यो बर्खामा पनि मेलम्चीको पानी काठमाडौं उपत्यका नआउने भएको छ।
बाँध क्षेत्रमा भेलबाढी रोक्ने प्रविधि नभएकाले सुरूङको सुरक्षाका लागि मनसुन याममा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
‘यसपटक पनि अघिल्लो वर्षहरूमा जस्तै मनसुन याममा पानी पथान्तरण रोक्ने तयारी छ। मनसुन सुरू हुनेबित्तिकै मेलम्चीको पानी काठमाडौं आउँदैन,’ पन्तले सेतोपाटीसँग भने।
नेपालमा सामान्यतया जुन १० (जेठ २८) देखि मनसुनयाम सुरू हुन्छ। यस वर्षको भने प्रक्षेपण भइसकेको छैन।
पन्तले यसपटक पनि मौसमविद्, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरेर पानी पथान्तरण कार्य रोकिने बताए।
गत माघ १ गतेबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुन: वितरण सुरू गरिएको थियो। अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ।
अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौंमा पानी पठाउन रोकिएको थियो।
हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गतको बाढीले सुरूङमा मुखमा क्षति पुर्याएको थियो।
सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेबित्तिकै पानी पथान्तरण रोकिने पन्तले बताए।
‘यसपटक हामीले थप सतर्कता अपनाउने तयारी गरेका छौं, अघिल्लो पटक बालुवा छिरेकाले सुरूङ सफा गर्न कठिन भयो। यसपटक त्यो नदोहोरियोस् भनेर सुरूमै सावधानी अपनाएका छौं,’ उनले भने।
मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपैयाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौं ल्याएको थियो। जसमा बाढीले कटान गरेको पहुँच मार्ग बनाउन एक करोड र सुरूङ सफा गर्न करिब दुई करोड रूपैयाँ खर्च भएको पन्तले बताए।
मेलम्ची खानेपानी परियोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले अम्बाथानमा रहेको हेडवर्क्सलाई सर्कथली भन्ने ठाउँमा सार्न सुझाएको छ। अम्बथानबाट सर्कथली करिब एक किलोमिटर दुरीमा रहेको छ।
त्यहाँ हेडवर्क्स सार्दा करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
‘यो हाम्रो प्रारम्भिक अनुमान हो। डिपिआर (विस्तृत परियोजना प्रतिवेदन), डिजाइन तयार पारेपछि मात्रै यकिन गर्न सकिन्छ। बाँध क्षेत्र मात्रै सारेर पुग्दैन। सुरूङ र पहुँच मार्ग पनि सार्नुपर्ने हुन्छ,’ उनले भने।
अम्बाथानमा रहेको हेडवर्क्स बनाउन करिब एक अर्ब रूपैयाँ खर्च भएको थियो।
मेलम्ची परियोजनामा अहिलेसम्म ६४ अर्ब रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ।
सुरूङबाट काठमाडौं पानी पथान्तरण गर्न करिब ३२ अर्ब रुपैयाँ खर्च भएको छ। काठमाडौं उपत्यकामा खानेपानी सञ्जाल विस्तार गर्न ३२ अर्ब रुपैयाँ हाराहारी नै खर्च भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत् आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यो रकम खर्च गरेको हो।
गत कात्तिकमा खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना दिगो रूपमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले सुझाएका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबारे विज्ञहरूबाट पुनरवलोकन गर्ने निर्णय गरेको थियो।
इन्जिनियरिङ अध्ययन संस्थानबाट एक महिनाभित्र पुनरवलोकन गराउने मन्त्रालयले निर्णय गरेको थियो।
विज्ञहरूले रायसहितको प्रतिवेदन दुई साताअघि बुझाइसकेको र त्यसबारे अध्ययन भइरहेको खानेपानी मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिए।
‘विज्ञहरूको राय आइसकेको छ। त्यसबारे हामीले अध्ययन गरिसकेका छौं। यसबीचमा काठमाडौं उपत्यकाका तीन जिल्लाका जनप्रतिनिधि, काठमाडौं उपत्यकाका खानेपानी बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सरोकारवाला निकायसँग पनि हामीले छलफल गरिसकेका छौं,’ मन्त्री राईले भने, ‘सबैको सुझावको आधारमा प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा लैजानेछौं।’
उनले अब १०–१५ दिनभित्रमा प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताए।
२०७८ असा १, साउन १६ र १७ गते आएको बाढीले मेलम्ची खानेपानी परियोजनासहित तल्लो तटीय क्षेत्र तहसनहस बनाएको थियो।
भेमाथानबाट उत्पत्ति भएको भलबाढीले मेलम्चीको मुख्य बाँध क्षेत्रसहित सुरूङमा समेत क्षति पुर्याएको थियो। सुरूङमा आंशिक क्षति पुगेको थियो भने बाँध क्षेत्र पूर्णरूपमा बगरमा परिणत भएको थियो।
बाँध क्षेत्रमा रहेका करिब एक दर्जन गेटहरू बाढीले पुरेपछि परियोजनाले १ र १९ नम्बर गेटलाई मर्मत गरी पानी पथान्तरण गर्दै आएको छ। एडिबीले सुझाएअनुसार नै बाँध क्षेत्र सार्न दुई वर्ष लाग्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए।
‘पहिले त मन्त्रिपरिषदबाट प्रस्ताव पारित भएर आउनुपर्यो। त्यसपछि डिपिआर, ड्रइङ, डिजाइन तयार पार्न सात–आठ महिना लाग्छ। एसियाली विकास बैंकको निर्देशिकाअनुसार परामर्श दाता नियुक्त र सेवा खरिदका लागि पनि सात–आठ महिना लाग्छ। त्यसपछि खरिद ऐनअनुसार बोलपत्र आह्वान र ठेकेदार नियुक्तिमा प्रक्रियामा सात–आठ महिना लाग्छ,’ उनले भने।
विज्ञले भने भेमाथानको पहिरो रोकथाम नगरेसम्म सर्कथली बाँध सार्दा पनि मेलम्ची परियोजना स्थायी नहुने बताउँछन्। सर्कथली बाँध सार्दा हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको दोरिङको पहिरो छले पनि भेमाथाङको पहिरोको जोखिम कायमै रहने भूगर्भविद् शिव बास्कोटाले बताए।
बास्कोटाले मेलम्ची भलबाढीलगत्तै भेमाथान पुगेर त्यहाँ जम्मा भएको थेग्रिनी र माथिल्लो तटीय क्षेत्रको भू–अवस्थितिबारे अध्ययनसमेत गरेका थिए।
‘भलबाढी लगत्तै भेमाथान पुगेर हामीले प्रतिवेदन तयार पारेका थियौं। पछि एसियाली विकास बैंकको सहयोगमा पनि अध्ययन गर्ने काम भयो। उनीहरूले पनि हामीले गरेभन्दा फरक केही गरेका छैन्,’ उनले भने, ‘भेमाथानको पहिरो नरोकी सर्कथली बाँध सार्दैमा पहिराको जोखिम कम हुँदैन।’
उनले सरकारले दोस्रो चरणमा ल्याउने भनेको याङ्ग्री र लार्के खोलाको पानी पथान्तरणमा काम गर्न सुझाए।
‘भेमाथानको पहिरो नरोकिइ जति पैसा खन्याए पनि परियोजना स्थायी हुने देखिँदैन। बरू सर्कथलीमा खर्च गर्न लागिएको पैसा याङ्ग्री र लार्के खोलाको पानी ल्याउन प्रयोग गर्ने हो भने त्यो दिगो हुने देखिन्छ। याङ्ग्री र लार्के खोलाको पानी ल्याउँदा मेलम्ची नदीमा आउने बाढीले असर पुर्याउँदैन। सुरूङ जोडेर, खोलामाथि ओभरब्रिज बनाएर ल्याउने प्रविधि पनि छ,’ उनले भने।
दोस्रो चरणको परियोजनाअन्तर्गत् याङ्ग्री र लार्के खोलाको पानीबाट थप ३४ करोड लिटर पानी काठमाडौं पथान्तरण गर्ने सरकारको योजना थियो। त्यो परियोजना अन्तर्गत् पहुँच मार्ग बनाउनेबाहेक काम अघि बढ्न सकेको छैन।
समय रेखामा मेलम्ची
–२०४१ सालमा साविक हेलम्बु गाविसको मेलम्ची नदीसहित २२ विकल्प पहिचान
–२०४९ सालमा हेलम्बुपूर्वको याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने निष्कर्ष
–२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन
–२०६४ सालमा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैंकबीच ६ वर्षभित्र सम्पन्न गर्ने सहमति
– २०६५ सालमा सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का
– २०६६ साल वैशाखमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरूङको काम अघि बढाइयो
– २०६९ सालमा ६ किलोमिटर निर्माण गरिसकेपछि चाइना रेलवे कम्पनीसँगको ठेक्का रद्द
– २०७० सालमा बाँकी सुरुङ निर्माण गर्न इटलीको सिएमसीलाई ठेक्का सम्झौता
– २०७५ सालमा २५ किलोमिटरभन्दा बढी सुरूङ खनिसकेको अवस्थामा फेरि विवाद, सिएमसीसँगको ठेक्का पनि रद्द
– २०७६ सालमा सुरूङ र हेडवर्क्सका बाँकी काम गर्न सिनो हाइड्रोसँग ठेक्का सम्झौता
– २०७७ असार २१ सुरुङको पहिलो परीक्षण
– २०७७ असार ३० गते अडिट टनेल भत्कँदा दुई जनाको मृत्यु, दुई जना घाइते
– २०७७ फागुन १० मा सुरूङमा पानी परीक्षण सुरू
– २०७७ फागुन २२ मेलम्चीको पानी सुन्दरीजल पहिलोपटक काठमाडौं आइपुग्यो
– २०७७ चैत १५ मेलम्चीको वितरणस्वरूप उपत्यकावासीको धारामा पठाइयो
– २०७७ चैत २० राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन गरियो
– २०७८ असार १, साउन १६ र १७ गतेको भ्रेमाथाङको बाढीले हेडवर्क्स तहसनसह
– २०८० साउन २८ र २९ को बाढीले मुहान क्षेत्रमा पुनः क्षति
– २०८० माघ १ गतेबाट काठमाडौं उपत्यकामा पुन: वितरण।