आइतबार बिहान निर्मलादेवी साह रत्नपार्क शान्तिवाटिका पार्कअगाडि फुटपाथमा बसिरहेकी थिइन्। उनी त्यहाँ बस्न थालेको सोमबार ६ दिन भयो।
अहिले उनको घर भन्नु यही फुटपाथ हो।
फुटपाथमा त्रिपाल टाँगेर छानो बनाएकी छन्। भुइँमा कतै त्रिपाल त कतै मार्ट बिछ्याइएको छ। त्यही त्रिपालभित्रको एक कुनामा केही भात-भान्साका सामान, सुत्ने ठाउँ र ओढ्ने ओछ्याउनी राखिएको छ।
सुत्नका लागि बिछ्याइएको तन्ना र सिरकमाथि घाम पर्दा अलि उज्यालिएका रहेछन्। घाम नपर्ने हो भने, मयलले ती आफ्ने रङमा फर्कन्थे।
घाम झुल्किएसँगै उनी शरीर तताउन बाहिर निस्केर बसेकी रहिछन्। हामी पुग्दा घामतिर पिठ्युँ फर्काएर बसिरहेकी थिइन्।
‘कहिले उज्यालो होला जस्तो हुन्छ,’ उनले भनिन्,‘चिसो र सवारी साधनको चर्को आवाजले राति निदाउनै सक्दिनँ।’
त्यसैले उनी बिहान घाम झुल्किएसँगै रातभर चिसोले कठ्याङ्ग्रिएको शरीर सेकाउँछिन्।
फुटपाथमा जति वटा मार्ट र त्रिपाल ओछ्याए पनि भुइँबाट चिसो आउने रहेछ। वरिपरि बारिएको त्रिपालले पुस-माघको चिसो नछेक्ने उनले बताइन्।
‘पार्कभित्र बस्दा यतिधेरै चिसो हुँदैनथ्यो, त्यहाँ बस्न दिएनन्, उनले भासिएको स्वरमा भनिन्, ‘यहाँबाट पनि हटाउने हल्ला छ। कहाँ गएर बस्नू!’
अघिल्लो दिन महानगरका प्रहरीसँग सामान लुछालुछ हुँदा उनी चिच्याएकी थिइन्। त्यसैले उनको स्वर भासिएको रहेछ।
उनीसहित उनका श्रीमान विनोदप्रसाद साह, उनका छोरा प्रेम र छोरी मनिषा शान्तिवाटिका पार्कमा बस्दै आएका थिए।
उनीहरू पार्कमा बस्न थालेको तीन महिना भएको थियो।
माघ २३ गते मंगलबार बिहान सम्पदा क्षेत्रमा बस्न नदिने भन्दै काठमाडौं महानगरीय प्रहरीले पार्कबाट हटाइदिएपछि उनको परिवारसहित अन्य पीडित फुटपाथमा बस्न विवश भएका छन्।
निर्मलादेवीका परिवार कहिले माइतीघर, वीर अस्पतालअगाडि त कहिले फुटपाथमा बसेर धर्ना दिइरहेका छन्। उनीहरू आफूले न्यायको अनुभूति नगरेसम्म गाउँ नफर्किने अडानमा छन्।
निर्मलादेवीको ९ महिना अर्थात् २४२ दिनदेखि दैनिकी एउटै छ।
छोरीको फोटो हेर्यो, टोलायो। छोरीको झझल्को आए गहभरि आँसु पार्यो। कोही आइहाले हत्त न पत्त पुछ्यो।
कहिलेकाहीँ चिच्याएर बोलाउँदा छोरी आउँछे कि जस्तो उनलाई लाग्छ।
ब्यानरमा झुन्ड्याइएको छोरीको तस्बिर देखाउँदै भनिन्, ‘हेर्नुहोस् त यति राम्री छोरीलाई मारे,’ उनले यति भन्न सकिन्। उनले गहभरि आँसु पारिन्।
उनको जेठी छोरी आरती साह जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
निर्मलादेवीले छोरी आफैं झुन्डिएको भनेर स्वीकार गर्न सकेकी छैनन्।
श्रीमानसहित सासू-ससुराले दाइजो नल्याएको भन्दै आरतीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको निर्मलाले सुनाइन्।
जति पटक छोरीले घरले दिएको पीडा सुनाउँथिन्। उनले छोरीलाई सहन अह्राइन्। श्रीमानको घर गरिखानुपर्छ भनेर आफूले थाहा पाएको र गाउँ देहातमा सुनेकै कुरा छोरीलाई भनिन्। छोरी रुँदै आउँथिन्। उनी फर्काइदिन्थिन्।
त्यही कुरा उनलाई अहिले पछुतो लाग्छ।
विवाह गरेको छोरी माइतीमा बस्नुहुँदैन भन्ने सोच उनको थियो। उनलाई छोरी लामो समय माइतीमा बसेको थाहा पाए समाजले कुरा काट्छ भन्ने डरले गाँज्थ्यो। त्यही कारण आफूले छोरीलाई श्रीमानको घर पठाइदिने गरेको उनले बताइन्।
‘विवाह गरेकी छोरी माइती बस्दा निको मान्दैनन्,’ उनले भनिन्, ‘यस्तो हुन्छ भन्ने थाहा भए किन घर पठाउँथें!’
दु:ख-सुख गरी जीवन बिताइरहेका उनीहरूको परिवार छोरीको मृत्युपछि पीडामा परेको छ। जीवनको लय बिथोलिएको छ।
दिनहुँ खेतबारीमा काम गरेर गुजारा चलाउने उनको परिवार अहिले अरूको भरमा बाँचेका छन्।
भोकले मर्न तयार छन्। तर छोरीको न्याय नपाएसम्म गाउँ फर्किन चाहँदैनन्।
यो कथा त्यही चार जनाको परिवारको हो।
धनुषा नगराइन नगरपालिका-८ का निर्मलादेवीको परिवार ठीकठाक थियो। गाउँमा एक बिघा जग्गा थियो। त्यसैको आयस्ताले परिवारको गुजारा चलिरहेको थियो।
निर्मलादेवी र विनोदप्रसाद खेतीबारीको काम गर्थे। छोराछोरीहरू आरती, प्रेम र मनीषालाई कृषि पेशा गरेरै पढाउन खर्च पुग्थ्यो।
दम्पतीले तीन सन्तान हुर्काउन त्यति कष्ट झेल्नु परेन।
आरती, प्रेम र मनीषाले पनि कलेज छुट्टी हुँदा खेतीबारीको काम सघाउँथे। हुर्किरहेका छोरीहरूको भविष्य के हुने हो भनेर विनोद प्रसादलाई निन्द्रा पर्दैनथ्यो।
छोरीलाई लामो समय विवाह नगरी राख्न हुँदैन भन्ने पुरातन सोचबाट निर्मलादेवी र विनोदप्रसाद पनि टाढा थिएनन्।
उनीहरूले २० वर्ष पुग्दै गरेकी छोरीको विवाहबारे आफन्तसँग कुराकानी अघि सारे।
विनोदप्रसादकै आफन्तमार्फत् विवाहको कुरा आयो। केटा इन्जिनियर र आर्थिक पाटो राम्रो देखेपछि उनले छोरीको विवाह त्यही केटासँग गरिदिने निधो गरे।
मिथिला बिहारी नगरपालिका-३ का मोतीबाबु साहसँग २०७८ असार ३० गते आरतीको विवाह गरिदिए।
त्यतिबेला आरती जनकपुर मोडल कलेजमा बिबिएस दोस्रो वर्षमा पढ्थिन्। थप पढाइको लागि केटा पक्षले सहयोग गर्ने भएपछि विनोदप्रसादमा खुसीको सीमा थिएन। पढाइ-लेखाइ भए छोरीले घर गरी खान्छिन् भनेर उनलाई लागेको थियो।
उनले २५ लाख रूपैयाँ ऋण गरेर केटा पक्षले चाहेझैं धुमधामसँग छोरीको विवाह गराइदिएका थिए। त्यो ऋण अहिलेसम्म तिर्न सकेका छैनन्। राम्रो परिवारमा धुमधामसँग विवाह गराइदिए छोरीले दु:ख पाउँदिनन् भन्ने उनको बुझाइ थियो।
विवाह भएको एक वर्षसम्म आरतीले माइतीमा कुनै गुनासो गरिनन्। उनलाई पढ्न दिइएको छैन भन्ने कुरासमेत माइतीलाई नबताएको आमा निर्मलाले बताइन्।
बिस्तारै दाइजो कम भएको भन्दै श्रीमान र सासू-ससुराले बेलाबेला शारीरिक र मानसिक यातना दिन थालेपछि उनले बहिनी मनिषासँग पीडा–प्रताडना बाँड्न थालिन्।
बिस्तारै आमाबाबुलाई पनि ज्वाइँ र सम्धीले आरतीलाई दु:ख दिइरहेको थाहा भयो।
तर पनि श्रीमानको घर छोडेर माइती आएर बस् भन्न आफूले नसकेको निर्मलादेवीको दु:खेसो छ।
‘कहिलेकाहीँ माइती आएर लामो समय बसे पनि छोरीलाई घर गरेर खानुपर्छ भन्दै फर्काइदिन्थेँ,’ उनले भनिन्।
श्रीमानले कुटपिट गर्दा वा मानसिक दबाब दिँदा आरती दुई–चार दिन माइती आएर बस्थिन्। परिवारले सम्झाइ-बुझाइ गरेर पुन: श्रीमानकै घरमा पठाइदिन्थे।
उनको मृत्युअघि पनि २०/२५ दिन माइती नै बसेकी थिइन्। श्रीमान् लिन आएपछि आरती उनैसँग फर्किएकी थिइन्।
त्यतिबेला आरतीका श्रीमानले आफूबाट गल्ती भएको र त्यस्तो गल्ती नदोहोर्याउने बचन दिएकाले निर्मलादेवी ढुक्क भएकी थिइन्। आरती पनि घर फर्कन राजी भएकी थिइन्।
त्यसबेला निर्मलादेवीलाई अब छोरी–ज्वाइँको सम्बन्धमा सुध्रिन्छ कि भन्ने लागेको थियो। तर जेठ ७ गते साँझ अन्दाजी साढे ६ बजे विनोद प्रसादलाई सम्धी मदनमोहन साहको फोन आयो। त्यो फोनले उनको भ्रम तोडिदियो।
त्यतिबेला मदनमोहनले आरतीको स्वास्थ्यावस्था खराब भएर जनकपुरको काव्या अस्पताल लगेको भन्दै तत्कालै आउन भने।
विनोद प्रसादलाई घरबाट जनकपुरको काव्या अस्पताल पुग्न अलि लामो समय लाग्थ्यो। त्यसैले उनले छोरी मनीषालाई दिदी बिरामी भएर अस्पताल लगेको बताए। तुरून्तै अस्पताल जान भने।
मनीषा अध्ययनका लागि जनकपुरमै आफन्तकहाँ बस्थिन्। मनीषा पन्ध्र/बीस मिनेटमै अस्पताल पुगिन्।
'अस्पताल पुग्नसाथ दिदीलाई धेरैपल्ट बोलाएँ तर दिदी बोल्दै बोलिनन्,' मनीषाले भनिन्, 'डाक्टरले अस्पताल ल्याउनुअगाडि नै आरतीको मृत्यु भइसकेको भन्नुभयो।’
मनीषा अस्पताल पुगेको केही समयपछि विनोद, निर्मलादेवी र प्रेम पुगेका थिए। मनीषाले आत्तिँदै दिदीको मृत्यु भइसकेको कुरा सुनाइन्।
त्यसपछि अस्पताल परिसरमा मनीषाको परिवारको रूवाबासी चल्यो।
'म आफैं सम्हालिन सकेको थिइनँ, बाआमालाई कसरी सम्हाल्न सक्थेँ?,' उनले त्यो दिन सम्झिँदै भनिन्।
आरतीले मनीषालाई धेरैपटक शारीरिक यातना खप्नुपरेको कुरा सुनाइरहेकी हुन्थिन्। त्यसैले उनले अस्पतालमा जबरजस्ती गरेरै आरतीको शव हेरेकी थिइन्। उनले दिदीको घाँटी, छाती लगायत शरीरका अन्य भागहरूमा निलो दाग देखिन्।
त्यसपछि उनलाई दिदीको हत्या भएको शंका लाग्यो।
मनीषालाई शंका लागेपछि निर्मलादेवीको शव उनका दाजु र बा-आमालगायत आफन्तले हेरेका थिए। सबैलाई आरतीको हत्या भएकै शंका लाग्यो।
शंका गहिरिँदै गएपछि मनीषाको परिवारले अस्पतालबाट शव निकाल्नै दिएनन्। उनीहरू प्रहरीकोमा पुगे।
मनीषाको परिवारले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविविरूद्ध ज्यान मार्ने उद्योगमा उजुरी लिएर गए। तर प्रहरीले उजुरी लिन मानेनन्।
ज्यान मार्ने उद्योगमा उजुरी लिन नमानेको प्रहरीले आत्महत्या दुरूत्साहनको उजुरी दिए मात्र लिने बतायो। त्यसपछि आफूहरूले भिनाजु मोतीबाबु, ससुरा मदनमोहनविरूद्ध आत्महत्या दुरूत्साहनको उजुरी दिएको मनीषा बताउँछिन्।
त्यतिबेला प्रहरीले उजुरी दर्ता गर्दै कानुनी प्रक्रिया अगाडि बढेको भन्दै अन्त्येष्टि गर्न सल्लाह दिए। उनीहरूले पनि प्रहरीले भनेअनुसार गरे।
उजुरी दर्ता भएसँगै आरतीको शव अन्त्येष्टि भयो।
दुई दिन जतिमा आरतीको पोस्टमर्टमको रिपोर्ट आयो।
मनीषाका अनुसार आरती जेठ ७ गते साँझ साढे पाँच बजे पासो लगाएको अवस्थामा भेटिएको भनिएको थियो। तर जेठ ८ गते अपराह्न १ बजे आएको पोस्टमर्टम रिपोर्टमा मृत्यु २४ देखि ३६ घन्टाअघि भएको उल्लेख गरिएको मनीषाले बताइन्।
'पोस्टमर्टम रिपोर्टमा शरीरको अन्य भागको चोटबारे केही उल्लेख छैन,' मनीषाले रिपोर्ट देखाउँदै भनिन्, 'रिपोर्टमा ह्यांगिङ इज पोसिबल इन नेचर लेखिएको छ।'
उजुरी दर्ता भएसँगै जिल्ला अदालत धनुषाले जेठ ३२ गते पेसी तोकेको थियो। अदालतले माइती पक्षलाई उपस्थित हुनुपर्ने भन्यो। अदालतमा निर्मलादेवी, विनोदप्रसाद, प्रेम र मनिषाको बयान लिइयो। त्यस दिन उनका मामा सन्तोष पनि गएका थिए। बयान लिइसकेपछि हस्ताक्षर गर्ने क्रममा भनेको भन्दा फरक कुरा लेखिएको थाहा भएपछि झडप भएको मनीषा बताउँछिन्।
'प्रहरी आफैंले बयान तयार पारेर ल्याएको रहेछ। त्यसमा हस्ताक्षर गर्न नमानेपछि हातपात भयो,' उनले भनिन्, 'उक्त घटना मोबाइलमा रेकर्ड गर्न थालेको थिएँ। प्रहरीले मोबाइल खोस्दै मलाई घिसारेर बाहिर निकालिदियो।'
त्यसपछि झडपले ठूलो रूप लियो।
'पुरूष प्रहरीले घाँटीमा समातेर उचाल्नुभयो। त्यति मात्र होइन मेरो पेटमा लात्ताले हाने,' उनले भनिन्, 'त्यसकारण म धेरै दिन थला परेँ।’
झडपपछि विनोदप्रसाद, प्रेम र सन्तोषलाई प्रहरीले नियन्त्रणमा लियो। मनीषा र निर्मलादेवीले पटक-पटक छोडिदिन आग्रह गरे तर प्रहरीले मानेनन्।
प्रहरीले उनीहरूलाई छोडिदिन निर्मलादेवीको अगाडि शर्त राखे।
'प्रहरी कार्यालयका प्रमुखको खुट्टा ढोग्दै अबदेखि उक्त मुद्दामा केही अवरोध नगर्न भन्दै हस्ताक्षर गरे छोडिदिन्छौं,' निर्मलादेवीले भनिन्, ‘श्रीमान, छोरा र भाइलाई छुट्याउन प्रहरीको खुट्टा ढोगेँ।’
त्यसपश्चात प्रहरीले १० बजेतिर ३ जनालाई छोडिदियो।
प्रहरीसँगको झडपमा निर्मलादेवीबाहेक चार जना सामान्य घाइते भएका थिए। त्यसैले उनीहरू प्रहरी कार्यालयबाट निस्किएर सिधै जनकपुरको प्रादेशिक अस्पताल गए। उपचार गराए।
जेठ ३२ गते रातभर अस्पताल बसे।
असार १ गते बिहानै अस्पतालबाट निस्किएर सिधै काठमाडौं माइतीघर मण्डल आएका थिए।
आफूमाथि भएको अत्याचार र आरतीले न्याय पाउनुपर्छ भन्दै सरकारको आगँनमै गएर आफ्नो पीडा सुनाउने सोच बनाएर काठमाडौं आएको उनीहरूले बताए।
आफूमाथि भएको अन्यायबारे सरकारले सुन्ने ठाउँमा पुगे छिट्टै न्याय पाउने आशा बोकेर उनीहरू काठमाडौं आएका थिए।
तर उनीहरूले सोचेजस्तो भएन।
उनीहरू काठमाडौं आएको सोमबार २४२ दिन अर्थात् ९ महिना २ दिन भइसक्यो। तर उल्टै आफूमाथि थप पीडा दिने काम भइरहेको उनीहरूले बताए।
काठमाडौं आएर माइतीघर मण्डलको सडकमा शान्तिपूर्ण धर्ना दिइरहेका उनीहरू चौबीसै घन्टा त्यहीँ बसे। प्रहरीले आफूमाथि गरेको ज्यादतीमाथि लड्ने योजना बनाएर मनीषाले तत्कालीन जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश गौतम र एसपी विश्वराज खड्काविरूद्ध असार १५ गते उजुरी दिन गइन्।
उक्त उजुरी त्यहाँको प्रहरीले लिन नमानेपछि सरकारी वकिल कार्यलयबाट हुलाकमार्फत् पठाएको उनको भनाइ छ।
उजुरीमाथि के भयो भनेर मनीषाको परिवारलाई अहिलेसम्म कुनै जानकारी छैन।
उनीहरूले प्रहरीको डिएसपी र एसपीको फोटो राखेर माइतीघरमा धर्नालाई निरन्तरता दिए।
यता आरतीको आत्महत्या दुरूत्साहनको उजुरीमा भने कानुनी प्रक्रिया अगाडि बढ्यो। आरती साहको मृत्यु प्रकरणमा उनका श्रीमान र ससुरा पक्राउ परे।
असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत जनकपुरले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्चले मुद्दामा प्रमाण नपुगेको भन्दै छोडिदियो।
असोज १८ गते जनकपुर उच्च अदालतले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहन साहलाई साधारण तारेखमा छोड्न आदेश दियो।
मुख्यन्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीको माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेपछि उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।
'घटना हत्या नभई आत्महत्याजस्तो देखिएकाले पनि उनीहरूलाई साधारण तारेखमा छोडिएको हो। फाइलहरू हेर्दा पनि आत्महत्याजस्तो देखियो,' रजिष्ट्रार अधिकारीले भने।
आरतीका श्रीमान र सुसुरा दुवै जनालाई साधारण तारेखमा रिहा गरिदिएपछि त्यसविरूद्ध आरतीको परिवार सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे। मंसिर २० गते सर्वोच्च अदालतले आरतीका श्रीमान मोतीबाबुलाई पुनः पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए। श्रीमान र ससुरा पुन: पक्राउ परे।
अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा छ।
यता आरतीको परिवार छोरीको मृत्युको प्रकरणमा निष्पक्ष छानबिनको दबाबसँगै आफूमाथि हातपात गर्ने प्रहरीलाई निलम्बन गर्नुपर्ने माग राख्दै धर्ना बसिरहेका छन्।
असार १ गतेदेखि धर्ना बस्न थालेका उनीहरूको दु:ख अहिलेसम्म समाप्त भएको छैन। माइतीघरमा बस्दै आएका उनीहरूलाई सरकारले त्यहाँबाट लेखेट्यो।
पीडित र आन्दोलनकारीको प्रमुख केन्द्र बनेको माइतीघर निषेधित क्षेत्र बन्यो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर-नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरे। उनीहरू जबरजस्ती त्यही बस्न खोजेपछि प्रहरीले लछार-पछार पार्दै सिंहदरबार वृत्त पुर्यायो।
उनीहरूलाई दुई/चार घन्टा राखेपछि उपचारको लागि भन्दै वीर अस्पताल लगेर छोडिदिएको थियो। आरतीका परिवार दुई/तीन साता वीर अस्पतालअगाडि पनि बसे।
त्यसपछि उनीहरू तीन महिनाअघि रत्नपार्कस्थित शान्तिवाटिका पार्क पुगेका हुन्।
शान्तिवाटिका पार्कबाट पनि महानगरले हटाइदिएपछि फुटपाथमा पुगे। तर उनीहरू आफूमाथि भएको अन्यायबारे बोल्न सबथोक छाडेर लागि परेका छन्।
यहाँ फुटपाथमा बसिरहेका उनीहरूको गाउँको घर मुसाले खनिसकेको छ। वार्षिक रूपमा लाखौं कमाउने एक बिघा जग्गा बाँझै छ।
यस्तो चिसो मौसममा सडकको फुटपाथमा बस्न विवश छन् उनीहरू।
न्याय प्रणालीमा सरकारले गरेको ढिलासुस्तीले आफूहरूले पीडा भोग्नुपरेको प्रेमले बताए।
‘सडकको चिसोमा बस्दा बा-आमा नै रोगी भइसक्नुभयो, हाम्रो पढाइ पनि नाम मात्रैको छ,’ उनले दु:ख बिसाए।
राम्रो अंक ल्याएर पास हुने मनीषा र प्रेमको चाहना दिदीकी न्यायको लडाइँले बिथोलिएको छ।
प्रेम अहिले त्रिचन्द कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी छन्। तर उनी कलेज जान पाउँदैनन्। चौबीसै घन्टा धर्ना बसेकाले कसरी कलेज पुग्नू!
परीक्षा दिन मात्र कलेजमा पाइला टेक्ने गरेको प्रेमले बताए।
उनलाई आफ्नो पढाइको उतिसारो चिन्ता छैन। प्रहरीले आफूमाथि गरेको व्यवहार र दिदीको हत्या गर्ने व्यक्तिले दण्ड नपाएकाले पढाइमा मन नगएको बताए।
जनकपुरको राम स्वरूप रामसागर बहुमुखी क्याम्पसमा माइक्रो बायोलोजी पढ्दै आएकी मनीषा पनि यतै छिन्।
उनी पनि परीक्षा दिनमात्र कलेज पुग्छिन्।
‘यहाँ बा-आमालाई एक्लै छोड्न मिल्दैन, दाजु बहिनी पालो गरीगरी बस्छौं,’ प्रेमले भने, ‘दिदीलाई मारे, सरकारले हामीलाई पनि बाँच्न दिएको छैन। जहाँ गए पनि खेद्छ!’
उनीहरूलाई आफ्नो भविष्यको केही सुर्ता छैन। तर दिदीले न्याय पाऊन् भन्ने चाहन्छन्। कलेज जाने उमेरमा सडकमा बसेर न्याय मागिरहेका छन्।
यता निर्मलादेवी र विनोदप्रसादको स्वास्थ्य पनि खस्कँदो छ। उमेर ढल्किँदै गर्दा छोरीले न्याय नपाउने हो कि भनेर उनीहरू डर लाग्न थालेको छ।
'सरकार हामी बूढाबूढीको अनुहार हेरेर भए पनि आरतीलाई न्याय देऊ, सिंहदरबारभन्दा पर हाम्रो जाने ठाउँ नै कहाँ छ र!,' सडकपेटीमा बसेर उनीहरूले यही पुकारा गरिरहेका छन्।