शुक्रबार मध्याह्न काठमाडौंको एक होटलमा रसियामा फसेका नेपालीका आफन्तहरूसँग अन्तर्क्रिया कार्यक्रम थियो।
रसिया पुगेर परिवारसँग सम्पर्कमा आएका र नआएका आफन्तहरू त्यहाँ उपस्थित थिए।
रूसी सेनामा भर्ना भई बेपत्ता भएकालाई खोजी कार्य र स्वदेश फर्किन चाहेकालाई उद्धार गरिदिन भन्दै सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कार्यक्रम गरेका हुन्।
यसअघि हामीले आफन्त रसिया सेनामा भर्ती भएर सम्पर्कविहीन भएका र स्वदेश फर्किन चाहेका केही व्यक्तिसँग कुरा गरिसकेका छौं।
सम्बन्धित समाचार: 'सम्पर्कमा आइन भने सरकारलाई हारगुहार गर्नु, बाचेँ फर्किम्ला'
यस पटक हामीले त्यहाँ पुगेर सकुशल फर्किन सफल भएका व्यक्तिसँग कुराकानी गरेका छौं।
रसिया सेनामा भर्ना भई सकुशल फर्किएका दुई व्यक्ति कार्यक्रममा उपस्थित भएका थिए। उपस्थित भएका सुमन राई खुलेर सबैमाझ आफ्ना अनुभव सुनाइरहेका थिए भने अर्का व्यक्तिले आफ्ना परिचय गोप्य राखेका थिए।
कारण थियो- दलालले पैसा फिर्ता नदिने डर।
पहिला सुनौं सामाजिक सञ्जालमा खुलेर आफ्ना अनुभव सुनाएका सुमन राईको बेथा।
३२ वर्षअघि खोटाङ रूपाकोट मझुवा गढी नगरपालिका-१० मा जन्मेका उनको बाल्यकाल दुःखमय बित्यो। उनी सानै हुँदा बुबा बिते। आमाले दोस्रो विवाह गरेकी थिइन्।
त्यसैले उनको बाल्यकाल काका-काकीको घरमा बित्यो। उनीहरू झापामा बस्थे। पाँच कक्षासम्म उनी त्यही बसे। उमेर बढ्दै जाँदा त्यहाँ घुलमिल हुन नसकेपछि उनी जन्मथलो फर्किए।
उनको बुढी हजुरआमा थिइन्। हजुरआमाको साथमा बसेर कक्षा ९ सम्म अध्ययन गरे। एसएलसी पास गर्ने उनको रहर थियो। तर बुढी भएकी हजुरआमाको दुई छाक टार्न सक्ने अवस्था थिएन। त्यसैले आफू रोजगारीको सिलसिलामा भारत पुगेको उनी बताउँछन्।
‘त्यहाँ होटलमा सहयोगीको काम गर्दा-गर्दै भान्साको काम सिकेँ,’ उनले भने।
भारतमा केही वर्ष भान्साको काम सिकेपछि उनी गाउँ फर्किए। गाउँमा त्यसै बस्न नसक्ने भएपछि उनी सन् २००८ मा काठमाडौं छिरे।
काठमाडौंमा दुई/ छाक टार्न मुस्किल भएपछि आफन्तको सल्लाह र सहयोगमा विदेशिने योजना बनाए। कम लगानीमा राम्रो कमाइ हुने ठाउँ जाने सोचमा थिए, त्यही बेला कम मूल्यमा मलेसिया जाने अवसर मिल्यो।
पहिलोपल्ट उनी मलेसिया पुगे।
उनी पहिलो पल्ट मलेसिया पुगेको २०६६/६७ सालतिर हो। त्यहाँ उनले भारतमा सिकेको सीप उपयोग गर्ने काम मिल्यो। होटलमा काम गर्ने अवसर पाए। तीन वर्षसम्म कुक बनेर काम गरेको उनी बताउँछन्।
'त्यहाँको कमाइ ठीकठाक मात्र थियो। त्यसैले तीन वर्ष बसेर फर्किएँ,' उनले भने।
उनी स्वदेशमा फर्किएको केही महिनामै पुन: विदेश पलायन भए।
‘मलेसियाबाट फर्किएपछि केही महिनामा साउदी पुगेँ,’ उनले भने, ‘काम गर्ने नसा लागेपछि छोड्न नसकिने रहेछ।’
उनले साउदीमा पनि कुकको काम गरे।
उनी त्यहाँ पनि ३ वर्ष बसेर फर्किए। त्यति बेला भने स्वदेशमा केही व्यवसाय सुरू गर्ने मनसाय बनाएर फर्किएको उनी बताउँछन्। त्यहाँबाट फर्किएर केही समय के गर्ने भनेर योजना बुने। २०७३ को अन्तिमतिर ललितपुरमा एक कपडा पसल सञ्चालन गरे।
पसलले गति लिँदै थियो। २०७६ मा कोरोनाले उनको व्यवसायको गति रोकियो। लामो समय पसल बन्द भयो। तर पनि आफूले हिम्मत नहारेको उनको भनाइ छ।
कोरोनाले साम्य भएपछि पसल पुरानै लयमा फर्किने आस थियो तर सोचेजस्तो भएन।
त्यसैले उनी मलेसिया जाने सोच बनाएर म्यानपावर बुझ्न गएका थिए। म्यानपावर सञ्चालकले मलेसिया भन्दा राम्रो तलब हुने ठाउँ रसिया भन्दै सुमनलाई प्रलोभनमा पारे।
‘राम्रै पैसा कमाउने भएपछि ८ लाख रुपैयाँ तिरेर असोज १७ गते रसिया पुगेँ,’ उनले भने।
उनी त्यहाँ पुगेपछि रसियाले केही हप्ता तालिम दियो। उनीहरूलाई पोसाक दिइयो, हातमा बन्दुक थमाइदिए। त्यही बीचमा उनीहरूसँगै बसेका केही साथी युक्रेनविरूद्ध लडाइँमा जाँदा केही घाइते भए भने कोही साथीको मृत्यु भयो। त्यसपश्चात् आफू त्यहाँ बस्न नसकेर भागेको उनी बताउँछन्।
'भाग्न सजिलो थिएन। त्यहाँका दलाललाई तीन लाख रुपैयाँ बुझाउनुपर्यो,' सुमनले भने।
उनका अनुसार त्यहाँ पुगेका नेपालीहरूलाई केही हप्ता तालिम दिएर युद्धको लागि युक्रेन पठाइन्छ। युद्धमा पुगेका नेपालीहरू लगातार १५ देखि २० दिनसम्म लड्छन्। बाँचेका फर्किएर आउँछन् भने मृत्यु भएकाहरूलाई त्यहीँ छोडिदिन्छन्।
‘धेरैजसो नेपालीहरू भाषा नबुझेर मृत्यु हुन्छ, कमान्डरले दायाँ-बायाँ जाऊ भन्दा भाषा नबुझेर अर्कैतिर जान्छन्,’ उनले भने, 'शारीरिक व्यायाम नहुँदा भाग-दौड गर्न पनि नेपालीलाई गाह्रो हुने गरेको देखिन्छ।'
उनले थपे- ‘फ्रन्टलाइनमा बसेर काम गर्ने त्यहाँ नेपाली, भारतीय, बंगलादेशी नागरिक मात्र हुन्छन्।’
रसियाले युक्रेनको लडाइँका लागि भाडाका लिएका अन्य देशका नागरिकलाई फ्रन्टलाइनमा राखेर काम गरिरहेको छ।अलि-अलि पैसा कमाउने प्रलोभनमा परेर नेपाली मर्न तयार भएका उनको बुझाइ छ।
स्वदेशमा रोजगारी नपाएपछि बाँचे कमाउँला मरे सकिहाल्यो भन्ने सोचेर नै धेरै युवा रसिया पुग्ने गरेको सुमन बताउँछन्।
उनले पनि त्यही सोचेर गएका थिए।
पहिलो महिना मासिक ३ लाखभन्दा धेरै र दोस्रो महिनादेखि २ लाख १० हजार तलब हुने भनेपछि रसिया जाने हिम्मत आएको थियो। तर त्यहाँ साथीहरूको मृत्यु भएको र घाइतेहरूको अवस्था देखेपछि डरले भागेको उनको भनाइ छ।
उनी लडाइँमा जानुभन्दा अघि नै भागेकाले सकुशल फर्किन सफल भएका हुन्।
‘युक्रेनविरूद्ध लड्न पठाइएको ठाउँमा पुगेपछि सकुशल फर्किन गाह्रै छ,’ उनले भने, 'लडाइँमा जाने तयारी भइरहँदा नै दलाललाई पैसा खुवाएर भागेको हुँ।'
उनी त्यहाँ पुगेका नेपालीहरूलाई फर्काउन सरकारले नै पहल गर्नुपर्ने बताउँछन्। नत्र त्यहाँ पुगेका नेपाली फर्किन सम्भव नभएको उनको धारणा छ।
उनका अनुसार त्यहाँ १२ देखि १५ हजार नेपाली छन्।
त्यस्तै रसियाबाट फर्किएर आएका अर्का व्यक्ति हुन्- तेह्रथुम राजु (नाम परिवर्तन)।
राजुले नेपालमा व्यवसाय सञ्चालन गरिरहेका थिए। कोरोनाको समयमा डुबेको व्यवसाय उठाउनका लागि सहकारी संस्थाबाट ९० लाख रुपैयाँ ऋण लिए।
व्यवसाय पुरानै लयमा फर्काउन नसक्दा ऋण लिएका व्यक्ति तथा संस्थाले उनको घाँटी च्याप्न थाले। त्यसपश्चात् विदेशिने योजना बनेको उनको भनाइ छ।
उनी विभिन्न म्यानपावरमा बुझ्न गए।
काठमाडौं एक चर्चित म्यानपावरले उसलाई १० लाख रुपैयाँ लगानी गरेर रसिया गए मासिक ३ लाखभन्दा धेरै कमाउन सक्ने भनेपछि राजी भए। कात्तिकको पहिलो हप्ता दलालाई पासपोर्ट बुझाए। त्यसको केही दिनमै भिसा आएको उनी बताउँछन्।
भिसा आएपछि राजुले दलाललाई १० लाख रुपैयाँ बुझाएका थिए।
उनलाई रसिया युक्रेनको लडाइँबारे थाहा थियो। तर पनि राम्रो कमाइ हुने भएपछि लोभिएर त्यहाँ पुगेको उनी बताउँछन्।
'ऋणले बाँच कि मर भन्ने अवस्थामा पुर्याइसकेको थियो। त्यसैले रसिया जानु ठीकै लाग्यो,' उनले भने।
उनी रसिया जान कात्तिक १७ गते घरबाट निस्किए। यहाँबाट भारतको दिल्लीसम्म बसमा गए। दिल्लीबाट रसियाको मस्को भन्ने ठाउँमा पुगे। त्यति बेला उनीसँगै ६२ जना साथी थिए।
रसिया पुगेर उनीहरूलाई जेलरहरूसँग राखिएको थियो। केही दिन तालिम दिइयो र युद्धको लागि पठाउने तयारी हुँदै गर्दा उनीभन्दा अघि गएका साथी युक्रेनमा गोली लागेको खबर सुने।
उनीसँग फोनमा कुरा गर्दा उनलाई युद्धमा नआउन सल्लाह दिए। त्यसपश्चात् उनको मनमा डर पलायो।
उनकी दिदी हङकङमा थिइन्।
दिदीलाई आफ्ना साथी घाइते भएको र युद्धमा नेपालीमाथि हुने ज्यादतीबारे सुनाए। उनको दिदीले पनि त्यहाँबाट भाग्न सके स्वदेश फर्किन सल्लाह दिइन्।
उनी युक्रेनको लडाइँमा जाने दिन आइसकेको थियो। त्यसैले आफू कसरी निस्किने भन्ने कुराले उनलाई पिरोल्न थाल्यो। उनले भाषा नबुझ्ने भएकाले के गर्ने, नगर्ने भन्ने कुरामा अलमलमा परे।
मोबाइलमा भाषा ट्रान्सलेट गरेर रसियन नागरिकसँग बोल्न थाले। यदि कुनै आफन्त सिकिस्त बिरामी परे फर्किन सक्ने हल्ला सुने।
उनले त्यही उपाय अपनाए।
नेपालमा रहेका उनका दाजुलाई आमा सिकिस्त बिरामी भएको र नक्कली कागजात बनाउन लगाए। कागजात बन्यो। तर कसलाई भन्ने कुराले उनलाई पिरोल्यो।
उनीहरूको जेलरमा एक जना रसियन गार्ड एकदमै मदिरा सेवन गर्ने व्यक्ति थिए। त्यही व्यक्तिले आफूलाई सहयोग गर्न सक्ने राजुलाई लाग्यो।
उनीसँग नजिक हुन पहिलो दिन लामै कुराकानी गरे, दोस्रो दिन उनलाई ८/९ रसियन रूवेलको रक्सी खुवाए। आफूले पनि खाएको जस्तो गरी स्वदेशमा आमा सिकिस्तै बिरामी भएको भन्दै धुरू-धुरू रोए।
उनी रोएको देखेपछि रसियन गार्डले आमा बिरामी भएको कागजात देखाउन भने। उनका दाजुले बनाइदिएको कागजात देखाए।
स्वदेश फर्किने उनको अन्तिम आस त्यही गार्ड थिए।
उनले मनमा दया पलाउन आफूले सके जति गरेको उनी बताउँछन्।
उनीहरूलाई भोलिपल्ट युक्रेनविरूद्ध लड्न पठाउने काम भइरहेको थियो। अघिल्लो दिन भगाउने गार्डको योजना बन्यो।
उनी त्यो रातभर गार्ड बोलाउन आउँछ र भाग्ने भन्दै तयारी अवस्थामा अनिँदो बसे। तर बिहान ५ बजेसम्म गार्डले भाग्ने कुनै संकेत नै दिएनन्।
उनलाई अब आफू स्वदेश फर्किन नसक्ने र नबाँच्ने हो कि भन्ने डर परिसकेको थियो।
बिहान ५ बजे नास्ता खाने समय तोकिएको थियो। उनले रातभरी कुरेको गार्ड उनको नजिक आए र केही कुरा गरेजस्तो गरी नजान्दो पाराले बाहिर निस्किन संकेत गरे।
रसियन गार्डलाई पछ्याउँदै राजु बाहिर निस्किए। बाहिर उनका लागि ट्याक्सी तयारी अवस्थामा राखिएको रहेछ। उनलाई ३० हजार रूवेल क्युआर गरिदिएर त्यहाँबाट उनी निस्किए।
उनले भाग्नका लागि उनका दिदीसँग केही पैसा सापटी लिएका थिए।
त्यहाँबाट उनलाई मस्कोसम्म ट्याक्सीमा आउनुपर्यो। बाटोमा सेना वा प्रहरीले रोकेमा केही नबोली क्युआर मात्र भन्नु र ५० हजार रूवेल उनीहरूको खातामा हालिदिनु भनेर गार्डले उनलाई अन्तिममा भनेका थिए।
प्रत्येक जिल्लाको सिमानामा आफूलाई पक्राउ गर्ने हो कि भन्ने डर भइरह्यो। कतै झरेर हिँडे भने कतै ट्याक्सीभित्रै बसेर सिमाना पार गरेको उनको भनाइ छ।
तर एक ठाउँमा उनी चढेको ट्याक्सीलाई रोक्यो।
उनलाई सोधपुछ गर्नसाथ उनले क्युआर भने त्यो सुन्नसाथ प्रहरी झस्किएर मोबाइल निकालेर देखाए। त्यसमा उनले उक्त प्रहरीलाई ५० हजार रूवेल हालिदिए। त्यसपश्चात् ट्याक्सीलाई छोडेको उनी बताउँछन्।
उनी लगभग ११ घण्टाको ट्याक्सी यात्रापछि मस्को आइपुगे। मस्को सहरमा उनले साथीलाई आफू आउँदै गरेको जानकारी गराएका थिए।
त्यहाँ आएपछि उनी साथीलाई भेटे।
लामो श्वास फेरे र भने- 'अब बाँचियो।'
उनको साथी व्यावसायिक भिसाबाट त्यहाँ पुगेका थिए। उनी भागेको ठाउँबाट मस्को आइपुग्न ३२ हजार रूवेली ट्याक्सी भाडा तिर्नुपरेको उनी बताउँछन्।
उनी मस्को आइपुग्दासम्म नेपाली ४ लाख रुपैयाँ खर्च भयो। त्यहाँबाट स्वदेश फर्किन साथमा पासपोर्ट नभएकाले उनलाई दलालहरूको सहारा लिनुपर्यो।
त्यसरी उनले साढे ६ लाख रुपैयाँ खर्चिएर केही दिनअघि मात्र स्वदेश फर्किएका हुन्।
‘नेपाल प्रहरीले गोली हान्यो भने थाप्न तयार छु, अरूको देशमा मर्न चाहिनँ,’ उनले भने, ‘ऋण छ बाँचे कमाउला भन्ने सोचेर फर्किएँ।’
उनले स्वदेश आएर आफूले फर्काएको कम्पनीसँग आफूले बुझाएको रकम लेनदेन मिलाउन बाँकी भएकाले आफ्नो र म्यानपावरको परिचय गोप्य राखेका छन्।
तर आफूले जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर रसिया नजानको लागि नेपाली युवालाई आग्रह गर्छन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी