शरीरका कुनै पनि कोशिका असामान्य तरिकाबाट वृद्धि हुनुलाई क्यान्सर भनिन्छ।
यही कुरा स्तनमा भयो भने यसलाई स्तन क्यान्सर भनिन्छ। यो यही कारणले हुन्छ, यसरी नै हुन्छ भनेर त भन्न सकिएको छैन तर हुन सक्ने कारण भन्न सकिन्छ।
क्यान्सर हुनुको मुख्य कारण हर्मोन हो। यो वंशाणुगत कारणले पनि हुन्छ। ३५ वर्षसम्म बिहे नगरेका महिला र ३५ वर्षपछि सन्तान जन्माउने महिलालाई क्यान्सर हुने खतरा हुन्छ। हिजोआज व्यस्तताका कारणले महिलाले स्तनपान कम गराएका हुन्छन्। यस्तो भएमा पनि स्तन क्यानसरको खतरा हुन्छ।
लक्षणहरू:
१. सुरूआतमा स्तनमा गिर्खा आउँछन्।
२.निप्पलबाट पानी, पिप र रगत आउँछ।
३.उपचार नभए गिर्खा बढ्दै गएर घाउ हुन्छ।
४.घाँटीमा र काखीमा पनि गिर्खा बढ्दै जान्छ।
५.घाउ बढ्दै गयो भने किरासमेत पर्छ।
कसरी थाहा पाउने?
सुरूआतमा हेरेर, छामेर पत्ता लगाउन सकिन्छ। मेमोग्राम,अल्ट्रासाउण्ड र सिटी स्क्यानसमेत गर्नुपर्ने हुन्छ। एमआरआई गरेर पनि रोग पत्ता लगाउन सकिन्छ। कतिपय अवस्थामा वायस्पी गर्नुपर्ने हुन्छ भने यति गर्दा पनि भएन भने डल्लै निकालेर परीक्षण गरिन्छ।
उपचार
रोगको प्रकृतिअनुसार अपरेसन, सर्जरी, रेडियसन र किमोथेरापी गरेर उपचार गरिन्छ। सुरूको अवस्थामा भयो भने सर्जरी गर्न परे पनि स्तनलाई बचाएर उपचार गर्न सकिन्छ। जति ढिला भयो उपचार गर्न कठिन हुँदै जान्छ। सुरूकै चरणमा भयो भने निको हुने सम्भावना पनि बढी नै हुन्छ भने दोहोरिने सम्भावना पनि कम हुन्छ। जति जति ढिला भए उपचार गर्न पनि कठिन र महँगो हुन्छ। पछि गएर दोहोरिने जोखिम पनि उत्तिकै रहन्छ।
उपचार गर्न ढिलाइ र बेवास्ता गरियो भने सबभन्दा बढी दुःख बिरामीले पाउँछ भने यसको असर परिवारलाई समेत पर्छ। अस्पताल अनुसार यसको उपचारको मूल्य फरक पर्छ। यो रोगको उपचारका लागि सरकारले १ लाख रुपैयाँ सहयोग दिन्छ। यो रकमले भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि खर्च पुग्छ।
कसरी बच्ने?
जो महिला उच्च जोखिममा छन्, उनीहरू बेलैमा सचेत हुनुपर्छ। आफ्नो स्तन आफैंले ध्यान दिने र वर्षमा १/२ पटक परीक्षण गर्नुपर्छ। ४० वर्ष उमेर कटेका महिलाले भने वर्षमा १ पटक स्वास्थ्य परीक्षण गर्नु स्वास्थ्यका लागि राम्रो हो।
नेपालमा स्तन क्यान्सरका बिरामीको संख्या यति नै छ भन्ने आधिकारिक तथ्यांक छैन। भक्तपुर अस्पतालमा १० वर्ष अगाडि वर्षमा स्तन क्यान्सरको अपरेसन ७० वटासम्म हुन्थ्यो। तर अहिले यो संख्या २ सय १० पुगेको छ।
यसले के देखाउँछ भने स्तन क्यान्सरका रोगी बढ्दै गएका छन्। सकारात्मक पक्ष के हो भने, सुरूमा तेस्रो/चौथो स्टेजमा रोग पुगेपछि मात्रै बिरामी अस्पताल आउँथे भने हिजोआज पहिलो स्टेजमै स्वास्थ्य परीक्षणका लागि बिरामी अस्पताल आउँछन्।
(स्तन रोग विशेषज्ञ श्रेष्ठ एक दशकदेखि भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन्।)