दृष्टीविहीन शिक्षक संगिता पराजुलीले भौगोलिक रूपले सुगम ठाउँमा पढाउने व्यवस्था गरिदिन माग गर्दै माइतीघर मण्डलमा धर्ना बसिरहेकी छन्।
पाँच दिनयता बिहान १० बजेदेखि साँझ ५/६ बजेसम्म धर्ना बसिरहेकी शिक्षक पराजुलीले नजिकै रूखमा आफ्ना समस्याहरू बुझुन् भनेर एउटा ब्यानर झुण्डाएकी छन्।
ती ब्यानरमा लेखिएको छ -
‘मैले जागिर नै नगरी वेतन मागेको होइन, जागिर गर्न सक्ने उचित स्थानको व्यवस्था गरिदिन माग गरेको हो,’
‘हामी दृष्टीबिहीन व्यक्तिहरू आफै शिक्षा आर्जन गरि आफै सक्षम भएकोमा गर्व गर्नुको सट्टा राज्यले कुनै न कुनै बाहनामा प्रताडित गरिरहन हुन्छ?’
‘मलाई आफूले सानैदेखि चिनेको/ बुझेको, हिँड्न सजिलो हुने भौगोलिक क्षेत्रमा सरूवा गरिदन हार्दिक अनुरोध गर्दछु,’
उनको दरबन्दी रामेछाप खाडाँदेवी गाउँपालिका वडा नम्बर ९ को मानेडाँडा माध्यमिक विद्यालयमा छ। भौगोलिक रूपले निकै विकट यो ठाउँमा डेढ वर्षअघि पढाउन जाँदा त्यहाँका स्थानीयले दृष्टीबिहीन भनेर अस्वीकार गरेपछि पालिकाले उनलाई वडा नम्बर ६ को विष्णु जनज्योति माविमा काज सरूवा गरेको थियो।
पछिल्लो समय आफ्नो काज सरूवा रद्द भएपछि शिक्षक पराजुलीले सुगम ठाउँको माग गर्दै धर्ना बसेकी हुन्।
उनको धर्नामा उनका श्रीमान ३९ वर्षीय गणेश महतोले साथ दिइरहेका छन्।
स्थायी शिक्षकमा नाम निकालेपछि पराजुलीले पाएको दु:ख!
चितवन भरतपुर महानगरपालिका वडा-२६ की पराजुली डेढ वर्षअघिसम्म भरतपुरकै एउटा स्कुलमा पढाउँथिन्।
चिवतनमा जन्मिएकी हुर्किएकी संगितालाई विद्यालयबाट घर आवतजावत गर्न दृष्टीविहीन भएपनि कुनै समस्या भोग्नुपरेको थिएन।
उनी सेतो छडीको साहारले आवतजावत गर्थिन्।
सरकारी जागिर गर्ने र आत्मनिर्भर बन्ने उनको लक्ष्य थियो।
उनलाई शिक्षक बनेर समाजमा परिवर्तन ल्याउँछु भन्ने लागेको थियो। त्यही सोचेर मेहनत गरिन्।
२०७९ सालमा उनको मेहनतले रंग ल्यायो।
२०७९ मा शिक्षक सेवा आयोगद्वारा लिइएको निम्न माध्यमिक तह (नेपाली विषय) को शिक्षक परीक्षा उत्तीर्ण गरिन्।
त्यो दिन आफू सबैभन्दा धेरै खुसी भएको बताउँछिन्।
'दृष्टीविहीन भएर केही गर्न सक्दिन भन्नेका लागि उदाहरण बनेकी थिएँ,' पराजुलीले भनिन्, 'गाउँभरी नै चर्चा भएको थियो।'
उनलाई त्यतिबेलासम्म आफूले रोजेको ठाउँमा पढाउन पाउँछु भनेर ढुक्क थिइन्।
तर उनी शिक्षक पेसामा प्रवेश गर्नुभन्दा केही अघि नै २०७८ मा अपांगता भएका व्यक्तिलाई दिने जिल्ला छनौट गर्न पाउने नियम खारेज भइसकेको रहेछ।
मेरिट सूचीअनुसार उनको नियुक्ति रामेछाप जिल्लामा हुने भयो। परीक्षा उत्तीर्ण भएको करिब डेढ महिनापछि उनी श्रीमानलाई पनि लिएर रामेछापको सदरमुकाम मन्थली पुगिन्। २०७९को माघ २३ गते शिक्षा विकास तथा समन्वय इकाई रामेछापले नेपाली विषय शिक्षकको नियुक्तिपत्र दिएर पदस्थापनका लागि खाँडादेवी गाउँपालिकाको कार्यालयमा पठाइदियो।
गाउँपालिकाको शिक्षा शाखाले उनलाई तीनखुरीस्थित मानेडाँडा माध्यामिक विद्यालयमा पदस्थापन गर्नेगरी पत्र लेखिदियो। तर उनी बीचैबाट फर्किनुपर्यो।
पत्र बुझेपछि सदरमुकाम मन्थलीबाट बोलेरो गाडी चढेर विद्यालय जाँदै थिइन्, प्रधानाध्यापकको फोन आयो।
'उहाँले अहिले नआउनु, म पहिले बैठक राखेर वातावरण मिलाउँछु त्यसपछि आउनु भन्नुभयो,’ संगीताले भनिन्, ‘गाडी चढिसकेका हामी ओर्लिएर घर फर्कियौं।’
त्यो स्कुलमा उनलाई दृष्टीबिहीन भनेर स्थानीय र विद्यालय व्यवस्थापन समितिले अस्वीकार गरेका रहेछन्।
पछि पालिकाले काजमा वडा नम्बर ६ को विष्णुजनज्योति माध्यमिक विद्यालयमा पठायो। यो विद्यालय भने केही भौगोलिक हिसाबले अलि सहज थियो।
रामेछाप जाँदा उकालो-ओरालो अनि साघुँरोबाटोमा हिँड्न समस्या भएको उनी बताउँछिन्।
'सरकारी जागिर पाएको खुसी त्यहाँ पाएको दु:खले खोसियो,' उनले भनिन्, 'डेढ किलोमिटर टाढाको स्कुल पुग्नै मुस्किल भयो।'
तर पनि आफूले हिम्मत नहारी जसोतसो पढाउन गएको उनको भनाइ छ।
उनी स्कूलबाट डेढ किलोमिटर दुरीमा भाडामा बस्थिन्। त्यहाँ घरको माथिल्लो तल्लामा बस्दा उनलाई आवतजावत गर्न मुस्किल हुन्थ्यो। शौचालय र पानीका लागि अप्ठारोबाटो हिँडेर सय डेढ सय मिटर तल जानुपर्थ्यो।
'विद्यालय आवतजावत गर्दा तीन/चार पल्ट लडेँ,' उनले भनिन्, 'गत फागुन २४ गते विद्यालयकै प्रांगणमा लडेर दाहिने हात भाँचियो।'
उनले थपिन- 'सामान्य चोटपटक लाग्दा वास्ता गरेको थिइन। तर हात भाँचिएपछि डर लाग्यो।'
गाउँको अप्ठेरो र साँघुरो बाटोमा हिँड्दा मेसो नपाएर लडेको उनले बताइन्।
उनलाई डेराबाट निस्किएपछि विद्यालय पुग्छु कि पुग्दिन र साँझ पनि उनलाई सोही डरले सताउँछ।
‘हात भाँचिएपछि कुनदिन लडेर मर्छु कि भन्ने डर लागिरहन्छ,’ उनले भनिन्।
तीन महिना अघि लडेर हात भाँचिएपछि उनी उपचार गर्न काठमाडौं आएका बेला शिक्षामन्त्री सुमना श्रेष्ठलाई भेटेर आफ्नो गुनासो सुनाएकी थिइन्।
त्यतिबेला मन्त्रीले उनलाई दृष्टीविहीनलाई आफूले रोजेको ठाउँमा दरबन्दी दिने बिषयमा छलफल हुने आश्वासन देखाएकी थिइन्। तर तीन महिनासम्म केही प्रक्रिया अगाडि बढेको छैन।
अहिले दरबन्दी भएकै स्कूलमा बोलाइएको उनी बताउँछिन्।
'पालिकाको शिक्षा शाखाबाट फोन आएको थियो, तपाईंलाई दरबन्दी भएकै ठाउँमा बोलाउने तयारी भइरहेको छ। तपाईं यही आउनुपर्छ,' उनले भनिन्।
त्यसपछि सरकारसँग दृष्टीविहिनलाई सहज हुने भौगोलिक क्षेत्रमा मात्रै दरबन्दी मिलाइदिन वा सरूवा गरिदिनुपर्ने माग राख्दै जेठ २० गतेदेखि माइतीघरमा धर्ना दिएको उनले बताइन्।
धेरै विकट ठाउँमा आफू आवतजावत नै गर्न नसक्ने बताउँछिन्।
‘बाटै नभएको गाउँमा दृश्टिविहीन कसरी आवतजावत गर्छन् भन्ने कुरा सरकारले सोच्दै नसोच्ने?’ उनले भनिन्।
हामीले उनको मागको विषयमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठसँग कुराकानी गरेका छौँ।
उनले पनि ले दृष्टिविहीन शिक्षकलाई विकट ठाउँमा पठाउनु राज्यको कमजोरी भएको बताए।
तर आफ्नो गाउँपालिकामा पहाडी भूभाग बढी पर्ने भन्दै उनले भएका विद्यालयमध्ये जुनसुकैमा सरूवा गर्ने अधिकार स्थानीय तहसँग रहेको पनि बताए।
‘दृष्टिविहीनलाई किन त्यस्तो ठाउँमा पठायौं भनेर शिक्षा मन्त्रालयलाई प्रश्न गर्नुहोला। हाम्रो गाउँपालिकामा आइसकेपछि जहाँसुकै पठाउन सक्छौं हामीले। उहाँलाई हामीले सकेसम्म सुगमै स्थानमा राख्न खोजेका थियौं त्यहाँ पनि लडेर हात भाँचियो रे भन्ने सुनेको थिएँ,’ उनले भने, ‘शिक्षा शाखाको सिफारिसमा हामीले काम गर्छौं। गम्भीर प्रश्न त शिक्षा मन्त्रालयले यहाँ किन पठायो भन्ने नै हो नि।’
गाउँपालिकाका शिक्षा अधिकृत मिनबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काजमा रहेका शिक्षकहरूलाई काज फिर्ता गर्न परिपत्र गरेपछि पराजुलीलाई समस्या भएको बताए।
पहिले समस्या पर्यो भनेर गाउँपालिकाको सुगममध्येको विद्यालयमा काजमा राखिएकोमा मन्त्रालयले नै परिपत्र गरेका कारण दरबन्दी रहेकै विद्यालयमा पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
‘उहाँका लागि खाँडादेवी गाउँपालिका नै उपयुक्त होइन। त्यसमाथि उहाँको दरबन्दी रहेको विद्यालय खाँडादेवीको पनि कर्णाली जस्तो हो,’ थापाले भने, ‘मन्त्रालयले काज फिर्ता गर भनेपछि गर्नैपर्यो।’
शिक्षा मन्त्रालयले केही दिनअघि शिक्षक सरूवासम्बन्धी निर्देशिका २०८१ जारी गरेको छ। यो निर्देशिकामार्फत एक जिल्लाका शिक्षक अर्को जिल्लामा सरूवा हुन पाउँछन्। तर त्यसका लागि सम्बन्धित विद्यालय, स्थानीय तहले स्वीकृती दिनुपर्छ।
निर्देशिकाले सरूवाका लागि प्राथमिकताक्रम पनि निर्धारण गरेको छ। त्यसमा हाल कार्यरलत विद्यालयको सम्बन्धित तहमा सबैभन्दा बढी स्थायी सेवा गरेको अवधिको आधारमा, हालको पदमा सबैभन्दा बढी स्थायी सेवा गरेको जम्मा अवधिको आधारमा, हालको पदका लागि तोकिएको न्यूनतम योग्यताभन्दा माथिल्लो तहको सम्बन्धित विषयको शैक्षिक योग्यताको प्राप्तांकको प्रतिशत वा ग्रेडको आधारमा सरूवा गर्ने उल्लेख छ। यसरी हुन नसकेमा गोलाप्रथाबाट छनोट गर्ने निर्देशिकामा उल्लेख छ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले आफूले सञ्चारमाध्यमबाट शिक्षक पराजुलीको धर्नाबारे जानकारी पाएको बताए।
‘उहाँको समस्यालाई कसरी सम्बोधन गर्ने विषयमा कुनै काम भएको जानकारी मसँग छैन,’ उनले भने।
थप जानकारी लिन खोज्दा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालसँग सम्पर्क हुन सकेन।
शिक्षक पराजुलीले नयाँ बन्ने निर्देशिकामा अपांगता भएकाहरूको विषयमा संबोधन गर्ने आश्वासन दिइएपनि कुनै कुरा समावेश नगरी निर्देशिका जारी गरिएको बताइन्।
हालको निर्देशिकाले अपाङ्गता भएकाहरूको व्यवस्थापनमा सहजीकरण नगर्ने उनको भनाइ छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी