पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपास विकास भएको मौसमी प्रणालीको असर नेपालको पूर्वी र मध्यभागमा परेको छ।
जसका कारण शनिबारसम्मै बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबार अपराह्न बागमती, मधेस र कोशी प्रदेशमा छिटपुटदेखि मध्यम वर्षा भएको छ।
‘मकवानपुरको गढीमा मध्यम वर्षा भइरहेको छ। कोशीसम्म नै छिटपुट वर्षा देखिन्छ। पश्चिमतिर भने बदली देखिएको छ,’ उनले भने, ‘यो क्रम शनिबारसम्मै रहन्छ।’
मकवानपुरको गढीमा पछिल्लो एक घन्टामा १२ मिलिमिटर र २४ घन्टामा २५.६ मिलिमिटर पानी परेको छ।
सिन्धुलीको हरिहरपूरगढीमा पछिल्लो एक घन्टामा २६.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा भने छिटपुटमात्रै वर्षा भएको छ।
ललितपुरको लेलेमा पछिल्लो २४ घन्टामा १५ मिलिमिटर र काठमाडौंको त्रिभुवन विमानस्थल केन्द्रमा ५.२ मिलिमिटर मापन भएको छ। कीर्तिपुरमा पनि ५.२ मिलिमिटर वर्षा मापन भएको छ।
मधेस र पूर्वतिर भने उल्लेख्य पानी परेको छ।
सिराहाको गोलबजारमा मध्यम वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ४३.४ मिलिमिटर वर्षा भएको छ। सिराहाकै लहानमा ३६.४, सप्तरीको कल्याणपुरमा ३३.४, चुरेमाई क्षेत्रमा ३३.२ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो २४ घन्टामा धनकुटाको पाख्रिबास क्षेत्रमा सबैभन्दा धेरै पानी परेको छ। त्यहाँ ५९ मिलिमिटर पानी परेको छ। धनकुटाकै लेगुवाघाटमा ४२.२ मिलिमिटर पानी परेको छ। इलाको राके क्षेत्रमा ५२.८ मिलिमिटर पानी परेको छ।
त्यस्तै खोटाङ बजार क्षेत्रमा पनि उल्लेख्य पानी परेको छ। खोटाङमा ४३.४ मिलिमिटर पानी परेको छ।
पानीले निभायो डढेलो
फागुनदेखि सुरू भएको डढेलो चैत महिनापछि ह्वात्तै बढेको थियो। चैत ६ गते २४ घन्टाको अवधिमा ५३ वटा आगलागीका घटना भएका थिए। जसमा दुई जनाको मृत्यु भएको थियो।
चैत ६ गते १४ स्थानमा डढेलो र ३९ स्थानमा आगलागीका घटना भएका थिए।
चैत ६ गते पूर्वमा डढेलो र आगलागीको घटना बढी भएका थिए। चैत पाँच गते ३१ स्थानमा आगलागी र १७ स्थानमा डढेलोका घटना भएका थिए। जसबाट दुई जनाको मृत्यु र २ जना घाइते भएका थिए।
बुधबार र बिहीबार मध्य र पूर्व क्षेत्रमा पि–मनसुन सक्रिय भएको छ। जसले पूर्व क्षेत्रमा अनियन्त्रित हुन थालेको डढेलो निभाइदिएको छ।
अहिले पश्चिमतर्फ ११ स्थानमा डढेलो सक्रिय रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले वर्षातका कारण पूर्वी क्षेत्रको डढेलो नियन्त्रणमा आएको उल्लेख गरेका छन्।
यसैबीच प्रि–मनसुन सुरू भएलगत्तैको वर्षाले कृषकलाई पनि राहत पुगेको छ। हिमाली तथा पहाडी क्षेत्रमा मकै छर्ने बेला भएको छ। साथै पहाडी भूभागमा लगाइका गहुँ, जौ, मकै र तेलहन बालीलाई पनि यसले राहत दिइको कृषकले बताएका छन्।