त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो ७१६ ग्राम सुन भित्रिएको झन्डै एक वर्ष भएको छ।
गत साउन २ गते ब्रेक शुभित्र लुकाएर ल्याएको उक्त सुन त्यतिबेला राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। विभागकै अनुसन्धानबीच संगठित अपराध जस्ता कसुर आकर्षित भएको भन्दै यसको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पायो।
पहिलो चरणको अनुसन्धानमा ब्रेक शुमा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। त्यतिबेला सिआइबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरेको थियो।
अनुसन्धान सकेर पहिलो चरणमा प्रहरीले भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको थियो। जसमध्ये २५ जना पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
पछिल्ला चार महिना सिआइबीले पुन:यही सुन प्रकरणको अनुसन्धानमा केन्द्रित भएको थियो। अनुसन्धान अधिकृत सुन्दर तिवारीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो।
उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा तीन वटा विषयमा अनुसन्धान केन्द्रित थियो।
पहिलोमा वास्तविक परिचय नखुलेका बम्बिया, राकेश सिंह, सन्दीप, बिस्लेरी वाला, राजु मारवादी लगायतको पहिचान खुलाएर पक्राउ गर्नुपर्ने बाध्यता थियो।
दोस्रोमा विभिन्न मालवस्तुमा लुकाएर अवैध सुन तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गर्ने र तेस्रो यसरी विभिन्न तरिकाले तस्करी गरिएका सुनको भुक्तानी कसरी हुन्थ्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित भएको थियो।
यो पनि: दाओजिन वाङको समूहले गरेको थियो झन्डै ३२०० किलो सुन तस्करी
दोस्रो चरणको अनुसन्धानमा सिआइबीले ४६ जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये २० जना पक्राउ परेका छन्। २६ जना अझै पनि फरार नै छन्।
पक्राउ पर्नेहरूमा सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, राजु खत्री भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन्।
सिआइबीले तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएपछि पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरज शम्शेर जबरा पक्राउ परेका छन्।
त्यस्तै, अवैध भुक्तानीमा संलग्न रहेको भेटिएपछि पेमेन्ट गेटवे सजिलो पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर सदस्यहरू फुन्सुक डाग्पा, अथुप्छाङ खम्पा, शुशिला जाकिबन्जा एजेन्टहरू लालबहादुर कुँवर र अरूण कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो।
सुन तस्करीका नाइके दाओजिन वाङको समूहले खडा गरेका सात वटा कम्पनीमध्ये पाँच वटामार्फत् अवैध रूपमा सुन तस्करी भएको खुलेको थियो।
वाङको प्रमुख योजनामा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालि, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रालि, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि र रेडी ट्रेड प्रालि जस्ता डमी कम्पनी खोलिएका थिए।
भुजेलमार्फत् १३०३.९६५ किलो, ह्वाडामार्फत् ६३२.७९५ किलो, चुंगाकमार्फत् ७१६.८३ किलो, दोलखाबाट १७०.८ र रेडी ट्रेडमार्फत् ७.५ किलो गरी जम्मा २८३१.८९ किलोको सुन तस्करी भएको देखिएको थियो। यो र त्यसअघि पहिलो चरणको अनुसन्धानमा खुलेको ३६२.७७८ किलो सुन गरी जम्मा ३१९४.६६८ किलो सुन तस्करी भएको सिआइबीको अनुसन्धानमा देखिएको हो।
प्रहरीका अनुसार दुई वटा स्थानमा सुन पगाल्ने काम हुन्थ्यो। टोखामा सुन गाल्न एलेक्स भन्ने याओ पुचेङको समूहले सञ्चालन गर्दै आएको पहिलो चरणको अनुसन्धानमा खुलेको थियो।
त्यस्तै लाजिम्पाटमा स्याम भन्ने झोङ जिङचुआन लगायतको समूहबारे सिआइबीले थप अनुसन्धान गरेको थियो।
अनुसन्धानको क्रममा उनीहरूले न्युरोडको संकटा मन्दिर र पाटनको टंगाल लगायतमा टन्च हाउस तथा रिफाइनरी सञ्चालन गरेको खुलेको हो।
‘स्याम भन्ने व्यक्ति फरार थियो। सुन कहाँ जान्थ्यो भन्ने पनि ग्याप थियो। यो अनुसन्धानबाट ती कुरा हामीले खुलाएका छौं,’ तिवारीले पत्रकार सम्मेलनमा भने, ‘सुन पाटन र न्युरोडको टन्च हाउस र न्युरोडको रिफाइनरीबाट सप्लाई हुन्थ्यो।’
ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो सुन बरामद गर्दा सुनको तस्बिर प्रहरीले प्रतिवादी सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडको मोबाइलबाट फेला पारेको छ। उनको फोनको फरेन्सिक ल्याबबाट ती तस्बिर फेला पारेको हो।
त्यस्तै त्यही सुनबारे स्याम र एलेक्सबीच कुराकानीको तस्बिर पनि प्रहरीले प्राप्त गरेको हो।
पहिलो चरणको अनुसन्धानकै क्रममा तारिखमा रहेका गुम्बु भन्ने गाम्बा शेर्पा नेपालीको मोबाइलबाट प्रहरीले एउटा सुनको तस्बिर फरेन्सिकबाट फेला परेको थियो। पछि गाम्बाले आत्महत्या समेत गरेका थिए। गाम्बाको फोनमा भेटिएको सुनको तस्बिर सिद्धार्थको फोनमा पनि भेटिएको प्रहरीले जनाएको छ।
पेवेल नेपाल र सजिलो पेबाट हुन्थ्यो सुन तस्करीको भुक्तानी
सुन तस्करीको दुई प्रकारले भुक्तानी हुने गरेको थियो। क्रिप्टो करेन्सी र डिजिटल वालेटको माध्यमबाट भुक्तानी भएको खुलेको हो।
पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको संलग्नता देखिएको अनुसन्धान अधिकृत डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
नेपालमा रहेका सिद्धार्थ लगायतले सुन खरिद गर्नका लागि पेवेल, सजिलो पे लगायतमा भौचर जम्मा गर्थे। त्यही जम्मा गरेको भौचरमार्फत् दुई कम्पनीले इ-मनी जारी गर्थे। विदेशमा रहेका एजेन्टले त्यही इ-मनीमार्फत् युएसडिटी क्रिप्टो बनाएर चीनमा रहेका तस्कर समूहलाई सुनको भुक्तानी गर्थे। सुन बेचेर नेपालमा सिद्धार्थले त्यही रकम हुन्डीको रूपमा नेपालीहरूको खातामा रेमिट्यान्स भन्दै जम्मा गरिदिने गरेको खुलेको हो।
यसरी भुक्तानी गर्दा पेवेल नेपाल र सजिलो पेले बदमासी गरेको अनुसन्धानमा भेटिएको हो।
सिद्धार्थको रिफाइनरीबाट प्रहरीले ६ वटा चेक बरामद गरेको थियो। जसको कुल मूल्य ९८ लाख थियो। पक्राउ परेका विभिन्न व्यक्तिहरूबाट पनि विभिन्न खालका बैंकका भौचरहरू बरामद भएका थिए। भौचर अध्ययन गर्दा पेवेल नेपालकै नाममा भौचर डिपोजिट भएको देखिएको थियो।
‘मेरो नाममा पैसा डिपोजिट भएको छ भने म जवाफदेही हुनुपर्छ। त्यसैगरी पेवेल नेपालको नाममा पैसा डिपोजिट भएको देखिएपछि संस्था जवाफदेही हुनुपर्छ कि पर्दैन त भनेर हामीले अनुसन्धान गर्यौं,’ डिएसपी तिवारीले भने, ‘यसबारे हामीले नेपाल राष्ट्र बैंकसँग पनि सोध्यौं।’
उनले थपे, ‘राष्ट्र बैंकले यदि ती व्यक्ति एजेन्ट पनि होइन, मर्चेन्ट पनि होइन र ग्राहक पनि होइन भने जवाफदेही सेवा प्रदायक कम्पनी हुनुपर्छ। किनभने यस्ता संस्थासँग जोडिने भनेको कि एजेन्ट हो, कि मर्चेन्ट हो कि कस्टुमर हो। त्यो बाहेकका व्यक्तिले डिपोजिट गरेको पैसा तेस्रो व्यक्तिले निकाल्छ भने संस्था जवाफदेही हुनुपर्छ भनेर पत्र आएको थियो।’
पेवेल र सजिलो-पेबाट भौचर अपलोड गरेर इ-मनी बनाइएको पनि उनले बताए। रेमिट्यान्स भित्र्याउने कम्पनी भनेर दाबी गर्ने यी दुई कम्पनीले ८३ प्रतिशत भौचरमार्फत् इ-मनी बनाएको देखिएको डिएसपी तिवारीले बताए। इ-मनी बनाउन बैंक खातामा केही मौज्दात चाहिन्छ।
‘इ-मनी जारी गर्नका लागि त्यस बराबरको रकम सेटलमेन्ट खातामा जम्मा गर्नुपर्ने हुन्छ। दुबै वालेटको सेटलमेन्ट खाता कुमारी बैंकमा छ। त्यस बैंकमा जति रकम मौज्दात राख्छ त्यसअनुसार नै एजेन्ट वा मर्चेन्टलाई इ-मनी जारी गर्न पाइन्छ,’ उनले भने, ‘त्यहाँ भएको रकमभन्दा बढी गर्न पाइँदैन। सुरूमा अनुसन्धानमा पेवेलले खातामा भएअनुसार नै इ-मनी जारी गरेको देखियो। तर डिसेम्बर १९ यता कारोबार अस्वाभाविक देखियो।’
यसरी जारी गरिएको इ-मनी नेपाल राष्ट्र बैंक र कुमारी बैंकलाई जानकारी दिनुपर्छ।
तर पेवेल र सजिलो पेले आफूहरूसँग २/३ लाख बराबरको मात्रै इ-मनी भएको गलत विवरण दिएको थियो। पैसा नै डिपोजिट नगरी करोडौंको इ-मनी जारी गरिएको थियो।
२०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रूपैयाँ बराबरको इ-मनी क्रेडिट भएको देखिएको सिआइबीको अनुसन्धानबाट देखिएको छ। जसमध्ये सबभन्दा बढी ६१ अर्ब ५० करोड भौचर डिपोजिटबाट भएको थियो।
‘सेटलमेन्ट अकाउन्टमा बाहेक अर्कोबाट इ-मनीको कारोबार गर्न पाइँदैन। तर ८६ अर्बमध्ये ६७ अर्बको कारोबार मात्रै सेटलमेन्ट अकाउन्टबाट भएको छ,’ उनले भने।
२०७८ जेठ २ गते देखि २०८१ जेठ २१ गतेसम्म सजिलो पेको वालेटमा कुल ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँ बराबरको इ-मनी लोड भएकोमा सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरी क्यास इन भएको थियो।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा दैनिक र मासिक रूपमा पेस गर्नुपर्ने विवरणमा पेवेल र सजिलो पेले गलत तथ्याङ्क तथा विवरण लुकाएको पाइएको हो।
यही दुई वालेटमार्फत् हुन्डी कारोबार भइरहेको पनि प्रहरीले पत्ता लगाएको छ।
विदेशमा रहेका नेपालीले त्यहाँ रहेका एजेन्टलाई पैसा बुझाउने गरेको तर आधिकारिक माध्यमबाट नेपालमा रहेका आफन्तलाई पैसा भने उनीहरूले बुझाउँदैन थिए। त्यहाँबाट नेपालमा रहेका सिद्धार्थ लगायत सुन तस्करलाई मेसेज गरी तस्करीको पैसा परिवारलाई बुझाउने गरेको देखिएको डिएसपी तिवारी बताउँछन्।
‘उताबाट मेसेज पठाउँछन्। फलानोको खातामा पैसा जम्मा गर्नुपर्यो भनेर, त्यसपछि यहाँ रहेका सुन तस्करहरूले त्यति नै रकम एजेन्टमार्फत् जम्मा गरिदिने भयो। त्यस बराबरको उता क्रिप्टो युएसडिटी बनाउने भए,’ उनले भने, ‘सिद्धार्थ लगायतले तिरेको रकम हजारौं नेपालीको खातामा गएको छ। कहाँबाट पैसा आएको हो भनेर सोध्दा नेपालीहरूले आफ्नो छोराले सेन्ड मनी नेपाल, नमस्ते मनी नेपाल लगायतबाट पठाएको भनेर भनेका छन्। त्यसरी पैसा नेपाल आउँदैन। उनीहरूले युएसडिटी बापतको रकम उतै भुक्तानी गर्छन् र यहाँ सुन तस्करीको पैसा हाम्रो खातामा जम्मा गरिदिन्छन्।’