सिमलतालको जुन ठाउँमा दुइटा यात्रुवाहक बसलाई भेलबाढीले बगाएर त्रिशूलीमा मिसायो, त्यसलाई स्थानीयहरू 'सिँदुरे गहिरो' भन्छन्।
मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गतको त्यो ठाउँमा ठूलो खोला छैन। यसअघि वर्षामा सामान्य भेल मात्र आउँथ्यो।
सामान्य भेल बग्ने ठाउँमा कम्तिमा ६५ जनाको ज्यान लिने गरी भेलबाढी कसरी उर्लियो? यो स्टोरीमा हामीले सिमलताल दुर्घटनासँग जोडिएको प्राविधिक पक्ष केलाएका छौं।
बस बगाएको ठाउँमा बर्खेभेलको मात्रा र हिउँदमा बग्ने पानी हेरेर कल्भर्ट राखिएको पाइन्छ। शुक्रबार एक्कासि आएको भेलबाढीले त्यहाँको कल्भर्ट पुर्दै गाडी सोहोर्न पुग्यो। अहिले कल्भर्टमाथि करिब १० मिटर गेग्रानको थुप्रो लागेको छ। छेउपट्टिको गेग्रान सफा गरेर बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको छ।
सडक डिभिजन भरतपुरका सिनियर डिभिजनल इन्जिनियर रमेश पौडेल अहिलेको क्षति पहिरोले भन्दा भेलबाढीले निम्त्याएको बताउँछन्।
उनका अनुसार खोलामा बाढी उर्लिए पनि सिमलताल आसपास पहिरो चलेको छैन। स्थानीयले त्यस दिन अधिक वर्षा भएको र सानाठूला खोला उर्लेर आएको बताएका छन्। तर यति नै कारणले त्यहाँ भेलबाढी आउने स्थिति नरहेको पौडेलको भनाइ छ।
त्यसो भए भेलबाढीको कारण के त?
जबाफमा उनले भने, 'सिमलतालभन्दा माथि पनि बस्ती छ। बस्ती जोड्न बाटो खनिएको छ। पाँच–सात वर्षदेखि नै त्यहाँ बाटो खनिएको थियो। यस वर्ष पनि बाटो विस्तार भएको छ। वडा स्तरमा खनिएको त्यही बाटोको माटो बगेर भेलबाढीको रूप लिएको देखिन्छ।'
स्थानीय सडक खनेकै कारण माथिल्लो भेगमा जमिनमा चिरा परेको छ। कतै मूलसमेत रसाएको छ।
उक्त भेलबाढीले असार २७ गते राति ११ बजेतिर सिँदुरे गहिरोको कल्भर्ट थुनेको थियो। यसले सडकमा गेग्रान बग्न सुरू भएको थियो। त्यसपछि आवागमन बन्द गरेर कल्भर्ट सफा गरिएको पौडेल बताउँछन्।
'राति १ बजेसम्म हामीले कल्भर्ट सफा गरेर सडक दुवैतर्फ सञ्चालनमा ल्याएका थियौं,' उनले भने।
यसअघि बर्खा बेला सामान्य भेल बगे पनि भेलबाढी नै बगेर दुःख नदिएकाले असार २७ को घटनालाई पनि सडक डिभिजनले खासै ठूलो रूपमा लिएन। उनीहरूले कल्भर्ट हालेर निकास खोले र आवागमन खुलाए।
तर त्यही भेलले भोलिपल्ट विध्वंसको रूप लियो।
हामीले भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष सूर्यबहादुर गुरूङसँग पनि कुरा गरेका थियौं। उनले घटनास्थलको माथिल्लो भेगमा सडकको ट्र्याक खनेको बताए। वडाले यस वर्ष पनि चार–पाँच लाख रूपैयाँ खर्चिएर नयाँ ट्रयाक खनेको उनको भनाइ छ।
'यसअघि साविक कविलास गाविस वडा नम्बर ६ डुम्रेबेसीसम्म पुग्ने बाटो थियो। यस वर्ष डुम्रेको लेक क्षेत्रलाई जोड्ने गरेर नयाँ ट्र्याक खनेका हौं,' उनले भने।
वडाध्यक्ष गुरूङले सिमलतालको पहिरो अनुमानभन्दा बाहिरको भएको बताए।
'त्यो त बाढीपहिरो जाने ठाउँ नै होइन। बरू त्यहाँभन्दा पर अर्को पहिरो थियो। हामीले त त्यहाँ पहिरो गयो कि भन्ठानेका थियौं। तर होइन रहेछ। अहिले गाडी बगाएको खोल्सामा हिउँदमा पानी नै हुँदैन। तीन–चार घरलाई पनि पिउनेपानी पुग्दैन। कसरी पहिरोसहितको भेलबाढी गयो! हामी आश्चर्यमा छौं,' उनले भने।
सिँदुरे गहिरो आसपास बस्ने स्थानीयले भने त्यो खोल्साले यसअघि पनि दुःख दिने गरेको सुनाए।
तनहुँ, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ छिम्केश्वरीका आनन्दलाल गुरूङले २०६० सालमा पनि उक्त खोल्सामा भेलबाढी आएको बताए। उनले सिमलतालमै २१ वर्षदेखि होटल सञ्चालन गर्दै आएका छन्।
'२०६० सालमा पनि चार–पाँचवटा घर टहरामा क्षति पुर्यायो। केही सवारी साधनमा पनि क्षति पुर्याएको थियो। तर यो खोल्साको क्षतिको अन्दाज कसैले गर्दैनन्,' उनले गुनासो गरे।
गुरूङले पनि वर्षाले बाटो खन्दाको माटो बगाएर ल्याएका ठूलो क्षति पुर्याएको बताए।
'माथिमाथिसम्म बाटो खनेको छ। माटो जताजतै फालेको छ। सडक खनेकैले माथि पहिरो चलेको पनि हुनसक्छ। परेको पानीले त्यसैलाई बगाएर ल्याउँदा विध्वंश मच्चाएको हो,' स्थानीय आनन्दलाल गुरूङले भने।
भूगर्भविद् श्रीकमल द्विवेदी स्थानीयको आकलनसँग सहमत छन्।
पहाडी क्षेत्रमा डोजरे विकासले निम्त्याइरहेको भेलबाढीसँग सिँदुरे गहिराको भेलबाढीको प्रकृति मिल्ने उनको भनाइ छ।
'सिमलतालमा पनि गेग्रान बहाव (डेब्रिज फ्लो) भएको देखिन्छ। त्यसलाई रोक्न हामीले विभिन्न उपाय अपनाउन सक्थ्यौं। बाटो खन्दा माटो जथाभाबी नफाल्ने, खोला खोल्सीमा हाल्दै नहाल्ने गर्नुपर्थ्यो। सचेतना नअपनाउँदा यस्ता दुर्घटना निम्तन्छन्,' उनले भने।
उनले गेग्रान बहाव रोक्न माथिल्लो तटीय क्षेत्र, डाँडापाखामा रूखविरूवा रोप्न सुझाए। गेग्रान बहाव हुने ठाउँमा चेक ड्याम (छेकबार बाँध) हाल्न पनि सुझाव दिए।
'सिमलतालमा चेकड्याम भएको भए गेग्रानसहितको बहाव धेरै हदसम्म रोक्न सकिन्थ्यो। गाडी नै बगाउने र ठूलो संख्यामा मानिसहरू बेपत्ता हुने स्थितिलाई छेक्न सकिन्थ्यो!' उनले भने।
काठमाडौंबाट गौर गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको यात्रुवाहक बस त्रिशूलीमा झरेको थियो। बसमा ३८ यात्रु रहेको अनुमान गरिएको छ। त्यही समय वीरगन्जबाट काठमाडौं आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस पनि भेलसँगै बगेको थियो। त्यो बसमा २७ जना रहेको अनुमान छ।
भेलमा बगेकामध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए। बेपत्तामध्ये अहिलेसम्म पाँच जनाको शव फेला परेको छ। पाँचै जनाको सनाखत भइसकेको छ।
यो पनि: भौगर्भिक अध्ययन नै नगरी नारायणघाट–मुग्लिन सडक विस्तार गर्दा सधैं पहिरोको जोखिम
सबै तस्बिरः सडक डिभिजन भरतपुर।