सिन्धुपाल्चोकको मेलम्ची नदीले तल्लो तटीय क्षेत्रमा पुनः कटान थालेको छ।
असारको २०–२१ गते आएको बाढीले हेलम्बु गाउँपालिका, चनौटेको पुल उच्च जोखिममा थियो।
‘त्यहाँ ठुल्ठूला ढुंगा हालेर कटान गर्न नसक्ने बनाएकाले पुल जोगिने अवस्था छ। तल्लो तटीय क्षेत्रमा भने नदीले धार नै परिवर्तन गरेको छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने।
२०७८ साउन १६ र १७ गतेको बाढीले चनौटेको रातो पुल बगाएको थियो। त्यही वर्ष ९० लाख ५३ हजारको लागतमा ४२ मिटर लामो पुल नेपाली सेनाले बनाएको हो।
२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढी पछि मेलम्ची नदीको जलसतह १० देखि १५ मिटरसम्म माथि आएको छ। चनौटे बजारको त बीचबाटै खोला बगेको थियो। अहिले नदीले धार परिवर्तन गरेर पारि गणेशे बगरततिरबाट बगिरहेको छ।
‘त्यसले जुनसुकै बेला जहाँ पनि कटान गर्न सक्ने अवस्था छ। अहिले पछिल्लो दुई दिनयता हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको मेलम्ची भ्याली क्याम्पसमा कटान थालेको छ,’ अध्यक्ष शेर्पाले भने।
शनिबारदेखि नै गाउँपालिकाको डोजर प्रयोग गरेर क्याम्पस जोगाउन काम गरिरहेको उनले बताए। बाढीले अघिल्लो वर्ष ग्याल्थुममै रहेको सरस्वती माथिको एउटा भवन र शौचालय बगाएको थियो।
तीव्र कटानका कारण हेलम्बु गाउँपालिका वडा नम्बर ४ र मेलम्ची नगरपालिका वडा नम्बर ७ जोड्ने झोलुङ्गे पुल पनि जोखिममा छ। त्यहाँ पनि नदीले धार परिवर्तन गरेर कटान गरिरहेको अध्यक्ष शेर्पाले बताए।
मेलम्ची नदीले ग्याल्थुम बजार र पारिपट्टि रहेको गैह्रीबेसीमा कटान गरिरहेकाले त्यहाँका स्थानीयहरू रातभरि जाग्राम बस्नुपरेको अध्यक्ष शेर्पाले बताए।
मेलम्ची नदीमा असारको पहिलो सातादेखि नै बाढी आए पनि मेलम्ची खानेपानी आयोजनामा भने थप क्षति नपुर्याएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
‘हामीले पानी ल्याउन प्रयोग गरेको सुरूङको मुखमा ठुल्ठूला ढुंगा राखेर छेकबार गरेका छौं। त्यसकारण बाढीले क्षति पुर्याउन पाएको छैन। अम्बाथान (हेडवर्क्स) पुग्ने पहुँच मार्गचाहिँ ठाउँठाउँमा क्षति पुर्याएको छ,’ उनले भने।
गत वर्ष साउन २८ र २९ गते आएको बाढीले मुहानमा क्षति पुर्याएको थियो। त्यतिबेला सुरूङमा समेत लेदो पसेको थियो।
तीन वर्षअघिको बाढीले मेलम्ची पुल बजारदेखि अम्बाथानसम्मको करिब २२ किलोमिटर सडक बगाएको थियो। नदीको बगर सम्याएर अस्थायी बाटो बनाइएको भए पनि अहिले अधिकांश भागमा पहिरो खसेको र नदीले कटान गरेको स्थानीयले बताएका छन्।
‘कटान गर्नेबित्तिकै डोजर लगाएर बनाउने गरिएकाले गाउँपालिकाको कार्यालय, किउलसम्म गाडी आवतजावत गर्छ। त्यसभन्दा माथिचाहिँ जान सक्दैन,’ अध्यक्ष शेर्पाले भने।
यस वर्षको बाढीले मेलम्ची खानेपानीको दोस्रो चरणको आयोजना (यांग्री र लार्के) मा भने क्षति पुर्याएको छ। असार ३१ गते र त्यसपछिको बाढीले याङ्ग्री, लार्के र इन्द्रावतीको दोभानसम्म पुग्ने पहुँच मार्ग बगाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए।
मेलम्चीदेखि धापसम्म करिब १० किलोमिटर बाटो सडक डिभिजनले बनाइरहेको छ। त्यहाँबाट याङ्ग्री, लार्के र इन्द्रावतीको दोभानसम्म पुग्ने १० किलोमिटर बाटो ८० करोड लागतमा मेलम्ची आयोजनाले बनाइरहेको छ।
‘त्यहाँ बाढीले व्यापक क्षति पुर्याएको छ। इन्द्रावती नदीमा पनि निरन्तर बाढी आइरहेकाले क्षतिको यकिन विवरण प्राप्त भएको छैन,’ उनले भने।
‘यसपटक पानी लैजान दिँदैनौं’
हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले मेलम्ची नदीले कहाँ कतिबेला कटान गर्छ भनेर रातभरि जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए। संघीय सरकारले हेलम्बु–मेलम्ची क्षेत्र पुनर्निर्माणमा कुनै चासो नराख्दा गाउँपालिकाको स्रोत साधन, मेलम्ची नदी नियन्त्रणमै सकिने अवस्था रहेको बताए।
‘सरकारलाई मेलम्ची आयोजनाको मात्रै चासो छ। तर आयोजनाको मुहानसम्म पुग्ने बाटो पनि बनाउँदैन। सधैँ हामी (गाउँपालिका)ले नै बनाइदिनुपर्छ। तीन वर्षअघिको बाढीले हेलम्बु गाउँपालिकामा मात्रै तीन सय हाराहारीको संख्यामा घर बगायो। ती घरहरू पुनःनिर्माण गर्नतिर चासो नै छैन। हामीले स्थानीयलाई के भनेर सम्झाउनू! नदी आसपासका मानिसहरू अहिले पनि सुत्न सक्नुभएको छैन,’ उनले भने।
मेलम्ची नदीको निरन्तरको कटानका कारण हेलम्बु, मेलम्ची उपत्यका सबै गाउँवस्ती खण्डहर बन्ने अवस्थामा रहेकाले जोगाउन संघीय सरकारले भूमिका नै खेल्न नसकेको बताए।
‘अम्बाथानसम्म पुग्ने बाटो छैन। स्थानीयका घर–खेत छैनन्। हिउँद लाग्नेबित्तिकै सहयोग गर्नुपर्यो भन्नुहुन्छ। तीन वर्ष त स्थानीयलाई सम्झाइबुझाइ गरेर अस्थायी रूपमा भए पनि पानी पठाउन सहयोग गरेका हौं,’ अध्यक्ष शेर्पाले भने, ‘यसपटक त हामी हात उठाउने अवस्थामा छौं। अघिल्ला वर्षका तुलनामा नदीले यसपटक झन् बढी कटान गरेको छ।’
२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङमा पहिरो खस्दा आएको भेलबाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षति पुर्याएको थियो। सुरूङमा भने क्षति नपुगेकाले आयोजनाले अस्थायी रूपमा काठमाडौं पानी पथान्तरण गर्दै आएको छ। गत वर्ष माघ १ गतेबाट काठमाडौं पानी ल्याइएकामा असारको पहिलो साता बाढी बढेसँगै सुरूङ बन्द गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सिन्धुपाल्चोकमा बढी पानी पर्ने प्रक्षेपण गरेको छ। सिन्धुपाल्चोकको पश्चिमी भेगमा निरन्तर भारी वर्षा भइरहेको छ।
पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकको ढुंगेमा ६६.६ मिलिमिटर पानी परेको छ। त्यस्तै बोल्देमा ५५ मिलिमिट वर्षा भएको छ। त्यस्तै दुबाचौरमा ४२.२ मिलिमिटर वर्षा भएको छ।
यो पनि:
मेलम्ची खानेपानीको अम्बाथानमा रहेको बाँध सार्ने सरकारको निर्णय
मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ६८ अर्ब ६२ करोड खर्च, बाँध क्षेत्र सारिने
यो बर्खामा पनि काठमाडौं आउँदैन मेलम्चीको पानी
माघे संक्रान्तिमा काठमाडौंमा मेलम्चीको पानी, प्रधानमन्त्रीले पुन: वितरण सुरू गर्ने