सुर्खेतको चौकुने गाउँपालिका–१ धनरास गाउँकी रत्नकला थापा क्षेत्री अहिलेसम्म आफ्नै जिल्लाको सदरमुकाम वीरेन्द्रनगर पुगेकी छैनन्। उमेरले ६२ बर्ष पुगेकी उनलाई आफ्नै जिल्लाको सदरमुकामसम्म पुग्न सुरूमा यातायातको पहुँच भएन।
उनी बेलाबेला हिँडेरै अर्को प्रदेश सुदूरपश्चिमको कैलालीका बजारसम्म पुगेकी छन्। भान्सामा चाहिने नुनदेखि बिरामी पर्दा चाहिने औषधिसम्म रत्नकला र उनका परिवारले सुदूरपश्चिम अर्थात् कैलालीबाटै ल्याए।
सदरमुकाम नगई नहुने नागरिकता बनाउने काम भने उनको गाउँमै भयो। एकपटक गाउँमै पुगेको प्रशासनको नागरिकता टोलीले उनको नागरिकता बनाइदिएको हो।
‘उहिल्यै गाउँमा टोली आएका बेला नागरिकता बनेको हो, वीरेन्द्रनगर त जानै परेन। मलाई त ठीकै भयो तर अरूलाई नागरिकता बनाउन उतै जान पर्छ। कहिले बन्छ कुन्नि नागरिकता बनाउन सदरमुकाम लैजाने मोटरबाटो?,’ उनी भन्छिन्, ‘वीरेन्द्रनगर जानुभन्दा कैलाली जान नजिक पर्छ, किनमेल गर्नुपर्यो भने हामी कैलाली जान्छौं, अहिले पनि वीरेन्द्रनगर जान दिनभर गाडीमा गुड्नुपर्छ, कैलाली जान हिँडेर ३–४ घण्टामा पुगिन्छ।’
चौकुने–१ धनरास गाउँकै सुमित्रा थापा ७३ वर्ष पुगिन्। उनी यो उमेरसम्म एकपटक मात्र जिल्ला सदरमुकाम वीरेन्द्रनगर पुगेकी छन्। दुई वर्षअघि हिउँदको समयमा उनलाई उपचार गराउन छोराले वीरेन्द्रनगर लगेका थिए।
‘हुन त केही छोराहरू पहिलेदेखि नै वीरेन्द्रनगरमै बस्छन्, एकचोटि गएर भेटिहालौं भने पनि गाडीको सुविधा थिएन, अब त बुढेसकाल लागेपछि नजिक गाडी पुग्ने ठाउँसम्मै जान सकिँदैन,’ सुमित्राले भनिन्, ‘बिरामी भएर जानैपर्ने भएपछि दुई बर्षअघि गाडीमा एक हजार रूपैयाँ भाडा तिरेर वीरेन्द्रनगर गएकी हुँ, छोराहरूले गाडी पुग्ने ठाउँ तल्लो लगामसम्म पुर्याइदिएका हुन्।’
सुमित्राले पनि गाउँमै पुगेको टोलीबाट नागरिकता पाएकी हुन्। केही दशक अघिसम्म कैलालीको बजारमा किनमेल गर्ने उनका परिवारले अहिले लगाम बजारमा किनमेल गर्छन्। ठूलै बजार जानुपरे अहिले पनि कैलाली नै जान्छन्।
अरू काम त चल्थ्यो तर नागरिकता बनाउन, मुद्दा मामिला गर्न र अन्य सरकारी कामकाजका लागि सदरमुकाम जान यो गाउँका बासिन्दालाई वीरेन्द्रनगरसम्म जानुपर्छ।
'सदरमुकाम जान महाभारत छ हिँड्नुपर्यो गाडीमा जाँदा घुमाउरो र महंगो पर्छ,' सुमित्राले भनिन्।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका अधिकांश वडा विकासका हिसाबले पछि छन्। कैलाली, डोटी र अछामसँग जोडिएका त्यहाँका कयौं गाउँ यतिसम्म दुर्गम छन्, जहाँ यातायातको सुविधा नभएर वीरेन्द्रनगर नपुगेका रत्नकला र सुमित्रा जस्ता कयौं मानिस बस्छन्।
‘कतिपय गाउँमा त गाडी पुग्ने ठाउँबाट हिँडेर जान आधा दिन भन्दा बढी पनि हिँड्नुपर्छ, यातायातको पहुँच नभएका कयौं गाउँहरू छन्,’ चौकुने–२ तल्लो लगाममा व्यवसाय गरिरहेका रूपसिं राम्जालीले भने, ‘हाम्रोमा कुनै अन्तरजिल्ला जोड्ने राजमार्ग पनि पर्दैन, भएको राजमार्गको काम भईसकेको छैन, ग्रामीण सडकहरू सधैंजसो चल्दैनन्।’
सडक सञ्जाल र अन्य विकासका दृष्टिकोणबाट समेत सुर्खेतलाई वीरेन्द्रनगरदेखि पूर्व र पश्चिम गरि दुई भागमा हेरिन्छ। पश्चिमको तुलनामा पूर्वी सुर्खेत विकसित छ। पूर्वी सुर्खेतमा छिन्चु–जाजरकोट–डोल्पा सडकमार्ग पर्छ। नेपालगञ्ज–सुर्खेत रत्न राजमार्ग पनि पूर्वी सुर्खेतमै पर्छ। अन्तरजिल्ला जोड्ने यी सडकसँगै गाउँबस्ती जान बनाईएका साना सडकले पूर्वी सुर्खेतमा यातायातको पहुँच लगभग पर्याप्त छ। पूर्वी सुर्खेतको भागलाई समग्रमा वीरेन्द्रनगरपछिको सुर्खेतकै विकसित क्षेत्रका रूपमा समेत हेर्ने गरिएको छ।
यातायात र समग्र अन्य विकासका दृष्टिकोणले वीरेन्द्रनगरदेखि पश्चिमको भागलाई अझ पनि दुर्गम मानिन्छ। सुदूरपश्चिमसँग जोडिएका छेउका धेरै बस्ती अति दुर्गम छन्। पश्चिमका थोरै भागलाई कर्णाली राजमार्गले छुन्छ। त्यसपछिको पश्चिम सुर्खेतको ‘लाइफलाईन’ का रूपमा भने ‘मदन भण्डारी राजमार्ग’ लाई लिईएको छ।
यो राजमार्गको कतिपय खण्डमा पछिल्लो समय तीव्र गतिमा काम भइरहेको छ। केही खण्डमा स्तरोन्नतिदेखि कालोपत्रसम्मको ठेक्का भएको छ। मदन भण्डारी राजमार्गको पश्चिम सुर्खेतमा पर्ने खण्डको सुरूआती कामले स्थानीयमा आशा समेत जगाएको छ।
यातायातको पहुँच नभएका र भएपनि सहज नभएका पश्चिमका ग्रामीण भेगका स्थानीयलाई मदन भण्डारी राजमार्गले निकै राहत हुने चौकुने–१ का वडाध्यक्ष जिरक बडुवालले बताए।
‘हिउँदमा मात्र फाट्टफुट्ट यातायातका साधन पुग्ने लगामबाट आसपासका गाउँमा हिँडेर पुग्न घण्टौं लाग्छ, ती गाउँमा भएका बाटो काठ ओसारपसार गर्दा ठेकेदारले खनेका हुन्, हामीले तिनै बाटोलाई नियमित चल्नेगरी सुधार्न सकेका छैनौं,’ बडुवालले भने, ‘यस्ता गाउँका लागि मदन भण्डारी राजमार्गको निर्माण कार्य तीव्र गतिमा भयो भने धेरै सहज हुन्छ, अहिले वीरेन्द्रनगर जान कयौं दिनदेखि योजना बनाउनुपर्ने स्थानीयले तुरून्तै यात्रा गर्न सक्नेछन्।’
पश्चिम सुर्खेतको लाइफलाईनका रूपमा मानिने मदन भण्डारी राजमार्ग सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिममा मात्र ११६ किलोमिटर पर्छ। त्यसभित्र पनि वीरेन्द्रनगरदेखि बड्डीचौरसम्मको २९ किलोमिटर खण्ड कर्णाली राजमार्गमै पर्छ। त्यसबाहेकको ८७ किलोमिटरमध्ये लगामसम्मको खण्डमा कतै काम भईरहेको छ भने कतै प्रक्रियामै छ।
बड्डीचौरदेखि लगामसम्मको ६० किलोमिटर खण्डभित्रको केही खण्डमा ठेक्का भएर काम भईरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका इञ्जिनियर रामसागर हरिजनका अनुसार राजमार्गकै बड्डीचौरदेखि खम्बागाडेसम्म १३ किलोमिटर खण्ड कर्णाली प्रदेश सरकारबाट ठेक्का भएर काम भइरहेको छ। खम्बागाडेदेखि सालकोट हुँदै विद्यापुरम्मको १० किलोमिटर ठेक्का हुन बाँकी छ।
विद्यापुरदेखि पश्चिमको बल्देसम्म २२ किलोमिटर खण्डमा पनि ठेक्का भएर काम भइरहेको छ। बल्देदेखि लगामसम्मको १५ किलोमिटर खण्डमा पनि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) भइसकेको छ। आइइई भएको यो खण्डअन्तर्गत माया तालसम्म रूख कटानका लागि मन्त्रिपरिषदबाट निर्णय भइसकेको छ भने माया तालदेखि लगामसम्मको खण्डमा रूख कटानका लागि निर्णय प्रक्रिया अन्तिम चरणमा छ। लगामदेखि बेनीघाटसम्मको २७ किलोमिटरको आइइई हुन बाँकी रहेको इञ्जिनियर हरिजनले बताए।
अहिले पनि सहज यातायातको पहुँच नभएका कतिपय पश्चिम क्षेत्रका नागरिकका लागि मदन भण्डारी राजमार्ग लाइफलाइनका रूपमा रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन्।
‘अझैसम्म कर्णालीका साविक जिल्लाका पनि दुर्गम गाउँजस्तै बनेको सुर्खेतको चौकुने गाउँपालिकाका सुदूरपश्चिमसँग जोडिएका गाउँमा मदन भण्डारी राजमार्ग बनेमा कायापलट नै हुन्छ, हाम्रा यस्ता गाउँको उत्पादनको उचित मूल्यसहितको बजारीकरणका लागि त राजमार्ग वरदान नै बन्छ,’ उनले भने।
ती गाउँमा राम्रो पशुपालन र कृषि गरेका परिवारले गतिलो सडक नभएकै कारण आम्दानी लिन नसकेकाले राजमार्गको द्रूत निर्माण जरूरी रहेको उनी बताउँछन्।
‘अहिले पनि यी गाउँमा बाख्रापालन, केराखेती, खाद्यान्न, तरकारी–फलफूल खेतीमा राम्रो गरेका परिवार छन्, राम्रो सडकको पहुँच नहुँदा ती परिवारले आफ्नो उत्पादनको मूल्य पाउनै सकेका छैनन्,’ अध्यक्ष विक भन्छन्, ‘बाटोको अवस्थाले अहिले बजारबाट आउने व्यापारीले दुई रूपैयाँ मूल्य दिएर किन्ने उत्पादनबाट सडक राम्रो भए कृषकहरूले ८ रूपैयाँसम्म मूल्य पाउँथे।’
झापाको शान्ति नगरदेखि भित्री मधेसका १४ जिल्ला हुँदै डडेल्धुराको रूपालसम्म जोड्ने करिब एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वको मध्य भागदेखि पश्चिमको छेउसम्म एउटा खण्ड पर्छ। पूर्वी सुर्खेतमा पर्ने खण्डमा पनि स्तरोन्नतिको काम भइरहेको छ।