मंगलबार हरिभक्त मिजार सर्वोच्च अदालत आएर त्यसै फर्किनु पर्यो। लामो समयदेखि सर्वोच्च अदालतले फागुन ८ गतेको पेसी तोकेको थियो।
कतै छोराले न्याय पाइहाल्छ कि! भनेर उनी काभ्रेदेखि काठमाडौं आएका थिए। सर्वोच्चमा आवश्यक कागजात आइनपुगेको भन्दै वैशाख १२ गतेका लागि पेसी तोकिदिएपछि हरिभक्त निराश भएर फर्किए।
उनी आफ्नो छोराको हत्याबारे आवाज उठाउन काठमाडौं धाइरहन्छन्। सामाजिक अभियन्तादेखि कसैले छोराको न्यायका लागि पहल गर्यौं भन्यो भने उनी तत्काल आइपुग्छन्। यसरी अदालत र न्यायको लागि हरिभक्त दौडधुप गर्न थालेको ८ वर्ष भइसक्यो। तर पनि उनले न्यायको अनुभूति गर्न पाएका छैनन्।
यति लामो समयसम्म पनि न्याय नपाउँदा उनी निराश छन्।
‘अन्तरजातीय प्रेमले छोरा मार्यो, सरकारले हामीलाई पनि मार्दियोस्,’ उनले भावुक हुँदै भने।
उनको घरको कान्छो छोरा अर्थात् १८ वर्षीय अजित मिजारले प्रेमकै कारण ज्यान गुमाउनु पर्यो। उनी १७ वर्षीय पराजुली थरकी केटीसँग प्रेममा थिए।
यो कुरा आजभन्दा ८ वर्ष अघिको हो।
त्यतिबेला उनीहरू पाँचखालको सर्वमंगला उच्च माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे। अजित काभ्रे पाँचखाल नगरपालिका-७ हुन्। पराजुली ज्याम्दीकी थिइन्। उनीहरूको दैनिक भेट हुने ठाउँ थियो- कलेज।
उनीहरूको प्रेमबारे नजिकका साथीसंगीलाई मात्र थाहा थियो। लगभग दुई वर्षको प्रेमलाई २०७३ असार २५ गते विवाहमा परिणत गरेको अजितका दाजु दिपेन्द्र बताउँछन्।
‘९ कक्षामा पढ्दाखेरी प्रेममा परेको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘कक्षा ११ मा पढ्दै गर्दा विवाह गरेका हुन्।’
अजितकी प्रेमिकाले विवाह गर्न भनेपछि उनीहरूले भागेर विवाह गरेको दिपेन्द्रले सुन्दै आएका छन्।
केटी ब्राह्मण समुदायकी थिइन्। अजित दलित समुदायका थिए। अन्तरजातीय प्रेम स्वीकार नगर्ने डरले उनीहरू भक्तपुरस्थित अजितकी दिदीको घरमा लुकेर बसे।
उनीहरूको विवाहबारे अजितका परिवारलाई पनि थाहा भयो। यता किशोरीले परिवारलाई आफूले विवाह गरेको जानकारी गराएकी थिइनन्। सहमतिमा विवाह गरेको भए अजितका बुवा हरिभक्त र आमा कालीले घरमै आउन सल्लाह दिए।
बा-आमाको कुरालाई स्वीकार गर्दै अजितले केटीलाई दोस्रो दिन नै घरमा लिएर आएको अजितका दाजु दिपेन्द्रले जानकारी दिए।
उनी आउँदा सिन्दुर पोते लगाएर आएकी थिइन्।
‘घरमा एक रात मात्रै बसेँ,’ दिपेन्द्रले भने।
तेस्रो दिन अजितका परिवारलाई प्रहरीले केटीसहित इलाका प्रहरी चौकी पाँचखालमा बोलाए। अजितका परिवार र केटी पक्षको परिवार चौकीमा उपस्थित भएका थिए।
प्रहरीले दुवै पक्षका आफन्तबीच छलफल गर्यो। त्यतिबेला उनीहरू कानुनी रूपमा विवाह योग्य नभएको भन्दै उमेर पुगेपछि विवाह गरिदिने भन्दै आ-आफ्नो परिवारको जिम्मा लगाइदिएर छुट्याइयो।
अजित आफ्नो घर गए। केटीलाई जबरजस्ती काठमाडौं ल्याइयो।
‘ब्राह्मण समुदायकी केटीलाई भगाएर लैजाने भन्दै केटी पक्षबाट त्यो दिन अजितलाई मारूम्ला जस्तो गरेका थिए,’ दिपेन्द्रले भने- ‘प्रहरी साथमा भएकाले हातपात भएन।’
उनले थपे- ‘केटीका आफन्तले उनलाई बेस्सरी कुटे। साथै उनले लगाएको पोतेको डोरो चुडालिदिएर सिन्दुर पुछिदिए।’
केटी पक्षको परिवारले भने अजितलाई इज्जतमा दाग लगाइदिएको भन्दै धम्की दिइरहेका थिए। प्रहरीकै अगाडि धम्की आएको थियो। पछि उनीहरूले फोन र घरमा पनि अजित खोइ भन्दै नयाँ-नयाँ व्यक्ति आएको दिपेन्द्रलाई याद छ।
अजित घरमै बसे।
२९ गते बिहानभरि अजित घरमै बसेका थिए। दिउँसो साढे १ बजेतिर मोबाइलमा रिचार्ज कार्ड किन्छु भन्दै छोरा घरबाट निस्किएको उनकी आमा काली मिजार बताउँछिन्।
‘रिचार्ज कार्ड किन्न ५० रूपैयाँमात्र बोकेर निस्किएको थियो,’ उनले भनिन्- ‘त्यो पैसा पनि मैले नै दिएकी थिएँ।’
उनले छोराको ज्यान जोखिममा छ भन्ने कुरा याद गरेकी नै थिइनन्। ‘त्यस्तो थाहा भएको भए कतै जान दिन्थिनँ,’ उनी भावुक भइन्।
उनले मन भुलाउन दायाँ-बायाँ बस्यो भन्ने सोचेकी थिइन्। तर साँझसम्म घर फर्किएनन्। अजितका परिवारले आफन्तलाई फोन गरेर सोधपुछ गरे।
अजित कतै फेला परेनन्।
उनी परिवारसँग सम्पर्कविहीन भएको दोस्रो दिन अर्थात् असार ३१ गते उनीहरू आफन्तहरूको सोधपुछ गरे। कतै पनि अजित गएको भन्ने कुरा थाहा नभएपछि इलाका प्रहरी चौकी पाँचखालमा छोरा हराएको जाहेरी लिएर हरिभक्त र काली पुगे। तर उनीहरूको जाहेरी दर्ता लिन नमानेको काली बताउँछिन्।
प्रहरीले भने लामो समयअगाडि घटना भएकाले आफूहरूलाई उक्त घटनाबारे थाहा नभएको पाँचखाल प्रहरी चौकीका प्रहरी बताउँछन्।
३१ गते धादिङको गुजुरी भन्ने ठाउँमा प्रतीक्षालयमा घुँडा टेकेर झुण्डिएको अवस्थामा एक युवक भेटिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भयो। उक्त तस्बिर गाउँलेले अजित हो भन्ने कुरा बुझे। किनकि अजित घरबाट निस्किँदा जुन लुगामा थिए। त्यही लुगामा झुण्डिएको अवस्थामा तस्बिर सामाजिक सञ्जालमा देखिएको थियो।
असार ३१ गते गाउँलेहरूले अजित भन्ने कुरा थाहा पाएपछि उनको परिवारलाई सुनाइदिए।
अजितका आफन्तसहित साउन १ गते धादिङ पुगे। तर त्यहाँ लास गाडिसकेको कुरा प्रहरीले हरिभक्तलाई बताए। हरिभक्तले आफ्नो छोरालाई आफ्नो धर्म-संस्कृति अनुसार अन्तिम संस्कार गर्न भन्दै लास निकाल्न दबाब दिए।
’३० गते झुण्डिएको अवस्थामा फेला परेको र दुर्गन्धित भएकाले स्थानीयको दबाबमा लास पोस्टमर्टम गरेर गाडेको प्रहरीले बताएका थिए,’ हरिभक्त भन्छन्, ‘पोस्टमर्टम गर्दा लास क्षतविक्षत भएको भन्दै निकाल्नै मानेन।’
आफन्तको दबाबमा लास निकालियो।
उनले थपे- ‘लास निकाल्दा पोस्टमर्टम गरिएकै थिएन।’
त्यतिबेला हरिभक्तलाई प्रहरीले झुट बोलेको थाहा भयो।
उनले छोराको लास गाडेको ठाउँबाट निकालेर शरीर हेरे। त्यहाँ कुनै चोट-पटक देखेनन्। त्यसपश्चात उनलाई छोराको हत्या भएको भन्ने लाग्यो।
उनका अनुसार, प्रहरीले दुई-चार दिन पनि नराखी हत्त न पत्त लास गाडिनु नै शंकास्पद छ। साथै, पोस्टमर्टम पनि गरिएको थिएन।
लास फेला परेको ३ महिनासम्म पहिचान हुन सकेन भने मात्र अन्त्येष्टि गरिदिने कानुनी व्यवस्था छ। यदि ३० गते नै फेला परेको भए पनि दुई दिनमै किन पुरियो? भन्ने उनीहरूको प्रश्न छ।
त्यहाँबाट त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा अजितको लास ल्याइयो। २०७३ साउनको १ गतेदेखि अजितको लास त्यहीँ छ।
उनको हत्या भएको भन्दै सामाजिक सञ्जालदेखि सडकसम्म मानिसहरू उत्रिए। साउन ४ गते पोस्टमर्टम भयो।
हरिभक्तका अनुसार पोस्टमर्टममा घाँटीमा लगाएको डोरीको कुनै पनि दबाब नदेखिएको, टाउको र कुहिनासँगै पैतालामा चोट पुगेको, मृतकले मदिरा सेवन नगरेको र आत्महत्या हो भन्ने अवस्था नदेखिएको रिपोर्टमा उल्लेख छ।
यसबारे हामीले टिचिङ अस्पतालमा पोस्टमर्टम डाक्टर गोपाल चौधरीलाई पनि सोध्यौं। उनले अदालतमा मुद्दा विचारधीन रहेकाले आफूले केही बोल्न नमिल्ने जानकारी दिए।
अजितको परिवारको भने यसमा आत्महत्या नभई हत्या भएको दाबी छ।
पैसा नभएको व्यक्ति धादिङसम्म कसरी पुग्यो, मृत्युपश्चात किन छिट्टै गाडियो, प्रहरीले पोस्टमर्टम नगरी किन गर्यो भन्यो भन्ने परिवारको प्रश्न छ।
यही प्रश्नको उत्तर पाउन अजितका परिवार ८ वर्षदेखि अदालत धाइरहेका हुन्।
अजितको लास धादिङमा भेटिएकाले उनका परिवारले केटीको परिवारको नाम किटानी गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका थिए।
त्यसपश्चात अजितको प्रेमिका, बुबा भोजराज पराजुली, दिदी सम्झना र काका टेकबहादुरलाई पक्राउ गर्यो। असोज ६ गते टेकबहादुर पराजुली र सम्झना पराजुलीलाई २५ हजार धरौटीमा छोड्न र भोजराजलाई पुर्पक्षका लागि थुनामा राख्यो।
हरिभक्तका अनुसार तीन महिनाको अवधिमा २५ हजार धरौटीमा भेजराजलाई पनि छोड्न आदेश दिएको थियो। त्यतिबेला विभिन्न समितिहरूले अनुसन्धान गर्दा पनि हत्या भएको निष्कर्षमा पुगेको हरिभक्त बताउँछन्।
त्यतिबेला तत्कालीन संविधान सभा सदस्य कमला दोङको संयोजकत्वमा छानबिन उपसमिति बन्यो। उक्त छानबिन उपसमितिले अजितको हत्या गरिएको र प्रहरीले सबुत नष्ट पारेको ठहर गरेको थियो।
फेरि माघमा तत्कालीन खेलकुदमन्त्री दलजित श्रीपालीको संयोजकत्वमा छानबिन समिति बन्यो। उनीहरूले पनि हत्या नै गरिएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेका थिए।
यस घटनामा समता फाउण्डेसनको संयोजकत्वमा पाँच दलित गैरसरकारी संस्था सहितको अनुगमन टोलीले अजितको सुनियोजित हत्या भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो।
उक्त प्रतिवेदनमा मिजारको सुनियोजित हत्या भएको र दोषीउपर कारबाही हुनुपर्ने माग राखिएको थियो। साथै अजितको शव फेला परेको स्थानका अन्य तथ्यले पनि आत्महत्या नभएको पुष्टि भएको बताइएको छ।
उक्त प्रतिवेदन अनुसार, शवको घाँटीमा बाँधिएको डोरी ट्रकको त्रिपालको हुनु, भुइँमा खुट्टा लत्र्याएर झुण्डिनु, काठमाडौंभन्दा पर कहिल्यै नपुगेका अजित धार्दिङ पुगेर झुण्ड्याइएको अवस्थामा फेला पर्नु लगायतका कुरा उल्लेख गरिएको छ।
राष्ट्रिय दलित आयोगका तत्कालीन अध्यक्ष मानबहादुर नेपालीको संयोजकत्व पनि छानबिन भएको थियो। घटनास्थलमै पुगेर गरेको अनुसन्धानमा अजितको आफैं झुण्डिएको नभएर हत्या भएको ठहर थियो।
त्यतिबेला छानबिन समितिका सदस्य वा आयोगको तत्कालीन सदस्य सचिव सीताराम घले परियार घटनास्थलमै पुगेका थिए।
हामीले उनीसँग पनि कुरा गरेका छौं।
‘घटनास्थलदेखि केटा-केटी दुवै पक्षको घरसम्म पुग्दा नियोजित ढंगलले हत्या भएको थाहा पायौं,’ तत्कालीन सदस्य सचिव घलेले भने।
उनका अनुसार लास फेला परेकै दिन डाक्टर अमृता श्रेष्ठले पोस्टमर्टम गरेको भन्दै लास गाडिएको प्रहरीले बताएका थिए। तर लास खन्दाखेरी अजितको घाँटीमा त्रिपालको डोरी थियो। त्रिपाल हेर्दा प्रहरी वा सेनाले प्रयोग गर्ने थियो। घटना शंकास्पद नै थियो।
स्थलगत र दुई पक्षसँग छलफल गर्दा आयोगले हत्या भएको निष्कर्ष निकालेको उनी बताउँछन्।
अन्तरजातीय प्रेम सम्बन्धकै कारण हत्या भएको उनको बुझाइ छ।
हत्या भएका प्रतिवेदन सार्वजनिक हुँदाहुँदै पनि जिल्ला अदालत धादिङले प्रमाण नपुगेको भन्दै २० जेठ ०७५ मा उनीहरूलाई सफाइ दियो।
अजितका परिवारले त्यसलाई आत्महत्या गरेको भनेर मान्न सकेनन्। अजितका परिवारले धादिङ जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरे। त्यसमा पनि ०७९ वैशाख १२ गते उच्च जिल्लाकै आदेश सदर गरिदिएपछि अजितका परिवार सर्वोच्च पुगेका हुन्।
त्यतिबेला उच्च अदालत पाटन सरकारी वकिलको कार्यालयको निर्देशनमा महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसलामा पुनरावेदन नगर्ने निर्णय गरेको थियो। तर पनि आफूले हिम्मत नहारेको हरिभक्त बताउँछन्।
सरकारी वकिलको कार्यालयको निवेदनमा असन्तुष्ट भई हरिभक्तले २०८० वैशाख २० गते अपराध पीडित संरक्षण ऐन, २०७५ मा प्रत्याभूत गरिएका अधिकारको अधिनमा रही महान्यायधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए। त्यहाँबाट कुनै जवाफ प्राप्त नभएपछि हरिभक्तले पाटन उच्च अदालतको फैसलाको चुनौती दिँदै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन्।
‘सर्वोच्चबाट न्याय पाउने आस छ,’ हरिभक्तले भने, ‘छोराको न्याय नपाएसम्म लडिरहछौं।’
सर्वोच्चले निपक्ष रूपमा प्रमाण खोजी गरेमा आफ्नो छोराले न्याय पाउने उनको आस छ। न्याय नपाएसम्म लास नजलाउने अडानमा रहेकाले घरमा दियोसम्म बालेका छैनन्।
यी आठ वर्षमा जति पनि चाडपर्व आयो। उनीहरूको घरमा कुनै रौनक आएन। चाडपर्व आएसँगै छोराको यादमा रोएर बिताए।
यी आठ वर्षमा उनका परिवारले छोरालाई नसम्झिएको कुनै दिन छैन। उनीहरूले अजितको फोटो घरमा झुण्डाएर राखेका छन्। त्यसमा अहिलेसम्म माला नचढाएको हरिभक्त बताउँछन्।
‘न्याय पाएका दिन अन्त्येष्टि गरेर माला चढाउँछौं,’ उनले भने।
जातीय कारण नै मारिएको भन्दै विभिन्न अभियन्तादेखि सामाजिक संस्थाहरूले आवाज उठाउँदै आइरहेका छन्। ८ वर्षसम्म न्याय नपाएकाले सामाजिक अभियन्ताहरूले विभिन्न कार्यक्रम गर्दै अजितले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिँदै आएका छन्।
उनीहरूले माघको मध्यदेखि विभिन्न कार्यक्रम गर्दै आएका छन्।