चैत सुरू भएपछि देशभर आगलागीका एक सय २२ वटा घटना भए।
गृह मन्त्रालयका अनुसार पछिल्लो पाँच दिनमा आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते छन्।
आगलागीबाट एक सय ९७ परिवार प्रभावित भए भने १२ करोड ८ लाख ५६ हजार नौ सय ५० रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले जनाएको छ।
एकीकृत पर्वत विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा आगलागीका एक सय २९ घटना भएका छन्। देशका पूर्वदेखि पश्चिमसम्म वन डढेलो र आगलागी भएको छ।
सोमबार मात्रै तेह्रथुमको फेदाप गाउँपालिकामा आगलागीबाट १७ घर जल्यो। वडा नम्बर १ को सिम्लेस्थित सामुदायिक वनमा सल्किएको डढेलो अनियन्त्रित हुँदा आगो गाउँ पसेको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
त्यहाँको आगो सोमबार साँझसम्म नियन्त्रणमा आइसकेको छैन। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहितको टोली परिचालन गर्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको उनले बताए।
‘तेह्रथुममा सुख्खा क्षेत्र धेरै छन्, आगो कल्पनै गर्न नसकिने तवरले फैलिइरहेको छ। नियन्त्रणका लागि हामीले मानवीय स्रोत–साधन त परिचालन गरेका छौं। तर हावाको वेगका कारण आगोले दुई–तीन सय मिटरसम्म पनि फड्को मारिरहेको छ,’ उनले भने।
उनकाअनुसार फेदापका १७ घरमध्ये ७ घरमा मानिसको बसोबास थिएन। बसाइँ सरेर गइसकेकाले ती घर रित्ता थिए। मानव बसोबास भएका १० घरलाई भने राहत वितरण गरिएको उनले बताए। ती घर–परिवारलाई पुनःस्थापना गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए।
‘स्थानीय विपद् व्यवस्थापन समितिले आइतबार नै पीडितलाई खाद्यान्न, त्रिपाल लगायतका सामग्री दिएको थियो। सोमबार जिल्ला विपद्ले बसोबास गुमाएका पीडितमध्ये पाँच जना परिवार भएकालाई जनही १५ हजार र त्यसभन्दा माथि परिवार भएकालाई जनही २० हजारका दरले सहयोग उपलब्ध गराएका छौं,’ उनले भने।
उनले पुनःस्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताए। ‘बसोबास गुमाएकाले निजी आवास अनुदानअन्तर्गत प्रति परिवार चार लाख रूपैयाँका दरले राहत पाउँछन्। तीनै तहको समन्वयमा राहत वितरण गर्ने गरी प्रक्रिया अघि बढाइसकिएको छ,’ उनले भने।
खरका छाना र गरिब बस्ती जोखिममा
शनिबार मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ मा रहेको सुकुम्बासी बस्ती आगोले खरानी बनायो।
बाबुसाहेव टोल नाम दिएको त्यो बस्तीमा दिउँसो साढे दुई बजेबाट आगो सल्किएको थियो।
टोलमा सन्थाल समूदायका नागरिकहरू मात्रै बस्दै आएका थिए। जंगली मुर्मुको गाई गोठबाट आगो सल्किएको अनुमान गरिएको छ।
विपन्न सन्थालहरू त्यहा तीन पुस्तादेखि आश्रित रहेको रंगेली नगरपालिकाका उपमेयर भुमा पराजुलीले बताइन्।
‘आगो नियन्त्रणमा आउन झन्डै पाँच घन्टा लागेको थियो। विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ,’ उनले भनिन्, ‘२० घरमा बस्दै आएका २८ परिवारले लुगासमेत निकाल्न पाउनु भएन। उहाँहरूलाई अहिले आगलागी भएको बस्ती अगाडिको खाली ठाउँमा पाल हालेर राखिएको छ। उनीहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार दिने घोषणा गरेका छौं। त्यसबाहेक जिल्ला विपद्ले पनि परिवार हेरी १५ हजार २० हजार रुपैयाँसम्म वितरण गरेर जानुभयो। स्थानीय संघ–संस्था, क्लब, रेडक्रस लगायतले सहयोग गरिराख्नुभएको छ।’
भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगलागी हुँदा एकाघरका तीन जना बालबालिकाको निधन भएको थियो। केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।
आगलागीको कारण भने खुलिसकेको छैन। आगोले गोठ पूर्णरूपमा जलेको थियो भने बालबालिकाहरू परालको कुन्युँमा आगोले जलेको अवस्थामा फेला परेका थिए। बच्चाहरूले आगो खेलाउँदा गोठ सल्किएको हुन सक्ने आकलन गरिएको छ।
खरका छाना भएका घरहरू जोखिमपूर्ण रहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए।
‘खरका छाना भएका घर आगलागीको उच्च जोखिममा छन्। गाउँमा यसै पनि पानीका स्रोत छैनन्। पिउने पानी नै पुर्याउन धौधौ भएका ठाउँमा आगलागी नियन्त्रण गर्ने गरी पानीको अभाव छ,’ उनले भने, ‘आजै मात्र जिल्ला विपद्को बैठक बसेको थियो। अधिकांश पालिकाले त्यही अप्ठ्यारो बताउँदै थिए।’
हतुवागढी गाउँपालिकासँग दमकल पनि छ। तर डाँडाकाँडाका बस्तीमा आगलागी हुँदा दमकल कामयावी हुन नसक्ने उनले बताए। ‘डाँडाको टुप्पामा घर हुन्छ। बाटो त पुर्याउन सकिँदैन, त्यहाँ दमकल कसरी पुर्याउनू! फेरि दमकल मात्र भएर भएन, चालक राख्नुपर्यो, अग्नि नियन्त्रक पनि राख्नुपर्यो। साह्रै खर्चिलो हुँदो रहेछ,’ उनले भने।
सामुदायिक वनमा फैलन थाले आगो!
स–साना कुराले आगलागीका घटना बढेको उनले बताए। बस्ती सरेर तलतल आइरहेका छन्। बस्तीसँगै जंगल पनि तलतल सरेका छन्। बस्तीमा मान्छेहरू पातलिँदै जाँदा वनक्षेत्र घाँसले ढाक्न थालेको उनले बताए।
यस्तोमा आगो सल्कँदा अनियन्त्रित हुने गरेको राइले बताए। ‘धेरैजसो आगलागीका घटना मान्छेका लापरवाहीले भएका छन्। सामुदायिक वन क्षेत्रबाट आगो फैलिइरहेका छन्,’ उनले भने।
तेह्रथुमका आठराइ गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले पनि यस्तै कारण औंल्याए।
सामुदायिक वन क्षेत्रबाट फैलिएको आगोकै कारण आठराइमा दुई घर जलेका छन्। तीन परिवारको बिचल्ली भएको छ।
‘संक्रान्ति बजारको पुरानो गाउँमा आगो सल्किएको थियो। दुई घर जल्दा करिब एक करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको छ,’ उनले भने।
उनले पनि खरको छाना भएकाले आगो नियन्त्रणमा आउन समय लागेको बताए।
‘कहाँबाट आगो फड्किँदै आएर धुरीमा बसिदिँदो रहेछ! गाउँपालिकासँग दमकल नभएको होइन। यस्तो बेलामा दमकल प्रयोगमा ल्याउन कठिन हुँदो रहेछ,’ उनले भने।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरि गरी एक सय ६३ वटा दमकल चालु अवस्थामा छन्।
दुर्गम क्षेत्रमा स्याउला, घाँसपात र माटोको सहारामा आगो निभाउनु परिरहेको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
‘घाँस राम्रो पलाउँछ भनेर जंगलमा आगो लगाउने क्रम बढ्यो। विशेष गरी सामुदायिक वन क्षेत्रमा यस्तो घटना भएका छन्,’ उनले भने, ‘यसैले हामीले सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला स्थित पदाधिकारी, प्रतिनिधिसँग पनि छलफल गरिरहेका छौं। वन अनुगमन, वन सचेतनाका कार्यक्रम पनि गर्नुपर्ने देखिन्छ,’ उनले भने।
ग्लोबल फायर मनिटरिङ सेन्टरले केही वर्ष अघि गरेको अनुसन्धानअनुसार ५८ प्रतिशत वन डढेलो जानीजानी वा स्वार्थवश, २२ प्रतिशत लापर्बाही र २० प्राकृतिक तथा दुर्घटनाको कारणले लाग्ने गरेको छ। नेपालका ९० प्रतिशतभन्दा बढी वनक्षेत्र डढेलोको उच्च जोखिममा छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले पनि वन क्षेत्रमा डढेलो जानीजानी लगाउने गरेको पाइएको बताइन्। डढेलासहित आगलागी नियन्त्रणका लागि तीनै तहका सरकारसँग समन्वय र सचेतनाका कामहरू भइरहेको उनले बताइन्।
‘फागुनदेखि वैशाखसम्म डढेलोका घटना बढ्छन्। यस्तो बेलामा सचेतना बढाउनुपर्ने हुन्छ। यसका लागि हामीले तीनै तहसँग समन्वय गरिरहेका छौं,’ उनले भनिन्।