सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ मा बुधबार दिउँसो वनको डढेलो बस्तीमा पस्यो।
बस्ती नजिकैको वन क्षेत्रमा मंगलबार रातिदेखि नै डढेलो फैलिएको थियो।
बुधबार बिहान १० बजेदेखि बेस्सरी हावाहुरी चल्न थाल्यो। त्यही हावाले बोकेर ल्याएको आगाको लप्काले बस्ती नजिकैका ९ घर जलेको वडाध्यक्ष इन्द्रमणि दाहालले बताए।
‘१८–२० वर्ष भयो वनमा यसरी डढेलो फैलिएको थिएन। छेउछाउमा लागे पनि केही समय पनि निभ्थ्यो। बुधबार त नियन्त्रणमै लिन नसक्ने गरी आगो फैलियो,’ उनले भने, ‘सुरक्षाकर्मीको सहयोगका बस्तीको आगो नियन्त्रणमा आए पनि जंगल क्षेत्रमा अझै डढेलो सल्किइरहेको छ।’
यस्तै गोरखा नगरपालिका वडा नम्बर ५ धोर्दे सामुदायिक वनमा फैलिएको डढेलोले बुधबार ठूलोरिप बस्तीका घरगोठ जल्यो। वनमा फैलिएको डढेलो बस्ती पस्दा पूर्णबहादुर मगर र रूपा रानाको घर जलेको छ।
चैतको अन्तिम सातादेखि नै डढेलोको प्रकोप देशव्यापी बनिरहेको छ। मध्य तथा उच्च पहाडका क्षेत्रमा वन क्षेत्रमा सल्किएको डढेलोले सीधै बस्ती ताक्न थालेका छन्।
ग्रामीण इलाकाहरूलाई डढेलोलाई निशाना लगाइरहँदा सहरी क्षेत्र पनि आक्रान्त हुन थालेका छन्।
मंगलबार ललितपुर क्षेत्रमै सामुदायिक वन क्षेत्रमा डढेलो फैलियो। डढेलो निभाउने क्रममा मानवीय क्षति भयो।
गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी गम्भीर घाइते भएका थिए। उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएकोमा शङ्करको मंगलबार र रमेशको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।
ललितपुरका धेरै सामुदायिक वनमा डढेलो लागेको छ।
गोदावरी नगरपालिका वडा नम्बर ६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नम्बर ५ महादेवखोला सत्य सामुदायिक वन, वडा नम्बर ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नम्बर ९ छेडा सामुदायिक वन, वडा नम्बर ३ जयभद्र सामुदायिक वन, वडा नम्बर १० चारघरे सामुदायिक वन, वडा नम्बर ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नम्बर २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका वडा नम्बर ५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका नम्बर ३ लुभु पातले सामुदायिक वनमा सोमबार रातिदेखि डढेलो लागेको प्रहरी उपरीक्षक सुवेदीले बताए।
ती स्थानमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन। ललितपुरको लामाटारस्थित वन क्षेत्रमा फैलिएको डढेलो सुरक्षाकर्मी र स्थानीयसमेत मिलेर निभाउने प्रयास भइरहेको छ।
सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार नै भीषण आगलागी भयो। एक्कासि फैलिएको आगाको लप्कामा परेका एक सय बढी घर जलेका थिए। गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुध्न यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो। यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको वडाध्यक्ष दासले बताए।
उक्त आगलागीमा करिब ६०/७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वैशाख १६ गते दाङको राजपुर गाउँपालिकाले पनि त्यही नियति व्यहोर्यो। बिहान १० बजेतिर गाउँपालिका वडा नम्बर ७ हाडबास नजिकै डढेलोले विकराल रूप लिएको थियो।
गाउँबासीहरू जंगलको डढेलो निभाउन गएका थिए। तर हावाहुरीले जंगलको आगो बोकेर वस्ती पस्यो। आगाले २३ घर जलाएको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिए।
‘निभाउनै नसक्ने गरी आगो फैलँदो रहेछ। सुख्खा याम त्यसमाथि पानी नपरेर ढुंगा–माटो नै बल्ने अवस्थामा पुगेके छ। त्यसमाथि सबैतिर बाटोघाटो पनि छैन। आगो नियन्त्रणमा लिने उपाय पनि नहुँदो रहेछ!,’ उनले भने।
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए।
आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले बताए। पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको छ।
गाउँपालिकाले विभिन्न ठाउँबाट सहयोग जुटाएर टिनको छानो भएको अस्थायी आवास बनाउने तयारी गरिरहेको अध्यक्ष बुढाथोकीले बताए। ‘सामुदायिक वन समितिसँग पनि कुराकानी गरिसकेका छौं। जंगलका रूख काटेर त्यसमाथि टिनको छानो लगाउने तयारी गरिरहेका छौं,’ उनले भने।
यस्तै प्रकृतिको घटना काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका पनि भयो।
वडा नम्बर ४ सानोपोटामा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा १५ घर जले। आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।
नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो। वनको आगो भने बिहीबार दिउँसोपखमात्रै नियन्त्रणमा आएको थियो।
३५० वन क्षेत्रमा डढेलो
उच्च पहाडी भेगका घाँसे जमिनमा डढेलो फैलिएपछि जंगली जीवजन्तु आश्रय खोज्दै मानव वस्ती छिर्न थालेका छन्। केही समयअघि बागलुङलगायतका जिल्लाका स्थानीयले यस्तै दुःखेसो गरेका थिए।
अहिले जंगलको आगो घरघर पस्न थालेपछि मानिस नै ज्यान जोगाउन भाग्नुपर्ने अवस्था सिर्जना भएको छ।
विपद् पोर्टलमा अद्यावधि गरिएको विवरणअनुसार अहिले ३५० वन क्षेत्रमा आगो फैलिइरहेको छ।
एकीकृत पर्वत विकासको लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा उक्त तथ्यांक विपद् पोर्टलले अद्यावधिक गरेको हो।
वन तथा भूसंरक्षण विभागले पनि यस्तै तथ्यांक अद्यावधिक गरेको छ।
विभागकाअनुसार ४८ जिल्लामा डढेलो फैलिएको छ। सल्लानका ३६ वन क्षेत्रमा डढेलो फैलिएको विभागले बताएको छ।
सुर्खेतका २३, डोटीका १९, दैलेखका १६, पाल्पाका १४, प्यूठानका १३, सिन्धुलीका १२, बर्दियाका ११, सोलुखुम्बुका १०, स्याङ्जाका ९ क्षेत्रमा डढेलो फैलिएको विभागले जनाएको छ।
डढेलो निभाउने ज्ञानको कमी हुँदा त्यसबाट मानवीय क्षति भएको विश्लेषण हुन थालेको छ।
मंगलबार बडिखेलमा डढेलो निभाउने ज्ञान नहुँदा नै आगाले क्षति पुर्याएको डिभिजनल वन कार्यालय ललितपुरले बताएको छ।
डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले वन क्षेत्रमा लागिरहेको डढेलो सुरक्षित रहेर नियन्त्रण गर्ने ज्ञानको अभाव हुँदा दुई जनाले ज्यान गुमाउनु परेको बताए।
‘डढेलो भिरालो ठाउँमा लाग्दा निभाउन असजिलो भयो,’ उनले भने, ‘तलबाट आगो बल्दै माथि आउने भएकाले माथि बसेर नियन्त्रण गर्न खोज्दा ज्यान गएको हो, आगो नियन्त्रण गर्दा जहिले पनि आगोको लप्का आउने दिशाभन्दा विपरीत बस्नुपर्छ।’
तर कहिलेकाहीँ हावा चल्दा आगो विपरीत दिशातिर आइदिने भएकाले नसोचेको घटना हुने डोल्पाका डिभिजनल वन अधिकृत मुनबहादुर राउतले बताए। गत चैत महिनामा डोल्पाको ठूलीभेरी नगरपालिकाको मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन जना नेपाली सेनाले ज्यान गुमाएका थिए।
यसैगरी नेपाल प्राविधिक संघका अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। ‘अधिकांश डढेलो मानिसले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्न जरुरी छ,’ उनले भने।
मानिसले वनमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ। वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था छ।
डढेलो देशव्यापी बन्दा वायु प्रदूषण उच्च बन्न पुगेको छ।
विपद् पोर्टलमा उल्लेख भएअनुसार चितवन भरतपुरको वायुको गुणस्तर अत्यन्त कमजोर छ।
अहिले बिहान ८ः३२ मा मापन गरिएअनुसार भरतपुरको वातावरण शुद्धता सूचकांक (एक्युआइ) ४२९.८४ छ। त्यस्तै ललितपुरको भैँसेपाटीको एक्युआइ २३१.७३ छ। महेन्द्रनगरकाने १८२.६४, काठमाडौंको शंखपार्कको १७७.२३, कीर्तिपुरको १६४.१५ रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल ठूलो पानी पर्ने सम्भावना देखाएको छैन। शुक्रबार र शनिबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना देखाएको छ।
‘देशका पहाडी भूभागका केही स्थानमा बादल लाग्ने सम्भावना देखिए पनि ठूलो पानी पर्ने अवस्था देखिँदैन,’ मौसमविद् रोजन लामिछानले भने।
पछिल्लो समय वैशाख १६ गते हुम्लाको सिमिकोट क्षेत्रमा ११.२ मिलिमिटर पानी परेको रेकर्ड भएको छ। वैशाख १४ गते कुनै स्टेसन (मानव सञ्चालित ३४ र स्वचालित ११०) मा वर्षा रेकर्ड भएको छैन। वैशाख १३ गते मुस्ताङको लेतेमा ०.६ मिलिमिटर वर्षा भएको थियो।
वैशाख १२ गते मुगुको रारामा पानी परेको देखिन्छ। त्यहाँ ८ मिलिमिटर वर्षा मापन भएको छ।
वैशाख १६ यता भने एकझर पानी परेको छैन।
पानी नपरेसम्म प्रकोपको रूप लिएको डढेलो नियन्त्रणमा नआउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले भने।
वन क्षेत्रमा हावा र डढेलो तीव्ररूपमा फैलिइरहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको उनले बताए।
‘अघिल्ला वर्षहरूमा पनि डढेलो लाग्ने गर्थ्यो। तर २४ घन्टाभित्रै नियन्त्रणमा आउँथ्यो। वस्तीतिर पस्दैनथ्यो,’ उनले भने।
अहिले डढेलोले चरित्र बदलेको छ। भक्तपुरको सूर्यविनायक क्षेत्रमा फैलिएको डढेलो चार दिनपछि नियन्त्रणमा आएको थियो।
सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अध्यक्ष रवीन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जंगलमा फैलिएको डढेलो सूर्यविनायक वडा नम्बर ८ सिपाडोलसम्म आइपुगेको थियो। उनले चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको बताए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताइन्।
‘जंगलमा लागेको डढेलो वारूणयन्त्रबाट निभाउन सम्भव छैन। अधिकांश वन क्षेत्रमा मोटरबाटो पुगेको हुँदैन। स्याउला, माटो, घाँसपातको भर पर्दा डढेलो अनियन्त्रित हुने गरेको छ,’ प्राधिकरणका प्रवक्ता भट्टराईले भने।
तीव्र गतिमा चलेको हावाहुरीले डढेलो फैलाएकाले यसलाई निभाउन वर्षा नै कुर्नुपर्ने अवस्था रहेको उनले सुनाए। देशभर अहिले १६३ वटा दमकल चालू हालतमा छन्। डढेलो विस्तार भइरहेका वन क्षेत्रमा बाटोघाटो नभएकाले आगो निभाउन ती उपयोगमा आउन सकेका छैनन्।
चैतको पहिलो हप्ता यसै गरी डढेलो देशव्यापी बनेको थियो। त्यतिबेला पनि पानी परेकैले डढेलो निभेको थियो।
डढेलोसँगै आगलागीका घटना पनि बढेका छन्।
वैशाख १ गतेदेखि यता मात्रै एक हजार ३४ वटा आगलागीका घटना भएका छन्। जसमा परी १५ जनाको मृत्यु भएको छ। ७९ हजार घाइते भएका छन्।
आगलागीबाट एक हजार ३७९ परिवार प्रभावित भएका छन्।
यो अवधिको आगलागीबाट ३४ करोड २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको गृह मन्त्रालयको तथ्यांक छ।