काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको आज अन्तिम दिन। जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा सकिन्छ। त्यसपछि रातो मच्छिन्द्रनाथलाई बुंगमती फिर्ता लगिन्छ।
मच्छिन्द्रनाथको भोटोजात्रा मनाइरहँदा के तपाईंलाई थाहा छ, हरेक वर्ष सार्वजनिक प्रदर्शन गरिने यो भोटो कसको हो? कसरी यो भोटो रातो मच्छिन्द्रनाथको संस्कृतिसँग जोडिन पुग्यो?
यो स्टोरीमा हामी यसैबारे चर्चा गर्नेछौं।
राष्ट्र–प्रमुख, सरकार–प्रमुख र विशिष्ट अतिथिदेखि दसौं हजार जनता सहभागी हुने भोटोजात्रालाई रातो मच्छिन्द्रनाथको 'क्लाइमेक्स' वा 'ग्य्रान्ड फिनाले' मानिन्छ। यो अवसरमा गुठी संस्थानका कर्मचारीले रथमाथि चढेर कालो रङको भोटो प्रदर्शन गर्छन्। झट्ट हेर्दा सानो बच्चा वा पुतलीको लुगाझैं लाग्ने यो भोटो हीरा, मोती, सुन र विभिन्न रत्नको जरीले टाढैबाट चम्किलो देखिन्छ। हीरामोतीको जरी लुगाको अग्रभागमा मात्र छ, पछाडि केही छैन। भोटो भनिए पनि हामीले देख्ने अरू भोटोजस्तो यसमा तुना भने छैन।
एक महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रामा भोटो देखाउने उत्सव अत्यन्तै छोटो हुन्छ। यो प्रायः साँझ ५ बजेतिर सुरू हुन्छ।
विशिष्ट अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ। त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ।
सार्वजनिक प्रदर्शनपछि भोटोलाई फेरि त्यही रातो कपडामा पट्टयाएर लाहा छाप लगाइन्छ। यसबीच सेनाको टुकडीबाट सलामीसहित राष्ट्रिय धुन बजाइन्छ।
सानो र छोटो विधि भए पनि यसको चर्चा यति व्यापक छ, धेरैले रातो मच्छिन्द्रनाथको जात्रालाई नै भोटोजात्राका रूपमा चिन्छन्। खासगरी काठमाडौं उपत्यकाबाहिरका धेरैलाई भोटो देखाउनु नै रातो मच्छिन्द्रनाथको मुख्य पक्ष हो भन्ने भान छ।
यो भ्रम हो।
रातो मच्छिन्द्रनाथसँग जोडिएका प्राचीन वा मध्यकालीन अभिलेख, थ्यासफू (हस्तलिखित पुरानो ग्रन्थ) लगायत कुनै पनि नेवारी दस्तावेजमा भोटो देखाउने प्रसंग हामी पाउँदैनौं। हामीले सुन्दै आएको रातो मच्छिन्द्रनाथको लोककथा वा किम्बदन्तीमा पनि भोटो देखाउने प्रसंग छैन।
संस्कृतिविद् तथा काठमाडौंका जात्रापर्वबारे खोज गरेका विदेशी अध्येताहरू जात्रा सुरू भएको धेरैपछि मात्र भोटो देखाउन थालेको बताउँछन्।
यस आधारमा हामी के भन्न सक्छौं भने, भोटो देखाउनु भनेको रातो मच्छिन्द्रनाथसँग जोडिएको एउटा महत्वपूर्ण उत्सव त हो, तर जात्राको अभिन्न अंग होइन।
विगतमा राजा–रानी र अहिले राष्ट्रपति उपस्थित हुने र सैनिक सलामीसहित तामझामका साथ देखाइने भएकाले मात्र यो उत्सवले बढी चर्चा पाएको हो। र, सिंगो जात्राकै पर्याय बनेको हो।
यसबारे अझ छर्लंग हुन सबभन्दा पहिला हामी रातो मच्छिन्द्रनाथको किम्बदन्तीबारे चर्चा गरौं।
यो जात्राले करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको छ। किम्बदन्तीअनुसार राजा नरेन्द्रदेवका पालामा काठमाडौं उपत्यकामा भयंकर ठूलो अनिकाल लागेछ।
खासमा भएको के थियो भने, गुरू गोरखनाथ आफूलाई कसैले भिक्षा नदिएकोमा रिसले चूर भएका थिए। उनले आफ्नो साधनाको बलमा यहाँका सम्पूर्ण नागलाई वशमा लिए र तिनै नागहरूमाथि आसन जमाएर तपमा लीन भए।
वर्षाको देउता मानिने नाग नै गोरखनाथको वशमा परेपछि काठमाडौं उपत्यकामा पानी परेन, अनिकाल लाग्यो।
लामो समय अन्नको एक दाना नफलेपछि जनता भोकभोकै मर्न थाले।
यो समस्याबाट त्राण पाउन कान्तिपुरका बौद्ध तान्त्रिक आचार्य बन्धुदत्तले भारतको आसामस्थित कामरू कामाख्या पीठबाट सहकालका देवता मानिने मच्छिन्द्रनाथलाई ल्याउनुपर्ने सुझाव दिए।
'गुरू गोरखनाथ आफ्नो तपबाट नउठेसम्म नागहरू मुक्त हुँदैनन्। नागहरू मुक्त नभएसम्म पानी पर्दैन,' उनले राजा नरेन्द्रदेवलाई भने, 'गोरखनाथलाई तपबाट उठाउनु भनेको हामी कसैको बूतामा छैन। यो काम एक जनाले मात्र गर्न सक्छ– कामरू कामाख्या पीठका मच्छिन्द्रनाथ।'
उनले अगाडि भने, 'मच्छिन्द्रनाथ भनेका गोरखनाथका गुरू हुन्। गुरूलाई अगाडि देखेपछि गोरखनाथ उनको दर्शन गर्न उठ्नेछन्। जसै गोरखनाथ आसनबाट उठ्छन्, उनको वशमा रहेका नागहरू मुक्त हुन्छन् र पानी पर्छ।'
आचार्य बन्धुदत्तको सुझाव सबैलाई चित्त बुझ्यो।
त्यसपछि राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र ललितपुरका रथचक्र ज्यापू मच्छिन्द्रनाथलाई लिन आसाम गए।
त्यो बेला मच्छिन्द्रनाथले काठमाडौं उपत्यका आएर बाह्र वर्ष लामो अनिकालबाट मुक्त गरेको सम्मानस्वरुप रथयात्रा चलाइएको किम्बदन्ती छ।
किम्बदन्ती उधिनेर वैज्ञानिक तर्क खोज्नेहरू मच्छिन्द्रनाथ भनेका तत्कालीन समयका कुनै प्रसिद्ध कृषि वैज्ञानिक होलान् भन्ने अनुमान पनि लगाउँछन्।
जो भए पनि मच्छिन्द्रनाथको आगमन र उनको रथयात्रासँग जोडिएको किम्बदन्तीमा भोटोको कुनै प्रसंग छैन। न उनले आसामबाट आउँदा यो भोटो लगाएर आएका थिए, न आफूसँगै लिएर आएका थिए।
त्यसमाथि आसामको गर्मीबाट काठमाडौंको ठिहिरो जाडोमा आउँदा भोटोले मात्र त थेग्ने कुरा पनि भएन!
यसको मतलब, हीराजवाहरत जडित कालो भोटो रातो मच्छिन्द्रनाथको होइन। कुनै पनि अवसरमा मच्छिन्द्रनाथको मूर्तिलाई यो भोटो लगाइएको हामी पाउँदैनौं। उनी यसका संरक्षक मात्र हुन्। हरेक वर्ष जात्रा समापनअघि भोटो देखाउनुको अर्थ 'मच्छिन्द्रनाथको जिम्मामा रहेको भोटो सुरक्षित छ है' भनेर सबैलाई सन्देश दिनु हो।
अब प्रश्न उठ्छ, यो भोटो मच्छिन्द्रनाथको संरक्षणमा कसरी आइपुग्यो? कसको हो यो वस्त्र?
यसको निम्ति अब हामी अर्को किम्बदन्ती सुनौं।
एकचोटि टौदहका नागराज कर्कोटककी श्रीमतीको आँखा दुखेछ। वरपरका सम्पूर्ण वैद्यलाई जचाउँदा र अनेक झारफूक गर्दा पनि उनको आँखा निको भएन। बरू दिनप्रतिदिन कमजोर हुँदै गयो र ज्योति नै गुम्ने अवस्थासम्म पुग्यो।
हरेस खाएर बसेका बेला कर्कोटक नागराजले कतैबाट सुनेछन्– भक्तपुरमा एक जना वैद्य ज्यापू छन्, जोसँग आँखा ठिक पार्ने अचूक ओखती छ।
कुरा सुन्दा ती वैद्य ज्यापू अहिलेका हाम्रा आँखा विशेषज्ञ डाक्टर सन्दुक रूइतजस्तै थिए होलान्, जसको चर्चा आज संसारभरि छ!
त्यस्तै चर्चा उड्दै उड्दै भक्तपुरबाट टौदहसम्म आइपुग्यो।
कोरोना महामारी बेला यो रोग निको पार्ने खोप पत्ता लाग्यो भन्दा जसरी खुसीको लहर दौडिएको थियो, कर्कोटक नागराज पनि त्यसैगरी उत्साहित हुँदै आफ्नी प्यारी नागरानीलाई लिएर भक्तपुर हानिए होलान्!
नभन्दै वैद्य ज्यापूको उपचारले नागरानीको आँखा बिसेक भयो।
आँखाको ज्योति फर्किनेबित्तिकै उनले सबभन्दा पहिला आफ्ना प्राणप्यारा नागराजलाई कयौं बेर एकटक हेरिरही होलिन्! उनको स्वस्थ आँखाबाट टौदहमै नसमेटिने गरी खुसीको बलिन्द्रधारा आँशु पनि बग्यो होला!
नागरानीको खुसीले नागराज पनि यति पुलकित भए होलान्, कसैले बीन बजाइदिएका भए उनी त्यसैको तालमा झुम्दै नाच्थे होलान्!
नाच्न त नाचेनन्, तर उनले भावविभोर हुँदै वैद्य ज्यापूलाई भनेछन्, 'हे वैद्य, तिमीले मेरी अर्धांगिनीको आँखा ठिक पारिदियौ। उसले अब संसार देख्न पाउने भई। तिमीलाई के चाहिएको छ, माग मसँग, म पूरा गर्छु।'
त्यो बेला कर्कोटक नागराजले नवरत्न जडिएको भोटो लगाएका थिए, जसको चमकले वैद्य ज्यापूको अँध्यारो घर झल्झलाकार भएको थियो।
उनले भने, 'नागराज, हजुर मेरो कामबाट प्रसन्न हुनुहुन्छ भने मलाई आफ्नो भोटो दिनुस्।'
नागराजले नागरानीको मुख हेरे। उनी बचनमा बाँधिइसकेका थिए। भने, 'हे वैद्य, यो भोटो मैले निकै परिश्रम गरेर बनाएको हुँ। तर, म बचनको पक्का छु। म यो तिमीलाई दिउँला, तर तिमीले यसलाई राम्ररी जतन गरेर राख्नुपर्नेछ।'
यति भनेर उनले आफ्नो भोटो फुकाले र वैद्य ज्यापूको हातमा थमाए।
कर्कोटक नागराजबाट यति बहुमूल्य पुरस्कार पाएकोमा वैद्य ज्यापूको खुसीको सीमा थिएन। उनी जतिसुकै गर्मीमा पनि त्यही भोटो लगाएर बस्थे। खेतमा काम गर्न जाँदा पनि उनको जीउमा भोटो उनिएकै हुन्थ्यो।
एकदिन उनलाई गर्मीले उखुम भएछ। भोटो फुकालेर आफ्नो खर्पनमा राखेछन्। र, काममा व्यस्त भएछन्।
खेतकै छेउछाउ एउटा भूत बस्थ्यो, जसले धेरै दिनदेखि त्यो भोटोमा आँखा गाडेको थियो।
मौका पाउनासाथ ऊ ज्यापूको खर्पनबाट भोटो चोरेर कुलेलाम ठोक्यो।
कर्कोटक नागराजले 'जतनसाथ राख्नू' भनेको भोटो हराएपछि वैद्य ज्यापू बिलखबन्दमा परे। उनले अनेक ठाउँमा खोजी गरे, तर पाएनन्।
त्यसैबीच पाटनमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरू भयो। यो रथयात्रा क्रममा तेत्तीस कोटी देउता, भूतप्रेत, पिशाच सबै सरिक हुन आउँछन् भन्ने वैद्य ज्यापूले सुनेका थिए। उनलाई लाग्यो, मेरो भोटो चोर पनि जात्रा हेर्न पक्कै आउला।
उनी आफ्नो भोटो खोजीमा पाटन आए।
जात्राको अन्तिम दिन थियो। जावलाखेलमा भेला भएका सबैको ध्यान बुंगद्यःमाथि थियो, वैद्य ज्यापू भने एक–एकको वस्त्र नियाल्दै थिए।
नभन्दै जात्रालुहरूको भीडमा उनले नवरत्नजडित भोटो लगाएर आएको भूत देखे। त्यो भोटो आफ्नै हो भनेर चिन्न उनलाई एक निमेष लागेन।
उनले भूतलाई च्याप्प समाते र भने, 'यो भोटो मेरो हो, तँ चोर होस्।'
भूत पनि के कम!
उसले कुनै हालतमा ज्यापूको कुरा मानेन। त्यो भोटो आफ्नै भएको दाबी गरिरह्यो।
त्यो बेला कर्कोटक नागराज त्यहीँ थिए। रातो मच्छिन्द्रनाथको ३२ हात अग्लो रथलाई ३२ हात लामो घःमा राखेर तानिन्छ। त्यो घःलाई कर्कोटक नागराजको प्रतीक मानिन्छ। त्यसैको अग्रभागमा नीलवर्ण भैरवको डरलाग्दो मुकुन्डो हामी सबैले देखेका छौं। त्यो मुकुन्डोले भैरवको बल झिकेर रथ अगाडि बढाउँछ भन्ने जनविश्वास छ।
जसै कर्कोटक नागराजले वैद्य ज्यापू र भूतको गलफत्ती देखे, उनले आफ्नो भोटो झम्टेर हातमा लिए।
'वैद्य ज्यापू, तिमीलाई मैले पुरस्कारस्वरुप यो भोटो दिएको हुँ, तर तिमीले जतन गरेर राख्न सकेनछौ। चोरले पच पारिसकेछ। त्यसैले अब यो भोटो न तिम्रो हो, न चोरेर लैजाने भूतको,' कर्कोटक नागराजले विवाद सल्टाउँदै भनेछन्, 'यो भोटो अबउप्रान्त मच्छिन्द्रनाथसँग रहनेछ र हरेक वर्ष भोटो सुरक्षित छ भनेर देखाउन आजकै दिन सार्वजनिक प्रदर्शन गरिनेछ।'
वैद्य र भूतलाई कर्कोटक नागराजको कुरा मान्न कर लाग्यो।
त्यही बेलादेखि जात्राको अन्तिम दिन जावलाखेलमा भोटो देखाउने चलन सुरू भयो। विशिष्ट अतिथिहरू र दसौं हजार जनतासामु भोटो प्रदर्शन गरेपछि यही दिन बुंगद्यःलाई खटमा राखेर बुंगमती लगिन्छ र रातो मच्छिन्द्रनाथको रथ बिगारेर जात्रा सम्पन्न हुन्छ।
हरेक बाह्र वर्षमा बुंगमतीमा हुने रातो मच्छिन्द्रनाथ जात्रामा पनि यो भोटो देखाइन्छ।
यो किम्बदन्तीबाट हामी के थाहा पाउँछौं भने, भोटोजात्रामा देखाइने भोटो रातो मच्छिन्द्रनाथको होइन, बरू कर्कोटक नागराजको रहेछ। उनले मच्छिन्द्रनाथ जात्राकै बेला वैद्य र भूतको विवाद साम्य पार्न यो भोटो मच्छिन्द्रनाथको जिम्मामा सुम्पेका रहेछन्।
यसबाट प्रस्ट हुन्छ, मच्छिन्द्रनाथको जात्रा र भोटो देखाउने चलन सँगसँगै सुरू भएको होइन। जात्रामा पछि थपिएको हो।
'लामो परम्परादेखि चलिआएको यो लोककथा मान्ने हो भने मच्छिन्द्रनाथको रथयात्रा भइरहेका बेला बल्ल भोटो फेला परेको देखिन्छ,' संस्कृतिविद् सत्यमोहन जोशीले हामीसँगको कुराकानीमा भनेका थिए, 'रथयात्राभन्दा धेरै पछि भोटो देखाउने चलन सुरू भएको हो भन्ने त किम्बदन्तीबाटै थाहा हुन्छ।'
किम्बदन्ती एउटा मात्र छैन। संस्कृतिविद् बुद्धाचार्य शाक्यले आफ्नो किताब 'रातो मत्स्येन्द्रनाथ' मा अर्को किम्बदन्ती पनि उल्लेख गरेका छन्।
भक्तपुरका वैद्य ज्यापू खेतमा काम गरिरहका बेला दुई जना भूत आएर भोटो चोरेर लैजान्छन्। कर्कोटक नागराजले पुरस्कार दिएको भोटो चोरी भएपछि वैद्य ज्यापू साह्रै चित्त दुखाउँछन्। सधैं दुःखी भएर बस्न थाल्छन्। उनको शोक मेटाउन मच्छिन्द्रनाथ भोटो फिर्ता लिन भूत भएको ठाउँ जान्छन्।
ती दुई जना भूत चुनिखेलको 'इकुम्ब' भन्ने पोखरी किनार बसेर भोटो आधा–आधा बाँडेर लिने सल्लाह गरिरहेका हुन्छन्।
त्यही बेला मच्छिन्द्रनाथ पुगेर भूतहरूलाई भन्छन्, 'तिमीहरू यो भोटो कसरी आधा पार्छौ?'
प्रश्न सुनेर भूतहरू पनि एकछिन अलमलिन्छन्। त्यही मौकामा मच्छिन्द्रनाथले भोटो खोसेर लिन्छन् र भन्छन्, 'तिमीहरू दुई जनामध्ये यो भोटो त्यसको हुनेछ, जो यो पोखरीमा धेरै बेर पौडेर बस्न सक्छ।'
दुवै भूतलाई आफ्नो बलमा घमन्ड थियो। बुद्धिमा भने दुवै पैदल।
उनीहरूले मच्छिन्द्रनाथको चलाखी बुझ्न सकेनन्। बरू उनको चुनौती पूरा गर्न कस्सिए र एकैचोटि पोखरीमा हाम्फाले।
दुवै जना पौडी खेल्न तल्लीन रहेका बेला मच्छिन्द्रनाथ आँखा छलेर त्यहाँबाट अलप भए। भूतहरूले पानीबाट बाहिर निस्कँदा मच्छिन्द्रनाथलाई देखेनन्।
पछि उनीहरू भोटो लिन मच्छिन्द्रनाथकहाँ पुगेछन्। मच्छिन्द्रनाथले भनेछन्, 'यो भोटो तिमीहरूको हो भने जावलाखेलको जात्रा र हरेक बाह्र वर्षमा बुंगमतीमा हुने जात्रामा प्रमाणसहित लिन आउनू।'
भूतहरूसँग प्रमाण केही थिएन। उनीहरू जान सकेनन्। त्यही बेलादेखि भोटो मच्छिन्द्रनाथकै सुरक्षामा रह्यो।
आज पनि कोही सप्रमाण लिन आइहाल्छन् कि भनेर भोटो प्रदर्शन जारी छ!
यति मात्र होइन, रातो मच्छिन्द्रनाथको जात्रा क्रममा कटुवाल दहबाट मच्छिन्द्रनाथको कलश साधना गरेर ल्याउँदा त्यही पोखरीको बाटो गुज्रनुपर्छ। बुद्धाचार्य लेख्छन्, 'त्यहाँ पुग्दा मच्छिन्द्रनाथलाई भूतले नसमातोस् भनेर मृत्यु हुने बेला बजाइने काहा बाजा बजाउने चलन छ।'
यो दोस्रो किम्बदन्तीमा पनि मच्छिन्द्रनाथको जात्रा पहिल्यै सुरू भइसकेको र भोटोको प्रसंग पछि जोडिएको देखिन्छ।
यहाँ एउटा प्रश्न उठ्छ– जुन कर्कोटक नागराजको भोटो देखाएर मच्छिन्द्रनाथको जात्रा समापन गर्ने थिति बस्यो, के यी नागराज मच्छिन्द्रनाथसँग यसै काकतालीमा जोडिन आएका हुन्? कि कुनै कारण छ, जसले मच्छिन्द्रनाथ र कर्कोटक नागराजलाई आपसमा जोड्छ?
माथि हामीले रातो मच्छिन्द्रनाथको काठमाडौं आगमनसम्बन्धी किम्बदन्तीबारे चर्चा गर्दा त्यसमा गुरू गोरखनाथले नागहरूलाई वशमा लिएको प्रसंग त थियो, तर कर्कोटक नागराजको सन्दर्भ थिएन। के यो प्रचलित किम्बदन्तीमा नागराजको प्रसंग छुटेको हो त?
काठमाडौं, इतुम्बहालका संस्कृति अध्येता ज्योतिरत्न शाक्यले मलाई यो किम्बदन्तीको विस्तृत सुनाएका थिए।
ज्योतिरत्नको घरमा बाबुबाजेको पालादेखि संग्रहित रातो मच्छिन्द्रनाथको जात्रासम्बन्धी डायरी छ। नेवारी लिपिको उक्त हस्तलिखित डायरीलाई उनले देवानागरी लिपिमा उतारेर २०७२ सालमा किताब प्रकाशित गरेका छन्। उनले सुनाएको विस्तृत किम्बदन्तीअनुसार, राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र रथचक्र ज्यापू मच्छिन्द्रनाथलाई लिन आसामतिर हिँडेका बेला, जब उनीहरू टौदह पुग्छन्, त्यहाँ कर्कोटक नागराज बाटो छेक्न आइपुग्छन्।
आचार्य बन्धुदत्तलाई कर्कोटकको शक्तिबारे ज्ञान थियो। उनले सोचे, यी नागराजलाई सँगै लैजान पायो भने यात्रामा कुनै विघ्न पर्दा सजिलो हुन्छ।
उनी कर्कोटकलाई तारिफको पुल बाँध्दै भन्छन्, 'कर्कोटक नागराज, तपाईंको आकार ठूलोमा कतिसम्म हुन्छ, देखाउनुस् त?'
नागराज आफ्नो प्रशंसा सुनेर फुलेल हुँदै आकार फुलाउन थाल्छन्।
त्यसपछि फेरि बन्धुदत्तले भन्छन्, 'अब सानोमा कतिसम्म सानो हुन सक्नुहुन्छ, त्यो पनि देखाइदिनुस् न?'
कर्कोटक उतिन्खेरै आकार खुम्च्याउँदै भमराभन्दा सानो हुन्छन्।
त्यही मौकामा बन्धुदत्तले कर्कोटक नागराजलाई एउटा भाँडामा राख्छन् र बाहिरबाट बिर्को लगाइदिन्छन्। कर्कोटकलाई भाँडाभित्र उकुसमुकुस हुन्छ। उनी बन्धुदत्तसँग आफ्नो मुक्तिका लागि अनुनय गर्न थाल्छन्।
बन्धुदत्त भन्छन्, 'हे नागराज, म तपाईंलाई यो बन्धनबाट मुक्त गर्छु, तर तपाईंले हामीलाई यो यात्रामा साथ दिनुपर्छ।'
कर्कोटक तयार हुन्छन्। उनी मच्छिन्द्रनाथलाई काठमाडौं ल्याउने यात्रामा चौथो सदस्य बन्छन्।
'बाटोमा ठाउँ–ठाउँमा बाढी आएको हुन्छ, यिनै कर्कोटक नागराजले पुल बनेर बाँकी तीन जनालाई नदी पार गराउँछन्,' ज्योतिरत्नले भने, 'मच्छिन्द्रनाथ काठमाडौं ल्याइसकेपछि रथयात्रा गराउँदा पनि कर्कोटकले ३२ हात लामो घःको रूप धारण गरेर सघाउँछन्। त्यसले रथ तान्न सजिलो हुन्छ।'
उनले अगाडि भने, 'मच्छिन्द्रनाथ लिन आसामसम्म सँगै गएका कर्कोटक नागराज भोटोका वास्तविक धनी हुन्। तर, भोटो देखाउने चलन चलेको मच्छिन्द्रनाथको रथयात्राभन्दा पछि हो।'
राजा नरेन्द्रदेवभन्दा करिब दुई पुस्तापछि भोटोजात्राको चलन सुरू भएको हुनसक्ने उनको अड्कल छ। यसलाई पुष्टि गर्ने आधार भने छैन।
त्यसो त यो भोटो हरेक वर्ष देखाउनुपर्छ, तर कोरोना महामारीले एकचोटि प्रदर्शन रोकिएको थियो। के मच्छिन्द्रनाथ जात्रामा भोटो नदेखाइएको उदाहरण पहिले पनि थियो?
मेरो यो प्रश्नमा ज्योतिरत्नले भने, 'मसँग भएका करिब सय–डेढ सय वर्ष पुराना थ्यासफूहरूमा यसको रेकर्ड छैन। बरू कुनै वर्ष भोटोमा जडिएका हीरा, मोती र रत्नहरू हराउँदा दोषीको नाउँसमेत किटान गरेर कारबाही गरिएको प्रसंग छ।'
अमेरिकी पुरातत्वविद् मेरी सेफर्ड स्लसरले पनि आफ्नो किताबमा यो प्रसंग उल्लेख गरेकी छन्।
उनी सन् १९६० दशकमा काठमाडौं आएका अमेरिकी कूटनीतिज्ञकी पत्नी थिइन्। यहाँको बसाइ क्रममा काठमाडौं उपत्यकाका चोक, गल्ली र बहालहरू घुमेर यहाँका रितिथिति, चालचालन र जात्रापर्वबारे विस्तृत खोज गरेकी थिइन्। उनको 'नेपाल मण्डलः अ कल्चरल स्टडी अफ दी काठमाडौं भ्याली' नामक किताबको दुइटा खण्ड प्रकाशित छन्।
त्यसैको पहिलो खण्डमा पाटनबाट बुंगमती लैजाँदा भोटोका केही रत्न हराएको उल्लेख छ, 'पछि ती रत्न फेला परे पनि राजा श्रीनिवास मल्लले भोटोमा १२ वटा थप हीरा जडेर मच्छिन्द्रनाथलाई चढाएका थिए।'
भोटो देखाउने चलन कहिले सुरू भयो भन्नेबारे ऐतिहासिक प्रमाण नभएको उनी लेख्छिन्। सँगसँगै यो पनि भन्छिन्, 'यो मच्छिन्द्रनाथ जात्रासँग परम्परागत रूपले जोडिँदै आएको हो भने पनि आश्चर्य नमाने हुन्छ। किनभने, रथयात्रा र अन्य विधिहरू जस्तै भोटो देखाउने चलन पनि वर्षा सुरू होस् भन्ने कामनासँगै जोडिएको छ।'
उनका अनुसार, यसरी बहुमूल्य वा पवित्र वस्तु सार्वजनिक प्रदर्शन गरेर त्यसैको शक्तिका बलमा पानी पर्छ भन्ने विश्वास अन्य देशहरूमा पनि पाइन्छ।
उनले पाकिस्तानको पेशावरनिर यस्तै चलन रहेको उल्लेख गरेकी छन्।
यहाँ मेरी स्लसरले इस्वी सम्बत् ३९९ देखि ४१२ सम्म भारत, मध्य–एसिया लगायत दक्षिणपूर्वी एसियाली मुलुकहरू भ्रमण गरेका चिनियाँ बौद्ध भिक्षु फाहियानलाई उद्धृत गर्दै पेशावरको चलन वर्णन गरेकी छन्, 'बुद्धले लगाउने पहेँलो चिवर यहाँको विहारमा सुरक्षित छ। जब जब देशमा भयंकर ठूलो सुख्खा लाग्छ, तब यहाँ विशेष समारोह आयोजना गरिन्छ। हजारौं मान्छे जम्मा हुन्छन् र उनीहरू सबैका अगाडि बुद्धको चिवर प्रदर्शन गरिन्छ। सबैले चिवर दर्शन गरेर पूजा गरेपछि तुरुन्तै आकाशबाट पानी पर्न थाल्छ र सुख्खा हट्छ भन्ने विश्वास छ।'
मेरी स्लसरले पेशावरको यो उदाहरण दिँदै भोटो देखाउने चलनलाई रातो मच्छिन्द्रनाथ जात्राको अभिन्न हिस्साका रूपमा जोड्न खोजेकी छन्।
पानी पार्न कुनै पवित्र वस्तु सार्वजनिक प्रदर्शन गर्ने प्राचीन चलनबारे बुझ्न पेशावरसम्म पुग्नै पर्दैन। राजा जयप्रकाश मल्लले काठमाडौंमा अनिकाल लाग्दा स्वयम्भूस्थित शान्तिपुरको पवित्र स्थानबाट नागको रगतले लेखिएको ग्रन्थ लिएर आएका थिए। त्यो ग्रन्थ बाहिर उपस्थित जनतालाई देखाएपछि पानी परेको किम्बदन्ती छ।
यही जात्राबारे लामो खोज गरेका अमेरिकी अन्वेषक जोन के लक भने भोटो देखाउने चलन पछि मात्र जोडिएको र यो पाटनका मान्छेको निम्ति खासै महत्वपूर्ण नभएको उल्लेख गर्छन्।
'धेरैलाई भोटो देखाउनु नै रातो मच्छिन्द्रनाथ जात्राको प्रमुख उत्सव हो भन्ने लाग्छ। पाटनबाहिरका मान्छे त यसलाई भोटोजात्राकै रूपमा सम्झन्छन्। राजाको सवारी हुने भएकाले पनि यो दिनको विशेष महत्व छ। तर, रातो मच्छिन्द्रनाथका कुनै पनि वंशावली र ऐतिहासिक रेकर्डमा भोटोजात्राको प्रसंग छैन,' जोन के लकको सन् १९८० मा प्रकाशित किताब 'करूणामय' मा उल्लेख छ।
उनी अगाडि लेख्छन्, 'मल्लकालीन नेवारी दस्तावेजहरूमा पनि भोटोजात्राको कुरा छैन।'
यसरी हामीकहाँ प्रचलित किम्बदन्ती, संस्कृतिविद् तथा विदेशी अध्येताहरूको कुरा सुन्दा–पढ्दा यो कालो भोटोसँग रातो मच्छिन्द्रनाथको कुनै सम्बन्ध देखिन्न। यो चलन पछि मात्र थपिएको हो भन्ने प्रस्ट बुझिन्छ।
यो भोटो कसको हो भन्ने चाहिँ अझै पनि खुल्दैन। किम्बदन्तीले भनेजस्तो टौदहका कर्कोटक नागराजकै भोटो हो भनेर मान्न हामीसँग ऐतिहासिक अभिलेख केही छैन।
यसबारे संस्कृतिविद् सत्यमोहन जोशीको भनाइ थियो, 'कर्कोटक नागराजको प्रसंग विज्ञानसम्मत् छ कि छैन र यो लोककथाले के अर्थ दिन्छ भन्ने खोजीको विषय हो।'
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। ऐतिहासिक अभिलेख वा वैज्ञानिक तथ्यले सुल्झाउन नसकेको रहस्यको गाँठो किम्बदन्तीहरूमा लुकेको हुन्छ।
हामीकहाँ देवी–देवताको नाममा वस्त्र–आभूषणदेखि हीरा–जवाहरात, जग्गा–जमिन र नगद चढाउने चलन पुरानै हो। भक्तहरूले चढाएका भेटीले मन्दिरमा लाखौं रकम जम्मा भएको हामीले देखे-सुनेका छौं। राजा–महाराजाले आफ्नो शक्ति प्रदर्शन गर्न र जनताको मन जित्न देवी–देवता र मन्दिरहरूलाई सम्पत्ति भेटी चढाउने गर्थे।
यो भोटो पनि कुनै लिच्छवि वा मल्ल राजाले रातो मच्छिन्द्रनाथलाई चढाएको भेटी हुन के बेर! राजाले चढाएको भेटी सुरक्षित छ भनेर देखाउन हरेक वर्ष प्रदर्शन गर्ने थिति बसेको नहोला र!
अर्को सम्भावना पनि छ।
कर्कोटक नाम भएका वा त्यही वंशका कुनै छिमेकी राजा, सामन्त, जमिन्दार वा व्यापारीले आफ्नो श्रीवृद्धिका लागि रातो मच्छिन्द्रनाथलाई भोटो भेटी चढाएका थिए कि!
यति बहुमूल्य भेटी चढाएको सम्मानमा हरेक वर्ष प्रदर्शन गर्ने थिति बसेको पो हो कि!
अहिले पनि मन्दिर वा धर्मशालाहरूमा ठूल्ठूलो धनराशि चन्दा दिनेहरूलाई सम्मान गर्दै भित्तामा नाम कुँदेर राखेको हामीले देखेकै छौं? भोटो प्रदर्शन भनेको अहिलेजस्तै त्यति बेलाका ठूला दातालाई सम्झने चलन हुन सक्दैन र!
जे कारणले भए पनि यो एक महत्वपूर्ण अमूर्त सम्पदाका रूपमा रातो मच्छिन्द्रनाथ जात्रासँग जोडिन पुगेको छ।
यो जात्राको विकासक्रम हेर्दा केही परम्परा भने हराएर गएका छन्।
उदाहरणका लागि, कम्तिमा आजभन्दा सय वर्षअघिसम्म तत्कालीन राजा तथा राणा प्रधानमन्त्रीहरू भोटो हेर्न मात्र आउँथेनन्। उनीहरू पाटनको सुन्धारादेखि लगनखेलसम्म रथ तान्ने दिन आफू पनि जात्रामा सरिक हुन्थे।
यसबारे जोन के लकले विस्तृत उल्लेख गरेका छन्। उनको किताबमा पश्चिमी अध्येताहरू विलियम कर्कप्याट्रिकदेखि डाक्टर हेनरी एम्ब्रोस ओल्डफिल्ड, सिल्भाँ लेभी, डेनियल राइट, पर्सी ब्राउन र पर्सिभल ल्यान्डनको वर्णन समावेश छ।
यीमध्ये सबभन्दा लामो र विस्तृत वर्णन डा. ओल्डफिल्डको छ। उनी ब्रिटिस दूतावासको कर्मचारीका रूपमा सन् १८५० देखि १८६२ सम्म काठमाडौंमा बसेका थिए।
उनका अनुसार, त्यो बेला रातो मच्छिन्द्रनाथको रथलाई पाटनको सुन्धाराबाट तानेर लगनखेल लैजाने दिन राजा र राणा प्रधानमन्त्रीसहित दरबारका प्रमुख भारदारहरू सँगसँगै जान्थे। यो चलन कम्तिमा सय वर्ष अर्थात् १७५० देखि उस्तै रहेको ओल्डफिल्डको भनाइ थियो।
त्यसपछि १८९८ ताका काठमाडौं बसेका फ्रेन्च अध्येता सिल्भाँ लेभीले पनि सुन्धारादेखि लगनखेलसम्मको रथयात्रालाई सबभन्दा महत्वपूर्ण भनेका छन्। राजा र राणा प्रधानमन्त्रीले हात्ती चढेर जात्रामा भाग लिएको उनको वर्णन छ।
सन् १९१२ मा प्रकाशित पर्सी ब्राउनको किताबको वर्णन पनि यस्तै छ।
तर १९२४ मा बेलायती लेखक पर्सिभल ल्यान्डनले जात्रा हेर्दासम्म यो चलन फेरिइसकेको थियो। उनको वर्णनअनुसार त्यति बेला राजा र राणा प्रधानमन्त्री भोटोजात्रामा मात्र सरिक हुन थालेका थिए।
अमेरिकी मानवशास्त्री ब्रुस म्याककोय ओवन्सले त राणा प्रधानमन्त्रीले आफैं रथमा चढेर भोटो देखाएको लेखेका छन्। रातो मच्छिन्द्रनाथसम्बन्धी उनको किताबमा जुद्धशमशेर राणाले व्यक्तिगत रूपमा भोटो देखाएको प्रसंग छ, 'यो जात्रामा राणाहरू जनता सँगसँगै प्रत्यक्ष सहभागी हुन्थे।'
जुद्धशमशेरले सन् १९३२ देखि १९४५ सम्म शासन गरेका थिए। त्योभन्दा पुरानो वर्णन रत्नराज बज्राचार्यले नेवार भाषामा लेखेको 'बुंगद्योया रथ यात्राखँ' किताबमा छ। उनले 'वीरशमशेर राणा आफैं सवारी भएर आफ्नै हातले भोटो समातेर देखाएको' लेखेका छन्।
वीरशमशेर जुद्धशमशेरभन्दा पुराना प्रधानमन्त्री हुन्। उनले सन् १८८५ देखि १९०१ सम्म शासन गरेका थिए।
यसरी सय वर्षअघिसम्म राजा र राणा प्रधानमन्त्रीले प्रत्यक्ष भाग लिने भोटोजात्रामा पछि उनीहरू दर्शक मात्र बने। भोटो देखाउने जिम्मा गुठी संस्थानका कर्मचारीको हातमा गयो, जसले आजसम्म निरन्तरता पाइरहेको छ।
रातो मच्छिन्द्रनाथ जात्राको यो 'क्लाइमेक्स' वा 'ग्य्रान्ड फिनालो' मा कतै यसै वर्ष कर्कोटक नागराजको भोटो चोर्ने भूत आफ्नो दाबी प्रस्तुत गर्न सबुत-प्रमाणसहित जावलाखेल आउने त होइनन्!
तपाईंहरू पनि जानुस् है भोटोजात्रा हेर्न। कतै भोटो दाबी गर्न आउने भूतसँग जम्काभेट पो हुने हो कि! के बेर!
(सेतोपाटीमा पहिलोपटक २०७७ भदौ २३ गते प्रकाशित यो स्टोरी हामीले अपडेटसहित पुन: प्रकाशन गरेका छौं।)
रातो मच्छिन्द्रनाथसँग सम्बन्धित थप स्टोरी: