प्रि–मनसुन अवधिमा वर्षा नहुँदा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ।
वैशाख सुरू भएयतामात्रै आगलागीबाट ७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।
आगलागीबाट ३० जना घाइते भएका छन्। तीन सय ७१ परिवार प्रभावित भएका छन्।
यसअवधिमा भएको आगलागीबाट १६ करोड ७७ लाख बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ।
बुधबारमात्रै महोत्तरीको मटिहानीमा फैलिएको आगलागी ६ घन्टापछि नियन्त्रणमा आयो। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
उनकाअनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका थिए। विपन्न र मुस्लिम समुदायको बाहूल्य रहेको उक्त बस्तीमा अधिकांश फुसका घर थिए। आगोको लप्काले ७–८ वटा अर्ध कच्ची घरसमेत भेटेको थियो।
‘एक सय एक घर जलेको भन्ने छ। हामीले एक सय मात्रै पहिचान गरेका छौं। आगलागीबाट मानवीय क्षति भएको छैन। पाँच वटा बाख्रा र दुई वटा सुँगुर जलेका छन्,’ प्रजिअ गेलालले भने।
आगलागीको कारण भने यकिन भइनसकेको उनले बताए। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पनि गेलालको भनाइ छ। बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए।
पानी नपरेकाले आगलागी र डढेलेको प्रकोप देशव्यापी बन्न पुगेको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए।
‘पानी नपरेर सुख्खा बढेको छ, हावाहुरी चल्ने मौसम भएकाले एक ठाउँमा सल्किएको आगो तुरुन्तै अन्यत्र फैलने जोखिम हुन्छ,’ उनले भने, ‘अहिले पनि धेरै ठाउँमा आगलागी भइरहेका छन्। स्थानीय प्रशासनको सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’
वन तथा भूसंरक्षण विभागकाअनुसार बिहीबारसम्म ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फलिएको छ। पछिल्लो एक साताको अवधिमा दुई सय ७४ वन क्षेत्रमा डढेलो लागेको छ। अहिलेसम्म प्यूठानको २६, सुर्खेतको २४ वटा वन क्षेत्रमा डढेलो सल्किएको छ।
दाङको १८, बर्दियाको १७ वन क्षेत्रमा डढेलो फैलिएको छ। कैलालीको १३, डोटीको १२ र डडेलधुराको ११ वन क्षेत्रमा डढेलो फैलिएको छ।
‘हावाहुरीका कारण जिल्लाभरि डढेलोको प्रकोप बढेको छ। दुई दिनअघि क्राँक्रेबिहार क्षेत्रमै डढेलो लाग्यो। नेपाली सेना, प्रहरी र जनसमुदायसमेत परिचालन गरेर हामीले जंगलको आगो वस्ती पस्न दिएका छैनौं,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सेतोपाटीसँग भने।
बासस्थान खोज्दै गाउँ झर्न थाले वन्यजन्तु
बागलुङको निसीखोला गाउँपालिकाको खाडाचौर क्षेत्रमा अहिले पनि डढेलो फैलिइरहेको छ।
बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौं सामुदायिक वनमा डढेलो फैलिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। डढेलोबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जंगल उजाडिएको प्रशासनले बताएको छ।
ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ। स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन्।
वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन। ठूला–ठूला काठ, मुडा डढेको प्रशासनको भनाइ छ। पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन।
आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन्।
पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन्। त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो सङ्ख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन्।
पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका वडा नम्बर ८ का गुमानसिंह घर्तीमगरले बताए। एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उनको भनाइ छ। खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतंक मच्याउन थालेको घर्तीले बताए।
‘पहिले घाँसदाउरा ल्याउन जंगलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन्,’ घर्तीले भने, ‘घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् वनमा आगो लागेको छ।’
स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाए। बाँदर, घोरल र स्यालले भित्र्याउने बेलाको गहुँबाली नष्ट गरिदिएको उनको भनाइ छ। आफ्नो घर जङ्गल छेउमै रहेको हुँदा सबैभन्दा बढी क्षति पनि आफ्नै गरिदिएको विकले गुनासो गरिन्। पहिलेको तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको र माथिल्लो क्षेत्रका जीवजन्तु सबै तल्लो भेगमा झरेको उनको भनाइ छ।
दिन प्रतिदिन डढेलो लाग्दै गएपछि गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताइन्। फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा डढेलो लागेको उनले बताइन्। डढेलो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको केसीले बताए। उनकाअनुसार अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर छ।
‘बागलुङमा यस वर्ष धेरै ठाउँमा आगलागी भयो, नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय बागलुङले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौं,’ उनले भनिन्।
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जंगल नष्ट
पर्वतमा चैत दोस्रो सातादेखि सुरू भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जंगल सखाप पारेको छ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जंगल डढेलोले सखाप परेको छ। पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरू भएको हो। बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिए।
‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ,’ उनले भने।
मुलुकी ऐनले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ। वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन।
‘डढेलो सल्काउनु दण्डनीय कार्य हो भनेर बुझाइरहेका छौं। त्यस्ता मानिस भेटिए भने तुरुन्तै ल्याउनू, आवश्यक कारबाही अगाडि बढाउँछु भनेर निर्देशन दिइएको छ,’ सुर्खेतका प्रजिअ आचार्यले भने, ‘अहिलेसम्म फेला परेका छैनन्। जथाभावी आगो सल्काउने कार्यले नै डढेलाले प्रकोपको रूप लिएको हो।’
जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।
गाईखर्क सामुदायिक वनमा मंगलबार लागेको डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक-एक वटा घर आगोले जलेर नष्ट भएको हो।
आगलागीबाट ५३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
‘खरबारीबाट सल्किएको आगो जंगलमा प्रवेश गरेको रहेछ, प्रहरी र स्थानीयले निभाउने प्रयत्न गर्दा नजिकैको बस्तीमा प्रवेश गरेर घटना हुन पुग्यो, कतिपय घर खरको छानो भएकाले आगो निभाउन कठिनाइ भयो, बस्तीको आगो निभाइयो तर अझै वनको आगो निभाउन सकिएको छैन,’ उनले भने।
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ। ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।
फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ।
डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ। गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ।
डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन्। डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए।
जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए।
कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनले बताए। दैनिक रूपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए।
यहाँ पनि डढेलोबाट जोगिन जंगली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् ।
जल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन्।
‘खेतबारीमा लगाएको बाली र बँदेल र बाँदरले नष्ट गरे। वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मंगला गाउँपालिका– ५ का किसान टिकानाथ कँडेलले भने।
बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए। मालिका गाउँपालिकाको वडा नम्बर ६ उपल्लो दुखु,वडा नम्बर १ निस्कोट र वडा नम्बर २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन्।
मालिका गाउँपालिका वडा नम्बर ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताए।
कहिले पर्छ पानी?
दिनभर चरक्क घाम चर्कने अपराह्नपख, हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने प्रि–मनसुनको मौसमी चरित्र हो। तर पछिल्लो एक साताको अवधिमा खासै पानी परेको छैन। जसले गर्दा पनि डढेलोको प्रकोप बढाएको छ।
पछिल्लो एक साताको अवधिमा ताप्लेजुङमा ९.१ मिलिमिटर वर्षा मापन भएको मौसमविद् रोजन लामिछानेले बताए।
पछिल्लो २४ घन्टामा मुस्ताङको लेते केन्द्रमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ।
बुधबार मुगुको रारा केन्द्रमा ८ मिलिमिटर वर्षा मापन भएको देखिन्छ।
मंगलबार तनहुँ आसपास फाटफुट वर्षा भएको थियो। सोबार रुपन्देहीमा क्षेत्रमा ७.८ मिलिमिटर वर्षा मापन भएको थियो भने वैशाख ७ गते ताप्लेजुङ र दोलखाको काब्रे केन्द्रमा २.५ मिलिमिटर वर्षा मापन भएको थियो।
मौसमविद् लामिछानेका बिहीबार कोशी, गण्डकी र कर्णालीका उच्च तथा हिमाली भेगमा बदली र छिटपुट वर्षाको सम्भावना देखिए पनि अन्यत्र पानी पर्ने अवस्था छैन। उनले तराई–मधेसका भूभागमा तत्काल वर्षात्को सम्भावना नदेखिएको बताए।
जसले गर्दा डढेलो निभ्न अझै केही समय लाग्ने देखिन्छ। गत चैतको पहिलो साता यसैगरी डढेलो देशव्यापी फैलिएको थियो। त्यसबेला पानी परेपछि डढेलो निभेको थियो।