माडी नगरपालिका–७ देवेन्द्रपुरका सूर्यप्रसाद पौडेलले पालेका बाख्रा घर नजिकै बारीमा चरिरहेका थिए। गाउँ नजिकै रहेको परूवी सामुदायिक वनबाट निस्किएको बाघले आक्रमण गरेर एउटा पाठो मारिदियो।
उनले घरसँगै जोडेर बाख्राको व्यवस्थित खोर बनाइरहेका थिए। राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ, चितुवाबाट बाख्रा जोगाउन उनलाई १८ हजार रूपैयाँ अनुदान सहयोग गरेको थियो। त्यसमा आफ्नो केही खर्च जोडेर बलियो खोर बनाएपछि बाख्रा जोगिन्छन् भन्नेमा ढुक्क थिए उनी।
तर बाहिर निस्किएका बाख्रालाई बाघले निसाना बनाइहाल्यो।
जंगलसँग जोडिएका बस्तीमा सजगता नअपनाए पशु-चौपाया मात्रै नभएर मान्छे नै वन्यजन्तुको निसानामा परिरहेका हुन्छन्।
जंगलको बीचमा रहेको माडी क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्व हिजोआज सुरू भएको होइन। यहाँको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र भित्रमात्रै २८ वर्षमा २९ जनाले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका छन्। ४६ जना घाइते भएका छन्। यो मध्यवर्ती क्षेत्र स्थापनापछिको तथ्यांक हो। यहाँ वन्यजन्तुले पशु-चौपाया, अन्नबाली खाइदिएको घटना त अझै धेरै छन्।
द्वन्द्व कम गर्दै मानव–वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न भनेर यहाँ सरकारी तथा गैरसरकारी संस्थाहरूले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले मध्यवर्ती क्षेत्रका बासिन्दालाई जीविकोपार्जनका लागि जंगल जान नपर्ने वातावरण बनाउन र वन्यजन्तुबाट क्षति हुन नदिन कार्यक्रमहरू सञ्चालन गरिएको बताए।
-1710613420.JPG)
-1710613419.JPG)
उनका अनुसार केन्द्रले पर्सा राष्ट्रिय निकुञ्जको सुनाखरी, निर्मल ठोरी, कुसुमबाटिका र पञ्चमुखी उपभोक्ता समितिको कार्यक्षेत्रका बस्तीमा व्यवस्थित खोर निर्माण गरेको थियो।
'व्यवस्थित खोर निर्माण भएपछि हामीले केही ठाउँमा सिसिटिभी क्यामरा राखेका थियौं। त्यसको फुटेजमा एउटा खोरमा बाघ आएर फनफन्ती घुमेको देखिन्छ। उसले जालीबाट बाख्रासँग आँखा जुधाएको छ। खोरको तल्लो भागमा पनि छिर्छ। केही सीप नचलेपछि ऊ लुरूलुरू जंगलतिरै फर्किन्छ,' सुवेदीले भने, 'व्यवस्थित खोर बनाएपछि स्थानीयबासी व्यवसायिक बाख्रा पालनमा अग्रसर भएका छन्।'
उक्त क्षेत्रमा सफल भएपछि केन्द्रले माडीस्थित आयोध्यापुरी उपभोक्ता समितिको क्षेत्रमा पनि यस्तै कार्यक्रम सुरू गरेको हो।
सुवेदीका अनुसार यहाँका दुई सय जना उपभोक्ताकहाँ अहिले व्यवस्थित बाख्राको खोर बनिरहेको छ। माडी नगरपालिकाको वडा नम्बर ७ र ९ मा पर्ने देवेन्द्रपुर, गणेशकुञ्ज, खरिकुना, अनार खोला लगायत बस्तीमा अहिले बाख्राको खोर निर्माण भइरहेको छ।
बाख्राको खोरसँगै एक सय विपन्न परिवारलाई ग्यास सिलिन्डर र चुह्लो लगायत सामग्री प्रदान गरिँदैछ।
'कोषको कार्यक्रममार्फत अहिले बाख्राको खोर निर्माण भइरहेका छन्। यसले बाख्रालाई वन्यजन्तुबाट जोगाउन सघाउँछ। खाना पकाउन दाउराका लागि जंगल जानुपर्ने बाध्यता भएको परिवार पहिचान गरेर ग्यास सिलिन्डर, चुह्लोहरू वितरण गरिएको छ,' अयोध्यापुरी उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले भने, 'अति विपन्न परिवारलाई अनुदानमा बाख्रा उपलब्ध गराएर जीवनस्तर उकास्न सघाउने योजना पनि छ।'
-1710613419.jpg)
-1710613419.JPG)
कोषले यहाँ मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्नुअघि घरघर पुगेर सर्भेक्षण गरेको थियो। ८३० घरमा पुगेर अध्ययन गर्दा १५० परिवार खाना पकाउन जंगलमै निर्भर रहेको देखिएको वरिष्ठ रेन्जर सुवेदीले बताए।
अन्य सय परिवार पूर्ण रूपमा जंगलमा निर्भर नभए पनि दाउरा खोज्न जंगल जाने गरेको देखिएको उनले बताए।
'जंगलभित्र घाँस, दाउरा काट्न, निउरो खोज्न गएकाहरूको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको घटना धेरै छन्। यो बाध्यता हटाउन सकियो भने क्षति घट्छ भन्ने निष्कर्षका साथ यी कार्यक्रम सञ्चालन गरिएको हो,' २०५१ सालदेखि केन्द्रमा कार्यरत सुवेदी भन्छन्, 'जंगलको निर्भरता हटाउन सकियो भने मानव–वन्यजन्तु द्वन्द्व धेरै कम हुन्छ।'
अयोध्यापुरी उपभोक्ता समिति माडी–ठोरी हुलाकी राजमार्गदेखि दक्षिणतर्फको क्षेत्रमा बाघ र चितुवाको डर बढी छ। दक्षिणतर्फ जंगली हात्ती र गैंडाले क्षति पुर्याउने गरेको छ।
कोषले यस्तै कार्यक्रम माडीको पाँच पाण्डव उपभोक्ता समितिमा पनि सञ्चालन गर्दैछ।
यो समितिको क्षेत्रमा हात्ती र गैंडाको जोखिम बढी छ। यहाँ पनि दुई सय परिवारलाई बाख्राको व्यवस्थित खोर बनाउन सहयोग गर्ने, एक सय परिवारलाई ग्यास सिलिन्डर र चुह्लो उपलब्ध गराइने सुवेदीले बताए।