मधेसमा हिउँचितुवा कसरी पुग्यो भन्नेबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा विज्ञहरू नै अलमलमा परेको देखिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हिउँचितुवाबारे जानकारी दिन शुक्रबार अपराह्न सदर चिडियाखानामा गरिएको पत्रकार सम्मेलनमा विज्ञहरूले फरकफरक धारणा राखेका छन्।
माघ ९ गते मोरङ उर्लाबारी नगरपालिका चारघरे भन्ने ठाउँको बाँसघारीमा हिउँचितुवा फेला परेको थियो। त्यहाँबाट उद्धार गरेर अहिले हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानाको आइसोलेसनमा राखिएको छ।
मधेसमा कसरी हिउँचितुवा पुग्यो?
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख एवं हिउँचितुवासम्बन्धी विज्ञ मधु क्षेत्रीले भाले हिउँचितुवाको आमासँग छुट्टिएर वा बाटो भुलेर आइपुगेको हुनसक्ने अनुमान लगाए। उनले उक्त हिउँचितुवाको तौल ४० देखि ४५ केजीको भएको बताए। एक रातमा ५०/६० किलोमिटर हिँड्न सक्ने भएकाले हिँडेर आइपुगेको हुनसक्ने क्षेत्रीको अनुमान छ।
तर वन्यजन्तु विज्ञ करण साहले भने हिँडेर आइपुग्न ठूलाठूला नदी पार गर्नुपर्ने र धेरै अवरोध भएकाले हिँडेर आइपुग्न सम्भव नभएको बताए। उनले त हिँउचितुवा नै हो कि होइन भन्नेमै प्रश्न उठाएका थिए।
‘हिउँचितुवाबारे लामो समय काम गरेको छु। यसको बनावट पनि मिलेको देखिँदैन,’ उनले भने।
उनका अनुसार मधेसमा फेला परेको हिउँचितुवाको रंग खैरो-खैरो छ। हिउँमा हुर्किएको चितुवाको सेतो रंग बढी हुन्छ र बाक्लो हुन्छ। हिउँचितुवाको पुच्छर लामो हुन्छ। अहिले चिडियाखानामा ल्याइएको चितुवामा त्यस्तो नदेखिएको उनी बताउँछन्। यसलाई कसैले लामो समयदेखि गाउँमा हुर्काएको वा तस्करीको क्रममा छोडिएको हुनसक्ने विज्ञ साह बताउँछन्।
‘जात हिउँचितुवा भए पनि फरक परिवेशमा हुर्किएको अनुमान छ,’ उनले भने।
हिउँचितुवा कसरी मधेसमा आइपुग्यो भन्नेबारे अध्ययन र अनुसन्धान गर्न बाँकी छ।
अहिले हिउँचितुवाको पछाडिको दायाँ खुट्टामा चोट लागेकाले उपचारलाई प्राथमिकतामा राखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए। दाँत र दिसा परीक्षण हुन सकेको छैन। पूर्ण परीक्षण भएपछि मात्र केही भन्न सकिने उनको भनाइ छ। उनका अनुसार हिउँचितुवाले बिहीबार पानी र शुक्रबार थोरै कुखुराको मासु खाएको छ।
वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार बरालका अनुसार हिउँचितुवा कसरी मधेस आइपुग्यो भनेर फरक-फरक कोणबाट अनुसन्धान सुरू भइसकेको बताए।
‘अनुसन्धान र अध्ययनबारे शुक्रबार मन्त्रालयमा छलफल समेत भएको छ,’ उनले भने, ‘वातावरण परिवर्तन, तस्करी वा झुक्किएर आएको हो थाहा भइहाल्छ।’
हिउँचितुवा कञ्चनजंघा संरक्षण क्षेत्रतिरबाट खानाको खोजी गर्दै मधेस झरेको, बाटो बिराएको, जलवायु परिवर्तनका कारणले, कसैले हुर्काएर छाडेको वा तस्कारी गरेर कतै लैजान लाग्दा छुटेको हुनसक्ने अनुमान लगाइएको मात्र हो।
विश्वभरी हिउँचितुवा १२ देशमा मात्र पाइने वन्यजन्तु हो। लोप हुन लागेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ। नेपालमा यो ३ हजारदेखि ६ हजार मिटर उचाइसम्म भेटिने गरेको छ। त्यसैले हिउँचितुवालाई आइयुसिएनले संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा राखेको छ।
मंगलबार दिउँसो चितुवा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नियन्त्रणमा लिन नसकेपछि डिभिजन वन कार्यालय मोरङ र उसले पनि नसकेपछि कोशीस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोग लिइएको थियो। कोषका भेटेरिनरी प्राविधिक सहितको टोलीले साँझ हिउँचितुवालाई 'डार्ट' गरेको थियो।चिसो समयमा काठमाडौं उपत्यकाको तापक्रममा उचित हुने भएकाले त्यसलाई काठमाडौं ल्याइएको थियो।
यो पनि: सदर चिडियाखानाको आइसोलेसनमा हिउँचितुवा (तस्बिरहरू)
कसरी पुग्यो मधेसमा हिउँचितुवा?