यस वर्ष हिउँद याममा औसतभन्दा ९५ प्रतिशत कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाले देशभरका २० भन्दा बढी केन्द्रको वर्षा विश्लेषण गरेर तयार पारेको तथ्यांकअनुसार माघ ४ गतेसम्म २.७ मिलिमिटरमात्रै पानी परेको छ।
मंसिर १५ देखि फागुन १७ गतेसम्म ९१ दिनको अवधिलाई हिउँद याम मान्ने गरिएको छ। विभागका अनुसार यसअवधिमा ६०.१ मिलिमिटर वर्षा हुने गर्छ।
२०६२ यताको विवरण केलाउने हो भने ६ हिउँदमा मात्रै औसत वर्षा भएको छ। २०६२ मा त औसतभन्दा निकै कमअर्थात् ७.१ मिलिमिटर मात्रै पानी परेको थियो।
हावापानी विश्लेषण शाखाले गत मंसिर २० गते तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी पानी पर्ने बताएको थियो।तर मध्य हिउँद घर्किइसक्दा पनि पानी पर्ने छाँट देखिएको छैन।
मौसमविद् सञ्जिव अधिकारीले नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव देखिए पनि यसले तत्काल पानी पार्ने सम्भावना नदेखिएको बताए।
उनकाअनुसार आइतबार, पहाडी भूभागमा आंशिकरूपमा बादल लाग्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। सोमबार र मंगलबार पनि पानी पर्ने सम्भावना देखिएको छैन।
‘हिउँद याममा पानी पर्न पश्चिमी वायु सक्रिय हुनुपर्छ। पश्चिमी वायुको आंशिकमात्रै प्रभाव देखिन्छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली र उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा हिमपात हुने सम्भावना देखिन्छ,’ अधिकारीले सेतोपाटीसँग भने, ‘तत्काल पानी पर्ने सम्भावना छैन।’
अधिकारीका अनुसार जनवरी १७ तारिख अर्थात् माघ ३ गते जिरी केन्द्रमा १५.९ मिलिमिटर वर्षा मापन भएको छ।
‘अहिलेसम्मको अधिक वर्षा यही केन्द्रमा मापन भएको छ, अन्यत्र पानी परेको छैन र तत्काल पानी पर्ने सम्भावना पनि देखिँदैन,’ अधिकारीले भने।
हिउँदमा पानी पर्न भूमध्यसागरबाट उच्च जलवाष्प सहितको हावा आउनुपर्छ। भूमध्य सागरबाट आएको जलवाष्प सहितको वायु सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै नेपाल भित्रिने गर्छ।
मौसमविद् सुदर्शन हुमागाईंले नेपाल आइपुग्दा पश्चिमी वायुको प्रभाव मत्थर भइसक्ने हुँदा हिउँद याममा पानी कम पर्ने बताए।
‘भूममध्यसागरबाट आएको पश्चिमी वायु नेपालसम्म आइपुग्दा कमजोर भइसक्छ। काठमाडौंसम्म आइपुग्दा झनै कमजोर भइसकेको हुन्छ,’ उनले भने, ‘यसपटक नेपालमा पानी पार्न सक्ने प्रभावशाली प्रणाली देखिएको छैन।’
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले भूमध्यसागर क्षेत्रमा सुख्खापन छाएकाले नेपालमा हिउँद याममा वर्षा नभएको बताए।
भूमध्यसागर क्षेत्रमा तापक्रम बढेपछि त्यहाँको वायुमा जलवाष्पको मात्रा बढे पनि नेपालको मौसम प्रणालीमा त्यसको असर देखिएको छैन। त्यहाँबाट जलवाष्पयुक्त वायुलाई यहाँसम्म ल्याउने प्रणाली शिथिल देखिएकाले वर्षा घट्दै गएको उनले विश्लेषण गरे।
‘भूमध्यसागर क्षेत्रमा तापक्रम वृद्धि भएर सुख्खापन छाएको छ। जसले त्यहाँको वायुमा जलवाष्प बढेको छ। तर त्यसलाई नेपालसम्म ल्याउन अर्को प्रणाली आवश्यक हुन्छ, त्यो कमजोर भएर पानी परेको छैन,’ उनले भने, ‘सन् २०२१ मा लगातार पाँच महिना पानी परेको थिएन। अहिले पनि तीन महिना भइसक्यो एक झर पानी परेको छैन।’
पछिल्ला तीन हिउँदमध्ये २०७८ सालमा मात्रै सरदरभन्दा बढी पानी परेको थियो। त्यतिबेला ७४.८ (१३०.७ प्रतिशत) मिलिमिटर पानी परेको तथ्यांक छ। २०७७ मा औसतभन्दा २५.३३ प्रतिशतमात्रै पानी परेको थियो। गत वर्ष (२०७९) मा १२.९ मिलिमिटर मात्रै पानि परेको थियो।
यस वर्ष सरदरभन्दा बढी पानी पर्ने हावापानी विश्लेषण शाखाको पूर्वानुमान फेल खाएको हो भनेर हामीले मौसमविद् सुदर्शन हुमागाईंलाई सोध्यौं। उनले माघको पहिलो सातासम्मको स्थितिलाई हेरेर विभागको पूर्वानुमान मिलेन भन्न नमिल्ने बताए।
‘मंसिर १५ देखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँद मान्ने गरेका छौं। तीन चार वटा मोडलमा आधारित भएर औसतभन्दा बढी वर्षा हुने आकलन गरिएको हो,’ उनले भने, ‘अहिलेसम्म वर्षा भएको छैन। कुनै एउटा इभेन्टमा औसतभन्दा बढी पानी परेर कभर पनि हुन सक्छ। त्यसकारण अहिले नै सिजनल आउटलुक मिलेन भनेर भन्न मिल्दैन।’
उनले मासिकरूपमा स्थिति मूल्यांकन र पूर्वानुमानका लागि 'सव-सिजनल आउटलुक'को खाँचो रहेको औंल्याए।
‘सिजनल आउटलुक मिलेन भन्ने मानिसहरूलाई भ्रम छ। सिजनल आउटलुक तीन महिनाको आकलन हो। महिनाको बीचतिर, महिनाको पहिलो खण्ड, दोस्रो खण्ड भन्ने खालको छुट्टाछुट्टै हुँदैन। सिजनल आउटलुकले सरदरभन्दा कति बढी कति कम पनि भन्दैन। त्यो सबै थाहा पाउन सव सिजनल आउटलुकको खाँचो छ। त्यो अनुसार विभागको सामर्थ्य र जनशक्ति विकास र विस्तारको खाँचो छ,’ हुमागाईंले भने।
तीन महिनादेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढेको छ।
काठमाडौंको कीर्तिपुर, शंखपार्क, ललितपुरको खुमलटार, पुलचोक, भैंसेपाटी क्षेत्रको वायुमण्डलमा प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआइ) सूचकांकअनुसार शून्य देखि ५० सम्मको अंकलाई राम्रो मानिन्छ। ५१ देखि १०० सम्मलाई औसत, १०१ देखि माथिलाई संवेदनशील र त्यसभन्दा माथिलाई घातक मानिन्छ।
कीर्तिपुरको एक्युआइ सूचकांक एक सय ५६ दशमलव ९८, शंखपार्कको एक सय ५६ दशमलव ३०, खुमलटारको एक सय ५४ दशमल ८७, पुलचोकको एक सय २५ दशमलव ६२ छ। त्यस्तै भैंसेपाटीको एक सय २४ दशमलव ६४ रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
त्यस्तै, पानी नपर्दा आगलागीका घटनामा बढोत्तरी आएका छन्। फागुनसम्मै पानी परेन भने आगलागी झन् बढ्छ।इसिमोडको सूचनाअनुसार पछिल्लो एक सातामा १५ भन्दा बढी वनमा डढेलो लागेको छ। चितवन राष्ट्रिय निकुञ्ज, बाजुराको बडिमालिका र हिमाली गाउँपालिका, झापाको कन्काइ, शिवसताक्षी, डोल्पाको जगदुल्ला, कालीकोटको महावै, जुम्लाको पातारासी, दोलखाको बिगु, भोजपुरको रामप्रसाद राई गाउँपालिका क्षेत्रको वनमा डढेलो सल्किएको प्राधिकरणले जानकारी दिएको छ।
हिउँद याममा पानी नपर्दा हिउँदे बालीनालीमा पनि त्यसको असर परेको छ। हिमाली र मध्यपहाडी क्षेत्रका अधिकांश खेतबारी हिउँदे वर्षामा निर्भर छन्। गहुँ, जौ, फापर, दलहन, र तेलहन बालीनालीका लागि हिउँदे वर्षा अमृत सरह हुने गर्छ। तर तीन महिनादेखि एक झर पानी नपरेकाले कुल गार्हस्थ्य उत्पादनमै असर पुर्याउने कृषिविद्को आकलन छ।
आर्थिक सर्वेक्षण २०७९/०८० का अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रले करिब २४.१ प्रतिशत हिस्सा ओगट्छ। करिब ५४ खर्बको जिडिपीमा कृषि क्षेत्रको हिस्सा १४ खर्बजति हुन आउने कृषिविद् केशव आचार्यले जानकारी दिए।
हिमाली क्षेत्रमा हिमपात नहुँदा र पहाडी र तराई भेगमा पानी नपर्दा जिडिपीमा झन्डै २० अर्बले कमी आउने आकलन गर्न सकिने आचार्यले बताए।
‘जिडिपीमा कृषि क्षेत्रको २४.१ प्रतिशतमध्ये कम्तीमा पाँच प्रतिशत हिउँदे बालीनालीको हिस्सा देखिन्छ। हिउँद याममा पानी नपर्दा उत्पादनमा आधाले कमी आउँछ। अर्थात् २० अर्बभन्दा बढी नोक्सान हुने देखिन्छ,’ उनले भने।