काठमाडौं महानगरपालिकाले विपन्न र असहाय व्यक्तिहरूलाई सिफारिसका आधारमा स्वास्थ्य उपचार गराउन सक्ने कानुनी व्यवस्था कार्यन्वयन गरेको छ।
महानगरले २०८० फागुन २२ गतेदेखि उक्त व्यवस्था महानगर क्षेत्रभित्रका ५२ वटा अस्पतालहरूमा कार्यान्वयनमा ल्याएको महानगरका सहप्रवक्ता दीपक अधिकारीले जानकारी दिए।
उनका अनुसार ५२ वटा अस्पतालहरूमा बेड खाली भएको अवस्थामा नेपालका जुनसुकै भेगका अशक्त र गरिब बिरामीहरूले विपन्न वा असहायको सिफारिस लिएर गए सेवा पाउने छन्।
‘अबदेखि कुनै पनि मानिस असहाय र गरिब भएकै कारण स्वास्थ्य उपचारबाट बञ्चित हुनु पर्दैन,’ अधिकारीले सेतोपाटीसँग भने, ‘त्यस्ता व्यक्तिहरूले आफ्नो स्थानीय तहबाट सिफारिस लिएर आए बेड खाली भएका ५२ वटा अस्पतालमध्ये जुनसुकैबाट सेवा लिन सक्ने छन्।’
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने संवैधानिक व्यवस्था गरेको छ। त्यसैगरी नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० 'घ' मा अस्पतालहरूले विपन्न, असहाय र बेवारिसे नागरिकलाई कूल शय्याको १० प्रतिशत बिरामीलाई लाग्ने सम्पूर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने व्यवस्था छ। त्यसैलाई आधार मानेर काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार उक्त कानुन कार्यान्वयनमा ल्याएको अधिकारी बताउँछन्।
अहिले काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताल, ओम अस्पताल, बयोधा अस्पताल, ग्राण्डी सिटी अस्पताल, चाबहिल फ्री क्लिनिक, काठमाडौं मोडल अस्पताल, अन्नपूर्ण न्यूरोलोजिकल अस्पताल छन्।
यसैगरी भरोसा अस्पताल, ब्लु क्रस अस्पताल, चिरायु अस्पताल, एरा इन्टरनेसनल अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, हिमाल अस्पताल, होप इन्टरनेसनल, इन्टरनेसनल फ्रेन्डसिप चिल्ड्रेन्स अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, नेसनल किड्नी सेन्टर, क्यापिटल लगायत अन्य अस्पताल सूचीकृत छन्।
यी सूचीकृत अस्पतालहरूमा प्रदान गर्ने सबै सेवा-सुविधाहरू उक्त बिरामीले नि:शुल्क पाउने उनी बताउँछन्।
‘अहिले सूचीकृत अस्पतालमध्ये जुनमा बेड खाली छ त्यहाँबाट सिफारिसको आधारमा सेवा लिन सक्नुहुन्छ,’ उनले भने, ‘जाने अस्पतालमा बेड खाली छ/छैन भनेर राम्ररी हेरेर मात्र जानुहोला। नत्र भने जुन अस्पतालमा बेड खाली छ त्यही जानुहोला। त्यसो हुँदा अस्पताल पुगेर सेवा नपाई फर्कनु पर्दैन।’
कुन अस्पतालमा कति बेड खाली छन् भनेर फ्रि-हेल्थ काठमाडौं डट कम मा गएर हेर्न सकिन्छ।
हामीले अधिकारीलाई कस्ता मानिसहरूले सेवा पाउँछन् भनेर जिज्ञासा राख्यौं।
अधिकारीका अनुसार यो सुविधा सबैले पाउँदैनन्। विपन्न र असहाय बिरामीलाई मात्र यो सुविधा लागु हुनेछ। त्यसमाथि उनीहरूसँग पनि सिफारिस हुनुपर्नेछ।
त्यस्ता व्यक्तिहरूले सिफारिस लिँदा के कस्ता कुरा उल्लेख गर्नुपर्छ?
'धेरै मानिसहरू अन्योलमा पर्छन् भनेर हामीले यसको ढाँचा नै फ्रि-हेल्थ काठमाडौं डट कममा राखिदिएका छौं। त्यहाँबाट डाउनलोड गर्न सकिन्छ,' उनले भने, 'अन्यथा स्थानीय सरकारले लक्षित वर्ग हो भनेर परिचय खुलाउने प्रमाण पत्र, हालसालै खिचिएको फोटो र रोग पहिचान भएको कागजपत्रसहितको सिफारिस हुनुपर्ने छ।'
यसैगरी बेवारिसे बिरामीले नि:शुल्क उपचार सेवा लिनका लागि आकस्मिक कक्षमा आएको बेला प्रारम्भिक स्वास्थ्य उपचार नि:शुल्क पाउने उनले बताए।
अधिकारीका अनुसार अस्पताल जानुअघि भने फारम भर्नुपर्ने छ। उक्त फारम फ्रि-हेल्थ काठमाडौं डट कममा पाइने छ।
महानगरसँग ५२ अस्पतालमा ३७४ बेड आबद्ध रहेको अधिकारी बताउँछन्। यदि कसैलाई कुनै जिज्ञासा वा गुनासो भए हटलाइन नम्बर ११८० सम्पर्क गर्न सक्ने छन्। त्यहाँबाट उक्त कुराहरू सम्बोधन हुने उनको भनाइ छ।
यसो त अधिकारीका अनुसार अहिलेसम्म ३३ जनाले विभिन्न अस्पतालहरूबाट उक्त सेवा लिइसकेका छन्। काठमाडौंदेखि दाङ, कालिकोट, दोलखा लगायत जिल्लाका बिरामीहरूले सुविधा लिइसकेका छन्। जसमा २५ सयदेखि दुई लाख ७४ हजार सम्मको बिल आएको उनले बताए।
हेर्नुहोस् भिडिओः