असार ४ गते, दिउँसो करिब १ बजे डिल्लीबहादुर राउतको घरमा तीन/चार जना अपरिचित व्यक्तिहरू आइपुगे।
राउत सूर्यविनायक नगरपालिका-४ दधिकोटमा बस्छन्। ती अपरिचित व्यक्तिहरू घरमा आएर आफूहरू सिबिआईको प्रहरी हौं भनेर चिनाए। उनीहरूमध्ये एक जनाले नेपाल प्रहरीकै हवल्दार पदको कार्ड समेत देखाएका थिए।
जसले गर्दा प्रहरी नै हो भनेर राउत परिवार पनि विश्वस्त भए। उनीहरूले खुकुरी समेत बोकेका थिए।
घर परिवारलाई धम्क्याएर नियन्त्रणमा राखे, घरको तलासी पनि उनीहरूले नै लिए।
राउतको घरको दराजमा रहेको अन्दाजी दुई करोड रुपैयाँ लिएर उनीहरू फरार भए। यसरी सिबिआईको प्रहरी भनेर आएका उनीहरूले पैसा लगे। तर त्यसबारे अन्य कुनै जानकारी दिएनन्।
जानकारी नदिएपछि राउत परिवार प्रहरीकहाँ पुगेको थियो।
घटनापछि यसको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटियो।
अनुसन्धान गर्ने टोलीले सुरूमा आसपासका सिसिटिभी फुटेज खोजेको थियो। सिसिटिभी फुटेजका आधारमा उनीहरू चढेको मोटरसाइकल प्रहरीले पत्ता लगायो।
दुई वटा मोटरसाइकलमा चार जना व्यक्तिहरू सवार थिए। बा.प्र ०२-०४० प ५५३८ र बा.प्र ०२-०३३ प ६१७४ नम्बरको पल्सर मोटरसाइकल प्रयोग भएको थियो।
त्यसैको आधारमा प्रहरीले सिसिटिभी फुटेज केलाउँदै मानिस पहिचान गर्न सफल भयो। प्रहरीको टोलीले भक्तपुरको साँगा भञ्ज्याङबाट ३० वर्षीय सुजन रसाइलीलाई पक्राउ गर्यो।
उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई पछिल्लो समय गोकर्णेश्वर बस्दै आएका थिए। उनलाई प्रहरीले असार ७ गते पक्राउ गरेको थियो। त्यही दिन साँगा भञ्ज्याङबाटै प्रहरीले ३१ वर्षीय भिमबहादुर तामाङलाई पनि पक्राउ गरेको थियो।
उनीहरू दुबै जनामाथि सोधपुछ गरी प्रहरीले यस घटनामा संलग्न थप व्यक्तिको खोजी थालेको थियो।
सुजन रसाइली पहिले पनि आपराधिक गतिविधिमा संलग्न थिए। उनी २०७६ कात्तिक ४ गते काठमाडौंबाट सुन जस्तो पहेँलो धातु देखाएर ठगी गरेको कसुरमा पक्राउ परेका थिए।
त्यस्तै २०८० जेठ ११ गते बाह्रबिसेबाट कुटपिट तथा झैझगडा गरेपछि अभद्र व्यवहारको कारबाहीमा परी छुटेका थिए।
यसपटक पक्राउ परेका उनीमाथि सोधपुछ गर्ने क्रममा प्रहरीले यसमा अन्य तीन जनाको संलग्नता रहेको खुलेको थियो।
सोमबार मात्रै प्रहरीले ओखलढुंगा घर भई मानेभञ्ज्याङ गाउँपालिका-३ घर भई ललितपुरको इमाडोल बस्ने ३६ वर्षीय मुनाराज राई र सिन्धुपाल्चोक घर भई महाराजगञ्ज बस्ने ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई पक्राउ गरेको थियो।
राईलाई ओखलढुंगाको सिद्धिचरणबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। यता कृष्णबहादुर भने महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरीकै हवल्दार समेत हुन्। उनकै परिचय पत्रको प्रयोग गरी सिबिआई भन्दै डिल्लीबहादुरको घरमा पुगेको थियो।
कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार कृष्णबहादुर र भिमबहादुर पुराना साथीहरू हुन्। दुबै जना भोटेकोशी गाउँपालिका वडा नम्बर २ का उनीहरू एउटै विद्यालयमा पढेका थिए। यही लुटपाट गर्न उनको परिचय पत्र आवश्यक देखेर बोहोरालाई संलग्न गराएको एसएसपी भट्टराईले बताए।
यस घटनामा चार जनामात्रै पक्राउ परेका छन्। तर मुख्य योजनाकार भने अझै फरार रहेको एसएसपी भट्टराईले बताए।
‘मुख्य योजनाकार पीडित डिल्लीबहादुरका आफ्नै मामा हुन्। उनी हाल फरार छन्। हामी खोजिरहेका छौं,’ उनले भने। फरार रहेका मामा कुलबहादुर खत्री हुन्।
मामा कुलबहादुर र भाञ्जा डिल्लीबहादुर म्यानपावर व्यवसायीको काम गर्थे।
दुबै जनाले मानिसलाई विदेश पठाउने काम गर्ने गरेका थिए। आफ्ना भाञ्जाले घरमा पैसा राखेको भन्ने कुनै तरिकाले कुलबहादुरले थाहा पाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘घरमा ठूलो नगद राखेको भन्ने जानकारी पाएपछि मामा कुलबहादुरले वैदेशिक रोजगारीको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाइलीलाई सम्पर्क गरेका थिए,’ एसएसपी भट्टराईले भने, ‘रसाइलीले आफ्ना चिनेजानेका मानिसलाई सम्पर्क गरेका थिए।’
सुजनले यस योजनाबारे भिमबहादुरलाई जानकारी गराए। भिमबहादुरले आफ्ना प्रहरी साथी कृष्णबहादुर र मुनाराजलाई सम्पर्क गरेको अनुसन्धानबाट खुल्यो।
लुट्नको लागि मामा कुलबहादुरले असार ३ गते सुजन रसाइलीलाई लिएर डिल्लीबहादुरको घर देखाए। असार ४ गते बिहान ११ बजे योजना बनाउन उनीहरू भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर र पिज्जा पोइन्टमा भेला भएका थिए।
त्यहाँ छलफल गरी उनीहरू योजना कार्यान्वयन गर्न घटनास्थलतिर लागे। दधिकोटस्थित डिल्लीबहादुरको घरमा पुगेर धम्क्याएर उनीहरूले दुई करोड लुटेको एसएसपी भट्टराईले बताए।
लुटेपछि उनीहरू गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित कोठामा पुगेका थिए। त्यहाँ पाँच जनाले दुई करोड रकम बाँडफाँट गरेका थिए।
प्रहरी हवल्दार बोहोराले ३० लाख, अन्य तीन जनाले २०-२० लाख र योजनाकार कुलबहादुरले बाँकी रकम लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
यद्यपि यसबारे थप अनुसन्धानपछि अन्य कुरा खुल्ने प्रहरीले जनाएको छ। हाल प्रहरीले उनीहरूबाट ३६ लाख ३६ हजार रुपैयाँमात्रै बरामद गरेको छ।
यस्तै, दुई वटा मोटरसाइकल, १० वटा मोबाइल, लुट्न प्रयोग गरिएको झोला, कपडा, खुकुरी लगायत बरामद गरेको प्रहरीले जनाएको छ।
यस घटनाको थप अनुसन्धान कार्यालय र प्रहरी परिसर भक्तपुरले गर्नेछ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।