भवानी महतो २५ दिनदेखि निरन्तर हिँडेर शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। उनी पूर्वी मेचीपुलबाट माघ १६ गतेदेखि हिँड्न थालेका हुन्।
३९ वर्षका उनका दुई दिन हिँड्दै खुट्टा सुनिएका थिए।
'घर लिलामीका लागि पटकपटक आएको पत्र सम्झिएर हिँड्ने हिम्मत मिल्यो,' उनले भने।
खुट्टा सुन्निएकाले उनका पाइला कतिपय बेला छिटोछिटो सर्दैन थिए। जबरजस्ती घिसार्दै सिंहदरबारसम्म पुग्न आफैंले दबाब दिएको उनी बताउँछन्।
'१०/१५ दिन नपुग्दै जुत्ताको सोल खिइसकेको थियो,' उनले भने, 'आँखाले उज्यालो देख्दासम्म खाली खुट्टा हिडेँ। साँझ परेपछि त्यही प्वाल परेको जुत्ता लगाएँ।'
उनी एकसरो लुगामै काठमाडौं आइपुगे। रातमा ओढ्न भनेर आमाको बाक्लो पछ्यौरी बोकेका थिए। बाटोमा खान भनेर बोकेको चिउरा, दालमोठ, भुजा, चाउचाउले दुई-तीन दिन पनि खान पुगेन।
मिटरब्याज तथा ठगीविरूद्ध मजदुर संघर्ष समितिले बिहान-बेलुका खाना खुवाएकाले भोको भने परेनन्।
हिँड्दै गर्दा जहाँ खाली ठाउँ भेट्यो, त्यहीँ खानेकुरा बनाएर खाए। सुते। सडक यात्रामा सार्वजनिक शौचालय नहुँदा भने समस्या भोग्नुपर्यो।
थकाइ पनि लाग्यो। तर काठमाडौं कहिले पुगिएला भन्ने मात्र सोच भयो। काठमाडौं पुग्न पाए सरकारले आफ्नो पीडा सुन्छ कि भन्ने आशले यहाँसम्म आइपुगेको भवानी बताउँछन्।
'न्याय पाउने आशमा थकित ज्यान घिसार्दै घिसार्दै काठमाडौं ल्यायौं,' उनले भने।
काठमाडौं त आइपुगे, तर अब सरकारले आफूहरूको माग सुन्छ कि सुन्दैन भन्ने पिर छ।
'बस्न, खान त दुई/चार दिन भोको बसे पनि मरिँदैन। वश् निराश भएर फर्किन नपरोस् भन्ने हो,' भवानीले बरर आँसु झार्दै भने, 'शरीर सिंहदरबारमा आइपुग्यो, अब जिउँदो फर्काउने नफर्काउने सरकारको हातमा छ!'
न्याय नपाए ओत लाग्ने छातसमेत नरहने भन्दै उनी भक्कानिए।
भवानी सुनसरी देवागन्ज गाउँपालिका-१ का हुन्।
उनको घरसम्म पुग्ने बाटो थिएन। बाटो लैजान आफन्त पर्नेले केही जमिन किन्नुपर्ने भने। भवानीले ऋण लिएर भए पनि घरसम्म बाटो लग्ने सोचे।
उनले छिमेकी गाउँकै सुनसरीकै हरिनगर गाउँपालिका- ३ का साहुसँग २०७७ साउन ९ गते सात लाख रूपैयाँ ऋण लिए। भवानीका गाउँका सबैले साहुकारका रूपमा परिचित तिनै व्यक्तिबाट ऋण लिन्थे।
त्यो ऋण लिन भवानीले आफूसँग भएका १४ कट्ठा जमिनको कागजात साहुलाई बुझाए। एक-डेढ वर्षमा ऋण चुक्ता भएपछि सबै कागजात फिर्ता पाउँछु भन्ने उनलाई लागेको थियो।
ऋण लिएर घरसम्म बाटो बन्यो। दुई-चार महिना उनी खुसी भएका थिए।
तर समस्या सुल्झाउन ऋणमा उनी भासिँदै गए।
६ महिना नपुग्दै साहुले लाखौं रूपैयाँ बाँकी भएको भन्दै डर देखाउन थाले। भवानीको चिन्ता थपियो।
उनले बैंकबाट कर्जा लिएर साहुको ऋण तिर्ने र नयाँ घर पनि बनाउने सोचे।
'घडेरी धितो राखेर बैंकबाट २५ लाख रूपैयाँ ऋण लिएँ,' उनले भने, 'ब्याजसहित गरेर साहुलाई १० लाख तिरेँ। तर अझै ११ लाख तिर्न बाँकी भन्दै साहुले १४ कट्ठा जग्गाको कागजात फिर्ता दिएनन्।'
भवानीले कागजात फिर्ता पाए केही जमिन बेचेर बैंकको कर्जा तिर्ने सोचेका थिए। तर साहुले दिएनन्। ओत लाग्ने एउटा घर बैंकले लिलामीका लागि दुईपटक पत्र पठाइसकेको उनी बताउँछन्।
'जमिनको कागजात फिर्ता पाएको भए केही हिस्सा बेचेर बैंकको ऋण तिर्थेँ र घर बचाउँथेँ,' उनले आँसु पुछ्दै भने, 'तर न घर बचाउन सकियो, न जग्गा फिर्ता पाइयो।'
घर लिलाम भए हुर्किँदै गरेका चार सन्तानसहित बुढी आमा र श्रीमतीलाई कहाँ लगेर राख्ने भन्ने पिरले उनको मन पोलिरहेको छ। त्यही पिर सरकारलाई सुनाउन आफू हिँडेर काठमाडौं आइपुगेको उनले बताए।
भवानीजस्तै नवलपरासीकी ३० वर्षीया नीतादेवी यादव पनि ६ दिन हिँडिन्।
नीता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-३ की हुन्। उनलाई महिनावारी हुँदा पेट दुख्ने र दुई सातासम्मै रगत धेरै बग्ने समस्या छ। त्यसैले निरन्तर हिँड्न सकिनन्। तर पनि काठमाडौं आइपुगेको उनी बताउँछिन्।
'कतै जाँदा न्याय पाइन्छ कि भन्ने आस भएपछि पीडामा परेको मानिस जसरी पनि हिँड्ने रहेछ,' नीताले भनिन्, '६ दिन हिँड्दा, सडकमा सुत्नुपर्दा पीडा भयो। तैपनि कतै न्याय पाइहालिन्छ कि भन्ने आस छ।'
उनले २३ महिनाअघि स्थानीय साहुसँग डेढ लाख रूपैयाँ ऋण लिएकी थिइन्, पाँच कट्ठा जग्गा धितो राखेर। सय रूपैयाँको मासिक पाँच रूपैयाँ ब्याज तिर्ने सर्त थियो।
ऋण लिएको केही महिनामै किस्ता ढिला भएको भन्दै साहुले कराउन थाले।
उनका श्रीमान फ्री भिसा फ्री टिकटमा मलेसिया गएका थिए।
'श्रीमानका भरमा १३ महिनामा दुई लाख ६० हजार रूपैयाँ साहुलाई बुझाएँ,' उनले भनिन्, 'अझै तीन लाख रूपैयाँ तिर्न बाँकी छ भन्छन्। जग्गाको कागजात फिर्ता दिँदैनन्।'
केही महिनाअघि जिल्लामा पुगेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आयोगमा उनले उजुरी दिइन्। आयोगले दुवै पक्षलाई छलफलका लागि बोलायो। तर आफूले तिरेको पैसाको कागजात नहुँदा कुनै निष्कर्ष नगरी छोडिदिएको उनको भनाइ छ।
नीतासँग आफूले दिएको पैसाको प्रमाणमा केही साक्षी व्यक्तिबाहेक केही छैन।
'आफ्नो जग्गा फिर्ता पाइन्छ कि भनेर काठमाडौं आइपुगेकी हुँ,' उनले भनिन्।
३९ वर्षीय वीरवल मुसलमानको पनि पीडा उस्तै छ।
खेतीपाती बढाउने योजनाले उनले साहुबाट २०७४ कात्तिक २३ गते आठ लाख रूपैयाँ ऋण लिएका थिए। चार कट्ठा जग्गा धितो राखे।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका-२ का वीरवल आफ्ना साथीमार्फत् ती साहुकहाँ पुगेका थिए।
वीरवलसँग सात लाख रूपैयाँ तिरिसकेको कागजात पनि छ। तर साहुले अझै १० लाख तिर्न बाँकी भनेपछि आफू ठगिएको महसुस भयो। अनि न्यायका लागि हिँड्न थालेको उनले बताए।
'पढे-लेखेको नभएकाले उनीहरूले जहाँ भन्यो त्यही ल्याप्चे लगाइयो। उनीहरूसँग तमसुक कागजात नै दुई/तीन थरीको छ,' उनले भने।
भवानी, नीता र वीरबल मात्र होइन, उनीहरूजस्तै मिटरब्याज साहु पीडित १२/ १३ सय जना हिँडेरै शुक्रबार काठमाडौं आइपुगेका छन्।
काठमाडौं आइपुगेर उनीहरूले भद्रकालीमा कार्यक्रम गर्दै आफूहरू यहाँसम्म आइपुग्नुका कारण खुलाए।
उनीहरू पूर्वमा मेची र पश्चिममा महाकालीबाट हिँड्न सुरू गरेका थिए। पूर्व मेचीबाट उर्लिएका भीडलाई मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविले नेतृत्व गरेका थिए। पश्चिम महाकालीबाट हिँड्नेलाई संघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहाले नेतृत्व गरेका हुन्।
यी दुई समूहको भेट चितवनमा भयो। त्यसपछि सामूहिक रूपमा एक भएर हिँड्दै काठमाडौंंसम्म आइपुगेको समितिका अध्यक्ष अवदेश कुशवाहाले जानकारी दिए।
'यात्रामा धेरै कष्ट झेल्नुपर्यो। हामीमाथि हातपात पनि भयो। १७ जना साथीहरू घाइते हुनुभयो,' उनले भने, 'तर पनि हिम्मत नहारी काठमाडौं आइपुग्यौं।'
उनका अनुसार निरन्तर हिँड्नेहरूको जुत्ता फाटेको छ। कति खाली खुट्टै हिँडेर आए। बिहान ११/१२ बजेसम्म पानी भएको ठाउँ नभेट्दा भोकभोकै हिँडे। साँझ आँखाले बाटो ठम्याउन छोडेपछि त्रिपालको छानो बनाएर खाली चउरमै रात बिताए ।बिहान उठ्नासाथ हिँडे। जसरी हुन्छ काठमाडौं पुगेर सरकारलाई आफ्ना माग सुनाउने लक्ष्यले हिम्मत दिएको उनले बताए।
एक हजार एक सय किलोमिटरभन्दा लामो दुरी २५ दिनमा हिँडेर भ्याउनु सामान्य होइन। तर पीडाले पोलेर बस्न नसक्ने भएपछि एकोहोरो हिँडेर यति छिटो काठमाडौं आइपुगेको उनी बताउँछन्।
'सरकारले हाम्रो दुःख सुन्छ भन्ने आशले आइपुगेका छौं। सुन्यो भने सबै दुःख बिर्सिन्छौं,' कुशवाहाले भने।
उनीहरूले बुँदागत रूपमा केही माग राखेका छन् जुन यसप्रकार छन् —
मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिनुवा) र चेक अवैध घोषणा गर्ने र जुनसुकै तहमा भएका पीडितको सम्पतिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने।
मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने। विभिन्न तहका अदालतमा मिटरब्याजी साहुले पीडितमाथि हाल्ने मुद्दाको दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गरी पक्राउ परेका पीडितलाई रिहाइ गर्ने।
मिटरब्याजसँग सम्बन्धी निवेदनका सरकारी तथ्यांक अपूर्ण भएकाले तत्काल नयाँ निवेदन दर्ता खुला गरी पीडितहरूको अभिलेखीकरण गर्दै साहु-महाजनलाई कारबाही हुनुपर्ने। साहुले पीडितहरूमाथि दिएको मानसिक यातना, दुर्व्यवहार, महिलामाथि हुने ज्यादती, मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन हुनुपर्ने।
पीडितले गैरकानुनी ब्याजदरमा ऋण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित-उत्पीडित वर्ग लक्षित न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्न बिना धितो सहुलियतमा ऋण प्रवाह गर्ने कार्यक्रम ल्याउनुपर्ने।
'माग पूरा नभएसम्म काठमाडौंबाट फर्किँदैनौं,' समितिका अध्यक्ष कुशवाहाले भने।
संघर्ष समितिका प्रवक्ता निर्ग नविन पनि सरकारलाई जसरी पनि आफूहरूको माग सुनाएरै जाने अडानमा पीडितहरू आएको बताउँछन्।
'यसपटक पीडितलाई दुःखी बनाउने वा आँखामा छारो हाल्ने सरकारको योजना छ भने सर्तक हुन आग्रह गर्छु,' उनले आक्रोश पोखे, 'हामी सिंहदरबार जाने योजना थियो, तर प्रहरी प्रशासनले रोक्यो। अब भद्रकालीबाटै भए पनि हाम्रो पीडा सुनोस्।'
सबै तस्बिरः निशा भण्डारी