यस वर्षको हिउँदयाम सकिएको छ। सामान्यतया मंसिर १५ देखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ।
यस वर्षको हिउँदयाममा सरदरभन्दा निकै कम अर्थात् करिब २१ प्रतिशतमात्रै पानी परेको छ।
यद्यपि यसवर्ष अघिल्ला हिउँदको तुलनामा बढी पानी पर्ने प्रक्षेपण गरिएको थियो।
यो हिउँदमा सुदूरपश्चिम प्रदेशका उत्तर–पूर्वी भूभाग र कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म औंल्याइएको थियो।
सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका पूर्वी बाहेकका भूभाग, गण्डकी प्रदेश, बागमती प्रदेशका उत्तर–पश्चिमी भू–भाग र कोशी प्रदेशका उत्तर–पूर्वी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताइएको थियो।
सुदुरपश्चिमकै पश्चिमी भूभाग, लुम्बिनी प्रदेशका पूर्वी भूभाग, बागमती प्रदेशका मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी महाशाखाले मंसिर ८ गते प्रक्षेपण गरेको थियो।
कोशीका दक्षिणी भू–भाग र मधेश प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताएको थियो।
महाशाखाको यो पूर्वानुमान गलत सावित भएको छ।
मौसमविद् गोविन्द झाले तर भूमध्य सागरबाट उत्पत्ति हुने पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदा नेपालमा हिँउदे वर्षा हुन नसकेको बताए। ‘वेस्टर्न डिस्टर्वेन्स (पश्चिमी न्यून चापीय प्रणाली नेपाल आइपुग्दासम्म निकै कमजोर देखियो। यसले वर्षा गराउन सकेन,’ उनले भने।
सामान्यतया भूमध्य सागरमा उत्पत्ति भएको जलवाष्पसहितको वायुलाई नेपालसम्म ल्याइपुर्याउन अर्को प्रणाली आवश्यक पर्ने मौसमविद् बताउँछन्।
भूमध्य सागर क्षेत्रमा सुख्खापन देखिएकाले त्यहाँ प्रणाली नबनेको भने होइन। तर, नेपालसम्म ल्याइपुर्याउने प्रणाली कमजोर देखिएकाले यहाँ पानी नपरेको मौसमविद्को तर्क छ।
हावापानी विज्ञान महाशाखाअन्तर्गतको हावापानी विश्लेषण शाखाले अद्यावधिक गरेको विवरणअनुसार फागुन १७ गतेसम्म १२ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको छ।
जबकि हिउँदयाममा ६०.१ मिलिमिटर औसत वर्षा हुने हावापानी विश्लेषण शाखाले जनाएको छ।
यस वर्षको मनसुन याम (जेठ १८ देखि असोज १३ गतेसम्मको अवधि) मा पनि औसतभन्दा कमै वर्षा भएको शाखाले जानकारी दिएको थियो।
शाखाका अनुसार मनसुन याममा एक हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा एक हजार ३०३ अर्थात् ८८.५ प्रतिशत मात्रै वर्षा भएको थियो।
शाखाकाअनुसार पुुस र माघको तुलनामा पछिल्लो एक साता भने देशभरका स्टेसनमा धेरथोर पानी परेको छ।
फागुन ८ गते २० वटा केन्द्रमा वर्षा मापन भएको थियो। त्यसदिन बाजुरा सदरमुकाम मार्तडी केन्द्रमा २२.३ मिलिमिटर वर्षा मापन भएको थियो।
फागुन ९ गते १८ वटा केन्द्रमा पानी परेकामा जुम्लामा बढी अर्थात् ३.२ मिलिमिटर पानी परेको थियो।
फागुन १० गते १४ वटा केन्द्रमा पानी गरेको देखाएको छ। त्यसदिन लम्जुङको खुदी बजारमा १०.६ मिलिमिटर पानी परेको थियो भने फागुन ११ गते ३१ वटा केन्द्रमा वर्षा मापन भएको छ।
त्यसदिन भक्तपुरमा सबैभन्दा बढी पानी परेको थियो। त्यसदिन भक्तपुरमा १३.० शून्य मिलिमिटर वर्षा भएको थियो।
फागुन १३ मा हुम्लाको सिमिकोटमा १.२, फागुन १६ मा १३ वटा स्टेसनमा पानी परेको र जसमध्ये कालिकोटको नग्मामा ७.३ मिलिमिटर मापन भएको शाखाले जानकारी दिएको छ।
हिउँद याममा पानी नपर्दा हिउँदे बालीनालीमा पनि त्यसको असर परेको छ। यसले कृषि उत्पादनमै गिरावट ल्याउने छ।
हिमाली र मध्यपहाडी क्षेत्रका अधिकांश खेतबारी हिउँदे वर्षामा निर्भर छन्। गहुँ, जौ, फापर, दलहन, र तेलहन बालीनालीका लागि हिउँदे वर्षा अमृत सरह हुने गर्छ। तर तीन महिनादेखि एक झर पानी नपरेकाले कुल गार्हस्थ्य उत्पादनमै असर पुर्याउने कृषिविद्को आकलन छ।
आर्थिक सर्वेक्षण २०७९/०८० का अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रले करिब २४.१ प्रतिशत हिस्सा ओगट्छ। करिब ५४ खर्बको जिडिपीमा कृषि क्षेत्रको हिस्सा १४ खर्बजति हुन आउने कृषिविद् केशव आचार्यले जानकारी दिए।
हिमाली क्षेत्रमा हिमपात नहुँदा र पहाडी र तराई भेगमा पानी नपर्दा जिडिपीमा झन्डै २० अर्बले कमी आउने आकलन गर्न सकिने आचार्यले बताए।
‘जिडिपीमा कृषि क्षेत्रको २४.१ प्रतिशतमध्ये कम्तीमा पाँच प्रतिशत हिउँदे बालीनालीको हिस्सा देखिन्छ। हिउँद याममा पानी नपर्दा उत्पादनमा आधाले कमी आउँछ। अर्थात् २० अर्बभन्दा बढी नोक्सान हुने देखिन्छ,’ उनले भने।
हिउँद याममा वर्षा र हिमपात नहुँदा आगलागीका घटना बढेका छन्। पछिल्लो एक साताको अवधिमा देशभर १७ ठाउँमा वन आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
वातावरणीय शुद्धता सूचकांक (एयर क्वालिटी इन्डेक्स, एक्यआइ) अनुसार ललितपुर खुमलटारको वायु गुणस्तर खराब देखिएको छ।
अहिले बिहान ९ः३९ बजे मापन गरिएको गुणस्तरअनुसार त्यहाँको सूचकांक १६६.६० रहेको छ।
त्यस्तै काठमाडौंको शंखपार्कको १६४.६८ छ। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको १६०.१७ छ।
धनकुटाको १५८.४६ छ। धनकुटाको वायुको गुणस्तर १५८.४६, ललितपुर भैंसेपाटीको १५१.४९, पुल्चोकको १४१.८७ छ।
सूचकांकका अनुसार ०–५० सम्मको अंकलाई स्वच्छ मानिन्छ। ५१ देखि १०० सम्मको सूचकांकलाई मध्यम, १०१–१५० सम्मको अंकलाई संवेदनशील र त्यसभन्दा माथि २०० सम्मको अंकलाई घातक मानिन्छ।
फागुन १८ गतेसम्म डढेलो र वायु प्रदूषणको अवस्था। तस्बिरः विपद् पोर्टल।