बेलुकीको ९ बज्दा नबज्दै विराटनगरका होटल तथा रेष्टुरेन्ट परिसर अगाडि साइरन बजाउँदै प्रहरीको गाडी दौडिन थाल्छ।
होटल बन्द गर्नु भन्ने प्रहरीको यो संकेत होटल सञ्चालकले बुझ्नुपर्छ। अन्यथा प्रहरीको खप्की खानेदेखि थुनामा पुग्नुपर्नेसम्मको 'नौबत' आइलाग्न सक्छ।
लगत्तै व्यवसायीहरू खानपिन गरिरहेका ग्राहकलाई भन्छन्, ‘अब हाम्रो बन्द गर्ने बेला भयो, छिटो गर्दिनूस्।’
यसबीचमा कुनै नयाँ ग्राहक आइपुगे तिनले केही खान नपाइ फिर्ता हुनुपर्छ। केही होटलले सटर बन्द गरेर भित्र लुकाएर खुवाउन सक्छन्। त्यसक्रममा प्रहरी भित्रै आइपुगेमा होटलवालाको ‘रेकर्ड’ बिग्रन्छ।
त्यसैले होटल सञ्चालकहरू हम्मेसी आफ्नो रेकर्ड प्रहरी नजरमा बिगार्न चाहन्नन्।
आजसम्मको यहाँको अवस्था के छ भने, राति थोरै अबेला मात्रै भयो भने विराटनगर आइपुग्ने कसैले न केही किनमेल गर्ने सुविधा पाउँछन् न मन खोलेर खानपिन गर्ने अवसर नै। त्यसैले विराटनगर ‘सम्साँझै सुत्ने’ सहरका रूपमा पनि परिचित छ।
वर्षौंदेखि साँझ चाँडै सुस्ताउनु विराटनगरको बाध्यता भएको व्यवसायीहरू बताउँछन्।
‘यो हाम्रो रहर होइन, बाध्यता हो,' होटल एसोसिएसन कोशीका अध्यक्षसमेत रहेका होटल व्यवसायी राजन श्रेष्ठ भन्छन् ‘शान्ति सुुरक्षाको कारण देखाउँदै प्रहरीले राति १० बजेसम्ममा होटल बन्द गर्नु भन्छ। सात–आठ बजेभित्र बजार ठप्प भइसकेको हुन्छ। यो हाम्रो बाध्यता हो।’
‘शान्ति सुरक्षा’ को कारण देखाउँदै प्रहरीले बेलैमा बजार तथा पसल गर्न लगाएकै कारण कोशीको राजधानी सहर साँझ बेलैमा निष्क्रिय बन्दै आएको छ।
भारतसित साँध जोडिएको सीमावर्ती सहरमा कुनैबेला ‘ग्याङ फाइट’का केन्द्र नै होटलहरू बन्ने गरेका थिए। झै–झगडाको थलो यसरी होटलहरू बनेका कारण पछिल्लो समय प्रहरीले कडाइ गर्दै आएको थियो।
सशस्त्र द्वन्द्वका बेला बेलुका छिटै बन्द हुने बानी परेपछि शान्ति प्रक्रियापछिको लामो समयसम्म पनि सोही क्रमले निरन्तरता पाउँदै आयो।
अब भने रातीसम्मै होटल र बजार खुला र सक्रिय हुने भएको छ।
मंगलबार विराटनगर महानगर, जिल्ला प्रशासन मोरङ, होटल व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरू सहभागी भएर बजार १० बजेसम्म र होटलहरू राति १२ बजेसम्म खुलाउने निर्णय गरेका छन्।
तर, यो निर्णय कहिलेदेखि कार्यान्वयन हुन्छ भन्ने चाहिँ अझै प्रष्ट भइसकेको छैन।
बैठकमा महानगरले रात्रिकालिन व्यवसाय सञ्चालन सम्बन्धि कार्यविधि बनाउने, त्यो कार्यान्वयन गर्न प्रशासन र प्रहरीलाई लेखेर दिने अनि बल्ल प्रहरीले कार्यान्वयनमा लैजाने सहमति भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।
‘महानगरले कार्यविधि बनाएर दिएपछि हामी यो कार्यान्वयनमा लाग्छौं’, उनले भने ‘यहाँ यो निर्णय कार्यान्वयन नगरी नहुने अवस्था रहेछ।’
मोरङ जिल्ला प्रहरी प्रमुख बनेर विराटनगर आइपुगेका एसपी कार्कीले सुनाए ,‘म आएपछि राति–राति विराटनगर घुम्दैछु। यहाँको बजार र होटलहरू बेलैमा बन्द हुनेरहेछ। साँझमा थोरै मात्रै अबेर भयो भने यहाँ आउने मान्छेले किनेर खानसमेत नपाउने अवस्था रहेछ।’
यो अवस्था अन्त्य गर्न प्रहरीले महानगरलाई सघाउने उनको भनाइ छ।
महानगरका प्रमुख नागेश कोइराला विराटनगरलाई राति अबेरसम्म गुल्जार राख्न र सहरको आर्थिक कारोबार बढाउन यो निर्णय सहयोगी हुने बताउँछन्। ‘हामी चाँडै नै यो निर्णय कार्यान्वयनमा लैजान्छौं,' मेयर कोइरालाले भने ‘यस्तो निर्णय गर्न लामो समयदेखि हामीलाई दबाब थियो।’
‘चाँडै’ कहिले हो भन्ने सेतोपाटीको प्रश्नमा कोइरालाको उत्तर थियो ‘चाँडै भनेको छिट्टै।’
महानगरबासीको माग अनुसार ‘लोकप्रिय’ निर्णय गर्न समय नलगाउने कोइराला नेतृत्वको महानगरले आफ्ना निर्णयहरू कार्यान्वयन गराउने सवालमा भने धेरै सफलता नपाएको विगत छ।
जस्तो कि, महानगरको पार्किङ व्यवस्थापनदेखि फुटपाथ अतिक्रमण हटाउनेसम्मका योजना कार्यान्वयनमा महानगरले असफलता भोगिसकेको छ। एक्लैले गरेको निर्णय कार्यान्वयनमा चुकेको महानगरले सर्वपक्षीय सहमतिमा गरेको निर्णय कार्यान्वयनमा कुनै समस्या नहुने जनाएको छ।
बजार र होटल राती अबेरसम्म खुलाउने पछिल्लो सर्वपक्षीय निर्णय कार्यान्वयन हुन्छ भनेर स्वयं होटल व्यवसायी भने विश्वस्त देखिएका छैनन्।
‘पहिले पनि प्रशासनले राति अबेरसम्म खोल्न दिने भनेको छ भनेर हाम्रो क्षेत्रका अगुवाहरूले भन्थे,' विराटनगरका रेष्टुरेन्ट व्यवसायी जीवन थापाले भने ‘तर, अहिलेसम्म त्यस्तो दिन कहिल्यै आएन। राति नौ बजेपछि होटल अगाडि साइरन बजाउँदै प्रहरी गाडी आइपुग्छ। त्यसपछि हामीले बसेर खानपिन गरिरहेका ग्राहकलाई छिटो गर्न दबाब दिनुपर्छ।’
विराटनगरको बजार क्षेत्रमै रहेको थापाको रेष्टुरेन्ट खसी र कुखुराको पोलेको परिकारका लागि प्रसिद्ध छ। तर, सम्साँझै सटर बन्द गर्नुपर्दा थोरै मात्रै ढिला आइपुग्ने ग्राहकलाई रित्तै फर्काउनुपर्ने उनको भनाइ छ।
‘पहिले पनि अबेरसम्म खोल्न दिने भनिएको थियो, दिइएन,' उनले भने ‘फेरि राति १२ बजेसम्म खोल्न दिने भनिएको कुरा थाहा भयो। तर, विश्वास लागेको छैन। ठूला होटलहरूमा रातैभरि क्यासिनो चलिरहेको हुन्छ। हामी जस्ता साना होटलहरूमा भने प्रहरीले बेलैमा सटरमा लाठी बजाउँदै हिँड्छ। प्रहरी दबाबले बेलैमा बन्द गर्नुपर्छ।’
भारतीय राज्य बिहारसँग साँध जोडिएका कारण त्यताबाट आइपुग्ने घुमन्तेहरूको बाक्लो जमघट हुने सहर पनि हो विराटनगर। अझ बिहारमा मदिरामा प्रतिबन्ध लागेपछि त त्यताका मदिराप्रेमीहरू साँझलाई लक्ष्य गरेर विराटनगरतिर उक्लिने गर्छन्।
हरदम व्यस्त रहने मुलुककै ठूलोमध्येको एक विमानस्थल भएको, देशका ठूला सहरसित सोझै यातायात सम्बन्ध भएको विराटनगरमा आउजाउ गरिरहनेहरूको कमी हुँदैन।
यति व्यस्त सहरको बजार र होटलहरू भने बेलैमा ठप्प हुने गरेका छन्।
यसपटक विराटनगर राती अबेरसम्म खुला राख्ने निर्णय कार्यान्वयन गराउने प्रहरी प्रमुख कार्कीको भनाइ छ।
‘महानगरले कार्यविधिमा केही अत्यावश्यक कुराहरू उल्लेख गर्ला नै सोही अनुसार हामी होटल र बजार खु्ला राख्न सहयोग गर्नेछौं,' उनले भने ‘त्यसका लागि होटलहरूले ध्वनी प्रदूषण गर्नुभएन। हरेक होटलले कम्तीमा एक जना सुरक्षा गार्डको प्रबन्ध गर्नुपर्छ। र, सिसिटिभी निगरानी भएको हुनुपर्छ। यति भए कुनै सुरक्षा चुनौती हुने छैन।’
होटल व्यवसायी संघका अनुसार विराटनगर क्षेत्रमा पर्यटकस्तरका २५ वटा होटल छन्। पर्यटकस्तरकै रेष्टुरेन्टहरू ३० देखि ४० को हाराहारीमा छन्। होटल तथा लजहरू २५० तथा साना रेष्टुरेन्टहरूको संख्या ३ सयभन्दा बढी छ।
होटल व्यवसायी भवेशकुमार श्रेष्ठका अनुसार अहिले यी सबै होटल रेष्टुरेन्टहरू साँझ केही घन्टाको कारोबारमा भर पर्नुपर्ने अवस्था छ। पछिल्लो निर्णय कार्यान्वयनमा गए त्यसले विराटनगरलाई आर्थिक रूपमा राम्रो गति दिने उनी बताउँछन्।
‘तराईको व्यस्त सहरमा राति नौ बजेपछि खानसमेत नपाइने अवस्थाकै कारण यहाँ रात परेपछि मान्छे सपिङ गर्न आउँदैनन्, दिनभरि काममा व्यस्त हुनेहरू परिवार लिएर साँझदेखि रातिसम्म बजार घुम्न पाउँदैनन्,' उद्योग वाणिज्य महासंघ कोशी पर्यटन समिति सभापतिसमेत रहेका श्रेष्ठले भने ‘यो निर्णय लागू भयो भने मान्छेहरू आउन थाल्नेछन्। भारतबाटै पनि धेरै मान्छेहरू विराटनगर आउनेछन्। त्यसैले अब कुनै पनि बहानामा प्रशासनले रात्रीकालिन व्यवसाय सञ्चालनमा भाँजो हाल्नु भएन।’
मोरङ प्रहरीको कमाण्ड सम्हालिसकेका एक जना प्रहरी अधिकारी रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा धेरै झमेलाहरू आउने कारणले यस्तो हुँदै आएको बताउँछन्।
‘रात परेपछि होटलहरू धेरैबेर खुला राख्दा झमेलाहरू पनि धेरै आउने भएर बन्द गर्न दबाब दिएको हो,' ती अधिकारीले भने ‘तर, प्रहरी परिचालित हुँदा सुरक्षा कायम गर्न समस्या हुँदैन।’
ठूला सहरमा राति अबेरसम्म व्यवसाय सञ्चालन गर्ने विषयमा प्रहरी धेरैतिर अनुदार बनेका दृष्टान्त छन्। केही वर्षअघि वामदेव गौतम गृहमन्त्री हुँदा काठमाडौंको रात्रिकालीन व्यवसायमा रोक लगाउन खोजेका थिए। उनको निर्णय धेरै लामो टिकेन।
गएको कात्तिकमा मात्रै पोखरा लेकसाइडकी व्यवसायी देवीकुमारी बरालले दिएको रिट निवदेनको सुनुवाइ गर्दै उच्च अदालतले कात्तिक २२ मा रात्रिकालिन व्यवसायमा अंकुश नलगाउन प्रशासनलाई आदेश दिएको थियो।
पोखरा २४ घण्टा खुला हुनुपर्ने माग राख्दै उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर रिट हालेकी थिइन्।
उनको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले निवेदकको मागबमोजिम कानुन बमोजिमका व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न अन्तरिम आदेश दिएको थियो।
गृह मन्त्रालयले तयार पारेको गृह प्रशासन सुधार कार्ययोजना २०७४ ले ठमेल, दरबारमार्ग, पोखराजस्ता पर्यटकीय क्षेत्र २४ घण्टा खुला रहने गरी आवश्यक सुरक्षा प्रबन्ध गर्ने नीतिगत निर्णय गरेको समेत आदेशमा उल्लेख थियो।
विराटनगरका पर्यटन व्यवसायी यहाँ पनि उस्तै कानुन आकर्षित हुनुपर्ने बताउँछन्।
‘यहाँ भारतीय पर्यटकहरू रातैभरि आउने अवस्था बनाउन सकिन्छ,' श्रेष्ठले भने ‘त्यसका लागि प्रशासनले उदार भइदिन जरूरी छ।’
उनका अनुसार विराटनगरको बजार राती अबेरसम्म चलाउँदा भारतीय ग्राहक आकर्षित गर्न सकिने सम्भावना छ।
‘जोगबनी, फारबिसगन्ज जस्ता बजारहरू हाम्रोभन्दा छिटो बन्द हुन्छन्,' उनले भने ‘हामीले राती अबेरसम्म बजार खोल्ने हो भने त्यहाँका ग्राहक यहाँसम्म तान्न सकिन्छ। बिहारको ठूलो क्षेत्र यहाँको ग्राहक बन्नसक्छ। दिनभरि काममा लाग्नेहरू राति किनमेलमा निस्कने हुन्।’