‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विविधताले भरिएको छ। दुनियाँमै नभएका नयाँ र फरकपन नेपालमा भेटिन्छ।’
तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाइ छ। सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा भालीले नेपालको विविधता र बहुआयामिकता अथाह भएको बताए।
भाली तीनै व्यक्ति हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमा क्याराभान सूचीकृत भएको थियो।
यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ। फिल्मले जोडेको साइनोका कारण भाली कर्णाली उत्सवमा उपस्थित भएका हुन्।
डोल्पामा बसेर क्याराभान निर्माण गरेका भालीको नेपाल र कर्णाली यात्रा भने रोचक छ।
भाली १८ वर्ष हुँदा घुम्नका लागि अफगानिस्थान पुगेका थिए। त्यहाँ घुम्दा घुम्दै उनको भिजा सकिएछ। एकदिन अफगानी सेनाले पक्राउ गरेर जेल उनलाई हाल्यो।
‘अफगान आर्मीले मलाई दुईवटा अप्सन दियो घर जान्छस् कि अन्य छिमेकी मुलुकमा? तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए,’ भालीले भने, ‘भारतमा रहँदा नेपालबारे धेरै कुरा सुनेँ। नेपाल आएँ। त्यसपछि त तिमीहरुको देशमा माया बस्यो।’
भालीका अनुसार त्यतिबेलासम्म नेपालमा पर्यटन मात्रै थियो। ‘विदेशीहरुले नेपालमा टुरिजम मात्रै देख्थे। तर मलाई सक्कली नेपाल देख्नु थियो। र कुनै पनि विदेशी नपुगेको ठाउँमा पुगे’ उनले भने।
सक्कली नेपाल देख्ने चाहेकै कारण अरुण, तमोर लगायतका क्षेत्रमा पुगेको भाली बताउँछन्। घुम्दा-घुम्दै उनी कर्णालीको डोल्पा पुगे। शुरुआती चरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउने इच्छा जाग्यो।
डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो। ‘ऊनको लूगा, चौँरीको दूध, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो। तीनै मान्छेहरूको जनजीवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो’ भाली भन्छन्।
‘एउटा शसक्त फिल्म बनाउन के गर्नुपर्ने रहेछ?’ काठमाण्डौं विश्वविद्यालय सह–प्रध्यापक डा. लोचन रिजालले प्रश्न गरे। ‘फिल्म राम्रो हुनलाई शक्तिशाली कथा हुनुपर्छ। शक्तिशाली कथा भेटाउन गाउँ डुल्नु पर्छ’ जवाफमा भालीले भने।
क्याराभान फिल्मको स्क्रिप्टका लागि आफुले तीन वर्ष पढेको र पढेको बताए। ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन। त्यसको मुटुसम्म पुग्नु पर्छ। पावरफूल स्टोरी भेटाएपछि अरू बाटाहरु खुल्दै जान्छन्। सजिलै फिल्म भेटिदैन्। राम्रो कन्टेन्ट छैन् भने फिल्म नबनाएकै राम्रो हुन्छ,’ उनले चलचित्र निर्मातालाई सुझाव दिँदै भने।
उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दुर दराजमा घुम्न समेत आग्रह गरे। ‘ְֹएउटा विदेशी आएर नेपालका बारेमा फिल्म बनाउँदै गर्दा तपाईंहरू आफ्नै देशमा किन घुम्नुहुन्न?’ उनले भने।
९ महिना डोल्पामा बसेर हिडँद हिउँदमा क्याराभानको सुटिङ्ग गरेको उनले बताए। ‘त्यहाँको याक, मान्छे सबै अर्गानिक थिए। आफनै दुनियाँका। आफनै सोंच, बिचारका’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपन हुन आवश्यक छ। म त्यस्तै एउटा पागलपन भएको फिल्म निर्देशक हुँ।’
१९५२ मा फ्रान्समा जन्मिएका भालीले नेपालमा मात्रै ३० वर्ष बिताएका छन्। फिल्ममार्फत नेपालको संस्कृतक सम्पदालाई संसारभर चिनाएका भालीको नेपाल प्रेम अनौठौं छ। ‘म विदेशीहरू नजाने बाटो हिडँछु। त्यसले मलाई नयाँ पन दिन्छ। दुर्गम क्षेत्रमा पुग्छु। बाटो बिराउँछु। कहिल्यै भोकै सुत्छु। फेरी गन्तव्य त भेटाइनै हाल्छु,’ उनी भन्छन्।
हाल सूदुरपश्चिमको बझाङ्ग र बाजुरमा पुगेर त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भालीले बताए। ‘बाजुरा पनि अनौठो छ। त्यहाँको बारेमा बुझ्दै छु। ती कुराहरु लैख्दै छु,’ उनले भने।
भाली नेपालीमा आफ्नो कुरा प्रष्टसँग राख्छन्। रिजालले उनलाई अर्को प्रश्न गरे, ‘नेपाली भाषा किन सिक्नुभयो ?’ जवाफमा भालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृति बुझिदैन। दुरदराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझदैनन्। त्यसो हुँदा नेपाली सिकेँ।’