ललितपुरस्थित रिङरोडको नयाँबाटोमा सुब्वाबहादुर तामाङले बालुवा बोकेको ट्रक चलाइरहेका थिए।
केही मानिसहरूले हातको इसारा गरे, तामाङले ट्रक रोके। सोधे, 'के भयो दाइ?'
ती मानिसहरूले चालक तामाङलाई सोधे- गाडीमा के छ?
तामाङले भने- बालुवा हो।
उनीहरूले ट्रकको त्रिपाल उघारेर हेरे। फेरि सोधे- कहाँबाट आएको? कर तिर्नुभयो?
चालक तामाङले भेउ नै पाएनन्। ज्याकेटको खल्ती खोतलखातल पारेपछि भेटिएको प्यान नम्बरसहितको बिल झिकेर देखाए।
‘यो होइन। कबाडी कर तिर्नुभएको छैन, तिर्नुस्,’ उनीहरूले भने। तामाङ ट्रकबाट ओर्लिए। टिकट काउन्टर नजिक गए। फेरि उही प्यानबिल देखाए।
‘मेरो प्यान बिल नै छ त किन फेरि कर तिर्नुपर्यो?,’ उनले भने। ‘यो बिलले हुँदैन। अबदेखि छुट्टै कबाडी कर तिर्नुपर्छ,’ उनले भित्तामा टाँगिएको सूची देखाउँदै भने।
तामाङले आक्रोश पोखे- ‘डिपोको व्यवसाय, आयकर कर सबै तिरेकै छ। अब आफ्नै डिपोबाट बोकेर हिँडेको बालुवाको पनि कर तिर्नुपर्ने? कति लुट्न सकेको!’
उनको कुरा सुनिरहेका बिल काट्ने ती व्यक्तिले भने, ‘महानगरले उठाएको हो, हामीले होइन’
उनले आफ्नो नाम, गाडी र फोन नम्बरलगायत विवरण दिए। ८० क्युबिक बालुवाको १८० रुपैयाँ कर बुझाए।
ती व्यक्तिले केही साताअघिबाट यो नियम लागू भएको जानकारी गराए। उनले अबदेखि पर्ची काट्नुपर्ने बताए। बुझेको भावमा मुन्टो हल्लाउँदै बालुवा कुलेश्वर पुर्याउन उनले गाडी हुइँक्याए।
बालकुमारी पुलनजिकै सिट्ठीको आवाज सुनियो। चालकले ट्रक रोके। मोबाइल नम्बरसहित सबै विवरण टिपाए। ‘८० क्युबिक माटो छ। कलंकीस्थित आफ्नै डिपोमा लगिरहेको हो,’ उनले भने, ‘कति भयो?’
काउन्टरमा बसिरहेको एक व्यक्तिले जवाफ दिए- ‘१८० रुपैयाँ।’
उनले सहजै दिए। आफैं आएर कर बुझाएको देखेर सोधिहाले। ‘तपाईंले आफैं आएर कर बुझाउनुभयो, किन?
‘छलेर अर्को ठाउँमा जान सकिन्न,’ ती चालकले भने, ‘ठाउँ-ठाउँमा कर उठाउन मान्छे राखेको छ। कतै भेट्यो भने तिराइहाल्छन् बरू सुरूमै तिर्यो आनन्द। एक टिप माटोको १८० रुपैयाँ कर बुझाउनुपर्छ। अनेक करको नाममा लुट्नसम्म लुट्या छ!’
ती चालकको विवरण किन नसोधेको भन्ने जिज्ञासामा काउन्टरमा बसेका ती व्यक्तिले भने, ‘उहाँलाई सबै कुरा थाहा छ, रेगुलर कर बुझाएर जानुहुन्छ।’
ती व्यक्तिका अनुसार एकपटक सबै विवरण इन्ट्री गरेपछि हरेक पटक गर्नु पर्दैन। मोबाइल नम्बर भनेकै आधारमा सबै विवरण उपलब्ध हुने उनले बताए। कर बुझाएको रसिद पाएपछि ती चालक माटो झार्न भन्दै भक्तपुरको ठिमीतिर लागे।
कलंकीको खसीबजारमा ईश्वर बस्नेतको टोली त्यसैगरी सवारी रोक्न बसेका थिए। उनीहरू बल्खुबाट आएका ट्रक रोक्दै जाँच गर्छन्। ट्रकबाट एक जना झरे र ईश्वरलाई आफ्ना कागजपत्र देखाए।
ती व्यक्तिले कबाडी कर बापत साढे १२ सय तिरेको रसिद देखाए। 'कता काट्नुभयो?,' ईश्वरले ती व्यक्तिलाई सोधे। सानेपामा काटेको जबाफ आयो।ईश्वरले रसिदको फोटो खिचे। त्यसपछि ट्रक लिएर चालक गए।
केही समयअघि ललितपुर महानगरले गरेको सार्वजनिक सुनुवाइमा राजाराम तण्डुकारले कवाडी करको नाममा जनतासँग हप्ता असुली गरिरहेको दाबी गरेका थिए।
‘महानगरले कवाडीकर ठेक्कामार्फत् उठाउन दिएको रहेछ,’ उनले भने, ‘तर यो करको नाममा जनताबाट हप्ता असुली गर्ने काम भइरहेको छ।’
सरिता गिरीले फलफूलका क्यारेटमा पनि कर तिर्नुपर्ने बाध्यता रहेको सुनाइन्। 'बिहान फलफूल पसलमा छोडेर गएको थिएँ। बेलुका गाडीमा फर्किँदा सबै फलफूल सकिएको हुन्छ। खाली क्यारेट देखेपछि कबाडी कर काट्छन्। यस्तो के किसिमको कर हो दैव जानून्।'
यसरी कबाडी कर तिर्ने अधिकांशले कबाडी करको नाममा सरकारले जनता लुट्ने काम गरिरहेको बताएका छन्।
यसो त लुकीछिपी नागढुंगामा जानेहरूलाई केन्द्रित गरी त्यहाँ पनि काउन्टर राखिएको ललितपुर र काठमाडौंमा कर संकलन गर्न कर्मचारी खटाइएको उनीहरूको दाबी छ। 'धेरैजना राति कर छलेर जान खोज्ने हुँदा त्यहाँ पनि राखिएको छ,' उनले भने, 'सबैभन्दा धेरै त नागढुंगा छेउको नाकाबाट उठ्छ।'
केही समययता काठमाडौं र ललितपुरका विभिन्न ठाउँका सडकहरूमा कबाडी कर संकलन भनेर बोर्ड राखिएको देखिन्छ।
यसरी बोर्ड राखिएका ठाउँमा काठमाडौं र ललितपुर महानगरले कबाडी कर संकलन गर्दै आएका छन्। यी बोर्डहरू कोटेश्वर, युएन पार्क वारी-पारी, बालकुमारी, नयाँबाटो, सानेपा, खसीबजार, माछापोखरी, नागढुंगालगायत ठाउँमा देखिन्छन्।
झन्डै साढे दुई वर्षअघि मारूती ढुवानी सेवाले वार्षिक ८ करोड रुपैयाँमा काठमाडौं महानगर क्षेत्रभित्र कबाडी कर संकलन गर्न टेण्डर पाएको थियो। केही साताअघि मात्रै इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरीवेयर प्रालिले पनि वार्षिक १० करोड रुपैयाँमा ललितपुर महानगरको टेण्डर पाएको थियो।
स्थानीय सञ्चालन ऐन २०७४ को परिच्छेद ९ (६१) मा जडिबुटी, कबाडी र जीवजन्तु कर लिन पाउने व्यवस्था छ। सोही कानुन टेकर कर संकलन गरिरहेको दुवै महानगरले बताएको छ।
तर दुई महानगरले अरूको क्षेत्रभित्र पनि कबाडीकर उठाएको कुरा गएको उपत्यका मेयर्स फोरममा उठेको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बताए।
'मेरो नगरभित्र पनि कबाडी कर उठाइरहेको कुरा थाहा पाएपछि गएको मेयर्स फोरममा हामीले कुरा उठाएका छौं,' उनले भने, 'हाम्रो क्षेत्रमा आएर कर उनीहरूले लैजाने? कि त भने त्यो कर सबै नगरपालिकामा बाँडफाँट हुन पर्यो, नत्र भने त्यसो गर्न पाइँदैन।'
उपत्यकाका १८ वटै नगरपालिकाका मेयरहरूले पनि यसमा विरोध जनाएको उनले बताए। कबाडी कर पहिलो पटक उठाइरहेको हुँदा केही कमजोरी भएको ललितपुर महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईं स्वीकार्छन्।
'हामीले यो पहिलो पटक अभ्यास गरेका हौं। त्यसैले धेरै गुनासोहरू पनि आएका छन्। हामीले त्यसबारे टेण्डर पाएको कम्पनीसँग पनि कुराकानी गरिरहेका छौं,' उनले भने।
यस्तै काठमाडौंले पहिलेदेखि नै सुरू गरेता पनि पछिल्लो समय ललितपुर समेत कार्यान्वयन गएको स्थितिमा केही उजुरी आउने गरेको महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्ले बताउँछन्।
'यतिका समयसम्म कबाडी करमा कुनै समस्या थिएन,' उनले भने, 'अहिले भने दोहोरो तिर्नुपर्यो भनेर ठाडो उजुरीहरू आएका छन्। त्यसबारे हामीले कताको के हो भनी अध्ययन गरिरहेका छौं।'
काफ्लेका अनुसार काठमाडौंले कबाडी कर स्रोतमै संकलन गर्छ। छुटपुट भएका ठाउँकाे मात्रै सडकमा जाँच हुने गरेको उनले बताए। दुवै महानगरका कर्मचारीहरू भने यसरी स्थानीय तहले बाटोमा जथाभावी कबाडी कर संकलन गर्न नहुने तर्क गर्छन्।
'कि त प्रदेश वा संघ सरकारले केमा कबाडी कर लिने केमा नलिने भनेर स्पष्ट कार्यविधि बनाउनुपर्यो। नत्र भने प्रदेश सरकारले नै कर उठाइ बाँडफाँटमार्फत् स्थानीय सरकारलाई दिँदा उपयुक्त हुन्छ,' एक कर्मचारीले भने।
यसो त ललितपुर र काठमाडौं महानगरपालिकाले उठाउने करको रकम र प्रकारमा भने फरक छ।
ललितपुर महानगरले उठाउने कबाडि करको सूची-
ऊन प्रति केजी- १० पैसा
खोटो प्रति केजी- ५० पैसा
खर, बाबियो, छ्वाली, पराल, बिगालो, लोकता, अम्रिसो प्रति मिनी ट्रक - १५० रुपैयाँ
बाँस प्रति गोटा ५० पैसा
काठ- प्रति ट्रक २०० रुपैयाँ
काठ प्रति ट्रक- २०० रुपैयाँ
ढुंगा, गिटी, बालुवा, ग्राभेल, रोडा- प्रति क्यू फिट- २ रुपैयाँ
बियर- प्रतिगोटा- १ रुपैयाँ
मिनरल वाटर- प्रतिगोटा १० पैसा
तेलको टिन- प्रतिगोटा २ रुपैयाँ
कबाडी थोत्रा सामान- प्रतिकेजी- २ रुपैयाँ
कागजजन्य सामान- प्रतिकेजी १ रुपैयाँ
सीसा- प्रतिकेजी २ रुपैयाँ
हाड-सिङ, प्वाँख, छाला- प्रतिकेजी २ रुपैयाँ
छाला- प्रतिकेजी-१५-३० रुपैयाँ लगायत
काठमाडौं महानगरले उठाउने कबाडि करको सूची-
सिसी प्रतिगोटा- ५० देखि २० पैसा
पुराना प्लाष्टिकका सामान प्रतिकेजी-१ रुपैयाँ
प्लाष्टिक र जुटका बोरा प्रतिगोटा- १० देखि १५ पैसा
कपडा र ऊनका टुक्रा प्रतिकेजी- ५० पैसा
मोबिल प्रतिकेजी- १ रुपैयाँ
कागजहरू प्रतिकेजी- १ रुपैयाँ
स्टिल, फलाम प्रतिकेजी- १ रुपैयाँ
तामा, टायर, ब्याट्री प्रतिकेजी- २ रुपैयाँ
*शीर्षक सम्पादन गरिएको