसपी बेद विष्ट, प्रहरी सहायक हवल्दार बहादुरे राउत र सौगात सापकोटा सामान्य घाइते छन्। प्रहरीमाथि आक्रमण गर्नेहरूको खोजी भइरहेको छ।
दुर्घटनापछि भागेका ट्रक चालकलाई बिहीबार साँझपख प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनकुनेबाट पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ घर भएका ट्रक चालक ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त थिमिमा राखेर अनुसन्धान भइरहेको छ।
दुर्घटना भएको भोलिपल्ट मात्र स्कुटर चालकको सनाखत भएको छ।
प्रहरीले बिहीबार दुर्घटनामा परेर एक महिलाको निधन भएको भन्दै नाम र ठेगाना नै सार्वजनिक गरेको थियो। तर मृतक पुरूष रहेको खुलेपछि उक्त विवरण प्रहरीले सच्याएको थियो।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको विवरण किन फरक पर्न गयो? हामीले यसबारे जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीलाई सोध्यौं।
उनले यस्तो कारण दिए।
‘दुर्घटनामा परेका व्यक्तिको शव सग्लो थिएन। खुट्टामात्रै बाँकी थियो। खुट्टा र कपडा हेर्दा महिला नै हो कि भन्ने लागेको हो। हामीले दुर्घटनामा परेका व्यक्तिलाई उद्धार गर्न र पहिचान गर्नेतिर ध्यान पनि दिन पाएनौं किनभने घटनालगत्तै प्रदर्शन भइहाल्यो,’ उनले भने।
डिएसपी कार्कीका अनुसार घटनापछि आएका एक व्यक्तिले आफ्नी बहिनीको मृत्यु भएको हो भन्दै सनाखत गर्न आएका थिए। तर दुर्घटनामा परेको भनिएको व्यक्तिको विवरण सार्वजनिक भएसँगै उनी सम्पर्कमा आइन्। त्यसपछि प्रहरीले दाजु हुँ भन्दै आउने व्यक्तिलाई पनि नियन्त्रणमा राखेको छ।
‘त्यसपछि हामीले मृतकको साथमा रहेको कागज पत्रअनुसार शव पहिचान गरेका हौं, कागजपत्रअनुसार दुर्घटनामा परेका व्यक्ति पुरूष रहेको खुल्यो,’ उनले भने, ‘कागज पत्र पनि रगतले लतपतिएको थियो।’
त्यसपछि मात्र ट्रकले ठक्कर दिएका स्कुटर चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइराला भन्ने खुलेको प्रहरीको भनाइ छ।
शुक्रबार बिहान मृतकका श्रीमतीसहित आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए।
काठमाडौं उपत्यकाभित्रै यस्तो दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखकले पनि घटनाबारे चासो देखाएका छन्।
गृहमन्त्री लेखकले नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरलाई घटनाबारे गम्भीर छानबिन गर्न र कसको कमजोरीले यो घटना हुन पुगेको हो पत्ता लगाउन भनेका छन्।
‘गठ्ठाघरको दुर्घटनामा के भएको हो? दुर्घटना हुनुमा कसैको गल्ती छ कि? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’ गृहमन्त्री लेखकले आइजिपी कुँवरलाई भनेका कुरा उद्धृत गर्दै गृह मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।