चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो जाँदा दुइटा गाडी खसेको छ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा खसेको पहिरोसँगै दुइटा गाडी बगाएको छ।
गाडी बगाएकोबारे स्थानीय र पौडी खेलेर जोगिएका तीन जना यात्रुले प्रहरीलाई खबर गरेका थिए।
सिमलतालबाट त्रिशूली नदी पारी छ जंगबहादुर मगरको घर। त्यो तनहुँको आबुखैरेनी गाउँपालिका पर्छ। उनले बस खसेको प्रत्यक्ष देखेका रहेछन्। उनी गएराति घरबाहिर सुतेका रहेछन्।
हामीले पहिरोबारे उनीसँग कुराकानी गरेका छौं। उनले आफूले देखेको दृश्यबारे यसरी बेलिबिस्तार लगाए-
बेलुकीदेखि नै ठूलो पानी परिरहेको थियो। पारी सडकमा पहिरो खसेकाले जेसिबीले पहिरो पन्छाइरहेको थियो। पहिरो पन्छाएर गाडी चल्न सुरू भएपछि फेरि खसेको पहिरोले गाडीपनि लगेको हो।
म यहीँ बाहिर यही खाटमा सुत्छु। माथिबाट गड्याङगुडुङ गर्दै पहिरो आयो। गाडीको बत्ति पनि झल्याकझुलुक गरी खसेको मैले देखेँ। एउटा थियो कि दुई वटा थियो ख्याल भएन। बस हो कि ट्रक हो पनि ख्याल गरिनँ। खस्न चाहि गाडी खस्यो। गाडी खसेको त पक्कै हो। कतिवटा खस्यो भन्ने चाहि थाहा पाइनँ। म त जेसिबी आएकोले त्यही पो गयो कि भन्ठानेको थिएँ। त्यतिबेला जेसिबी पास भएर गइसकेको रहेछ।बत्ति पनि थिएन। लाइन गएपछि टावर पनि तिप्दैन। म र मेरी श्रीमती यहीँ सुत्छौं। एकदमै ठूलो आवाज थियो। तर मान्छेको हल्ला सुनिएन। गाडी झर्न चाहि झरेकै हो।