भैरव रिसालको नमस्कार! रेडियो सगरमाथाको कुरोकन्थो कार्यक्रमबाट।
एउटा कुरा, म आजबाट ९६ वर्ष पूरा गरेँ। ९७ वर्षमा हिँडेँ। कति धेरै बाँच्या! ९६ वर्ष पूरा भयो भन्या त धेरै वर्ष बाँच्यो। म सामान्य अर्थतन्त्र भएको घरमा जन्मिएको हो। मेरो यो कुरोकन्थो रेडियो कार्यक्रम आजबाट अन्तिम हो जस्तो लाग्छ मलाई।
यति भन्न निकै सकस परेको थियो भैरव रिसाललाई।
बोली लर्बराएजस्तो सुनिन्थ्यो। ओठ थररर्र कामेजस्तो आभास हुन्थ्यो। बेलाबेला वाक्य रोकिन्थ्यो। कतिपय शब्दमा सासको जोड नपुगेजस्तो हुन्थ्यो। स्वरयन्त्रका अवयवको मद्दत नपुगेका कतिपय वाक्य अस्पष्ट सुनिन्थे।
'मेरो कानले पनि मद्दत गर्न छाड्यो। मुखले पनि मद्दत गर्न छाड्यो। वाक्य बीचमै अड्किन्छ। अस्ति के-के बोलेँ, बोलेँ। छोरीले एउटा आर्टिकल (लेख) लेखेकी थिई। त्यसले गर्दा यो ठिक होइन। भनेको कुरा स्पष्ट गर्न नसक्ने अवस्थामा गएँ,' कार्यक्रमकै बीच उनले आफ्नो गह्रुँगो यथार्थ चित्रण गरे।
उमेरको गणितमा ९७ वर्षमा पैताला ओछ्याएँ भनेर हुँदैन। मन जवान भइदिन्छ। उड्दो चरो खसालुँ जसरी मनको वेग हुरीझैं हुर्रिन्छ।
तर वृद्ध तनले मनको लय कहाँ समात्न सक्छ र! शारीरिक यथार्थले खण्डित तुल्याइहाल्छ। र त उनी भन्दै थिए, 'उमेर लाग्यो, बूढो भयो जस्तो लाग्दो रहेनछ! त्यसले गर्दा मेरो आज अन्तिम दिन हो। म क्षमा चाहन्छु। आजसम्म चलाएर आएँ। त्यसले गर्दाखेरि, यसमा मलाई गर्व छ। मेरो कुरा धेरै जनाले सुन्नुहुन्थ्यो। मलाई फोन गर्नुहुन्थ्यो। मलाई प्रोत्साहित गर्नुहुन्थ्यो। उहाँहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।'
भैरव रिसालको यो आवाज २०५६ सालदेखि गुञ्जँदै आएको थियो। उनलाई हेक्का भएसम्म २०५६ भदौ दोस्रो सातादेखि उनले कुरोकन्थो कार्यक्रम सुरू गरेका थिए। समसामयिक विषयमा विचार पस्कने यो कार्यक्रम प्रत्येक मंगलबार प्रसारण हुन्थ्यो।
सानो गाँठी भए पनि पत्रकारितमा उच्च कद थियो रिसालको। आफ्नै छविको आलोकमा प्रदीप्त थिए। राष्ट्रिय समाचार समितिबाट प्रमुख संवाददाताका रूपमा निवृत्त भएका, पत्रपत्रिकामा नियमित लेख्दै आएका, सामाजिक वैज्ञानिकदेखि वातावरण बचाऊ अभियन्ताको व्यक्तित्व बनाइसकेका रिसालको टठिलो आवाजले स्रोताको क्षितिज फराकिलो तुल्याइसकेको थियो।
कार्यक्रम सुरू गर्दा ७१ वर्षे 'तन्नेरी' थिए उनी। ४३ वर्ष पत्रकारितामा बिताएका पाका अनुहार। जयतु संस्कृतमदेखि माओवादी नेतृत्वको सशस्त्र संघर्षलाई आँखैले नियालेका रिसाल राजनीतिक उतारचढावको 'इन्साइक्लोपेडिया' थिए। एउटा जीवित इतिहास पनि। त्यसैले उनको पाठवृत्त फराकिलो थियो। उनको प्रस्तुति गहकिलो थियो।
प्रौढपथको उकालो चढिसकेका रिसाललाई बुढ्यौलीले गाँज्दै लानु स्वाभाविक थियो। तर उनको क्रियाशीलता र सक्रियताले त्यसलाई थिच्दै लगेको थियो। चहकिलो आभा र टठिलो स्वरमा कुनै कमी आएको थिएन।
९० हिउँद कटिसकेपछि भने उनको स्वर पातलिँदै गयो। कण्ठ बसेजस्तो आभास हुन थाल्यो। उनले यसको सुइँकोसम्म स्रोतालाई दिएका थिएनन्। अविराम २५ वर्ष रेडियोमा बोले। उनी बोल्दा स्रोतालाई सुन्न कष्ठ नहोस् भनेर स्वर प्रसारण गर्ने उपकरणको भोल्युम बढाउनुपर्दैनथ्यो।
हालैको एक बिहानले त्यो अवस्था खण्डन गर्यो। उनको स्फूर्त आवाज तन्दुरूस्त नरहेको संकेत मिल्यो।
'प्रत्येक मंगलबार बिहान ७ बजे रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम कुरोकन्थोमा हालसालैको एउटा मंगलबार 'नमस्कार म भैरव रिसाल' भन्दै बा बोल्न थाल्नुभयो। सुरूको १-२ मिनेट स्वर टाठो थियो तर बिस्तारै मलिन हुँदै गयो। कफ अड्किएको गला सफा गर्दै माफ गर्नुहोला भन्नुभयो र लर्बरिएर लगभग नबुझिने बोलीमा एउटै कुरा घरिघरि दोहोर्याउँदै १० मिनेट कुरा गर्नुभयो,' कान्छी छोरी सुषमले सौर्य अनलाइनको संस्मरणमा उनको नाजुक बन्दै गएको शारीरिक अवस्थाबरे उल्लेख गरेकी छन्।
दस-बाह्र वर्षअघिदेखि नै भैरवलाई खुट्टा दुख्ने रोगले अँठ्याएको थियो। स्वर दृष्टिमा भने कैफियत नदेखिएकाले उनले स्रोतासँग साइनो टुटाइहाल्ने मनस्थिति बनाएका थिएनन्।
घरको बार्दली नै दूरदेश हुन लागेपछि र भुइँतला बिरानो बन्न लागेपछि उनको आत्मबल क्षीण हुनु स्वाभाविक भइहाल्यो।
पत्रकारिताको भोक र तृष्णा जीवितै राखेका रिसाललाई केही महिनाअघि 'शिक्षक' मासिकका सम्पादक राजेन्द्र दाहालले मुखै फोरेर सोधेका थिए, 'अब कतिञ्जेल चलाउनुहुन्छ कुरोकन्थो?'
दाहाल र रिसाल २०४५ सालदेखिका सहकर्मी हुन्। वातावरण पत्रकार समूह स्थापना गर्नेदेखि एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथा सिर्जना गर्दादेखिका सहकर्मी हुन् उनीहरू।
'कुरोकन्थो' को छिनोफानो दाहालकै ओठबाट उम्कियोस् भन्ने ठानेका रहेछन् रिसालले।
'रिसालजस्तो अग्रज आवाजलाई कसले सोध्ने आँट गरोस्, मैले चाहिँ अब कार्यक्रम चलाउन छोड्नुभए हुन्छ भनेर सुझाव दिएको थिएँ,' दाहालले त्यति बेलाको क्षण सम्झिँदै सेतोपाटीसँग भने।
साउन २९ गते मंगलबार उनको जन्मदिन हो। संयोगले नै यो कुरोकन्थो प्रसारण हुने दिन पनि थियो। आफ्ना स्रोतामा बिन्ती बिसाउँदै रिसालले हिजो नै कुरोकन्थो बिट मारेको बताए।
यो भावुक आवाजसँगै रेडियो सगरमाथाबाट गुञ्जने टठिलो स्वर उप्रान्त सुनिने छैन।
सक्रिय पेसाकर्मीको जीवनमा यस्तो क्षण आउँदो रहेछ!
मन सक्रिय हुँदाहुँदै हातखुट्टालाई विश्राम दिनु बाध्यता बन्दो रहेछ!
मद्दत दिन नसके पनि केही भन्न खोज्ने ओठ, केही लिपिबद्ध गर्न खोज्ने हातहरू थाकेपछि मनलाई 'अब म सक्दिनँ है!' भने सम्झाइबुझाइ गर्नुपर्दो रहेछ!
९७ वर्षमा हिँडिरहेका प्रतापी रिसालले ९४ वर्षसम्म चस्मा लगाएनन्। दृष्टि पातलिएको किञ्चित् महसुस गरेनन्। देश-दुनियाँका घटना-दुर्घटनामा कान ठाडो पारिरहे। चहकिला आँखाले त्यसलाई पर्गेलिरहे। आफ्नै शब्द, शिल्प र बान्कीले त्यसलाई अर्थ्याइरहे।
ढिलो गरी बुढ्यौलीमा पसेका रिसाललाई जीवनको कठोर यथार्थले पनि ढिला नै गाँज्यो।
उनी अहिले मुस्किलले शौचालय जान सक्छन्। दाँत, हातखुट्टाका नङ खिइँदै गएका छन्। शरीरका तन्तु एकपछि अर्को गरी निस्क्रिय बन्दै गइरहेको आभास हुन्छ। हातगोडाले होइन, लठ्ठीले पनि भर दिँदैन। कसैले आड दिए पनि भर्याङ उक्लन र ओर्लन सक्दैनन्। मन त स्फूर्त भएर भर्याङ खुर्खुती ओर्लिइहाल्छ; शरीर र हातगोडा लागे पो! घर्कंदो उमेर र पार्किन्सन्स; अहिले उनलाई शिथिल पार्ने मुख्य तत्त्व हुन्।
यो अवस्था राम्ररी बुझेकाहरूले उनलाई कार्यक्रममा बोलाउन छाडेका छन्। सम्मान अर्पण गर्न चाहने संघ-संस्थाहरू पनि घरमै पुग्छन्। रिसाल स्वयंले भने जीर्ण बन्दै गरेको शारीरिक अवस्थाबाट हार मानिसकेका छैनन्। अझै पनि 'श्रमिक' साप्ताहिकमा नियमित स्तम्भ लेखिरहेका छन्। दिमागी तन्तुले ठम्याउन सकेजति बोल्छन्, नातिनी बुहारी अनुपा उनको आसय बुझेर त्यसलाई लिपिबद्ध गरिदिन्छन्।
उमेरको घाम डाँडामाथि पुगिसकेकाले घरमा आउजाउ बाक्लियोस् भन्ठान्छन् उनी। चिनेजानेका मानिसले फोन गरे भने भन्छन्, 'धेरै सुन्दिनँ। घरमै आउनुहोस् न है!'
बाबुको मनोदशासँग चिनापर्ची पाएका छोरीहरू पनि चिनेजानेकालाई भन्छन्, 'यसो घरमा आउजाउ गरिरहनूस् नै है। दाइ (उनीहरू बाबुलाई दाइ भनेर सम्बोधन गर्छन्) को अनुहारको चमक नै अर्को हुन्छ।'
मनले व्यक्त गर्न खोजेका कुरा आवाजले मद्दत नगरेपछि आँखाले प्रतिक्रिया जनाउन थालेका छन्। कहिल्यै हरेस नखाएका उनका तेजश्वी आँखा अहिले क्षणक्षणमै रसाएर टम्म भरिन्छन्। झन् अवरूद्ध हुन्छ गला!
गल्दै गएको बाबुको स्फूर्ति देख्दा छोराछोरीको पनि मन भरिएर आउँछ।
पत्रकारिताका 'भीष्मपितामह' भैरवको जीवनका अनेकन आयाम छन्। तर सबैलाई जित्ने आयाम चाहिँ पत्रकारिता नै हो।
उमेरको यो उत्तरार्द्धमा आइपुग्दा पनि उनी सबै पत्रकारलाई जिउँदो रहन सुझाउँछन्। उनी बारम्बार भनिरहन्छन्, पत्रकारलाई निदाउँदा पनि आँखा बन्द गर्ने सुविधा हुँदैन। कान र आँखा हमेसा खुलै राख्नुपर्छ।
पत्रकार अल्छी बन्दै गएकामा उनको ठूलो गुनासो छ। पत्रकार अल्छी र विषयको संवेदनशीलता वहन गर्न छाडेकैले पत्रकारिताको मानमनितो घटेको मात्र नभई, मूल्यमै ह्रास आएको उनको बुझाइ छ।
उनको ९२औं जन्मदिनको अवसर पारेर हिमालले उनको अनुभव संग्रह 'उहिलेको नेपाल' सार्वजनिक गरेको थियो। आफ्नो अनुभव सुनाउँदै उनले अनुज पत्रकारलाई दैनिकी लेख्न थालिहाल्न सुझाएका थिए।
आफ्नै उमेर कालमा राणा शासन, प्रजातन्त्र प्राप्तिको आन्दोलन, पञ्चायत, बहुदलीय व्यवस्थाको आन्दोलन, सशस्त्र संघर्ष, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन, गणतन्त्र प्राप्तिको आन्दोलन, संविधानसभा लगायत राजनीतिक उतारचढाव बेहोरेका उनलाई यी घटनाक्रम लेख्य सामग्री बनेका थिए। त्यसमा दैनिकी लेखन सहयोगी बनेको उनको अनुभव थियो।
मानिस आफैमा इतिहास हो, तर लेखे न सुरक्षित हुने हो। दिमागमा सुरक्षित राखेको छु भन्दाभन्दै कति बेला विस्मृतिमा पुगिन्छ, कसले भन्न सक्छ र! रिसाललाई पनि ती सबै कुरा टिप्न नसकेकोमा पछुतो छ!
रिसाल अहिले दोहोरो वार्तालाप गर्न असमर्थ बन्दै गएका छन्। पार्किन्सन्स लगायतका कारण विस्मृति पनि झाँगिदै गएको छ। त्यही भएर उनकी जेठी छोरी सुषमाले केही अनुभूति बाँडेकी छन्।
१९८५ साउन २९ गते भक्तपुरको गुण्डुमा जन्मिएका हुन् रिसाल। उनको परिवार त्यहाँबाट बसाइँ सरेर भक्तपुरकै दधिकोट आएको हो। आमा गणेशकुमारी रिसालको मृत्युपछि उनको परिवारले पुर्ख्यौली थातथलो छाडेको रिसालले बताएका छन्।
२०२० देखि २०४२ सालसम्म राष्ट्रिय समाचार समितिको जागिरे हुँदा उनको कुपन्डोलमा डेरा थियो। उनले कुपन्डोलमा डेरा खोज्नुको पनि कारण छ। पत्नी सुशीला वीर अस्पतालमा नर्सको तालिम लिइरहेकी थिइन्। त्यति बेला अनमी पढेकाले साढे दुई वर्षको नर्स तालिम लिन पाउँथे। पत्नीलाई सजिलो होस् भनेर उनले ललितपुर छेउमा डेरा खोजेका थिए।
'आमा वीर अस्पतालमा तालिममा भएकाले पिताजी र म मात्रै डेरामा बस्थ्यौं। २०२८ सालतिरको कुरा हो। अहिले हिमालय होटल भएको ठाउँमा आदर्श विद्या मन्दिर थियो। म त्यहीँ प्राथमिक तहमा पढ्थेँ। मेरो लुगा धोइदिनेदेखि खाजाको प्रबन्धसम्म बुबाले नै गर्नुहुन्थ्यो,' सुषमाले सुनाइन्।
तीनधारा पाठशालामा संस्कृत पढेका रिसालले भारतको बनारसबाट २०१२ सालमा शास्त्री परीक्षा उत्तीर्ण गरेका हुन्। उनले सम्पूर्णनानन्द संस्कृत विश्वविद्यालय वनारसबाटै २०१५ सालमा आचार्यकल्पको उपाधि पनि लिएका छन्।
२०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसाल आफ्नो बेलाका जिउँदाजाग्दा पत्रकार थिए। गाउँको विकास-निर्माणमा पनि उत्तिकै चासो राख्थे। गाउँलाई एकताबद्ध बनाउन र विकासको गतिमा अघि बढाउन आफ्नो भूमिका प्रखर र मुखर बनाउन पत्रकारितालाई उपयोग गरे। आफ्ना सम्पर्क सूत्रलाई गाउँको हाल देखाउन कुनै कसर बाँकी राखेनन्।
'तिनताक पत्रकारिता अहिलेजस्तो व्यावसायिक थिएन। मिसन पत्रकारिता थियो। राससको पत्रकारको भूमिका असाध्यै महत्त्वपूर्ण हुन्थ्यो,' छोरी सुषमा ती दिन सम्झँदै भन्छिन्, 'पञ्चातविरोधी मत राख्नेहरूको सूचनामा पहुँच नभएकाले समाचारको स्रोत नै रासस हुन्थ्यो।'
उनी वामपन्थी विचारधाराबाट ओतप्रोत थिए। विशेष गरेर 'जुछे विचारधारा' (नेपाल मजदुर किसान पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक दृष्टिकोण) बाट उनी प्रभावित थिए। त्यति बेला पञ्चायत प्रवर्द्धन गर्ने राससबाट वामपन्थी विचारधाराको पृष्ठपोषण र प्रचारप्रसार सम्भव थिएन। त्यही भएर त्यो समयलाई विकास-निर्माणमा उपयोग गरेको छोरी सुषमाको बुझाइ छ।
रिसालकै चेतनाको आलोकमा दधिकोट समृद्ध बन्न पुगेको सुषमाले सुनाइन्।
'गाउँमा बाटोघाटो, पुलपुलेसा बनाउनुपर्यो भने पनि उहाँ आफै अघि सर्नुहुन्थ्यो। पत्रकारितामा भएकाले मन्त्री, रापस (राष्ट्रिय पञ्चायत सदस्य) सँग सम्पर्क हुने भइहाल्यो। उनीहरूलाई प्रयोग गरेर गाउँ बनाउन भूमिका खेल्नुभयो,' छोरी सुषमा अहिले सम्झिन्छिन्।
तिनताक नै उनी सहरमा स्थापित हुने आर्थिक हैसियतमा पुगिसकेका थिए। वेतनकै भरमा सहरमा घर बनाउन नसक्ने पनि होइन। तर पत्नीको नर्सिङ तालिम पूरा भएपछि उनी गाउँ (दधिकोट) मै फर्किएर त्यसलाई समृद्ध बनाउन लागिपरेको सुषमाले सुनाइन्।
'तीसको मध्यतिर र चालीसको दशकमै दधिकोट नमूना गाउँ मानिन्थ्यो। विकास, पूर्वाधारको दृष्टिले अरू गाउँ निकै पछि परेका थिए,' उनले भनिन्, 'यसमा उहाँकै मुख्य भूमिका छ।'
राससमा क्रियाशील हुँदा उनको व्यक्तित्व जति विकास हुनुपर्ने हो त्यति हुन नसकेको रिसाल स्वयंले स्वीकारेका छन्। त्यही भएर उनले जीवनको यो पाटो कतै चर्चा गरेका छैनन्। चर्चा गर्न रूचाउँदैनन् पनि। उनको लेखोटमा यो पाटो ओझेलमा छ।
बरू २०१३ देखि २०१६ सालसम्म हालखबर दैनिकमा काम गर्दा चारखाल (डिल्लीबजार) को सरकारी कार्यालयमै खसी काटेर मासु भाग लगाउँदै बेचेको प्रसंग कतै छुटाउँदैनन्। त्यो समाचार पत्रकारका रूपमा आफूलाई चिनाउने परिघटना बन्न पुगेको भन्दै गर्वले छाती चौडा गर्छन्।
त्यस परिघटनामा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले उनलाई बोलाएरै सोधपुछ गरेका थिए। उनले प्रधानमन्त्रीसँग पनि सरकारी अड्डा मासु बेच्ने थलो नभएको भन्दै कडिकडाउ जबाफ फर्काएको सगर्व सुनाउँछन्।
२२ वर्ष (२०२० देखि २०४२ वैशाख २ सम्म) राससको कार्यानुभव ओझेल पार्नुका पछाडि तत्कालीन पञ्चायती सरकारको सेवक बनेको अर्थ नलागोस् भनेर नै भएको धेरैको बुझाइ छ।
छोरी सुषमा पनि त्यो अवधिमा बाबुको व्यक्तित्व टाक्सिएको स्वीकार्छिन्। २०४२ वैशाख २ गते राससको प्रमुख संवाददाताबाट राजीनामा दिएपछि बाबुको दोस्रो जन्म भएको उनले बताइन्।
'बहुदल पक्षधरको प्रभाव विस्तार भएपछि उहाँलाई काम गर्न गाह्रो हुन थाल्यो। कुनै पनि बेला समाचार बिग्रियो भने जे पनि हुनसक्छ, राससमा काम गर्नु ठिक छैन भन्ने निष्कर्षमा पुग्नुभयो,' सुषमा भन्छिन्, 'राससको जागिर त्यागेपछि उहाँको सामाजिक व्यक्तित्वका रूपमा नयाँ जन्म भयो। अभियन्ताका रूपमा दोस्रो जन्म भयो।'
सम्पादक राजेन्द्र दाहालको पनि यही अनुभूति छ। रिसाल स्वयंको पनि यही बुझाइका कारण उनले त्यो पाटोको चर्चा गर्न आवश्यक नठानेको हुनसक्ने उनी लख काट्छन्।
दाहाल पनि २०४२ सालपछि नै रिसालको अहिलेको व्यक्तित्व उद्घाटित भएको बताउँछन्।
रिसाल राससमा काम गर्दाताककै कुरा हो, उनलाई कसैले सुनाइदियो – जुम्ला, हुम्लामा त छानै नभएको घर हुन्छ।
धुरी खाँबो, छाना नै नभएको घर कस्तो होला!
कौतूकले भरिएको उनको दिमागी तन्तु झन् सलबलायो। उनी आश्चर्यले भरिए।
'छाना नभएको घर कस्तो होला भन्ने लाग्यो! राससमा धेरै वर्ष काम गरेँ। जान पाएको थिइनँ। अफिसबाट बिदा लिएर जुम्लासम्म गएँ। डोरबहादुरजी (डोरबहादुर विष्ट) ले टिकट किनिदिनुभयो। बद्रीविक्रम अञ्चलाधीश हुनुहुन्थ्यो। उहाँले सबै बन्दोबस्त गरेर, बाटो देखाउने, भरिया खोजिदिने गर्नुभयो। हुम्लाको अवस्था देख्दा साह्रै नै दयनीय पाएँ,' उनी भन्छन्।
पछि उनले जीवनबहादुर शाहीसँग सम्पर्क गरेर ‘उज्यालो हुम्ला’ कार्यक्रम सुरू गरे।
त्यति बेलाको एउटा प्रसंग उनी सुनाउँछन्।
६० को दशकमा उनले सुरू गरेको ‘उज्यालो हुम्ला’बाट आह्लादित हुँदै हिमाल मासिकमा ‘पाका पत्रकारको बहुला योजना’ क्याप्सनसहितको फोटो छापिएको थियो। त्यसैले अभियान सार्थक बनाएको उनी बताउँछन्।
'हुम्लामा भैरवको राम्रो काम भनेको भए कम मानिसले पढ्थे होलान्। उहाँ (राजेन्द्र दाहाल) ले पाका पत्रकार, बहुला विचार भनेको भएर धेरैले थाहा पाए। त्यही आधारमा हुम्लाका साढे पाँच सय घरमा उज्यालो (सौर्य ऊर्जा) पुर्याउन सकियो। २२ लाख जुटाएर मैले त्यति बेला त्यो काम गरेको थिएँ,' उनी अहिले पनि भन्छन्।
राससको जागिर छाडेपछि रिसाल इलामको जसबिरे गाउँ पुगेका थिए। कायाकल्प भयो त्यो गाउँको। ४० वर्षअघि नै त्यस गाउँमा विकासको न्यानो घाम पुर्याएकाले त्यहाँका मानिसहरू उनीप्रति कृतकृत्य छन्। वास्तवमा उनी स्वीस परियोजनाअन्तर्गत त्यहाँ पुगेका थिए। रैथाने आलुको बिउ संरक्षणका लागि स्विट्जरल्यान्ड सरकारले एउटा परियोजनामा सहयोग गरेको थियो। रिसाललाई जसबिरेको मुटुसम्म जोड्ने सेतु थियो त्यो।
आलुको रैथाने बिउ संरक्षण गर्ने शीत भण्डारणका लागि गएका रिसाल त्यत्तिमै अडिएनन्। स्विस परियोजनाभन्दा दस कदम अघि बढेर गाउँमा कृषि विकास बैंकको शाखा कार्यालय पुर्याए। हुलाक पुर्याए। दूध संकलन केन्द्र बनाए। सामूहिक उद्यमशीलताका अनगिन्ती उपाय पहिल्याए। कृषकहरूको आयस्तर मात्र होइन, जीवनशैली नै आनका तान परिवर्तन भयो।
सूर्योदयको जिल्ला छँदै थियो, भैरव रिसाल थपिएपछि झन् उज्यालो पो भयो!
'आइडिएस संस्थामार्फत् त्यहाँ पुग्नुभएको थियो। त्यहाँ पुगेपछि उनीहरूको जीवनस्तर उकास्न अहम् भूमिका खेल्नुभयो। राष्ट्रिय योजना आयोगमा मोहनमान सैंजु हुनुहुन्थ्यो, उहाँलाई एक रात त्यहीँ बस्न लगाउन भएछ। चियाको बेर्ना ल्याएर त्यसको व्यावसायिक विकासका लागि बजेट विनियोजन गर्न भन्नुभएछ। यसरी त्यो गाउँको कायाकल्प नै गरिदिनुभयो,' सुषमा भन्छिन्।
आइडिएसमा उनले २०४२ देखि २०४७ सालसम्म काम गरे। त्यो अवधिमा उनी रैथाने आलुको 'व्यावसायिक दूत' नै बने भन्दा हुन्छ। उनको ख्याती सामाजिक वैज्ञानिकका रूपमा थप चुलियो।
यसबीच उनलाई चिनाउने अर्को पाटो पनि छ — भैरव रिसाल एक वर्ष जेल परे।
यो चर्चा गर्नुपूर्व उनको र पत्रकार राजेन्द्र दाहालको भेटको प्रसंग कोट्याऔं।
२०४२ को अन्त्य र २०४३ को सुरूआततिर रिसाल र राजेन्द्र दाहालको भेट काठमाडौंको खिचापोखरीमा भएको रहेछ। त्यति बेला रिसाल अवसादले भरिएको दाहालको अनुभव छ।
उनीहरूको त्यो भेट पुरूषोत्तम दाहालमार्फत् भएको थियो। खिचापोखरीको सडकछेउ उभिइरहेका रिसाललाई 'उहाँ भैरव दाइ' भन्दै पुरूषोत्तमले चिनाएका थिए।
'कालो कोटसहितको दौरा-सुरूवालमा हातमा पुरानो पुरानो देखिने कालो ब्याग बोकेका भैरवजी त्यति बेला भर्खरै मात्र राससबाट अलग्गिनुभएको र उहाँभित्र असन्तुष्टिको बाक्लो बादल मडारिइरहेको रहेछ भन्ने बुझ्न मलाई धेरै कठिन भएन। सडकछेउ उभिएर चर्कोचर्को आवाजमा उहाँले आधाघन्टा जति धाराप्रवाह गुनासो र असन्तुष्टि प्रकट गर्नुभएको थियो,' दाहालले भदौ २६ गते मात्रै सार्वजनिक भएको संस्मरणात्मक संग्रहमा लेखेका छन्।
रासस छाडेपछि रिसालको लेखन र पत्रकारको प्रवृत्ति यथावत रहेको दाहाल बताउँछन्। अझ सरकारी बन्धनमुक्त भएपछि उनको लेखन अरू उन्मुक्ति र खँदिलो पनि बनेको दाहालले बताए।
२०४३ असोज ६ गतेको राजधानी पत्रिकाको पृष्ठ पाँचमा रिसालको बाइलाइनमा एउटा लेख छापिएको थियो। त्यसको शीर्षक थियो, एसियाली मापदण्डः मन्त्रिमण्डलको ठगी खाने भाँडो।
यो लेखले त्यति बेलाको राजनीतिक र बौद्धिक माहोलमा ठूलै हुन्डरी मच्चायो; जुन स्वाभाविक पनि रहेको दाहालले बताए।
'त्यो लेखमा मन्त्रिमण्डललाई शिखण्डीका रूपमा उभ्याएर खास प्रहार एसियाली मापदण्डको कुरा गर्ने मुख्य व्यक्ति राजा वीरेन्द्रमाथि नै गरिएको अनुभव लेख पढ्नेहरूमध्ये जोकोहीले गर्न सक्थे। त्यो लेखले भैरवजीलाई पञ्चायतकालीन रिपोर्टरको छवि विस्थापित गरेर एकाएक आँटिलो पत्रकारको नयाँ परिचय प्रदान गर्यो। तत्कालीन अर्थ राज्यमन्त्री भरतबहादुर प्रधानद्वारा राष्ट्रिय पञ्चायतमा प्रस्तुत आर्थिक वर्ष २०४३/४४ को बजेटबाट नेपाली जनताको जीवनस्तर एसियाली स्तरमा उकाल्ने राजाको सपना साकार हुन सक्दैन भन्ने उक्त लेखेको निचोड थियो,' दाहाल भन्छन्।
यही लेखका कारण राजधानी पत्रिकाका प्रकाशक आङ्दोर्जे लामा र रिसाल एक वर्ष जेल बस्नुपर्यो।
लेख लेखेकै आधारमा अनाहक जेल बसेपछि रिसालले 'साधुलाई सूली' नामक जेल डायरी नै लेखेका थिए। २०५३ सालमा उक्त पुस्तक प्रकाशित छ।
अनेक आयामको परिचय बाँचेका रिसालको राजनीतिक पाटो पनि केलाऊँ।
उनी प्रखर कम्युनिस्ट थिए। त्यो पनि अहिलेको नेकपा (एमाले) जस्तो नरमपन्थी धारको होइन। क्रान्तिकारी पाइन हालेका। साम्यवादी विचारले भरिएको आगाको फिलिंगोजस्तो रापिलो! भर्भराउँदो!
उनको यो चेतना राससबाट बहिर्गमित भएपछि मुखर भएको भने होइन। उनी त २००४ सालमै कम्युनिस्ट विचारधारासँग नजिक भइसकेका थिए।
२००४ सालमा तीनधारा संस्कृत पाठशालामा जयतु संस्कृतम् आन्दोलन चर्किएको थियो। त्यसमा सक्रियतापूर्वक सहभागी भएका थिए। त्यति बेलै हो उनको पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यसँग संगत भएको। २०१३ सालसम्म पुग्दा उनी कम्युनिस्ट स्कुलमा भर्ती भइसकेका थिए। त्यति बेला उनका गुरू थिए, गोविन्दप्रसाद लोहनी।
पत्रकार भएपछि उनको जीवनको क्रान्तिकारी पाटो ओझेल परेको थियो, जुन एकाएक २०४८ सालमा मुखर भयो।
२०४८ सालको आमनिर्वाचनमा उनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ बाट चुनाव लडे। तर नेपाली कांग्रेसका जगन्नाथ आचार्यसँग पराजित भए। रिसाल त्यस्तै १३ सयभन्दा केही बढी मतले पछि परेका थिए।
'भक्तपुरमा भएको किसान-मजदुर आन्दोलनको प्रभाव उहाँमा थियो। नेमकिपाले अगाडि बढाइरहेको विचार र त्यसको आलोकमा विस्तारित हुँदै गरेको नेमकिपाको सोझो असर उहाँमा देखियो र उहाँ अहिलेसम्म त्यही विचारधारामा आबद्ध हुनुहुन्छ,' छोरी सुषमा भन्छिन्, '२०४६ सालसम्म त उहाँको राजनीतिक परिचय नै खुलेको थिएन। कम्युनिस्ट त कम्युनिस्ट नै हो, तर नेकपा (माले) होला भन्थे सबैले!'
यी भिन्न भिन्न आयामबाट आफ्नो छवि उँचो तुल्याउँदै सात दशक लेखन र पत्रकारितामा व्यतीत गरेका रिसाल नयाँ पुस्ताका लागि प्रेरणा र पथप्रदर्शक दुवै बन्न सक्छन्।
***