शनिबार राति वीरेन्द्रनगर–१ गैरीचोकमा पौने ९ बजे एक जना युवकलाई लक्षित गर्दै गोली प्रहार भयो।
गोली प्रहारबाट गाडीको सिसा फुटेपनि मानवीय क्षति भने भएन। गोली प्रहार गर्ने व्यक्तिले तरूण दल सुर्खेतका जिल्ला सदस्य वीरेन्द्रनगर–१ का विनोद गिरीलाई लक्षित गरेका थिए। उक्त घटनामा विनोदले ज्यान बचाए।
यो घटनामा भारतीय सुटर प्रयोग भएको खुलेको छ। वीरेन्द्रनगरमा यसरी कसैमाथि गोली हान्ने घटना विरलै हुन्छ। यो घटनाले समग्र वीरेन्द्रनगरको ध्यान तानेको छ।
यो विषयमा प्रहरीको प्रारम्भिक अनुसन्धानले भारतीय सुटरलाई दुई लाख रुपैयाँ दिएर विनोदमाथि गोली प्रहार गर्न लगाएको पत्ता लागेको छ। प्रहरीले घटनामा संलग्न भारतीय सुटरसहित चार जना व्यक्तिलाई पक्राउ गरिसकेको छ। अन्य संलग्नको खोजी प्रहरीले गरिरहेको छ।
कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ को इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुत पक्राउ परेका हुन्। राजपुत यस घटनामा सुटरको रूपमा प्रयोग भएका छन्।
प्रहरीका अनुसार यसमा इन्द्रको भूमिका बढी देखिएको छ। इन्द्रले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको फेला प्रहरीले पारेको छ। करिब २०-२५ दिन अघि इन्द्रले ती पुरूषलाई कैलालीको अत्तरियामा भेटेका थिए।
हत्याकै योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगञ्जमा भेटेको खुलेको छ।
नेपालगञ्जमा भेट्दा ती अज्ञात व्यक्तिले भनेका थिए, ‘हामीसँग सूटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ।’
त्यसबापत उनीहरूलाई डेढ लाख रुपैयाँ दिने कुरा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
अज्ञात पुरूषले नै विनोदको हत्या गर्न ईन्द्रलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएका थिए।
योजना बनाउने व्यक्तिले सुटर भनिएका राजपुतलाई दुई लाख रुपैयाँ दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले बताए।
सुटर भनिएका राजपूत र उनका सहयोगी फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए। उनीहरूलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था राजनले मिलाएका थिए। होटलमा सुटर राजपुतसहित तीन जना थिए। भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएका थिए।
ती अज्ञात व्यक्तिले नै योजनाअनुसार सुटरहरूलाई विनोदको घर-ठेगाना हुलियासहित दिएका थिए। उनीहरूको योजनाअनुसार शनिबार सुटरको समूहले विनोद गिरीको गाडीलाई पछ्याएको थियो।
वीरेन्द्रनगर–१ गैरीचोकमा पुगेपछि भने गोली प्रहार गरेका थिए। गोली प्रहार गरेलगत्तै सुटरको मोटरसाइकल र विनोदको गाडी ठोक्किएका थिए। जसपछि सुटरहरू फरार भए।
अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।