२५ वर्षीया मीनमाया तामाङलाई १२ दिनदेखि भोक, तिर्खा र निद्रा परेको छैन। केही वर्ष दु:ख गरेर सन्तानलाई राम्रो शिक्षा दिने र परिवारमा खुसी ल्याउने सपना बोकेर रसिया पुगेका उनका श्रीमान सम्पर्कविहीन छन्।
उनका श्रीमान २८ वर्षीय वुतासिंह तामाङ असोज २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसियाका लागि उडेका थिए। त्यहाँबाट १८ घन्टा दुवईमा रोकिएर रसिया पुगेका वुतासिंह मीनमायासँग निरन्तर सम्पर्क गर्दै थिए।
आफ्नोबारे दिनहुँ सामाजिक सञ्जालमा जानकारी गराउने उनको १२ दिन यता भने कुनै खैखबर छैन। श्रीमान एकाएक हराएपछि अताल्लिएकी मीनमाया अहिले उनको अवस्था पत्ता लगाइदिन विभिन्न निकायसँग हारगुहार गर्दैछिन्। उनी बिहीबार दिउँसो दुई बजे तीनकुनेमा भेटिएकी थिइन्। रूसमा फसेका नेपालीहरूको खोजी तथा उद्धार गरौं भनेर सामाजिक सञ्जालमा बनाइएको ग्रुपमा जोडिएर उनी त्यहाँसम्म पुगेकी हुन्। त्यो दिन सरकारलाई कसरी खबरदारी गर्ने भन्ने सल्लाह उनीहरूको थियो।
आफन्तहरू रसियामा फसेका धेरै जना त्यहाँ उपस्थित थिए। भीडमा पनि टोलाएर बसिरहेकी मीनमायाको आशातित अनुहारले हाम्रो ध्यान खिच्यो।
'धेरै जनाको आफन्त आउने भनेपछि श्रीमानबारे केही जानकारी मिल्छ कि भनेर आएँ, तर केही जानकारी पाइनँ,' उनले भनिन्, 'उहाँको फोटो ग्रुपमा पठाएको छु। कसैले देखेको भए म्यासेज गर्नुहुन्छ कि भन्ने आस छ।'
काभ्रे घर भई भक्तपुरमा डेरा गरी बस्दै आएका वुतासिंहले कहिले जागिर त कहिले ज्यालामजदुरी गर्दै जिविका चलाइरहेका थिए। त्यतिले दुई छाक टार्न र एक सन्तानलाई राम्रो शिक्षा दिन मुस्किल भएपछि वैदेशिक रोजगारीमा जाने र परिवारमा खुसी ल्याउने सपना पछ्याउँदै उनी रूसी सेनामा भर्ति हुन गएका हुन्। वुतासिंहले आफ्नो सन्तानलाई राम्रो स्कूलमा पढाउन र दुई चार पैसा कमाएर स्वदेशमा केही गर्ने योजना मीनमायालाई सुनाइरहेका हुन्थें। चार/पाँच महिनाअगाडि साथीहरूले रसियामा सुरक्षागार्डको लागि राम्रो कमाइ हुने भनेपछि प्रक्रिया अगाडि बढाएको उनलाई थाहा छ।
'कागजात उहाँ आफैंले मिलाउनु भएको हो। त्यसैले कहाँ कसरी मिलाउनुभयो थाहा भएन,' उनले भनिन्, '७/८ लाख रुपैयाँ खर्च भयो।'
रसियामा सुरक्षागार्डको लागि भनेपछि श्रीमानलाई विदेश पठाउन मीनमायले रोकिनन्। रसिया र युक्रेनको युद्धबारे जानकारी थियो। तर श्रीमान सेनामा नै गएका हुन् भन्नेबारे उनी बेखबर थिइन्।
'त्यहाँ तालिममा हुँदा हरियो पोसाकमा देखिनुहुन्थ्यो,' उनले भनिन्, 'पोसाकबारे उनले सोधे तालिम भइरहेको छ, यहाँको ड्रेस हो भनेर भन्नुहुन्थ्यो, पत्याउथेँ।'
१०/१२ दिन अघि अबको एक महिना युद्धको लागि जानुपर्ने भएकाले सम्पर्कमा नहुने भन्दै म्यासेज गरेपछि पो आफू छाँगोबाट खसेको जस्तो भएको उनी बताउँछिन्।
उनका अनुसार वुतासिंहले ४० किलोमिटर टाढा अर्कै सहरमा युद्धको लागि जान लागेको र एक महिनासम्म सम्पर्क नहुने भन्दै भ्वाइस म्यासेज गरेका छन्। त्यसपश्चात उनलाई कुनै फोन-म्यासेज आएको छैन।
त्यसैले मीनमाया बेचैन छिन्।
कतै श्रीमानलाई केही हुने होकी!
तीन महिना अघि छिट्टै भेट्ने बाचासहित विदाइको हात हल्लाएका श्रीमानलाई अब देख्न नपाइने हो कि भन्ने पिरले उनी भोक न निद्रा भएकी हुन्।
श्रीमानले म्यासेज फोन गरिहाल्छन् कि भनेर फोन हेरिरहन्छिन्।
श्रीमान बेखबर भएपछि कन्सुलर सेवा विभाग, प्रहरी र परराष्ट्र मन्त्रालयमा श्रीमान बेखर भएकोबारे जानकारी दिएकी छन्। तर पनि श्रीमानको अवस्थाबारे बुझ्न नसकेको उनी बताउँछिन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३८ वर्षीय विमला राईको श्रीमान पनि १०/१५ दिनदेखि सम्पर्कमा छैनन्। उनका श्रीमान राजन राई तीन महिनाअघि दुवई हुँदै रसियाको उडेका हुन्। उनी साथीहरूको माध्यमबाट भिसा पाएपछि गएको विमला बताउँछिन्।
उनी रसिया गएको विमलालाई मात्र थाहा छ। उनको परिवारका अन्य सदस्यले राजन दुवई गएको भन्ने सोचिरहेका छन्। त्यसैले आफ्नो दु:ख कसैलाई बाँड्न नसकेको उनी बताउँछिन्।
'रसिया गएको भन्ने थाहा छ। तर युद्धको लागि गाएको भन्नेकुरा पछि बुझेँ,' उनले भनिन्।
उनका श्रीमान मासिक २ लाख तलब हुने भएपछि ४/५ लाख रुपैयाँ खर्चिएर रसिया पुगेको उनको भनाइ छ। त्यस्तै, ललितपुरकी बुद्धिमाया व्रामुका श्रीमान पनि माघ ९ गतेदेखि सम्पर्कमा आएका छैनन्। उनका श्रीमान सोमबहादुर व्रामु असोज २९ गते नेपालबाट दुवई हुँदै रसिया पुगेका हुन्।
वैदेशिक रोजगारीमा विभिन्न म्यानपावरमा बुझ्न जाँदा रसियामा सुरक्षागार्डको लागि भन्दै राम्रो तलबको प्रलोभनमा परेपछि श्रीमानले रसिया जाने निधो गरेको उनी बताउँछिन्।
'यहाँ बसेर बाँच्न नसक्ने भएपछि दुई/चार पैसा कमाउन विदेशिएका हुन्,' उनले भनिन्, 'परिवारलाई सुरक्षागार्डको लागि भने पनि उहाँलाई आफू युद्धका लागि जान लागेको थाहा रहेछ।'
उनले भावुक हुँदै भनिन्- 'बाँचे कमाउँछु भनेर गएको भन्दै उनका साथीहरूले अहिले सुनाउँछन्।'
उनका श्रीमानले आफू एक महिनासम्म सम्पर्क नहुने र अन्य क्षेत्रमा काममा जान लागेको त्यहाँ फोन लैजान नमिल्ने भन्दै बुद्धिमायालाई म्यासेज गरेका छन्।
‘महिनौंसम्म सम्पर्कमा आइनँ भने सरकारलाई हारगुहार गर्नू, बाँचे फर्किम्ला,’ सोमबहादुरले बुद्धिमायालाई पठाएको अन्तिम म्यासेज यही छ।
उनी श्रीमान परिवारलाई झुट बोलेर ज्यान जोखिममा राखेर विदेशिनुपर्ने बाध्यता यही देशको संरचनाले बनाएको आरोप लगाउँछिन्। यहाँ जागिर गरेर दुई/चार पैसा कमाउन सक्ने भएको भए त्यहाँ जानुपर्ने बाध्यता नै नहुने उनी बताउँछिन्।
कैलाली धनगढी उपमहानगरपालिका-७ की ३२ वर्षीया सम्झना थापा मगर पनि देशको संरचना र भ्रष्टाचारले गर्दा नेपाली युवा मुत्युको मुखमा पुगेको आरोप लगाउँछिन्।
उनका श्रीमानको असोज ६ गते पहिलोपल्ट नेपालबाट सिधै रसियाको उडान थियो। तत्कालिन समयमा रसिया उडानमा रोक लगाइएको भन्दै उनका श्रीमान धनबहादुर थापा मगरलाई अध्यागमन विभागले फिर्ता पठाइदिएको थियो। तर उनका श्रीमानले अध्यागमन विभागलाई ४ लाख रुपैयाँ बुझाएपछि दुवइ हुँदै रसिया जाने अनुमति दिएको उनी बताउँछिन्।
'रसिया जान लागेको भन्ने थाहा थियो। तर युद्धमा जान लागेको भन्ने थाहा थिएन,' उनले भनिन्, 'श्रीमान सम्पर्कमा हुनुहुन्छ। तर फर्किन सक्नुभएको छैन।'
उनका श्रीमान अहिले स्वदेश फर्किन चाहान्छन्। तर त्यहाँबाट भाग्न नसकेको उनी बताउँछिन्। अध्यागमले विभागले धनबहादुर थापामगर रसिया जाँदैछन् भन्ने थाहा भएरै पनि रकम असुल गरेर मृत्युको मुखमा पठाएको आरोप उनको छ। उनले रूस र युक्रेनको लडाइँ अन्त्य भइसकेको भन्ने सोचेकी थिइन्। त्यसैले त्यहाँ जाँदा केही नहुने भनेर श्रीमानले भनेको कुरा पनि विश्वास गरेकी थिइन्।
उनी पनि श्रीमानको उद्धारको लागि सरकारसँग आग्रह गरिरहेकी छन्।
त्यस्तै पीडितहरू मिलेर सरकारलाई आफ्ना आफन्त फर्काइदिनका लागि एकमुष्ठ आवाज उठाउने कोसिस गरिरहेका छन्। त्यही क्रममा रसियामा सम्पर्कविहीन भएका र त्यहाँबाट फर्किन चाहनेका परिवारहरू सामाजिक सञ्जालमा जोडिएका हुन्।
सामाजिक सञ्जालमा जोडिएकाहरू छलफल गर्न भेला भएका ३०/३५ जनाको कोही न कोही आफन्त रूसमा पुगेका थिए। भिनाजु बेपत्ता भएको भन्दै सुजना धिताल पनि त्यहाँ उपस्थित थिइन्।
काभ्रे पाँचखाल घर भएका उनका भिनाजु कात्तिक २९ गते रसियाका लागि भनेर घरबाट निस्केका थिए। उनी भारत हुँदै रसिया पुगेको परिवारलाई थाहा छ। उनका भिनाजुले आफू एक महिनाको लागि युद्धमा जान लागेको भन्दै भिडिओ र फोटो खिचेर पठाएका छन्।
'ज्यान जोखिममा राखेर टोपीभित्र फोन लुकाएर ल्याएको भन्दै दिदीलाई पुस ७ गतेसम्म म्यासेज गर्नुभएको रहेछ,' सुजनाले भनिन्, 'त्यसपछि पनि भिनाजुले २/४ वटा भ्वाइस म्यासेज पठाउनुभएको छ।'
भ्वाइस म्यासेजमा उनले- आफू युद्धमा रहेको र महिना दिनभन्दा धेरै सम्पर्कमा नआए सरकारलाई उद्धारको लागि अपिल गर्नू, बाँचे उद्धार होला भनेको सुजनाले जानकारी दिइन्। त्यसयता कुनै फोन म्यासेज आएको छैन। डेढ महिनाभन्दा लामो समयदेखि सम्पर्कमा नआएकाले उनको परिवार सरकारसँग उद्धारको लागि अपिल गरिरहेका छन्।
६ महिनाअघि रसिया पुगेका कञ्चनपुर बेदकोट नगरपालिका-१० का रंगाबहादुर थापा उतै छन्। उनी आफूलाई सुरक्षागार्डमा रोजगारी भन्दै झुक्याएर त्यहाँ पुर्याएको बताउँछन्। उनी पहिला नेपाल आर्मीका आवद्ध थिए। केही वर्षअघि दुवई पुगेका उनी त्यहीबाट ६ महिनाअघि रसिया पुगेका छन्। उनका साथी डम्बरबहादुर लुहारको सहयोगमा हामीले उनीसँग कुरा गर्यौं।
उनका अनुसार ६ महिनामा तीन/चार पटक युद्धमा लडेर फर्किसके। सुरक्षागार्डका लागि भन्दै राम्रो पैसाको प्रलोभनमा परेर पुग्ने नेपालीलाई त्यहाँ दुई/तीन महिनासम्म तालिम दिइन्छ।
तालिमपछि उनीहरूलाई अन्य मुलुकका नागरिकसँग राखिन्छ। त्यहाँको एउटा क्याम्प नेपालको अन्तराष्ट्रिय विमानस्थलभन्दा फराकिलो हुन्छ। प्रत्येक क्याम्पमा २०/२५ जनाभन्दा धेरै नेपाली भेटिन्छन्। त्यस्ता क्याम्प सयौंको संख्यामा रहेको उनी बताउँछन्।
'नेपालीहरू भाग्छन् भनेर एकै ठाउँमा राखिँदैन,' उनले भने।
तालिम लिइसकेका नेपालीहरूलाई युक्रेनविरूद्ध लड्न पठाइन्छ। महिनौं दिनसम्म बंकरमा बसेर लड्नुपर्छ। त्यहाँ फोन चलाउन वा कुनै पनि सामान लैजान पाइँदैन। युद्धमा मरियो भने सकियो, बाँचियो भन्ने फेरि अर्को पटक लड्न जानुपर्ने उनी बताउँछन्।
'यहाँबाट भाग्नसक्ने अवस्था नै छैन, भगाउनका लागि पैसा लिएका दलालहरूले त्यही सेना भएको ठाउँमा पुर्याइदिन्छन्,' उनले भने, 'भाग्न असफल भएपछि यही काम गरिरहेको छु।'
उनले थपे- 'भाग्यले भनम वा बाआमाको माया र आशिर्वादले हो अहिलेसम्म बाँचिरहेको छु।'
युद्धमा जाँदा मुत्यु भएको खबर बाँचेका र चिनजान भएका साथीहरूले गर्छन्। कतिपय पहिचान हुननसकेको नेपाली लास त्यसै गाडिएको उनी बताउँछन्। उनी त्यहाँ हजारौं संख्यामा नेपाली रहेको दावी गर्छन्। एकपटक रूसी सेनामा भर्ना भएका नेपाली फर्किएर आउन कठिन छ। तर पनि राम्रो तलब पाउने प्रलोभनमा परेर नेपालीहरू रूसमा पुगेको उनको भनाइ छ।
रूसी सेनामा भर्ना भएका १० नेपालीको युक्रेनसँगको युद्धमा ज्यान गुमाउनु परेपछि पुस १९ गतेदेखि वैदेशिक रोजगार विभागले सरकारको निर्देशनमा रूस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको थियो। करिब दुई वर्षअघि देखि रूस र युक्रेनको युद्ध चल्दै आएको छ। तापनि सरकारले ती मुलुकमा जाने नेपालीका लागि श्रम स्वीकृती रोकेको थिएन।
विभागको तथ्यांक अनुसार २०७९/८० मा २ सय ९२ जनाले श्रम स्वीकृत लिएका थिए भने पुन श्रम स्वीकृती लिनेको संख्या ९४ थियो। तर विभागको तथ्यांकले युक्रेन जान श्रम स्वीकृत लिनेको संख्या शून्य देखाउँछ।
तेस्रो मुलुक हुँदै रसिया पुगेका नेपालीको कुनै हिसाब किताव छैन। केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले झण्डै दुई सय नेपाली सेनामा कार्यरत रहेको बताएका थिए।
त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा कार्यरत एक सय नेपालीको अवस्था थाहा नभएको बताएका थिए। अध्यागमन विभागका एक पदाधिकारीका अनुसार भिजिट भिसामा सयौं नेपाली रूस पुगेको छन्। उनका अनुसार भिजिट भिसामा रूस पुगेका कयौं नेपाली फर्किएका छैनन्।
तेस्रो मुलुक हुँदै रूस पुग्नेको संख्या अझै धेरै रहेको उनको भनाइ छ। तर वास्तवमा रूसमा कति नेपाली छन् भने तथ्यांक सरकारसँग पनि छैन।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी