काठमाडौं महानगरपालिकाले दिवा खाजा रकममा अनियमितता भएको गुनासो आएको भन्दै विद्यार्थीको विद्युतीय हाजिरी प्रणाली (ई-हाजिरी) सुरू गर्ने भएको छ।
महानगरले दिँदै आएको दिवा खाजा रकममा अनियमितता भएको भनी गुनासो आएपछि महानगरले ई-हाजिरी सुरू गर्ने तयारी गरिरहेको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। यो फेस रिड गर्ने ई-हाजिरी हो।
उनका अनुसार विद्यालयमा विद्यार्थी संख्या धेरै देखाएर पछि नआउँदा पनि हाजिरीमा आएको भन्दै निरन्तरता दिई दिवा खाजा रकम दुरूपयोग गरेको महानगरमा गुनासोहरू आएका थिए। सोही गुनासोहरूलाई सम्बोधन गर्न ई-हाजिरी सञ्चालनमा ल्याउन लागेको उनले बताए।
प्रारम्भीक चरणमा विद्यालयका शिक्षकहरूमा परीक्षण गर्न प्रयोगमा ल्याइसकेको छ। त्यसका लागि महागरले ८४ वटा विद्यालयमा डिभाइस जडान गरिसकेको शिक्षा विभागका टेक्निकल सहायता प्रह्लाद खतिवडाले जानकारी दिए। यी डिभाइसहरू यसै शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइएका हुन्।
'शिक्षकहरूमा परीक्षण सफल भएलगत्तै विद्यार्थीहरूमा समेत प्रयोगमा ल्याइँदै छ,' उनले भने, '१५० जना विद्यार्थी बराबर एक डिभाइस जडान गर्ने योजना छ। तर त्यसको लागि अहिले सफ्टवेरको काम भइरहेको छ।'
दिवा खाजामा हुने अनियमितता रोक्ने उद्देश्यले नै यो प्रयोगमा ल्याउन लागेको उनी बताउँछन्।
नेपाल सरकारले दिवा खाजा कार्यक्रममा कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिव्यक्ति १५ रुपैयाँ दिँदै आएको छ। सोही रकममा १५ रुपैयाँ थप गरेर महानगरले ३० रुपैयाँ दिएको छ भने अर्कोतर्फ महानगरले ६ कक्षादेखि १० सम्मका प्रति विद्यार्थीलाई ३० रुपैयाँ दिवा खाजाका लागि विद्यालयहरूलाई दिँदै आएको छ। यसका लागि महानगरले चालु आर्थिक वर्षमा २३ करोड बजेट विनियोजन गरेको थियो। यसभन्दा अघि महानगरले कक्षा ८ सम्मका विद्यार्थीहरूलाई मात्रै दिवा खाजा दिँदै आएको थियो।
सोही दिवा खाजा कार्यक्रममा अनियमितता भएको भन्दै ई-हाजिरी सुरू गर्न लागिएको हो।
'यो शैक्षिक सत्रदेखि हामीले सबै विद्यालयहरूमा एक ई-हाजिरी जडान गरिसकेका छौं,' उनले सेतोपाटीसँग भने, 'ती ई- हाजिरी सञ्चालनमा पनि आइसकेका छन्।'
शैक्षिक सत्र सुरू हुँदा विद्यालयमा भर्ना भएका विद्यार्थी संख्याकै आधारमा दिवा खाजा कार्यक्रमका लागि रकम पठाउने गरिएको अधिकारीले बताए। अर्कोतर्फ शैक्षिक सत्र अन्त्य हुँदासम्म सोही अनुपातमा विद्यार्थीको संख्या हुँदैनन्। तर विद्यालय व्यवस्थापनले हाजिरी किताबमा हाजिर गरेर दिवा खाजामा अनियमितता गरेको पाइएको उनी बताउँछन्।
'ई-हजिरका कारण प्रत्येक दिन विद्यालयमा आउने विद्यार्थीको रेकर्ड महानगरले सिधै पाउने छ,' उनले भने, 'त्यसो हुँदा विद्यालय व्यवस्थापनबाट अनियमितता हुन पाउँदैन। अर्कातर्फ महानगरले सबै विद्यालयहरूमा विद्यार्थीको दिनहुँ रेकर्ड समेत राख्नेछ।'
महानगरले शिक्षा विभागसँग सम्बन्धित सबै गतिविधि अनलाइन प्रणालीमै सुरक्षित राख्न मिल्ने एकीकृत सफ्टवेयर प्रणाली डिजाइन गरिरहेको छ। जसमा शिक्षक र विद्यार्थीको उपस्थितिबारे तथ्यांक, विद्यालयका सबै गतिविधि पनि समावेश गर्ने योजना छ। यो सबै कन्ट्रोल मेकानिजम भने महानगरपालिकासँग रहने छ।
अर्कोतर्फ यसले महानगरभित्रका विद्यालयमा विद्यार्थी संख्या यकिन हुने र भने बजेट तथा कार्यक्रम तर्जुमा गर्न पनि सहज पुर्याउने उनीहरू बताउँछन्।