हुलाकी राजमार्ग मोरङ खण्डको काम लामो समय पर धकेलिँदा सर्वसाधारणका लागि सडक सुविधाको साटो सास्तीमा परिणत भइरहेको छ।
यही सास्तीले मोरङ खण्डका सर्वसाधारणलाई बारम्बार आन्दोलित बनाउँदै आएको छ। यही नियतिले निरन्तरता पाउँदा यसपटक मोरङको कहटरीका नेपाली काँग्रेस कार्यकर्ता चार दिन यता सडकमा आन्दोलनरत छन्।
हुलाकी राजमार्गको मोरङ कटहरी खण्डमा गएको बिहीबारयता कांग्रेस नेतृत्वमा दैनिक दुई घण्टा सडक अवरोध हुँदै आएको छ। निर्माणाधीन सडकको काममा ज्यादै ढिलासुस्ती भएको र त्यसले दुर्घटना बढेको बताउँदै काँग्रेसले चैत १५ सडकमा अवरोध गर्दै आएको छ।
काँग्रेसले हरेक दिन बिहान ११ बजेदेखि दुई घन्टा सडक अवरोध गरिरहेको छ।
‘काम थालेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै हुनु चरम लापरबाहीको विषय हो’, कटहरी कांग्रेसका सभापति रामकुमार कामतले भने ‘सडकमा भएको खाल्डाखुल्डी धेरैको ज्यान लिने धराप बनेको छ। सडक बिस्तारका क्रममा अस्तव्यस्त रहेको सडकको खाल्डो सम्याइएको छैन। सडक धुलाम्ये छ। दैनिक पानी हाल्न गरिएको अनुरोध पनि मानिएको छैन। त्यसैले आन्दोलनमा उत्रिन बाध्य भयौं।’
उनले सडकको अवस्था सुधार नभएसम्म अवरोध जारी राख्ने बताए।
हुलाकी राजमार्गको मोरङ खण्डमा सर्वसाधारण सडकले दिएको सास्तीविरुद्ध लामो समयदेखि आवाज उठाइरहेका छन्। आन्दोलनमा समेत पटकपटक ओर्लिसकेका छन्।
अघिल्लो वर्ष स्थानीयबासीसहित मोरङका सबै संघीय सांसद्, प्रदेश सांसद र स्थानीय सरकार प्रमुखहरुले संयुक्त आन्दोलनको चेतावनी नै दिएका थिए। स्थानीयबासीले जिल्ला प्रशासनमा हप्तौंसम्म धर्ना दिएका थिए।
सर्वसाधारणको लामो धर्नापछि समयमै सडक निर्माण गर्न सरकारमार्फत ठेकेदारलाई दवाब दिने सहमति जिल्ला प्रशासनसँग भएपछि धर्ना रोकिएको थियो। गएको साउनमा कटहरी हुलाकी मार्ग संघर्ष समिति र जिल्ला प्रशासन कार्यालयबीच यस्तो सहमति भएपनि अहिले फेरि अवस्था उस्तै बनेको छ।
नेपाल सरकारबाट सडक निर्माणको ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सनले पेटीका रुपमा अन्य ठेकेदारहरुलाई निर्माणका जिम्मा दिएको र साना ठेकेदारले काम गरेको भूक्तानी नदिइएकाले सडकको काम रोक्नु परेको बताइरहेका छन्।
सडकको किनार खनेर छाडिएकाले कटहरी खण्डमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ।
दुवै किनारमा नालाका लागि पर्खाल लगाइए पनि कतिपय ठाउंमा सडकतर्फ माटो नभरिएकाले खाडलमा सवारी साधन छिरेर दुर्घटना हुने गरेको छ।
मोरङका प्रदेश सांसद लीलाबल्लभ अधिकारीका अनुसार धनपालथान गाउँपालिकाको दादरबैरियादेखि विराटनगरको हाटखोलासम्मको करिब १२ किलोमिटर सडक क्षेत्र लामो समयदेखि अस्तव्यस्त रहेको छ।
‘सडकमा गत वर्ष लामो समय काम भएन, ठेकेदार पक्ष बेपत्ता बनेपछि हामीले संघीय सरकार गुहार्यौं’, सांसद अधिकारीले भने ‘अहिले काम त भइरहेको छ। तर, जनताका आँखामा छारो हाल्ने ढंगको काम भइरहेको छ। केही दिन काम हुने अनि हप्तौंसम्म बन्द हुने क्रम चलिरहेको छ। कच्ची र भत्केको बाटोले जनतालाई ठूलो समस्या दिइरहेको छ। धुलो र हिलोको समस्या उस्तै छ।’
मोरङका ५ वटा स्थानीय तहका सर्वसाधारणका लागि वर्षौंदेखि हुलाकी सडक सास्ती बनेर उपस्थित छ। झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन्।
‘सडकछेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था छैन, हिउँदमा घर धुलोले छपक्कै छोप्छ र अब बर्खामा हिलोले बाटो हिँड्नै सकिन्न’, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदारले भने ‘यो अवस्थाले ज्यादै ठूलो सकस भएको छ।’
जतिबेला नेपालमा राणाहरूको शासन थियो, त्यसबेला तराईका उब्जाउ क्षेत्रमा उनीहरूका प्रतिनिधि विभिन्न जिम्मेवारी लिएर बस्थे। झापाको भद्रपुरदेखि मोरङको रंगेली, विराटनगर हुँदै पश्चिम नेपालका विभिन्न ठाउँमा राणाले खटाएका कर्मचारीहरू परिचालित थिए। त्यहीबेला उनीहरूबीच चिठीपत्र आदानप्रदान गर्ने रूट थियो अहिलेको हुलाकी राजमार्ग। राणा प्रधानमन्त्री पद्मशमशेरले हुलाकी सडकको रेखा कोर्न लगाएको मानिन्छ।
त्यसबीचमा पटक–पटक हुलाकी राजमार्ग बन्ने हल्ला चल्यो। कयौंपटकको चुनावमा दलहरूले यसलाई चुनावी एजेन्डा बनाए। तर, हुलाकी सडक निर्माणको काम ठोस रूपमा सुरू हुन भने २०६२/०६३ को जनान्दोलनपछिको समय कुर्नपर्यो। त्यसबेला नेपाल–भारतबीच १ हजार ४ सय ४० किलोमिटर सडक निर्माणबारे सम्झौता भयो। तर, भारतीय पक्षले पटकपटक काम अलपत्र पारेपछि अहिले नेपाल आफैंले यो सडक बनाइरहेको छ।
तराई–मधेसको पूर्वमा झापाको भद्रपुरदेखि पश्चिममा कञ्चनपुरको दैजीसम्मको सडक हुलाकी राजमार्गको रूपमा चिनिन्छ। मुख्यतः पूर्व-पश्चिम सडकका रूपमा चिनिने यो सडकमा उत्तर–दक्षिण लिंक रोडसमेत छन्। जसअनुसार हुलाकी राजमार्गको कूल लम्बाई १७९२.४२ किलोमिटर छ। त्यसमध्ये पूर्व–पश्चिम सडकको लम्बाई ९७५ किलोमिटर छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन ल्याएको यो सडकले झापाको भद्रपुरबाट पश्चिममा कन्चनपुरको दैजीसम्मको तराई–मधेशका जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्छ। हुलाकी सडक आयोजना कार्यालय इटहरीका अनुसार तराई मधेसका २१ जिल्लाका ८० लाखभन्दा बढी जनसंख्या यो सडकबाट प्रत्यक्ष लाभान्वित हुने अनुमान छ।
यही गौरवको आयोजनामा भने सधैं लापरबाही हुने गरेको छ। अहिले मोरङमा चलेको आन्दोलन यही लापरबाहीको उपज हो।
हुलाकी सडक कार्यालय इटहरीका प्रमुख बलिराज मल्ल अहिले काम चलिरहेको बताइरहेका छन्। तर, चलेकै काम पनि राम्रोसँग नभएको भन्दै स्थानीयबासी आन्दोलन गरिरहेका छन्।
कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रभात किरण राईका अनुसार मोरङमा हुलाकी सडकको कूल लम्बाइ ४४ किलोमिटर छ। त्यसमध्ये विराटनगर बजार क्षेत्रको अढाई किलोमिटर क्षेत्रबाहेक सबैतिर सडक निर्माणकै चरणमा छ।
रतुवाखोलादेखि १६ दशमलव ५ किलोमिटर पश्चिमसम्मको क्षेत्रको सडकको काम पूरा भइसकेको छ। पिएस गजुरमुखी मोतीदान जेभीले लिएको यो खण्डको काममा कुनै समस्या नभएको कार्यालयले जनाएको छ। त्यस्तै रंगेलीदेखि बेतौनासम्मको ७ दशमलव ५ किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ।
तर, बेतौनादेखि हाटखोलासम्मको क्षेत्रको सडकमा सबैभन्दा धेरै समस्या देखिएको छ। अहिले यो खण्डमा कतै पुर्ने (फिलिङ ) कतै नालाको काम भइरहेको सूचना अधिकारी राईले जानकारी दिए।
‘कामहरु चलिरहेको छ’, राईले भने ‘तर, यही खण्डमा भुक्तानीमा ढिलाइ हुँदा काम भने जसरी अघि बढ्न सकेन।’
जनप्रतिनिधिहरु भने पहुँचवाला ठेकेदार कम्पनीलाई राजनीतिक आड भरोसाले साथ दिएपछि त्यसको मार सर्वसाधारणले भोग्नुपरेको बताउँछन्।
‘ठेकेदारले पेटी ठेक्कामा दिएर भुक्तानीमा गडबड गरेको सुनिन्छ’, सांसद अधिकारीले भने ‘ठेकेदारहरुलाई ठूलो राजनीतिक संरक्षण छ। त्यसैले तल जनताले सडकका नाममा जति नै दुःख पाए पनि सरकारले सुनेको नसुन्यै गर्छ। अनेक बहानामा टार्ने काम भइरहन्छ। सरकार मौन बसेपछि ठेकेदारको मनपरी चलिरहन्छ।’