सडक डिभिजन भरतपुरले सिमलतालस्थित सिँदुरे गहिरोमा बस बगाउने गरी विपत्ति आउनुमा तीन कारण औंल्याएको छ।
विपदको अध्ययन गरी बुझाएको प्रतिवेदनमा सडक डिभिजनले तीन वटा कारण उल्लेख गरेको हो।
सिमलतालस्थित सिँदुरे गहिरामा गत असार २७ गते राति ११ बजे पनि गेग्रान बहाव भएको थियो। गेग्रान बहावका कारण सिँदुरे गहिरामा रहेको कल्भर्ट पुरिएको थियो। गेग्रानले पाँच मिटरसम्म अग्लो हुने गरी सडक भरिएकोले आवागमन अवरूद्ध भएको थियो।
उक्त गेग्रानलाई असार २८ गते बिहान १ बजेसम्म लगाएर सफा गरिएको सिनियर डिभिजनल इन्जिनिरयर रमेश पौडेलले बताए। त्यसपछि साढे तीन बजे त्यही ठाउँमा भारी मात्रामा गेग्रान बहाव भएको र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बस बगाउन पुगेको थियो।
सडक डिभिजन भरतपुरले त्यसको कारण खोतलेको छ।
सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइटा खोल्सी मिसिन्छ।
दाहिनेतर्फको खोल्सीमा पानी र थोरै परिमाणमा डेब्रिज अर्थात् गेग्रान बहाव भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। देब्रेतर्फबाट भने उच्च पानी र गेग्रान बहाव भएको देखिएको उल्लेख गरिएको छ। जसका कारण करिब ५.५ मिटर चौडाइको खोल्सी खोतलिएको एक कर्मचारीले जानकारी दिए।
यसरी गेग्रान र पहिरो आउने खोल्सीको स्रोत पहिल्याउँदै जाँदा राजमार्गदेखि ९०० मिटर माथि पहिरो फेला परेको प्रतिवेदनमा उल्लेख छ।
पहिरोको स्रोत भर्खरै खनिएको ग्रामीण सडक हो। त्यस ठाउँमा कविलासबाट डुम्रेबेँसीसम्म जाने सडक ट्र्याक पहिले नै खनिएको थियो। त्यही गाउँ भएर डुम्रे लेकसम्म पुग्ने नयाँ ट्र्याक खनेको भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष सूर्यबहादुर गुरूङले बताए। वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर नयाँ ट्र्याक खोलेको थियो। सडक खन्दा निस्केको माटो पाखा र खोल्सीमा हालिएको थियो।
सडक डिभिजन भरतपुरले पनि त्यही नयाँ सडकलाई पहिरोको स्रोतको रूपमा उल्लेख गरेको छ। त्यही पहिराको माटोलाई अविरलरूपमा परेको वर्षात्ले बगाउँदा गेग्रान बहावको रूप लिएको र गाडी नै बगाउने विपद् निम्तिएको निष्कर्ष छ।
‘पहिराको स्रोत हालै माथिदेखि तलतर्फ करिब ६५० मिटर लामो र ५ मिटर चौडाइमा खनिएको ग्रामीण सडक देखिन्छ। उक्त सडकमा 'स्लोप प्रोटेक्सन' र नाला व्यवस्थापनमा कुनै काम गरेको छैन,’ गेग्रान बहावको कारण पहिल्याउँदै भनिएको छ।
उक्त ग्रामीण सडकको पहिलो मोडदेखि पाँचौं मोडसम्मको जमिन ७० सेन्टिमिटरदेखि २.३ मिटरसम्म भासिएको देखिएको छ। त्यस्तै सडकको दायाँबायाँ जमिन चिरा पर्नुका साथै बाटो खनेर पुरेको माटो पनि भास्सिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
बाटोको माथिल्लो भेगको पहाड देखिमुनि कटान गरिएको ठाउँको 'स्लोप फेलियर' भएको पाइएको प्रतिवेदनमा चित्रण गरिएको छ। यसका अतिरिक्त दोस्रो घुम्तीनजिकै पानीको नयाँ मूलसमेत पलाएर बगेको देखिएको कारण औंल्याइएको छ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जबाफ दिएका थिए।
प्रधानमन्त्री ओलीले त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको बताए। उनकाअनुसार खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी कूल १९७ जना सुरक्षाकर्मी लागिपरेका छन्।
५ जना भारतीय गोताखोर पनि खोजीमा परिचालन गरिएको उनले बताए। हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उनको भनाइ छ। फेला परेका शवमध्ये १८ जनाको सनाखत भएको छ। ७ जनाको पहिचान हुन बाँकी रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले नदीले बगाएका शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वीचम्पारणसम्म खोजी कार्य भइरहेको बताए।
‘बस दुर्घटना भएको स्थल र सोको आसपासको क्षेत्रलाई मुख्य केन्द्रविन्दु बनाइ खोजी कार्य गरिएको छ। नदीले बगाएका शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वीचम्पारणसम्म खोजी भइरहेको छ। धमिलो पानी, नदीको तीव्र बहाव गति र ३०/४० मिटर गहिरो नदीको कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन। तथापि उपलब्ध प्राविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामर्थ्य प्रयोग गरी सुरक्षा निकाय परिचालन र स्थानीय प्रशासनले स्थानीय नागरिकहरू समेतको सहयोगमा खोजी कार्यमा निरन्तरता दिएको छ,’ उनले भने।
यस्तो छ डिभिजन सडकले उपलब्ध गराएको सिमलतालभन्दा माथिल्लो भेगको तस्बिरहरू: