‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू भएको छ।
नेपालमा पहिलो पटक भएको सम्मेलनको १६ औं संस्करणमा विश्वभरका ९२ देशबाट ४० हजार बढीको सहभागिता छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको सम्मेलनमा सहभागी हुन १ हजार २५२ वटा संस्थाहरू दर्ता भएका छन्।
सम्मेलनमा विभिन्न १३ वटा विषयगत विधामा आधारित भएर ४०२ वटा कार्यक्रमहरू दर्ता भएको आयोजक विश्व सामाजिक मञ्च नेपालले जनाएको छ।
नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरूद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक संगठनको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गर्दै आएको छ ।
नेपालमा सुरू भएको यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाहरूले सृजना गरेका नकारात्मक प्रभावका बारेमा आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचारहरू निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरूपका नीति‐संरचनाहरू निर्माण गर्न विश्वव्यापी रूपमा दबाब सृजना गर्ने अपेक्षा मञ्चले गरेको छ। कार्यक्रम सुरू हुनुअघि सहभागीहरूले झाँकीसहित प्रदर्शन गरेका थिए।
सम्मेलन फागुन ७ गतेसम्म चल्नेछ।
तस्बिरहरू: