काठमाडौं महानगरपालिकाले २०७९ साउन १ देखि नै कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाउने भन्दै ३२ वटै वडा र फोहोर संकलन गर्ने निजी संघ-संस्थालाई परिपत्र गरेको थियो। तर अहिले पनि ३० वटा वडाको तौरतरिका पुरानै छ।
यो आलटालले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि समस्याको निकट पुगेको छ।
महानगरका ३२ वडामध्ये ३० वटाले अहिलेसम्म नगरेको काम जसले सुरू गरिसकेका छन्, ती दुई वडा कुन हुन् त?
हाम्रो यो स्टोरी फोहोर छुट्टयाउने विधि अवलम्बन गरेका तिनै दुई वडाको हो।
ती वडा हुन् — २७ र १०।
वडा नम्बर २७ ले माघ १० गतेबाट र वडा नम्बर १० ले फागुन २४ बाट जैविक र अजैविक फोहोर छुट्टयाउन थालेको हो।
पछिल्लो समय २५ र ५ नम्बर वडामा पनि वर्गीकरण अभ्यास सुरू गर्न लागेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठ बताउँछन्। तर त्यहाँ काम सुरू हुनै बाँकी रहेकाले आज हामी २७ र १० नम्बर वडाले कसरी फोहोर व्यवस्थापन गरिरहेको छ भन्नेबारे चर्चा गर्नेछौं।
काठमाडौंमा सबभन्दा पहिला फोहोर छुट्याउन थालेको वडा नम्बर २७ वीर अस्पतालपछाडि महाबौद्धदेखि सञ्चय कोष भवनसम्मको क्षेत्र हो। यो क्षेत्रबाट निस्कने फोहोर महानगर आफैंले उठाउँछ। महानगरको वातावरण व्यवस्थापन विभागले दैनिक तीनवटा साना गाडीमा फोहोर संकलन गर्छ।
यहाँ दैनिक ६-७ टन फोहोर निस्कन्छ, जुन काठमाडौं महानगरमा दैनिक निस्कने हिस्साको एक प्रतिशत मात्र हो। अहिले काठमाडौं महानगरमा दैनिक ७०० टन फोहोर निस्कन्छ। यसको ठूलो हिस्सा भान्साको फोहोरले ओगट्छ।
महानगरले २७ नम्बर वडाबाट फोहोर वर्गीकरण सुरू गर्ने भनेपछि स्थानीय टोल, उपभोक्ता, आमा समूह र विभिन्न संघ-सस्थालाई बोलाएर वर्गीकरण विधि सिकाएको वडाध्यक्ष योगेशकुमार खड्गी बताउँछन्।
उनका अनुसार अहिले यो वडाले कुहिने र नकुहिने फोहोर मात्र छुट्याइरहेको छ। वडावासीले दुईथरी फोहोर छुट्टाछुट्टै भाँडा वा प्लास्टिकमा जम्मा गर्छन्। वर्गीकरण गरिएको फोहोर कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ। अहिलेलाई हरेक बिहान आउने महानगरको गाडीले दुवैथरी फोहोर संकलन गर्छ। चिन्न सजिलो होस् भनेर गाडीको फोहोर राख्ने ठाउँलाई रातो र नीलो रंग पोतेर दुई भागमा छुट्टयाइएको छ।
यसरी संकलन गरिएको फोहोर टेकु ट्रान्सफर केन्द्र लगेर छुट्टयाउने गरिन्छ। महानगरले कुहिने फोहोर प्रांगारिक मल बनाउन जम्मा गरिरहेको छ भने नकुहिने फोहोर पुनः वर्गीकरण गरेर बिक्रीका लागि टेन्डर आह्वान गर्ने तयारी गरिरहेको अध्यक्ष खड्गीले बताए।
'घरघरमा फोहोर छुट्टयाउने विधि लागू गर्नै हामीलाई लामो समय लाग्यो,' अध्यक्ष खड्गीले भने, 'गाडी आइनपुग्दै फोहोरको थैला सडकमै छाडेर जाने परिपाटी कम गर्न साइरन बजेपछि मात्र फोहोर निकाल्न भनिरहेका छौं। यसलाई संस्कार बनाउन अझै सकिएको छैन।'
स्रोतमै वर्गीकरण गर्दा फोहोरको परिमाण ह्वात्तै घट्ने उनको भनाइ छ।
'स्रोतमा फोहोर नछुट्टयाउँदा १५-१६ टनसम्म संकलन हुन्थ्यो। अहिले आधाभन्दा कम छ। भान्साबाट उत्सर्जन हुने फोहोरबाट मल बनाउन सकिन्छ भन्ने बुझेपछि घरधनीहरूले १५ सय रूपैयाँको कम्पोष्ट बिन किनेर मल बनाउन थाल्नुभएको छ। त्यो मल गमलामै खपत हुन्छ,' उनले भने।
कतिपयले स्रोतमा फोहोर नछुट्टयाइदिँदा वर्गीकरण चुनौतीपूर्ण बनेको वडाध्यक्ष खड्गी बताउँछन्।
'घरघरबाट निस्कने फोहोर हामी एउटै भाँडामा हालिदिन्छौं। प्लास्टिकको थैलामा फोहोर थुपारिदिन्छौं। भान्साबाट निस्किएको तरकारीका जरा-पात-डाँठ आदि पनि त्यसैमा राख्छौं। सिसाका टुक्रादेखि औषधिका बोतलसम्म एकैठाउँ जम्मा गर्छौं। यो प्रवृत्ति त्याग्न कठिन हुँदो रहेछ,' उनले भने।
अब कुरा गरौं, वडा नम्बर १० को।
यो वडाले आंशिक रूपमा मात्र फोहोर स्रोतमा वर्गीकरण गरिरहेको छ। अहिले पुरानो बानेश्वर लगायत ठाउँमा करिब हजार घरमा वर्गीकरण सुरू गरिएको वडाध्यक्ष राजकुमार केसी बताउँछन्।
उनका अनुसार यहाँ 'एक्सन वेस्ट' र 'मेट्रो सिटी वेस्ट' ले फोहोर व्यवस्थापन गरिरहेका छन्। वडाले उनीहरूलाई परिचालन गरेर फोहोर स्रोतमा छुट्टयाइरहेको छ।
महानगरको सामाजिक समितिका संयोजकसमेत रहेका वडाध्यक्ष केसीले भारतको मध्यप्रदेशस्थित इन्दोर सहरको फोहोर प्रशोधन केन्द्र हेरेर आएपछि त्यस्तै अभ्यास सुरू गरेको बताए।
'हामीले केही ठाउँमा फोहोर वर्गीकरण सुरू गरेका छौं। फोहोर व्यवस्थापनको पहिलो पाइला नै वर्गीकरण हो। यसो नगर्दा फोहोर व्यवस्थापन समस्याग्रस्त बनिरहेको छ,' उनले भने, 'अहिले हाम्रो काम स्थानीयवासीलाई यही कुरा बुझाउने भइरहेको छ।'
'स्रोतमा फोहोर छुट्टयाउने कार्यमा सबैलाई अभ्यस्त गराउन समय लाग्ने रहेछ। जहाँ पायो त्यहीँ फोहोर फाल्ने गलत अभ्यास बसेको छ। त्यसबाट बाहिर ल्याउन र वर्गीकरण नगरी फोहोर गाडीसम्म नपुर्याउन अभिमुखीकरण गरिरहेका छौं,' उनले भने।
वडा नम्बर १० मा १३ हजार घरधुरी छन्। वडाभित्र झन्डै ७० हजार मानिस बसोबास गर्छन्। वडा नम्बर २७ मा जस्तै यहाँ पनि एउटै गाडीमा र एकैदिन कुहिने र नकुहिने फोहोर संकलन गरिने केसीले बताए।
यसका लागि ट्रकको पछाडिको भागलाई दुई भागमा छुट्टयाएर हरियो र नीलो रङ लगाइएको छ। हरियो रङ लगाएको भागमा कुहिने फोहोर संकलन गरिन्छ भने नीलो भागचाहिँ नकुहिने फोहोरका लागि हो।
यसरी संकलन गरेको फोहोर एक्सन वेस्टले आफैं वर्गीकरण गर्छ। जैविक फोहोर भने बञ्चरेडाँडा क्षेत्र नै पुर्याउने गरेको वडाध्यक्ष केसीले बताए।
'त्यहाँ महानगरले छुट्टै ठाउँ दिएको छ। भुस, पिना, रातो माटो आदि मिसाएर मल बनाउने प्रक्रिया सुरू गरेको छ,' एक्सन वेस्टका प्रबन्ध निर्देशक देवेन्द्र खड्काले भने।
काठमाडौंका यी दुई वडाले बाहेक अन्यले घरघरमै फोहोर वर्गीकरण गर्न आलटाल गरेपछि फोहोर व्यवस्थापनको बेथिति अन्त्य हुन सकेको छैन। २० वर्षलाई भनेर निर्माण गरिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट केही वर्षमै भरिने अवस्था आउँदैछ। यही अवस्था देखेर ल्यान्डफिल साइट वरपरका बासिन्दाले आउँदो शनिबार (चैत २४ गते) देखि आन्दोलनको तयारी गरेका छन्।
प्रभावित क्षेत्रका बासिन्दा, काठमाडौं महानगरपालिका र संघीय सरकारबीच भएका सहमति कार्यान्वयनमा उदासीनता देखिएको भन्दै उनीहरूले संघर्षमा ओर्लिनुपरेको बताएका छन्।
बञ्चरेडाँडा क्षेत्रलाई मानव बसोबासरहित ठाउँ बनाउनुपर्ने, फोहोरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र बनाउनुपर्ने उनीहरूको माग छ।
फोहोरमैला विकास प्राधिकरण गठन र फोहोरमैलासम्बन्धी उद्योग स्थापना गर्नुपर्ने माग पनि रहेको सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले बताए।
एकातिर स्थानीयले पुनः आन्दोलनको घोषणा गरेका छन् भने अर्कातिर काठमाडौं महानगर लगायत स्थानीय तहले फोहोर व्यवस्थापनमा गर्नुपर्ने प्राथमिक काम पनि गर्न सकेका छैनन्। उपत्यकाको फोहोरले धादिङ, नुवाकोट र काठमाडौंलाई फेरि पिरोल्ने स्थिति बन्दैछ।
यो समस्या समाधानको पहिलो पाइला स्रोतमा फोहोर छुट्टयाउने नै हो।
यसबारे काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग कुरा गर्दा उनले २०८२ वैशाखभित्र फोहोर स्रोतमा छुट्टयाउने योजना सबै वडामा लागू गरिसक्ने दाबी गरे। वर्गीकरण नगरिएको फोहोर व्यवस्थापन गर्दा बञ्चरे क्षेत्र भरिँदै गएकोमा महानगर जानकार भएको पनि उनले बताए।
'अबको चार-पाँच वर्षभित्र बञ्चरे क्षेत्रमा फोहोर नै नपठाउने गरी योजना बनाइरहेका छौं,' उनले भने।
वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठ भने जैविक फोहोरलाई प्रांगारिक मल बनाउन थालिए पनि योजनाकै रूपमा अघि बढाउन नसकिएको बताउँछन्। उनका अनुसार जैविक फोहोर व्यवस्थापनका लागि महानगरले जग्गाको प्रबन्ध मिलाउन सकेको छैन।
महानगरले प्रांगारिक मल बनाउन जापानी प्रविधि अनुसरण गरिरहेको छ। यसअन्तर्गत जैविक फोहोरमा रातो माटो, भुस र पिनाको मात्रा मिसाइन्छ। थुपार्दै, थुपार्दै कम्पोस्ट मल बनाइन्छ।
यसो गर्दाको चुनौती पनि श्रेष्ठले सुनाए।
उनका अनुसार टेकु घना बस्तीको बीचमा रहेकाले जैविक फोहोर थुपार्दा हुने गन्ध कम गर्न फोहोर र पिना, भुस र रातोमाटो ५०-५० प्रतिशत मिलाउनुपर्छ।
'नत्र टेकु-कालिमाटीसम्म दुर्गन्ध फैलन्छ,' उनले भने, 'स्थानीयवासी गुनासो गर्न आइहाल्नुहुन्छ।'
यसरी कम्पोस्ट मल बनाउँदा प्रतिकिलो २० रूपैयाँसम्म लागत पर्ने पनि श्रेष्ठले बताए। त्यो मल कहाँ बेच्ने भन्ने कुनै योजना बनेको छैन। ज-जसले स्रोतमा फोहोर छुट्टयाएको छ, उनीहरूलाई नै वितरण गर्ने महानगरको योजना छ।
आगामी दिनमा फोहोर वर्गीकरण विधि सबै वडामा लागू गर्दै जाने नीतिअनुरूप भित्री सहरमा फोहोर संकलन गर्न २० वटा गाडीमा 'पार्टेसन' गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। यसका लागि आठवटा गाडी तयारी अवस्थामा छन्।
'हामीले सुरूमा तीन दिन जैविक, तीन दिन अजैविक गरी फोहोर संकलन गर्ने कार्ययोजना बनाएका थियौं। त्यो सफल नभएपछि गाडीमा पार्टेसन गरेर एकैदिन फोहोर संकलन गर्ने कार्ययोजना अघि सारेका हौं,' उनले भने, 'भारतको इन्दोर सहरको अनुभव हेर्दा पनि यो सफल हुने देखिन्छ।'
महानगरले अहिले बञ्चरेडाँडा क्षेत्रमै कम्पोस्ट मल बनाउने प्रक्रिया पनि सुरू गरेको छ। स्थानीयले पनि बञ्चरेडाँडामै प्रांगारिक मल बनाउने कारखाना बनाउनुपर्ने माग राख्दै आएका छन्। तर त्यसअघि बञ्चरेडाँडा आसपासलाई मध्यवर्ती क्षेत्र घोषणा गर्दै करिब ३५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने उनीहरूको माग छ।
स्थानीयसँगको द्वन्द्वकै बीच महानगरले बञ्चरे क्षेत्रमा कम्पोस्ट मल बनाउने प्रक्रिया अघि बढाउन सक्दैन। अर्कातिर वर्गीकरणको योजना जति धकेलिँदै जान्छ, त्यति नै काठमाडौं उपत्यकाको फोहोरको रासले बञ्चरे क्षेत्र भरिँदै जान्छ।
यो पनि पढ्नुहोस्: