पारि जरी खोला छङछङ गर्दै एक तमासले झरिरहेछ। त्यसको दायाँतर्फ भदौरे भेलको गति बिर्साउने गरी खसिरहेछ बुढा खोला पनि।
शान्त छ वारिको सिँदुरे गहिरो। उसको रौद्र रूप पनि पूरै थामिइसकेको छ।
त्यही सिँदुरे गहिरोको डिलमा बसेर एकोहोरो रोइरहेका छन्, भारत मोतिहारीका सुरेन्द्र साह।
उनी एक टकले त्रिशूलीको छालको तरेली हेरिरहेका छन्। कतै भान्जा सुनीलको आकृति तैरिइहाल्छ कि भनेर आँखा निकै परसम्म तन्काउँछन्।
उनले यसरी त्रिशूलीको भुँवरीमा भान्जाको अनुहार खोजिरहेको दुई दिन भइसकेको छ। अहँ! भान्जाको सास र लासको टुंगो लागेको छैन।
१६ वर्षका भान्जा सुनीललाई सुरेन्द्रले नै हुर्काएका हुन्। भान्जालाई पढाइलेखाइ गरेर राम्रै बाटो देखाउने उनको धोको थियो। तर उनले पढ्ने मन गरेनन्।
त्यसपछि उनले आफूसँग काठमाडौंको ठमेलमा ल्याएका थिए। त्यहाँ सुरेन्द्रले फलफूल पसल गर्दै आएका छन्।
मामा–भान्जा मिलेर फलफूल बेच्दै जिन्दगी गुलियो बनाउँदै थिए। सिमलतालको भेलले त्यसलाई देखिसहेन!
‘के गर्नु हजुर! उनको एक जना दाजुलाई गाउँका फटाहाहरूले खुब मारपिट गरे, हातखुट्टा भाँचिदिए। यसलाई पनि त्यसै गर्लान् भनेर आफूसँग लिएर आएँ,’ उनले भक्कानिँदै सुनाए।
सुनील केही दिनअघि मोतिहारी गएका थिए। आमाको नियास्रो लाग्यो भनेपछि सुरेन्द्रले नै घर जान भनेका थिए। २७ गते काठमाडौं फर्कन्छु भनेका थिए। भान्जा आउँदैछन् भनेर उनी ढुक्क पनि थिए।
‘निकै फुर्तिलो थिए, मलाई राम्रै सघाए,’ सुरेन्द्र भान्जा सम्झँदै फेरि भक्कानिए।
उनीहरू सँधै एन्जल डिलक्समा आउजाउ गर्थे। त्यस दिन पनि सुरेन्द्रले टिकट काउन्टरमा बस्ने लक्ष्मण नाम गरेकालाई भान्जाका लागि टिकट काटिदिन भनेका थिए।
‘मैले सधैँ नै त्यसरी टिकट भन्ने गरेको थिएँ, त्यस दिन पनि राम्रो सिट हेरेर पठाइदिनू भने तिनै लक्ष्मणलाई भनेको थिएँ,’ उनले सम्झिए।
एन्जल डिलक्सको गाडी बिहान ७ बज्दानबज्दै काठमाडौं आइपुग्थ्यो। भान्जा आइनपुगेपछि उनको मनमा चिसो पस्यो।
‘भान्जा किन नआएको होला भनेर सोच्दै थिएँ। फेसबुकमा एन्जल डिलक्सको गाडी बगेको खबर आइसकेको रहेछ। एन्जल डिलक्सका यात्रुको नाम फेसबुकमा हालिएको रहेछ, भान्जाको नाम पनि देखेँ। त्यसपछि मलाई रिँगटा चल्न थालिहाल्यो,’ उनले भने।
तुरून्तै उनले टिकट काउन्टरका तिनै लक्ष्मणलाई सोधे।
‘बरबादै भयो, नारायणगढ–मुग्लिन सडकमा भीषण पहिरो आएर दुइटा गाडी बगायो। दुईवटै गाडीको अत्तोपत्तो छैन। केही मानिस हाम फालेर बाँचेका छन् भन्ने छ भनेर सुनायो,’ उनले भने।
त्यसपछि उनी २८ गते बिहानै सिमलताल आइपुगेका हुन्। काठमाडौंबाट उनीसहित चार जना आइपुगेका छन्। सुनीलको घरतिरबाट पनि तीन जना मानिस आएका छन्।
सात जना आफन्त अहिले सिँदुरे गहिरोको खोल्साछेउ बसिरहेका छन्। र, उर्लंदो त्रिशूलीको भेलमा भान्जाको अनुहार खोजिरहेका छन्।
‘पुलिसहरू नलाग्नु भएको पनि होइन। उहाँहरूसँग प्रविधि नै रहेनछ! बाँस हालेर पनि कहीँ बस फेला पर्छ त यत्रो गहिरोमा!,’ उनी आश्चर्य व्यक्त गर्छन्।
शनिबार दिनभर चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सिमलतालमै थिए। सिँदुरे गहिरोमा दिनभर आफन्तहरूको रूवाबासी, क्रन्दन र चित्कारको साक्षी बसे। बलिन्द्रधारा आँसु बगाइरहेका आाफन्तजनलाई थामथुम पारिरहे।
प्रजिअ यादवको आश्वासनले मात्रै उनीहरू शान्त हुने अवस्थामा थिएनन्।
‘भान्जा बेपत्ता भएको सुनेपछि एक जनालाई अस्पताल भर्ना गर्नुपरेको छ। दुई जना भुइँमा लम्पसार परेका छन्। कट्कटी दाह्रा किट्दै बर्बराइरहेका छन्,’ सुरेन्द्रले प्रमुख जिल्ला अधिकारीलाई पीडा सुनाउँदै थिए, ‘कि लास, कि सास लिएर आऊ भनिरहेका छन्, हामीले के लिएर जानू!’
उनी प्रजिअसँग छाती पिटीपिटी रुँदै थिए। गोलाघाटमा एउटा शव फेला परेको उनको कानमा पर्यो।
उनी दौडँदै प्रहरी भएतिर गए। पहिचान भइसकेको शव उनको भान्जाको थिएन। शवको साथमा रहेको ग्लोबल आइएमएईको एटिएम कार्डबाट परिचय खुलेको थियो। उनी ऋषिपाल साह रहेको प्रहरीले बताएपछि सुरेन्द्रले भान्जा भेटिने आशा जीवितै राखेका छन्।
‘हिजो राति सडक पेटीमै सुत्यौं। भान्जा नभेटी घर कसरी जानू, हामी अन्योलमा छौं। नेपाल सरकारले राम्रो प्रविधि प्रयोग गरेर खोजिदिएहुन्थ्यो,’ सुरेन्द्रले सुनाए।
उनकै छेउमा थिए, मोहम्मद जावेद आलम। उनी पनि त्यसैगरी बिलौना गरिरहेका छन्। हत्केलामा निधार अड्याएर आँसु झारिरहेका छन्।
नाताले छोरा पर्ने शहनवाज आलम खोज्न सिमलताल आइपुगेका उनी दुई दिनदेखि भोकै र अनिदै छन्। शहनाज उनका दाजुका छोरा हुन्। शहनाजको बाबुकाे मृत्यु भएको उहिल्यै हो। छोराको रासन कार्ड बोकेर आएका मोहम्मद ‘भेटिएला त!’ भन्दै सबैलाई सोधिरहन्छन्।
‘पानीमा तैरिइहाल्छ कि भनेर हेरिरहेको छु। प्रहरीहरू पनि लागिरहनुभएको छ तर अहिलेसम्म फेला पर्न सकेको छैन। मानिस फेला नपरे पनि बस त फेला पर्नुपर्ने हो नि! हामी त अचम्ममै छौं, कहाँ पुर्यायो होला बस! कतै बगाएर भारततिरै पो पुर्यायो कि!,’ उनको पीडा पनि उस्तै छ।
उनलाई पनि घरबाट सास र लासको टुंगो लगाएर मात्रै आउनु भनेर परिवारका सदस्यले भनेका छन्। लास भेटिने संकेतसम्म मिलेको छैन। ‘अब घरमा के भन्न जानू! म त पीडामा छु नै! रोइरहेका उनीहरूलाई के भनेर सम्झाउने हो!,’ उनले पनि गहभरि आँसु पार्दै भने।
असार २८ गते बिहान साढे तीन बजे वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेका बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बसलाई सिँदुरे गहिरोको खोल्साले सोहोरेर त्रिशूली नदीमा खसालेको थियो।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ०१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस पनि सिँदुरे गहिरोबाटै त्रिशूली नदीमै बेपत्ता भएको छ।
दुई दिन लगाएर खोज्दा पनि बस भेटिने कुनै संकेत मिलेको छैन।
चितवनकै कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट शुक्रबार गोताखोरसहितको ७० जनाको सशस्त्र प्रहरीको टोली खटियो। शनिबार पनि बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म ६० जनाभन्दा बढी खटिएर खोजतलास गरे।
त्रिशूलीको उर्लंदो भेल र नदीभित्र तीव्र बहावका कारण बस र बेपत्ताको यकिन हुन नसकेको खोजतलासमै संलग्न सशस्त्र प्रहरीका प्रदीपकुमार कार्कीले जानकारी दिए।
‘हामी बस खसेको ठाउँबाट झन्डै पाँच सय मिटर तलसम्म पुग्यौं। जहाँ पनि भुँवरी परेको छ। नदीभित्र जहाँ पनि उस्तै, तीव्र करेन्ट प्रवाह छ,’ उनले भने।
शनिबार ‘स्नेक आइ सर्च’ नामको खोलाभित्रै पठाएर सूचना संकलन गर्न मिल्ने खालको क्यामेरा पनि प्रयोग गरिएको थियो। त्यस क्यामेराले पनि कुनै सुराक दिन सकेको छैन।
‘शुक्रबारको तुलनामा पानीको सतह केही घटेको छ। शवहरू पनि फेला पर्न थालेका छन्। यहाँबाट ५०–६० किलोमिटर तल शव बगाएर लगेको पाइएको छ। हाम्रो पनि आशा बढेर गएको छ,’ उनले भने।
शनिबार दिउँसो थप दुइटा शव फेला परेका छन्। दुवै शवको पहिचान पनि भइसकेको छ। माडी नगरपालिका वडा नम्बर १ का विकास परियार र सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ३ का रमितकुशर माझीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन्।
विकासको शव उनका दाजु विजय र रमितकुशरको लास उनका बुवा रवीन्द्रले सनाखत गरेका हुन्।
आइतबार बिहानै पनि गोलाघाटमै अर्को शव फेला परेको सूचना आएको छ। शव भेटिएको सूचना पाएपछि थप प्रहरी टोली त्यता परिचालित भएको छ।
दुइटा बसमा गरी ६२ जना यात्रु बेपत्ता भएका थिए। रौतहटको गाैर जान लागेको गणपती डिलक्सका ३८ यात्रुका आफन्त सम्पर्कमा आएका छन्। एन्जल डिलक्सका २७ यात्रुका परिवार सम्पर्कमा आएका चितवनका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। त्यसमध्ये तीन यात्रुले हाम फालेर बाँचेका थिए।
नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म चार जनाको शव फेला परेको छ। तीन जनाको सनाखत भएको छ। त्रिशूलीमा बेपत्ता यात्रुमध्ये अधिकांशका प्रियजन सिमलताल आइपुगेका छन्।
त्यही मध्येका दयाशंकर रामलाई हामीले सिमलतालमा भेटका थियौं। उनका चार जना आफन्तहरू त्रिशूलीको भेलमा हराइरहेका छन्। ‘मेरो मामाका छोराहरू बेपत्ता भएका छन्। तीन दिनदेखि यहाँ बसिरहेका छौं। अहिलेसम्म केही पत्ता लागेको छैन,’ दयाशंकरले भने।
उनका आफन्त नवीन राम, जितेन्द्र राम, रमादास राम, तुलसीदास रामलाई त्रिशूलीको भेलले गायब बनाएको छ। अन्यमनस्क भावमा छन् उनीहरू।
‘सुरक्षाकर्मीले पनि भ्याएशक्ति गरिराख्नुभएको छ। तर अहिलेसम्म कुनै संकेत मिलेको छैन। हामी त निराश भएर बसिरहेका छौं,’ उनले पनि बिलौना गरे।
शनिबार अपराह्न सिमलताल पुग्दा त्यहाँ उखरमाउलो गर्मी थियो। सुरक्षाकर्मीहरू असिनपसिन देखिन्थे। सरकारी अधिकारीहरूलाई बेपत्ताका प्रियजनहरूलाई सम्झाइबुझाइ गर्न नै हम्मे परिरहेको थियो।
दुई दिनदेखि भोकै अनिँदै त्रिशूलीको भेलमा आँखा ओछ्याउँदा पनि आफन्तको सुइँको पाउन नसकेपछि उनी आक्रोशित देखिन्थे।
‘जे भए पनि गरिबलाई नै त बज्रपात पर्ने रहेछ नि! हाम्रो पीडाले कसैलाई छोएको भए पो!,’ त्रिशूलीको भेलमा बेपत्ता नरबहादुर विश्वकर्माका आफन्त यसो भन्दै आक्रोश पोखिरहेका थिए। उनीहरूलाई सम्झाउन सुरक्षाकर्मीलाई नै हम्मे परेको थियो।
सिँदुरे गहिरो उर्लिएको यो नै पहिलोपटक होइन रहेछ। सिँदुरे गहिरो ठूलो खोल्सो पनि होइन। सुख्खा याममा त्यहाँ पानी नै देख्नै मुस्किल हुन्छ।
तर बर्खा लाग्नासाथ त्यसले रौद्र रूप धारण गरिहाल्छ। डाँडापाखाको डोजरे विकासले यसको बल थपिदिएको छ। त्यही सिँदुरे खोल्साको छेउमा तनहुँ, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ छिम्केश्वरीका आनन्दलाल गुरूङले होटल चलाएका छन्।
उनकाअनुसार २०६० सालमा पनि सिँदुरे खोलाले यसै गरी धर्म छाडेको थियो। भरतपुर महानगरपालिका वडा नम्बर २९ नै पर्ने चौकीडाँडा र त्यसभन्दा माथिदेखिको भेल आउँदा त्यसले विध्वंश मच्चाउने गरेको छ।
‘२०६० सालमा पनि चार–पाँचवटा घर टहरामा क्षति पुर्यायो। केही सवारी साधनमा पनि क्षति पुर्याएको थियो। तर यो खोल्साको क्षतिको अन्दाज कसैले गर्दैनन्,’ उनले गुनासो गरे।
अहिले चौकी डाँडासम्म पुग्ने बाटो खनिएको छ। अघिल्लो आर्थिक वर्षमा खनिएको बाटो यसपटक पनि स्तोरन्नति गरियो।
बाटो खन्दा निस्किएको माटो पाखाभरि फालिएको छ। डाँडापाखााको निकास यही खोल्सा हो। परेको पानीले बाटो खनेको माटो बगाएर ल्याउँदा भेलबाढी आएको अनुमान गर्न गाह्रो छैन।
सिँदुरे गहिरोमा एउटा ६–७ फिटको टहरो पनि थियो। अहिले त्यो टहरोको छानोको भागमात्रै देखिएको छ। सडकको भित्तापट्टि थुप्रिएको गेग्रान देखेरै कत्रो बाढी थियो अनुमान गर्न सकिन्छ।
सिँदुरे गहिरोको माथिल्लो भेगमा पहिरो खसेको देखिएको छैन। तर बाढीले खोल्साका भित्ता भने कोपरेको छ। सिँदुरे गहिरोको माथिल्लोपट्टि दुईवटा भँगाला आएको छ। त्यसभन्दा माथिको जमिनको सतह ठाडो हुनाले भेलबाढीको बहाव निकै तीव्र भएको र त्यसैले गाडी बगाएर लगेको अनुमान स्थानीयले गरेका छन्।
‘माथि-माथिसम्म बाटो खनेको छ। माटो जताजतै फालेको छ। परेको पानीले त्यसैलाई बगाएर ल्याउँदा विध्वंश मच्चाएको हो,’ स्थानीय आनन्दलाल गुरूङले भने।
भूगर्भविद् श्रीकमल द्विवेदी पनि स्थानीयको आकलनसँग सहमत छन्। पहाडी क्षेत्रमा डोजरे विकासले निम्त्याइरहेको भेलबाढीसँग सिँदुरे गहिरोको भेलबाढीको प्रकृति मिल्ने उनले बताए।
‘सिमलतालमा पनि गेग्रान बहाव (डेब्रिज फ्लो) भएको देखिन्छ। त्यसलाई रोक्न हामीले विभिन्न उपाय अपनाउन सक्थ्यौं। बाटो खन्दा माटो जथाभावी नफाल्ने, खोला, खोल्सीमा हाल्दै नहाल्ने गर्नुपर्थ्यो। सचेतना नअपनाउँदा यस्ता दुर्घटना निम्तन्छन्,’ उनले भने।
उनले गेग्रान बहाव रोक्न माथिल्लो तटीय क्षेत्र, बाटो खनेर भत्काएका डाँडापाखामा रूखविरूवा रोप्न सुझाए। यसका अतिरिक्त गेग्रान बहाव हुने ठाउँमा छेकबार बाँध (चेक ड्याम) हाल्न पनि सुझाए।
‘सिमलतालमा चेकड्याम भएको भए गेग्रानसहितको बहाव धेरै हदसम्म रोक्न सकिन्थ्यो। गाडी नै बगाउने र ठूलो संख्यामा मानिसहरू बेपत्ता हुने स्थितिलाई छेक्न सकिन्थ्यो!,’ उनले भने।
सबै तस्बिरहरूः अक्षर काका/सेतोपाटी