सरकारले सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानीको मुहान क्षेत्र सार्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मेलम्ची खानेपानीको बाँध क्षेत्र (हेडवर्क्स) सार्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सेतोपाटीलाई जानकारी दिए।
‘मन्त्रिपरिषद बैठकले पहिरोको जोखिम नहुने गरी माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा सार्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो,’ उनले भने, ‘विस्तृत निर्णय भने भएको छैन। दातृ निकाय एसियाली विकास बैंक, विज्ञहरूको सुझावलाई ध्यानमा राखेर त्यससम्बन्धी आवश्यक निर्णय गर्छौं।’
यसअघि एसियाली विकास बैंकले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथली बाँध सार्न सुझाव दिएको थियो।
२०७८ असार १, साउन १६ र १७ गते भेमाथानको बाढीले मेलम्ची खानेपानी परियोजनाको बाँध क्षेत्र पुरेको थियो। बाँध क्षेत्रको काम ९९ प्रतिशत पूरा भइसकेको अवस्थामा बाढीले बगरमा परिणत गरेको थियो। इन्टेक खण्डहर बनाएपछि मुख्य र सहायक सुरूङमा क्षति नपुगेकाले काठमाडौं अस्थायी रूपमा पानी पथान्तरण गरिँदै आएको छ।
बाँध क्षेत्रमा पुरिएका १ र १९ नम्बर गेट खोतलेर यसअघिका तीन हिउँदमा पानी पथान्तरण गरिएको थियो। यस वर्ष माघ १ गते काठमाडौंमा पानी पठाउन थालिएको थियो। सुरूङमा बालुवा पस्ने जोखिम भएकाले यस वर्ष पनि मनसुन याम सुरू हुनेबित्तिकै सुरूङ बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
यसपालि मनसुन चाँडै सुरू हुने प्रक्षेपण गरिएकाले मेलम्चीको सुरूङ पनि जेठ मसान्त नपुग्दै बन्द हुने सम्भावना रहेको एक अधिकारीले बताए। नेपालमा सामान्यतया जुन १३ बाट मनसुन भित्रिन्छ। मेलम्ची नदीमा धमिलो पानी बग्न थालेपछि गत वर्ष असार ८ गतेबाट काठमाडौंमा पानी पथान्तरण रोकिएको थियो।
पुरिएको बाँध क्षेत्र माथि दोरिङको भीरमा पहिरोको जोखिम बढेकाले एसियाली विकास बैंकले एक किलोमिटर माथि सर्कथली सार्न सुझाव दिएको छ।
त्यसबारे अध्ययन गर्न र सुझाव दिन खानेपानी मन्त्रालयले इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा पनि दिएको छ।
सबैको सुझावलाई केन्द्रमा राखेर याङ्ग्री र लार्के खोलाको पानी ल्याउन पनि बाधा नपुग्ने गरी सुरूङ सारिने मन्त्री राईले जानकारी दिए।
सरकारले बजेट भाषणमै मेलम्ची खानेपानीको मुहान सार्ने उल्लेख गरेको थियो। अर्थमन्त्री वर्षमान पुनले यसपालिको बजेटमा मेलम्ची खानेपानी परियोजनाका लागि ५० करोड रूपैयाँ विनियोजन गरेको बताएका थिए।
यद्यपि नयाँ हेडवर्क्स बनाउन ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अम्बाथानमा हेडवर्क्स बनाउन एक अर्ब रुपैयाँ खर्च भएको थियो। त्यसका अतिरिक्त एक किलोमिटर मुख्य सुरूङ, सहायक सुरूङ र पहुँच मार्ग समेत बनाउन ४ अर्ब रूपैयाँ हाराहारी लाग्ने अनुमान गरिएको हो।
भेलबाढी उत्पत्ति भएको भेमाथानको पहिराको भने अहिलेसम्म अध्ययन भएको छैन। अम्बाथानको बाँध सर्कथली सारे पनि दोरिङको पहिरो मात्रै छलिने विज्ञहरूले बताएका छन्।
‘अम्बाथानको बाँध सर्कथली पुर्याउँदा एउटा मात्रै पहिरो छलिन्छ। मुख्य पहिरो भेमाथानमै रहेकाले पहिले त्यसको रोकथाम गर्नुगर्छ,’ भलबाढी लगत्तै भौगर्भिक अध्ययनका लागि भेमाथान पुगेका भूगर्भविद् शिव बास्कोटाले भने, ‘भेमाथानको पहिरो रोकथाम गरेपछि याङ्ग्री र लार्के खोला समेतको पानी ल्याउने गरी इन्टेकको विकल्प सोच्न सकिन्छ।’
सरकारले पहिलो चरणको परियोजना अन्तर्गत् मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं पथान्तरण गरिरहेको छ। दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७-१७ करोड लिटर गरी कुल ५१ करोड लिटर पानी काठमाडौं ल्याउने यो परियोजनाको लक्ष्य हो।
याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारले पहुँच मार्ग र मुआब्जामा लगानी गरेको छ। तीन वर्षअघिको वर्षा र पहिरोले त्यहाँसम्म पुग्ने पहुँच मार्गमा पनि क्षति पुर्याएको थियो।
मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म कति भयो खर्च?
राष्ट्रिय गौरवको आयोजनाको रूपमा मेलम्ची खानेपानी आयोजना २०५५/०५६ देखि सुरू भइरहेको छ। मेलम्ची खानेपानी परियोजना अन्तर्गत दुई चरणमा काम भइरहेको छ। पहिलो चरणमा पहुँच मार्ग, सुरूङ, बाँध क्षेत्र लगायत काम भइरहेको छ। झन्डै एक अर्ब रूपैयाँ लागतमा निर्माण भएको बाँध क्षेत्र बाढीले तहसनहस बनाएको छ।
पुरिएको बाँध क्षेत्रमाथि पहिरो खसेकाले एसियाली विकास बैंकले सर्कथलीमा सार्न सुझाव दिएको हो।
मेलम्ची खानेपानी आयोजनाले बाँध सार्न झन्डै चार अर्ब रूपैयाँ लाग्ने प्रस्ताव गरेको छ। एक किलोमिटर सुरूङ, पहुँच मार्ग र बाँध क्षेत्र निर्माणका लागि उक्त रकम प्रस्ताव गरिएको हो।
मेलम्ची खानेपानीको सुरूङ, पहुँचमार्ग निर्माण र मुआब्जा वितरणमा अहिलेसम्म ३१ अर्ब ३४ करोड ९ लाख रूपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ।
मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण गर्ने यो परियोजनाको लागत ३५ अर्ब ५४ करोड रूपैयाँ अनुमान गरिएकामा पहिलो चरणअन्तर्गत सञ्चालित क्रियाकलापहरूमा यो वर्षसम्मको भौतिक प्रगति ९९ प्रतिशत रहेको महालेखाले जनाएको छ।
आर्थिक वर्ष २०६५/६६ देखि मेलम्ची खानेपानी उपआयोजना-२ सञ्चालित छ। यसले काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल विस्तार गर्ने काम गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो काम गरिरहेको हो।
यस उपआयोजनामा अहिलेसम्म ३७ अर्ब २८ करोड ५४ लाख रूपैयाँ खर्च भएको छ।
यस उपआयोजनामार्फत् थोक वितरण प्रणाली निर्माणतर्फ १०२.५६ किलोमिटर काम सक्नुपर्नेमा अहिलेसम्म ७९.२२ किलोमिटर अर्थात् ७७.२४ प्रतिशत काम सकिएको छ।
त्यस्तै वितरण सञ्जाल सुधारतर्फ १ हजार ७८१ किलोमिटरमध्ये १ हजार ६०५ किलोमिटर अर्थात् ९०.१२ किलोमिटर काम भएको महालेखाले जनाएको छ।